अध्याय ५७
दुःखमा परेकाहरूका लागि अनुकम्पा
फरिसीहरूलाई तिनीहरूको स्वार्थ पूरा गर्ने परम्पराका निम्ति निन्दा गरेपछि येशू आफ्ना चेलाहरूका साथ त्यहाँबाट हिंड्नुहुन्छ। तपाईंलाई सम्झना होला, केही समयअघि भीडले उहाँहरूलाई भेट्टाएपछि चेलाहरूसँग अलग्गै गएर केही बेर आराम गर्ने उहाँको प्रयास विफल भएको थियो। अब उहाँ आफ्ना चेलाहरूसित धेरै टाढा उत्तरतर्फ, टायर र सीदोनको सीमानातिर जानुहुन्छ। इस्राएलको सीमानाभन्दा बाहिरी क्षेत्रमा येशूले आफ्ना चेलाहरूसित गर्नुभएको सम्भवतः यो एक मात्र यात्रा हो।
एउटा बस्ने घर पाएपछि उहाँहरूको अत्तोपत्तो कसैले थाह नपाऊन् भन्ने आफ्नो इच्छा येशू जाहेर गर्नुहुन्छ। तर यो गैर-इस्राएली क्षेत्रमा पनि उहाँ छिप्न सक्नु हुन्न। सिरियाबाट आएकी फोनिसियाली ग्रीक स्त्रीले उहाँको पत्ता लगाउँछे र उहाँसँग बिन्ती गर्छे: “हे प्रभु, दाऊदका छोरा, ममाथि कृपा गर्नुहोस्। मेरी छोरीलाई दुष्ट स्वर्गदूतले असाध्यै सताइराखेको छ।” तथापि येशूले त्यसलाई केही जवाफ दिनु हुन्न।
अन्तमा उहाँका चेलाहरूले येशूलाई भन्छन्: “यस स्त्रीलाई पठाइदिनुहोस्। किनकि यो रूँदै हाम्रो पछि-पछि लागिरहेकी छे।” त्यस स्त्रीको कुरामा आफूले ध्यान नदिनुको कारण बताउँदै येशू भन्नुहुन्छ: “म इस्राएलको घरानाका ती मानिसहरूका निम्ति मात्र पठाइएको हुँ, जो हराएका भेडाहरूजस्ता छन्।”
तथापि त्यस स्त्री हार मान्दिन। येशूको नजिक आएर दण्डवत् गर्दै भन्छे: “प्रभु, मलाई मदत गर्नुहोस्!”
एकाग्रचित्तका साथ त्यस स्त्रीले गरेकी बिन्तीले येशूको मनमा कस्तो गहिरो प्रभाव पाऱ्यो होला! तापनि आफ्नो प्रथम जिम्मेवारी परमेश्वरका जन अर्थात् इस्राएलीहरूको सेवा गर्नु हो भन्ने कुरालाई उहाँ फेरि सङ्केत गर्नुहुन्छ। साथै, त्यस स्त्रीको विश्वास जाँच गर्ने उद्देश्यले अन्यजातिहरूप्रति यहूदीहरूको पूर्वाग्रही दृष्टिकोणलाई सङ्केत गर्दै उहाँ तर्क गर्नुहुन्छ: “केटाकेटीको रोटी खोसेर कुकुरका छाउराहरूलाई दिनु उचित हुँदैन।”
टिठालु आवाज र अनुहारको भावबाट येशू निश्चय नै गैर-यहूदीहरूप्रति आफ्ना कोमल भावना प्रदर्शित गर्नुहुन्छ। अन्यजातिहरूलाई कुकुरसित तुलना गर्दा पनि कोमलताको भाव प्रकट गर्दै उहाँ तिनीहरूलाई “छाउराहरू”-सँग तुलना गर्नुहुन्छ। येशूले यहूदीहरूका पूर्वाग्रहहरूबारे चर्चा गर्नुभयो भनेर रिसाउनुको सट्टा त्यसै कुरालाई साथ दिंदै त्यस स्त्रीले नम्रतापूर्वक भन्छे: “हो प्रभु, तर छाउराहरूले पनि त आफ्ना मालिकको टेबुलबाट झरेका टुक्राटाक्री खान पाउँछन् नि।”
