अध्याय २६
हस्तमैथुन गर्न सकसक लाग्दा कसरी थेग्ने?
“हस्तमैथुन गर्ने बानी छोड्न असाध्यै गाह्रो हुन्छ। यो लागूपदार्थ वा रक्सीको कुलतभन्दा केही कम छैन।” यो हो, १५ वर्षदेखि हस्तमैथुनसित संघर्ष गर्ने युवकको अनुभव।
तथापि, प्रेरित पावल आफ्ना इच्छाहरूको दास बनेनन्। बरु तिनले यसो भने: “म आफ्नो शरीरलाई [शारीरिक अभिलाषा] कुट्तछु, र वशमा ल्याउँछु।” (१ कोरिन्थी ९:२७) तिनले आफैसित कठोर व्यवहार गरे! तपाईंले पनि त्यस्तै प्रयत्न गर्नुभयो भने हस्तमैथुन गर्ने बानी छुट्नेछ।
“आफ्नो मन बाँधेर सचेत होओ”
प्रायजसो मानिसहरू तनाउ वा चिन्ता कम गर्न हस्तमैथुन गर्छन्। तथापि, समस्या पर्दा हस्तमैथुन गर्नु केटाकेटीपन हो। (१ कोरिन्थी १३:११ तुलना गर्नुहोस्।) बरु त्योभन्दा “विवेक” चलाएर समस्यासित लड्नु नै बेस छ। (हितोपदेश १:४) समस्या पर्दा वा दिक्क लाग्दा हस्तमैथुन गर्नुको साटो “सारा फिक्री उहाँमाथि [परमेश्वरमाथि]” राख्नुहोस्।—१ पत्रुस ५:६, ७.
तर मानिलिनुहोस्, तपाईंले अचानक यौन उत्तेजना जगाउने कुनै कुरा सुन्नु वा देख्नुभयो। त्यसबेला के गर्ने? बाइबल यस्तो सुझाउ दिन्छ: “आफ्नो मन बाँधेर सचेत होओ।” (१ पत्रुस १:१३) दिमागबाट अनैतिक विचारहरू जबरजस्ती हटाउनुहोस्। त्यसो गर्नुभयो भने, तपाईंको उत्तेजना झट्टै हटिहाल्छ।
यद्यपि, राति घरमा एक्लै हुनुहुन्छ भने कुविचारहरू हटाउन अरू बेलाभन्दा गाह्रो हुन्छ। त्यस्तो बेला के गर्न सकिन्छ, एक युवती यस्तो सल्लाह दिन्छिन्: “सबैभन्दा राम्रो उपाय ओछ्यानमा पल्टन छोडेर कुनै काम गर्नुहोस्, नभए केही खाए पनि भो। त्यसो गर्दा तपाईंको ध्यान अरू कुराहरूमा जान्छ।” हो, आफ्नो मनलाई जबरजस्ती ‘जे कुरा आदरणीय छन्, चोखा छन्, असल छन्, मनपर्दा छन्, र सद्गुणी,’ छन् त्यसमा लगाउनुहोस्।—फिलिप्पी ४:८.
पटक्कै निद्रा लागेन भने बरु विश्वासी राजा दाऊदले गरेझैं गर्ने कोसिस गर्नुहोस्, जसले यसो भने: ‘आफ्नो ओछ्यानमा म तपाईंको [परमेश्वरको] सम्झना गर्थें र रातको पहर पहरमा तपाईंको ध्यान गर्थें।’ (भजन ६३:६) तपाईंले जबरजस्ती परमेश्वर अनि परमेश्वरका गुनहरूलाई मनमा खेलाउन थाल्नुभयो भने प्रायः अनैतिक कुविचारहरू हट्नेछन्। परमेश्वरले हस्तमैथुनजस्तो फोहर बानीलाई कस्तो दृष्टिकोणले हेर्नुहोला भनेर सोच्दा पनि फाइदा हुन्छ।—भजन ९७:१०.
