अध्याय ७५
आनन्दको स्रोत
गालीलमा सेवाको कामको दौडान येशूले चमत्कारहरू देखाउनुभएको थियो र अब ती चमत्कारहरू उहाँ यहूदियामा पनि दोहोऱ्याउनुहुन्छ। उदाहरणका लागि, एक जना मानिसबाट दुष्ट स्वर्गदूत धपाइदिनुहुन्छ, जसले गर्दा त्यो मानिस बोल्न सकेको थिएन। भीड छक्क पर्छ तर उहाँका आलोचकहरूले गालीलमा गरेझैं फेरि पनि अड्को थाप्छन्। “यसले दुष्ट स्वर्गदूतहरूको शासक बालजिबुलको मदतले दुष्ट स्वर्गदूतहरूलाई धपाउँछ” भनी तिनीहरू दाबी गर्छन्। अरूचाहिं येशूबाट उहाँको चिनारीबारे अझ बढ्ता प्रमाण चाहन्छन् र उहाँको परीक्षा गर्ने कोसिस गर्दै स्वर्गबाट एउटा चिन्हको माग गर्छन्।
येशूले गालीलमा आफ्ना आलोचकहरूलाई जे जवाफ दिनुभएको थियो, तिनीहरूको विचार थाह पाएर त्यही जवाफ यहूदियाका आलोचकहरूलाई पनि दिनुहुन्छ। उहाँ भन्नुहुन्छ, जुन राज्यभित्र आपसमै फूट हुन्छ त्यो राज्यको पतन हुन्छ। उहाँ सोध्नुहुन्छ, “त्यसैले सैतान आफैमा पनि फूट छ भने त्यसको राज्य कसरी टिक्ला र?” आफ्ना आलोचकहरूको खतरनाक स्थिति औंल्याउँदै उहाँ भन्नुहुन्छ: “यदि म परमेश्वरको पवित्र शक्तिले दुष्ट स्वर्गदूतहरूलाई धपाउँछु भने यसको मतलब, परमेश्वरको राज्य आएको तिमीहरूले चालै पाएका रहेनछौ।”
येशूले गर्नुभएका चमत्कारहरू देख्ने मानिसहरूले त्यसै प्रकारको प्रतिक्रिया व्यक्त गर्नुपर्ने हो जुन प्रकारको प्रतिक्रिया शदियौंअघि मोशाले गरेको चमत्कार देख्ने मानिसहरूले व्यक्त गरेका थिए। ती मानिसहरू चकित हुँदै कराएका थिए: “यसमा त परमेश्वरकै हात परेको छ!” “उहाँका आफ्ना औंलाले” नै ढुङ्गाका पाटीहरूमा दस आज्ञा कोरेको थियो। ‘परमेश्वरको औंला’—उहाँको पवित्र शक्ति अर्थात् सक्रिय शक्तिद्वारा नै येशूले दुष्ट स्वर्गदूतहरू धपाउन र बिरामीहरूलाई निको पार्न सक्नुभएको हो। यसकारण परमेश्वरको राज्य आएको वास्तवमा ती आलोचकहरूले चालै पाएका छैनन्, किनकि त्यस राज्यका नियुक्त राजा येशू स्वयम् तिनीहरूको माझमा हुनुहुन्छ।
आफ्नो घरको रखवाली गरिरहेको हातहतियारले सुसज्जित बलियो मानिसलाई अर्को अझ बलियो मानिस आएर पराजित गरेझैं दुष्ट स्वर्गदूतहरूलाई निकाल्न सक्ने येशूको शक्तिले उहाँ सैतानभन्दा शक्तिशाली हुनुहुन्छ भन्ने कुराको प्रमाण दिन्छ भनी अब येशू उदाहरण दिनुहुन्छ। एउटा दुष्ट स्वर्गदूतबारे आफूले गालीलमा भनेको उदाहरणलाई फेरि दोहोऱ्याउनुहुन्छ। त्यो दुष्ट स्वर्गदूतले मानिसलाई छोडेर जान्छ तर त्यस मानिसले खाली ठाउँमा असल कुराहरू नभरेकोले त्यो दुष्ट स्वर्गदूत अरू सात वटा स्वर्गदूतलाई साथमा लिएर आउँछ र त्यस मानिसको पछिल्लो अवस्था पहिलेको भन्दा झन् खराब हुन्छ।
