अध्याय ५३
चाहिएकै असाधारण शासक
येशूले चमत्कारद्वारा हजारौंलाई खुवाउँदा मानिसहरू छक्क पर्छन्। “संसारमा आउनेवाला भविष्यवक्ता पक्कै पनि यिनी नै हुनुपर्छ” भनी तिनीहरू भन्छन्। येशू मोशाभन्दा महान् भविष्यवक्ता मात्र होइन तर उहाँ वास्तवमा बडो स्वीकार्य शासक पनि हुन सक्नुहुनेछ भन्ने निष्कर्षमा तिनीहरू पुग्छन्। यसकारण उहाँलाई समातेर राजा बनाउने योजना तिनीहरूले गर्छन्।
तथापि मानिसहरू यो योजना गरिरहेका छन् भन्ने कुरा येशूले बुझ्नुभएको छ। अतः तिनीहरूले बलजफत गर्नुअघि नै चाँड-चाँडो उहाँ त्यहाँबाट हिंडिहाल्नुहुन्छ। भीडबाट बिदा भएपछि आफ्ना चेलाहरूलाई डुङ्गामा कफर्नहुमतर्फ फर्किन लाउनुहुन्छ। त्यसपछि उहाँ डाँडामा प्रार्थना गर्न जानुहुन्छ। त्यो रात येशू त्यहाँ एक्लै बिताउनुहुन्छ।
बिहान हुनुभन्दा केही बेरअघि बेस्सरी बतास चलिरहेकोले समुद्रमा छाल उठ्न थालेको येशूले डाँडाबाट देख्नुहुन्छ। निस्तार-चाड नजिक भएकोले पूर्णिमाको उज्यालोमा उहाँका चेलाहरू डुङ्गामा छालहरूसँग सङ्घर्ष गरिरहेको येशूले देख्नुहुन्छ। तिनीहरू आफ्नो भएभरको शक्तिले डुङ्गा खियाइरहेका छन्।
यो देखेर येशू डाँडाबाट ओर्लनुहुन्छ र छालहरूको बीचबाट हुँदै डुङ्गातिर हिंड्न थाल्नुहुन्छ। उहाँ पुगुन्जेल डुङ्गा त्यहाँबाट पाँच-छ किलोमिटर पर गइसकेको हुन्छ। तथापि उहाँ त्यसलाई उछिनेर अझ अघि जान लागेजस्तै गर्नुहुन्छ। चेलाहरूले उहाँलाई देख्नासाथ चर्को सोरमा कराउँछन्, “यो पक्कै दृष्टिभ्रम हुनुपर्छ!”
सान्त्वना दिंदै येशू भन्नुहुन्छ: “मै हुँ, नडराओ।”
तर पत्रुस भन्छन्: “प्रभु, यदि तपाईं नै हुनुहुन्छ भने मलाई पानीमाथि हिंडेर तपाईंकहाँ आउने आज्ञा दिनुहोस्।”
“हुन्छ, आऊ!” भनी येशू जवाफ दिनुहुन्छ।
अनि पत्रुस डुङ्गाबाट ओर्लेर येशूकहाँ जानलाई पानीमाथि हिंड्न थाल्छन्। तर आँधी चलिरहेकोले पत्रुस डराउँछन् र डुब्न लागेपछि चिच्याएर कराउँछन्: “प्रभु, मलाई बचाउनुहोस्!”
झट्ट येशूले हात पसारेर पत्रुसलाई यसो भन्दै समात्नुहुन्छ: “ए थोरै विश्वास हुने मानिस, तिमीले किन शङ्का गऱ्यौ?”
पत्रुस र येशू डुङ्गाभित्र पसेपछि बतास शान्त हुन्छ र चेलाहरू चकित हुन्छन्। तर के तिनीहरू चकित हुनुपर्थ्यो र? केही घण्टाअघि मात्र येशूले चमत्कारपूर्ण ढङ्गमा पाँच वटा रोटी र दुई स-साना माछाहरूबाट हजारौंलाई खुवाउनुभएको तिनीहरूले देखेका थिए। तिनीहरूले ‘त्यसबाट पाठ सिकेका’ भए अहिले उहाँ पानीमा हिंडेर बतासलाई शान्त पारेको कुरा तिनीहरूका लागि त्यत्तिको आश्चर्यजनक हुनेथिएन। तथापि अब चेलाहरू येशूलाई दण्डवत् गर्दै भन्छन्: “तपाईं साँच्चै परमेश्वरको छोरा हुनुहुँदो रहेछ।”
केही बेरमै उहाँहरू गनेसरेत पुग्नुहुन्छ। यो ठाउँ कफर्नहुमको नजिक एउटा सुन्दर र उर्वर भूमि हो। त्यहाँ उहाँहरूले आफ्नो डुङ्गाको लङ्गर खसाल्नुहुन्छ। तर उहाँहरू सबै किनारतिर जाँदा मानिसहरूले येशूलाई चिन्छन् र त्यस इलाकाका वरिपरिका रोग लागेकाहरूलाई खोज्न तिनीहरू जान्छन्। बिरामीहरूलाई तिनीहरूका खाटहरूमा बोकेर उहाँकहाँ ल्याउँछन् र यी रोगीहरूले उहाँको लुगाको किनार मात्र छोए तापनि तिनीहरू पूरै निको हुन्छन्।
यसैबीच, येशूले हजारौंलाई खुवाउनुभएको चमत्कार देख्ने भीडले येशू गइसक्नुभएको कुरा भोलिपल्ट थाह पाउँछ। यसकारण टाइबेरियसबाट स-साना डुङ्गाहरू आउँदा तिनीहरू यी डुङ्गाहरूमा चढेर कफर्नहुमतिर येशूलाई खोज्न जान्छन्। उहाँलाई फेला पारेपछि तिनीहरू प्रश्न गर्छन्: “रब्बी, तपाईं यहाँ कहिले आउनुभयो?” येशूले तिनीहरूलाई हप्काउनुहुन्छ र यस विषयमा हामी चाँडै नै थाह पाउनेछौं। यूहन्ना ६: १४-२५; मत्ती १४: २२-३६; मर्कूस ६: ४५-५६.
▪ येशूले चमत्कारद्वारा हजारौंलाई खुवाएपछि मानिसहरूले उहाँलाई के गर्न चाहन्छन्?
▪ आफू एकान्तमा बसिरहेको डाँडाबाट येशू के देख्नुहुन्छ र यसपछि के गर्नुहुन्छ?
▪ यी सबै कुरा देखेर चेलाहरू किन छक्क पर्नु पर्दैनथ्यो?
▪ तिनीहरू किनारमा पुगेपछि के हुन्छ?