बच्ने उपाय गर्नुहोस्
एक जना प्रेरित अनि बुद्धिमान् व्यक्तिले लेखे: “चतुर मानिस दुःख आएको देखेर जोगिन्छ, तर सीधा-साधा त्यसमा पर्छ र दण्ड भोग्छ।” (हितोपदेश २२:३) कुनै काम गर्नुभन्दा पहिल्यै सोचविचार गरेर बुद्धिमत्ता देखाउनुहोस्। उदाहरणका लागि, त्यस्तै केही काम गर्दा वा खेल्दा, जीउ कस्सिने लुगा लाउँदा वा त्यस्ता केही प्रकारका खानेकुरा खाँदा उत्तेजना जाग्छ भने, त्यसबाट बिलकुलै पर बस्नुहोस्। जस्तै रक्सी पिउँदा आफ्ना कुइच्छाहरूमा काबू पाउन सजिलो हुँदैन र आत्मसंयम खेती गर्न पनि गाह्रो हुन्छ। त्यस्तैगरि, कामोत्तेजना जगाउने किताब, पत्रपत्रिका, टिभी कार्यक्रम वा चलचित्रहरूदेखि कोसौं टाढा बस्नुहोस्। भजनरचयिताले यस्तो प्रार्थना गरेका थिए: “व्यर्थका कुराहरू हेर्नदेखि मेरा आँखा फर्काइदिनुहोस्। र मलाई तपाईंको मार्गमा जीवित राख्नुहोस्।”—भजन ११९:३७.
अनि जुन जुन बेला तपाईंलाई हस्तमैथुन गर्न अति सकसक लाग्नसक्छ, त्यस्तो बेलाका लागि तपाईंले विशेष तयारी गर्न सक्नुहुन्छ। महिनाको त्यस्तो कुनै समयमा युवतीहरूले यौनइच्छा अति नै बढेको महसुस गर्नसक्छन्। अरूले भने निकै भावनात्मक चोट खाएका होलान् वा निराश होलान्। हितोपदेश २४:१० यस्तो चेताउनी दिन्छ: “सुदिनमा तेरो बल घट्यो भनेदेखि विपतको दिनमा तँ झन् कति असहाय हुनेछस्।” अतः त्यस्तो बेला धेरै बेर एक्लै नबस्नुहोस्। दिमाग खियाउनुपर्ने कामहरू छानेर आफ्नो मनलाई व्यस्त राख्नुहोस्। त्यसो गर्नुभयो भने, तपाईंको मनमा हतपत अनैतिक कुविचार आउँदैन।
आध्यात्मिक ढंगमा लड्ने
एघार वर्षको हुँदादेखि हस्तमैथुन छाड्न खोज्ने २७ वर्षीय युवक अन्ततः विजयी भए। तिनले यसो भने: “आफ्नो कुलतसित लड्न सक्नुपर्छ। म एक दिन नबिराई कम्तीमा बाइबलका दुइ अध्यायहरू पढ्छु।” विगत तीन वर्षदेखि एक दिन नबिराई तिनले त्यसै गरिरहेका छन्। अर्को मसीही यस्तो सुझाउ दिन्छन्: “सुत्नुअघि आध्यात्मिक कुरासित सम्बन्धित केही पढ्नुहोस्। राति ढल्नुअघि मनमा आध्यात्मिक कुरा हुनु अति महत्त्वपूर्ण छ। यस्तो बेला प्रार्थना गर्नु पनि त्यत्तिकै आवश्यक छ।”
अरूलाई बाइबल सिकाउने जस्ता कामहरू गरेर “प्रभुको काममा प्रशस्त” हुनु पनि मदतकारी हुन्छ। (१ कोरिन्थी १५:५८) हस्तमैथुन छाड्न सफल हुने महिलाले यसो भनिन्: “पूर्ण-समय प्रचारकको नाताले अहिले मेरो तनमनै अरूलाई कसरी परमेश्वरसित राम्रो सम्बन्ध गाँस्न मदत गर्ने भन्ने कुरामा व्यस्त भएकोले पनि मैले यो कुलत छाड्न सकेकी हुँ।”
अनि हृदयदेखि प्रार्थना गरेर तपाईंले परमेश्वरसित “असामान्य शक्ति” माग्न पनि सक्नुहुन्छ। (२ कोरिन्थी ४:७, NW) “उहाँको [परमेश्वरको] सामने आफ्नो हृदयको दुःख” पोखाउनुहोस्। (भजन ६२:८) प्रार्थनाकै सम्बन्धमा एक युवती यसो भन्छिन्: “प्रार्थना, तपाईंले भने बेला शक्ति पाउने भण्डार हो, यौनइच्छा जागेको बेला प्रार्थना गरेमा अवश्य मदत पाइन्छ, यसमा कुनै शंका छैन।” साथै बिहान उठ्ने बित्तिकै र दिनभरि यहोवालाई प्रार्थना गरेर आफ्नो निर्णयमा अटल बस्न पवित्र आत्मा माग्नुहोस्।—लूका ११:१३.
