अध्याय २५
एक जना कुष्ठरोगीलाई अनुकम्पा
येशू आफ्ना चेलाहरूका साथ गालीलका सहरहरूमा जाँदा उहाँले गरिरहनुभएका अद्भुत कामहरूको चर्चा सारा जिल्लाभरि फैलिन्छ। उहाँका कामहरूको खबर एउटा सहरमा पुग्छ जहाँ कुष्ठरोगले बिरामी भएको एक जना मानिस छ। डाक्टर लूकाले उसलाई “पूरै शरीरभरि कुष्ठरोग लागेको एक जना मानिस” भनी बताएका छन्। धेरै समयदेखि यस रोगले ग्रस्त पारेको खण्डमा शरीरका विभिन्न अङ्गहरू बिस्तारै कुरूप हुँदै जान्छ। त्यसकारण यो कुष्ठरोगी दयनीय अवस्थामा छ।
येशू सहरमा आइपुग्नुभएपछि त्यो कुष्ठरोगी उहाँ नजिक जान्छ। परमेश्वरको व्यवस्थाअनुसार अरूहरू कुष्ठरोगीको नजिक नआऊन् र तिनीहरूलाई रोग नसरोस् भनेर कुष्ठरोगीले “अशुद्ध, अशुद्ध!” भनी कराउनुपर्थ्यो। कुष्ठरोगी अब घोप्टो पर्छ र येशूलाई बिन्ती गर्छ: “प्रभु, यदि तपाईंसित इच्छा मात्र छ भने पनि मलाई शुद्ध पार्न सक्नुहुन्छ।”
येशूमाथि त्यस मानिसको कत्रो विश्वास! तर पनि रोगले गर्दा ऊ हेर्नमा कस्तो दयनीय भएको छ होला! येशूले के गर्नुहुनेछ? तपाईंले के गर्नुहुने थियो? अनुकम्पाले भरिएर येशूले आफ्नो हात पसार्नुहुन्छ र त्यसलाई यसो भन्दै छुनुहुन्छ: “मसित इच्छा छ। तिमी शुद्ध भइजाऊ।” तुरुन्तै त्यसको शरीरबाट कुष्ठरोग हराइहाल्छ।
के तपाईं यसप्रकारको अनुकम्पापूर्ण व्यक्ति आफ्नो राजा भएको चाहनुहुन्छ? कुष्ठरोगीसँग येशूले गर्नुभएको व्यवहार देख्दा उहाँको राज्य शासनबारे बाइबलमा भनिएको यो भविष्यवाणी निश्चय नै पूरा हुनेछ भनी हामी विश्वस्त हुन सक्छौं: “कमजोर र दरिद्रलाई उसले टिठाउनेछ, र दरिद्रहरूको प्राण उसले बचाउनेछ।” हो, त्यसबेला सबै दुःखितहरूलाई मदत गर्ने येशूको मनको इच्छा पूरा हुनेछ।
कुष्ठरोगीलाई निको पार्नुभन्दा अघिदेखि नै येशूको सेवाको कामले मानिसहरूमा हलचल मच्चाइरहेको छ। यशैयाको भविष्यवाणी पूरा गर्दै निको भएको मानिसलाई येशूले अब आदेश दिनुहुन्छ: “यो कुरा कसैलाई नभन।” अनि उहाँले त्यसलाई यस्तो निर्देशन दिनुहुन्छ: “गएर पुजारीलाई देखाऊ अनि मोशाले तोकेबमोजिमको भेटी चढाऊ ताकि तिमी शुद्ध भएछौ भनेर तिनीहरूले साक्षी पाऊन्।”
तर त्यो मानिस यति खुसी छ कि त्यो चमत्कार अरूहरूलाई नभनी बस्नै सक्दैन। ऊ जान्छ र यो खबर चारैतर्फ फिंजाउन थाल्छ, जसले गर्दा मानिसहरूमा यतिको उत्तेजना र कौतूहलता हुन्छ कि येशू सहरमा खुला रूपले कतै जानै सक्नुहुन्न। यसकारण कोही पनि नबस्ने, एकलासको ठाउँमा येशू गएर बस्नुहुन्छ र चारैतिरबाट मानिसहरू उहाँलाई सुन्न र आफ्ना रोगहरू निको पार्नलाई उहाँकहाँ आउँछन्। लूका ५:१२-१६; मर्कूस १:४०-४५; मत्ती ८:२-४; लेवी १३:४५; १४:१०-१३; भजन ७२:१३; यशैया ४२:१, २.
▪ कुष्ठरोगले गर्दा शरीरको अवस्था कस्तो हुन सक्छ र कुष्ठरोगीले के चेतावनी दिनुपर्थ्यो?
▪ एक जना कुष्ठरोगीले येशूलाई कसरी बिन्ती गर्छ र येशूको प्रतिक्रियाबाट हामी के सिक्न सक्छौं?
▪ निको भएको मानिसले येशूको आज्ञा कसरी उल्लङ्घन गर्छ र त्यसको परिणाम के हुन्छ?