यी शिक्षाहरू सुनिरहेको बेलामा भीडबाट एउटी स्त्रीले चिच्याएर भन्छे: “धन्य हुन् ती आमा, जसको कोखबाट तपाईंले जन्म लिनुभयो र जसको स्तन तपाईंले चुस्नुभयो!” एक जना भविष्यवक्ता र विशेषगरि मसीहकी आमा हुने आकाङ्क्षा प्रत्येक यहूदी स्त्रीले गरेकोले त्यस स्त्रीले यसो भन्नु स्वाभाविक हो। येशूकी आमा हुन पाएकोमा मरियम खुसी हुने विशेष कारण छ भनी यस स्त्रीले सोचेकी होली।
तथापि साँचो आनन्दको स्रोतबारे त्यस स्त्रीको विचारलाई येशू तुरुन्तै सच्याउनुहुन्छ। उहाँ भन्नुहुन्छ, “त्यसो होइन। धन्य त तिनीहरू हुन्, जसले परमेश्वरको वचन सुन्छन् र पालन गर्छन्!” येशूले आफ्नी आमा मरियमलाई विशेष आदर दिनू भनी कहिल्यै पनि भन्नुभएन। साँचो आनन्द कसैको शारीरिक साइनो पर्ने भएर अथवा कुनै काम सम्पन्न गरेर पाइँदैन। त्यो त परमेश्वरको विश्वासिलो सेवक भएर नै प्राप्त हुन्छ भनेर उहाँले देखाउनुभयो।
यहूदियाका मानिसहरूले स्वर्गबाट चिन्हको अनुरोध गरेकोमा गालीलका मानिसहरूलाई हप्काएझैं येशू तिनीहरूलाई पनि हप्काउनुहुन्छ। योनाको चिन्हबाहेक अरू कुनै चिन्ह दिइनेछैन भनी उहाँ तिनीहरूलाई भन्नुहुन्छ। माछाको पेटभित्र तीन दिनसम्म बसेका र पछि निडरतासाथ प्रचार गरेर निनवेका मानिसहरूले पश्चात्ताप गरेकाले योना एउटा चिन्ह हुन गए। येशू भन्नुहुन्छ, “तर हेर, योनाभन्दा पनि ठूलो कोही एक जना यहाँ छ।” त्यसैगरि दक्षिणकी महारानी सुलेमानको ज्ञान देखेर अचम्म मानेकी थिइन्। येशू फेरि भन्नुहुन्छ, “तर हेर, सुलेमानभन्दा पनि ठूलो कोही एक जना यहाँ छ।”
कसैले दियो बालेर तहखानामा अथवा पाथीमुनि राख्दैन तर भित्र पस्नेहरू सबैले उज्यालो देखून् भनेर पानसमाथि राख्छ भनी येशू व्याख्या गर्नुहुन्छ। आफ्ना श्रोताहरूमध्येका यी हठी मानिसहरूका सामुन्ने शिक्षा दिनु र चमत्कार देखाउनु दियोको ज्योति लुकाएसरह हो भनी उहाँले सङ्केत गर्नुभएको हुन सक्छ। यस्ता दर्शकहरूका आँखा निर्मल अर्थात् एउटै कुरामा केन्द्रित छैनन्। यसले गर्दा उहाँका चमत्कारहरूको मुख्य उद्देश्य तिनीहरूले बुझ्न सक्दैनन्।
येशूले भर्खरै एउटा दुष्ट स्वर्गदूतलाई धपाउनुभएको छ र एउटा गुँगोलाई बोल्न सक्ने पार्नुभएको छ। यसप्रकारका चमत्कारहरू देखेर निर्मल अर्थात् एउटै कुरामा केन्द्रित आँखा भएका मानिसहरू यी महान् कार्यहरूको प्रशंसा गर्दै सुसमाचारको घोषणा गर्न प्रोत्साहित हुनुपर्ने हो! तर ती आलोचकहरूमाथि त्यस्तो केही असर पर्दैन। अतः येशू अन्तमा भन्नुहुन्छ: “त्यसैले सतर्क रहो। कतै तिमीमा भएको उज्यालो अँध्यारो नहोस्। त्यसकारण, तिम्रो शरीर पूरै उज्यालो छ र कुनै पनि भाग अँध्यारो छैन भने दियोको किरणले दिने उज्यालोजस्तै तिम्रो शरीर पनि पूरै उज्यालो हुनेछ।” लूका ११:१४-३६; प्रस्थान ८:१८, १९; ३१:१८; मत्ती १२:२२, २८.
▪ येशूले मानिसलाई निको पार्नुभएपछि कस्तो प्रतिक्रिया व्यक्त गरिन्छ?
▪ ‘परमेश्वरको औंला’ के हो र येशूका श्रोताहरूले परमेश्वरको राज्य आएको कसरी चालै पाएका थिएनन्?
▪ साँचो आनन्दको स्रोत के हो?
▪ मानिसको आँखा कसरी निर्मल हुन सक्छ?