अरूबाट मदत
आफूले निकै प्रयास गर्दा पनि सफल हुनुभएन भने, आमाबाबु वा मसीही प्राचीनजस्ता तपाईंलाई मदत गर्नसक्ने व्यक्तिसित कुरा गर्नुहोस्। तपाईं युवती हुनुहुन्छ भने शायद परिपक्व मसीही स्त्रीसित कुरा गरेमा अझ मदत मिल्नसक्छ। (तितस २:३-५) झन्डै आशा मारिसकेका एक युवकले यसो भने: “मैले एक रात बुबासित एक्लै कुरा गरें। उहाँले मेरा सबै कुरा सुन्नुभयो। म रोएँ पनि। मलाई आफूदेखि असाध्यै शर्म लागेको थियो। तर त्यतिबेला मेरो बुबाले भन्नुभएको कुरा म कहिल्यै बिर्सन्नँ। मनै हल्का हुनेगरि मुस्कुराउँदै उहाँले यसो भन्नुभयो: ‘छोरा, कुरा नलुकाई भनेकोमा म तिमीदेखि खुशी छु।’ म कुन अवस्थाबाट गुज्रिरहेछु, उहाँले बुझ्नुभयो। शायद मेरो बुबाले अरू नै केही भन्नुभएको भए, मेरो मन यति हल्का हुने थिएन होला र आफ्नो कुलत छाड्न कम्मर कस्ने पनि थिइँन होला।
“त्यसपछि बुबाले सबै कुरा बिग्रिहालेको छैन भनी देखाउन केही शास्त्रपदहरू पढ्नुभयो र मैले आफ्नो गल्तीको गम्भीरता महसुस गरोस् भनेर अरू दुइ तीनवटा शास्त्रपदहरू पनि देखाउनुभयो। उहाँले मलाई समय तोक्ने र त्यतिञ्जेल आफूलाई ‘गलत कामदेखि अलग’ राख्ने अनि त्यसपछि दुवै बसेर फेरि छलफल गर्ने सल्लाह दिनुभयो। अनि त्यसबीच केहीगरि भूल भइहाल्यो भने आफूलाई असाध्यै दोषी महसुस नगर्ने बरु अरू लामो समय तोकेर त्यससँग संघर्ष गर्नू भन्नुभयो।” आफ्नो कुलतमाथि पूर्णतया विजय हासिल गरेपछि यो युवकले पछि यसो भने: “समस्या बुझ्ने अनि मदत गर्ने व्यक्ति पाउँदा कुरै अर्को हुँदो रहेछ।”
गलत काम दोहरिंदा के गर्ने
हस्तमैथुन छोड्न असाध्यै संघर्ष गर्दा गर्दै पनि फेरि हस्तमैथुन गर्न पुगेका एक युवकले यसो भने: “मलाई आफू कुनै ठूलो बोझले थिचिएजस्तो लाग्यो। आफूलाई नालायक सम्झें। त्यसपछि मैले आफ्नै तर्क ठेल्न खोजें: ‘म अति नै गिरें। मजस्तालाई यहोवाले के अनुग्रह देखाउनुहोला र, बेकारमा आफूसित किन कठोर व्यवहार गर्ने?’ ” तथापि, संघर्ष गर्दा गर्दै पनि बीचमा गलत काम गर्न पुगियो भन्दैमा हार नमान्नुहोस्। यही सन्दर्भमा १९ वर्षीया युवती यसो भन्छिन्: “सुरु-सुरुमा हरेक रात म त्यही पुरानो कुलत दोहऱ्याउथें। तर मैले यहोवामाथि भरोसा गुमाउनुको साटो झन् झन् बढाउँदै लगें। अहिले उहाँको आत्माको मदतले गर्दा वर्षको यस्तै ५-६ पटक मात्र चुक्छु। आफू त्यसरी चुकेपछि असाध्यै नमीठो महसुस त गर्छु तर अर्को पटक मनमा कुइच्छा जाग्दा त्यससँग लड्न म झन् बढ्ता साहस गर्छु।” बिस्तारै यस युवतीले आफ्नो कुलतमाथि विजय हासिल गर्दैछिन्।
संघर्ष गर्दा गर्दै पनि चुक्नुभयो भने, के कति कारणले चुक्नुभयो, केलाउनुहोस्। एक युवक यसो भन्छन्: “म आफू के पढ्दै वा सोच्दैथिएँ, त्यो विचार गर्छु। त्यसो गर्दा प्रायः सधैं आफू कहाँ किन चुकें थाह लगाउन सकिन्छ। यही तरिका अपनाएर म आफ्नो भूल सुधार्न खोज्दैछु।”
असल लडन्तका इनामहरू
हस्तमैथुन छाड्नसक्ने एक युवकले यसो भने: “कुलत छाड्न सकेदेखि यहोवासामु सफा अन्तस्करण राख्न सकेको छु र म अब कुनै हालतमा पनि त्यसलाई गुमाउन चाहन्नँ!”