येशू जवाफ दिनुहुन्छ: “हे नारी, तिम्रो विश्वास ठूलो रहेछ। तिमीले इच्छा गरेको कुरा तिमीलाई पुगोस्।” र त्यो पुग्छ पनि! घर फर्केर जाँदा उसकी छोरी पूरै निको भएर ओछ्यानमा बसिरहेकी उसले देख्छे।
सीदोनको समुद्री क्षेत्रबाट येशू आफ्ना चेलाहरूसित यर्दन नदीको मुहानतर्फ लाग्नुहुन्छ। गालील समुद्रको माथिल्लो छेउबाट उहाँहरू यर्दन पार गर्नुहुन्छ र समुद्रको पूर्वपट्टि डेकापोलिस क्षेत्रमा प्रवेश गर्नुहुन्छ। त्यहाँ उहाँहरू डाँडामा उक्लिनुहुन्छ तर भीडले थाह पाएर त्यहाँ पनि लङ्गडा, अन्धा, गुँगा, कूँजो र धेरै प्रकारका बिरामीहरू येशूकहाँ ल्याउँछन्। वास्तवमा तिनीहरूले ती रोगीहरूलाई येशूका चरणमा राखिदिन्छन् र उहाँले तिनीहरूलाई निको पारिदिनुहुन्छ। गुँगाहरू बोलेका, कूँजोहरू निको भएका, लङ्गडाहरू हिंडेका, अन्धाहरूका आँखा खोलिएका देखेर मानिसहरू छक्क पर्छन्; र तिनीहरूले इस्राएलका परमेश्वरको महिमा गर्छन्।
येशूको ध्यान विशेषगरि एउटा मानिसमाथि जान्छ जो बहिरो र भकभके छ। बहिराहरू अक्सर सजिलैसित सङ्कोच मान्छन्, खासगरि भीडमा। येशू त्यस मानिसमा भएको विशेष त्रास देख्न सक्नुहुन्छ। अतः येशूले अनुकम्पा प्रकट गर्दै त्यस मानिसलाई भीडबाट अलग्गै लानुहुन्छ। आफूहरू एकान्तमा भएको बेला आफूले उसको निम्ति गर्न लागेको कुरा येशू प्रकट गर्नुहुन्छ। उहाँले त्यस मानिसको कानमा आफ्ना औंला हाल्नुहुन्छ र थुकेर त्यसको जिब्रो छुनुहुन्छ। अनि आकाशतिर हेरेर येशू लामो सास तान्नुहुन्छ र भन्नुहुन्छ: “खोलिजा।” अनि त्यसको कान खुल्छ र ऊ प्रस्ट बोल्न सक्छ।
येशूले यत्तिका मानिसहरूलाई निको पारेको देखेर भीडले कृतज्ञता प्रकट गर्छ। तिनीहरू भन्छन्: “उहाँले गर्नुभएका सबै कुरा असल छन्। यहाँसम्म कि, उहाँले बहिरालाई सुन्न सक्ने र गुँगालाई बोल्न सक्ने बनाउनुहुन्छ।” मत्ती १५:२१-३१; मर्कूस ७:२४-३७.
▪ ग्रीक स्त्रीकी छोरीलाई येशूले किन तुरुन्त निको पार्नु हुन्न?
▪ पछि येशूले आफ्ना चेलाहरूलाई कहाँ लग्नुहुन्छ?
▪ बहिरो र भकभकेसँग येशूले कसरी अनुकम्पापूर्ण व्यवहार गर्नुहुन्छ?