अध्याय ६
प्रतिज्ञा गरिएका बालक
नासरत फर्किनुको सट्टा यूसुफ र मरियम बेतलेहेममै बसिरहन्छन्। येशू आठ दिनको हुँदा मोशालाई दिइएको परमेश्वरका व्यवस्थाअनुसार उहाँको खतना गरिन्छ। आठ दिनपछि बालकको नाम राख्ने चलन छ। त्यसकारण स्वर्गदूतले पहिले नै अह्राएअनुसार तिनीहरूले उहाँको नाम येशू राख्छन्।
एक महिनाभन्दा बढी समय बित्छ र येशू अब ४० दिनको हुनुहुन्छ। अब उहाँलाई उहाँका आमाबाबुले कहाँ लग्छन्? तिनीहरू बसेको ठाउँदेखि केही किलोमिटर मात्र टाढा, यरूशलेमको मन्दिरमा। मोशाको व्यवस्थाअनुसार छोरो जन्मेको ४० दिनपछि आमालाई मन्दिरमा गएर चोखिनका निम्ति बलिदान चढाउन आवश्यक हुन्छ।
मरियम त्यसै गर्छिन्। बलिदानका निम्ति एक जोडी साना चराहरू ल्याउँछिन्। यसबाट यूसुफ र मरियमको आर्थिक अवस्था थाह हुन्छ। मोशाको व्यवस्थाअनुसार चराहरूभन्दा किम्मती थुमा बलिदान चढाउनुपर्ने हो। तर यदि त्यसो गर्न आमा असमर्थ भएमा एक जोडी ढुकुर कि दुई वटा परेवा भए पुग्छ।
मन्दिरमा एक जना बूढो मानिसले येशूलाई आफ्नो काखमा लिन्छन्। तिनको नाम शिमियोन हो। यहोवाले प्रतिज्ञा गर्नुभएका ख्रीष्ट अर्थात् मसीहलाई नदेखेसम्म तिनी मर्नेछैनन् भनेर परमेश्वरले तिनलाई भन्नुभएको छ। जब शिमियोन मन्दिरमा त्यस दिन आउँछन्, पवित्र शक्तिले तिनलाई यूसुफ र मरियमले बोकेको बालकतर्फ डोऱ्याउँछ।
येशूलाई आफ्नो काखमा लिएर शिमियोन परमेश्वरलाई यसो भनेर धन्यवाद चढाउँछन्: “अब हे सार्वभौमसत्ताधारी प्रभु, आफ्नो घोषणाबमोजिम तपाईं आफ्नो दासलाई शान्तिसाथ जान दिंदै हुनुहुन्छ। किनकि मेरो आँखाले उद्धार दिने तपाईंको माध्यम देखेको छ, जसलाई तपाईंले समस्त मानिसहरूको नजरसामु तयार पार्नुभएको छ, अनि जो अन्यजातिका मानिसहरूको घुम्टो हटाउने ज्योति अनि तपाईंका जन इस्राएलको गौरव हो।”
यो सुनेर यूसुफ र मरियम छक्क पर्छन्। अनि शिमियोनले तिनीहरूलाई आशिष् दिन्छन् र मरियमलाई भन्छन् कि तिनको छोरा “इस्राएलमा धेरै जनाको पतन अनि पुनः उत्थानको कारण बन्नेछ” र मरियमको मुटुलाई एउटा धारिलो तरबारले जस्तै पीडाले वारपार छेड्नेछ।
त्यस अवसरमा हन्ना नाम भएकी एउटी ८४ वर्षीया भविष्यवक्ता त्यहाँ उपस्थित छिन्। वास्तवमा तिनी मन्दिर कहिल्यै छोड्दैन थिइन्। त्यसैबेला तिनी नजिक आउँछिन् र परमेश्वरलाई धन्यवाद दिन्छिन् अनि सबैलाई येशूको विषयमा बताउन थाल्छिन्।
मन्दिरमा भएका यी घटनाहरूमा यूसुफ र मरियम कत्ति रमाउँछन्! निश्चय नै, यी सबै कुराबाट प्रमाणित हुन्छ कि यी बालक नै परमेश्वरले प्रतिज्ञा गर्नुभएका जन हुन्। लूका २:२१-३८; लेवी १२:१-८.
▪ इस्राएली बालकको कति बेला नाम राख्ने चलन थियो?
▪ बच्चा ४० दिन पुगेपछि इस्राएली आमाले के गर्नुपर्थ्यो र त्यस आवश्यकतालाई पूरा गर्दा मरियमको आर्थिक अवस्थाबारे के प्रकट हुन्छ?
▪ यस अवसरमा येशूलाई क-कसले चिन्छन् र यो तिनीहरूले कसरी देखाउँछन्?