हो, सफा अन्तस्करण, आत्मसम्मान, बलियो नैतिकता अनि परमेश्वरसितको घनिष्ठ सम्बन्ध। यी सबै हस्तमैथुनसित जोडतोडले लड्दा पाइने इनामहरू हुन्। अन्ततः हस्तमैथुनमाथि विजय हासिल गर्ने एक युवती यसो भन्छिन्: “विश्वास गर्नुहोस्, तपाईंले यो कुलतमाथि विजय हासिल गरेपछि आफूले पहिले गरेका प्रयत्नहरू केही जस्तो पनि लाग्दैन।”
छलफलका लागि प्रश्नहरु
◻ यौन उत्तेजक कुराहरू मनमा खेलाउनु किन खतरनाक कुरा हो? अरू नै कुरामा ध्यान मोड्न युवकयुवतीहरूले के गर्नसक्छन्?
◻ हस्तमैथुन गर्ने सकसक कम गर्न युवकयुवतीहरूले के गर्नसक्छन्?
◻ आध्यात्मिक कुराहरूको सहायता लिएर लड्नु किन मदतकारी छ?
◻ हस्तमैथुनमाथि विजय हासिल गर्न प्रार्थनाले कस्तो मदत दिन्छ?
◻ हस्तमैथुन छोड्न गाह्रो पऱ्यो भने अरू कसैसँग त्यसबारे कुरा गर्नु किन लाभदायी छ?
[पृष्ठ २०८ र २०९-मा भएको पेटी/चित्र]
अश्लील सामग्री—खतरनाक कुलत
“अश्लील सामग्रीहरू जताततै छन्। सडकको पसल-पसलमा हेर्नुहोस्, तपाईंले त्यही सजाएर राखेको देख्नुहुन्छ। हाम्रा केही शिक्षकहरू स्कूलमै त्यस्ता साहित्यहरू ल्याउँथे र अर्को शिक्षक नआउञ्जेल डेस्कमा राखेर पढ्थे।” उन्नाइस वर्षीय रोनाल्ड यसरी आफ्नो अनुभव बताउँछन्। हो, विभिन्न उमेर, पृष्ठभूमि अनि शैक्षिक स्तरका मानिसहरू असाध्यै चासो लिएर अश्लील साहित्यहरू पढ्छन्। यसै सम्बन्धमा मार्क भन्ने युवकले यसो भने: “केटीहरूको नग्न चित्रहरू भएको पत्रिकाहरू हेर्दा म असाध्यै रोमाञ्चित हुन्थें! . . . भर्खरै हेरेको अंकबाट चित्त नबुझेर म अर्को अंक कहिले निस्केला भनेर पर्खन्थें। अश्लील साहित्यहरू हेर्न थालेपछि लतै बस्दो रहेछ।” तर के त्यो राम्रो लत हो?
अश्लील साहित्यहरूले सिकाउने मुख्य कुरा नै यो हो कि ‘यौन आत्मसन्तुष्ट पार्ने साधन मात्र हो।’ अनि प्रायजसो अश्लील साहित्यहरू बलात्कार र यौनजन्य हिंसाहरूले भरिएका हुन्छन्। यस्ता साहित्यहरू हेर्ने थुप्रै व्यक्तिहरूलाई “हल्का फुल्का” अश्लील साहित्यहरू बिस्तारै कम उत्तेजक लाग्न थाल्छ र तिनीहरू अति अश्लील चित्र अनि चलचित्रहरू खोज्न थाल्छन्! न्यु योर्क युनिभर्सिटीका उपप्राध्यापक अर्नेस्ट भान देन हागले भनेजस्तै “अश्लील साहित्यले अरूलाई केवल मासुको चोक्टा अनि आफ्ना आनन्दका लागि उपभोग गर्ने वस्तुको रूपमा लिन उत्प्रेरित गर्छ।”
यसबाहेक अश्लील साहित्यले यौनसम्बन्धबारे टेढो, एकोहोरो दृष्टिकोण राख्न प्रेरित गर्छ, जसले वैवाहिक जीवनमा प्रायः समस्या उत्पन्न गर्छ। एक विवाहित युवती यसो भन्छिन्: “अश्लील साहित्यहरू पढेपछि आफ्नो लोग्नेसित पनि त्यहीं भनेजस्तो अनौठा कामहरू गर्ने इच्छा जाग्थ्यो। त्यसले गर्दा म बारम्बार निराश हुनुपऱ्यो र कहिल्यै यौन सन्तुष्टि पाइनँ।” सन् १९८१ मा अश्लील साहित्य पढ्ने पति भएका सयौं स्त्रीहरूको सर्वक्षेण लिइएको थियो। ती स्त्रीहरूलाई अश्लील साहित्यले वैवाहिक जीवनलाई कस्तो प्रभाव पारेको छ भनेर सोध्दा झन्डै आधाजतिले गम्भीर समस्याहरू उत्पन्न भएको रिपोर्ट गरे। वास्तवमा अश्लील साहित्यले गर्दा कसै-कसैको वैवाहिक जीवन वा मगनीसमेत टुटेको पाइयो। एउटी पत्नीले यसो भन्दै विलाप गरिन्: “मेरो लोग्नेले अश्लील साहित्यहरू पढेर चित्त बुझाएको देखेर मैले उहाँलाई यौनसन्तुष्टि दिन सकेको रहिनछु भनेर बुझ्नसक्थें . . . परमेश्वरले मलाई मेरो लोग्नेको चित्त बुझाउन सक्ने स्त्री बनाइदिनुभएको भए हुन्थ्यो भनेर म चिताउँथें। तर मेरो लोग्नेलाई प्लास्टिक र कागज नै मन परे पछि के लाग्छ। उहाँको यस्तो घटिया रुचिले गर्दा मेरो जीवनको एउटा भाग नै मरिसकेको छ। . . . अश्लील साहित्यले . . . प्रेमलाई मेटाउँछ . . . त्यो जस्तो घृणित, क्रूर अनि विनाशकारी कुरा अरू केही छैन।”
तथापि, मसीही युवकयुवतीहरूले चिन्ता गर्नुपर्ने सबैभन्दा ठूलो कुरा त के हो भने, परमेश्वरको दृष्टिमा स्वच्छ रहन कोसिस गर्ने व्यक्तिले अश्लील साहित्य हेरेर कहिल्यै सफल हुनसक्तैन। (२ कोरिन्थी ६:१७–७:१) “हृदय कठोर भएका” हुनाले प्राचीन समयका केही मानिसहरूले “सम्पूर्ण नैतिक चेतना गुमाए” (NW) र “लालचसाथ सारा अशुद्ध काम गर्नाको निम्ति आफैलाई कामोद्दीपनामा सुम्पिदिए” भनेर बाइबलले बताउँछ। (एफिसी ४:१८, १९) के तपाईं पनि तिनीहरूजस्तै भ्रष्ट हुन चाहनुहुन्छ? नबिर्सनुहोस्, आकलझुकल अश्लील साहित्य हेर्दासमेत अन्तस्करण चेतनशून्य हुनसक्छ। त्यस्तै साहित्य हेर्दा केही मसीही युवकयुवतीहरू हस्तमैथुन अनि त्योभन्दा पनि खराब, यौन अनैतिकतामा फस्न पुगेका छन्। तसर्थ, अश्लील साहित्यदेखि कोसौं टाढा बस्ने प्रयत्न गर्नु नै बुद्धिमानी हुनेछ।
ड्यारिल नाउँ गरेको केटो यसो भन्छन्, “धेरै पटक ठ्याक्कै आखाँले देख्नेगरि अश्लील साहित्यहरू राखिराख्या भेट्टाउँछु। त्यसकारण, नचाहँदा नचाहँदै आँखा त परिहाल्छ। तर म कहिल्यै फेरि घोरिएर हेर्दिनँ।” हो, अश्लील साहित्यहरू सबैले देख्नेगरि राखेको छ भने, त्यतातिर आँखा नघुमाउनुहोस् र स्कूलका साथीहरूको कुरा सुनेर त्यो हेर्ने मन पनि नगर्नुहोस्। यस सम्बन्धमा १८ वर्षीय क्यारेनले यस्तो तर्क गरे: “असिद्ध भएको हुनाले स्वच्छ र प्रशंसनीय कुराहरूमा ध्यान लगाउन त्यसै त गाह्रो छ भने, जानाजानी अश्लील साहित्यहरू पढ्न थाल्यो भने झन् कत्ति गाह्रो होला।”
[पृष्ठ २०६-मा भएको चित्र]
“प्रार्थना, तपाईंले भने बेला शक्ति पाउने भण्डार हो, यौनइच्छा जागेको बेला प्रार्थना गरेमा अवश्य मदत पाइन्छ, यसमा कुनै शंका छैन”