अध्याय ९७
दाखबारीका खेतालाहरू
येशूले भर्खरै “धेरै जना जो पहिला छन्, ती पछिल्ला हुनेछन् र जो पछिल्ला छन्, ती पहिला हुनेछन्” भन्नुभयो। अब उहाँ यस कुराको व्याख्या एउटा कथाद्वारा गर्नुहुन्छ: “स्वर्गको राज्य दाखबारीको मालिकजस्तै हो, जो ज्यालादारी खेतालाहरू खोज्न बिहान सबेरै निस्क्यो।”
येशू भन्दै जानुहुन्छ: “अनि उसले एक दिनको ज्याला एक दिनार दिने कबुल गरेर खेतालाहरूलाई दाखबारीमा पठायो। बिहानको नौ बजेतिर बाहिर जाँदा उसले केही खेतालाहरू काम नपाएर बजारमा त्यत्तिकै उभिरहेको देख्यो। अनि उसले तिनीहरूलाई भन्यो: ‘तिमीहरू पनि मेरो दाखबारीमा जाओ र म तिमीहरूलाई त्यसको उचित ज्याला दिऊँला।’ त्यसैले तिनीहरू गए। ऊ फेरि मध्यान्ह बाह्र बजे र दिउँसोको तीन बजेतिर बाहिर गयो र त्यसै गऱ्यो। अन्तमा, ऊ साँझको पाँच बजेतिर फेरि गयो र केही खेतालाहरू उभिरहेका देख्यो र उसले तिनीहरूलाई सोध्यो: ‘तिमीहरू किन काम नगरेर दिनभरि त्यत्तिकै उभिरहेको?’ तिनीहरूले उसलाई भने: ‘किनभने कसैले पनि हामीलाई काममा लगाएन।’ अनि उसले तिनीहरूलाई भन्यो: ‘त्यसोभए तिमीहरू पनि मेरो दाखबारीमा जाओ।’ ”
घरको मालिक अर्थात् दाखबारीको मालिक यहोवा परमेश्वर हुनुहुन्छ र दाखबारीचाहिं इस्राएल राष्ट्र हो। खेतालाहरू व्यवस्थाको करारमा ल्याइएका मानिसहरू हुन्; तिनीहरू विशेषगरि प्रेषितहरूका समयका यहूदीहरू हुन्। दिनभरि काम गर्ने खेतालाहरूसित मात्र ज्याला तोकिएको छ। दिनभरि काम गरेको ज्याला एक दिनार हो। यसकारण बिहान ९ बजे, मध्यान्ह १२ बजे, दिउँसो ३ बजे र साँझ ५ बजे काम गर्न बोलाइएकाहरूले क्रमशः ९, ६, ३ र १ घण्टा मात्र काम गर्छन्।
दिनभरि अथवा १२ घण्टा काम गर्ने खेतालाहरूले यहूदी नेताहरूको प्रतिनिधित्व गर्छ, जो धर्मको नाममा व्यस्त रहँदै आएका छन्। तिनीहरू येशूका चेलाहरूजस्ता होइनन्, जसले आफ्ना जीवनका धेरैजसो समय माछा मार्ने वा त्यस्ता अन्य काममा बिताएका छन्। तिनीहरूलाई बटुलेर येशूका चेला बनाउन “दाखबारीको मालिकले” इस्वी संवत् २९ मा मात्र येशूलाई पठाउनुभयो। यसप्रकार यी चेलाहरू “पछिल्ला” अर्थात् साझँ ५ बजे दाखबारीमा काम गर्न आउने खेतालाहरू भए।
आखिरमा, काम गर्ने त्यो प्रतीकात्मक दिन येशूको मृत्यु हुँदा सिद्धिन्छ र खेतालाहरूलाई ज्याला दिने समय आइपुग्छ। सबैभन्दापछि आउनेलाई पहिले ज्याला दिने असामान्य प्रक्रिया अपनाइन्छ। यसबारे व्याख्या गर्दै येशू भन्नुहुन्छ: “जब साँझ पऱ्यो, तब दाखबारीको मालिकले आफ्नो घरको रेखदेख गर्ने नाइकेलाई भन्यो: ‘खेतालाहरूलाई बोलाऊ अनि काममा सबैभन्दा पछि आउनेहरूबाट सुरु गरेर पहिला आउनेहरूलाई तिनीहरूको ज्याला देऊ।’ तब साँझको पाँच बजे काम सुरु गर्ने खेतालाहरू आए र तिनीहरू हरेकले एक दिनार पाए। जब सुरुमा काम थाल्नेहरू आए, तिनीहरूले बढी ज्याला पाउँछौं भन्ठाने तर तिनीहरूले पनि एक दिनारको हिसाबले नै पाए। एक दिनार मात्र पाएपछि तिनीहरूले दाखबारीको मालिकविरुद्ध गनगन गर्न थाले र भने: ‘यी पछि आउनेहरूले एक घण्टा मात्र काम गरे। हामीले भने दिनभरि घाममा जोतिएर काम गऱ्यौं तैपनि तपाईंले तिनीहरूलाई हामीसरह ज्याला दिनुभयो।’ अनि तिनीहरूमध्ये एक जनालाई मालिकले यस्तो जवाफ दियो: ‘हेर भाइ, मैले तिमीलाई केही अन्याय गरेको छैन। के तिमीले मसित एक दिनारमै काम गर्ने कबुल गरेका होइनौ? तिम्रो जे हो, लिएर जाऊ। पछि आउने यसलाई पनि म तिमीलाई जति नै दिन चाहन्छु। मेरो सम्पत्ति म जेसुकै गरूँ, के त्यो मेरो अधिकार होइन र? वा मैले भलाइ गरेको देखेर तिमीलाई डाह लाग्यो?’ ” अन्तमा, येशूले पहिले भनिसकेको कुरालाई फेरि दोहोऱ्याउनुहुन्छ: “यसरी पछिल्लाहरूचाहिं पहिला हुनेछन् अनि पहिलाहरूचाहिं पछिल्ला हुनेछन्।”
दिनार थाप्ने काम येशूको मृत्युमा होइन तर इस्वी संवत् ३३ को पेन्तिकोसमा हुन्छ जब “घरको रेखदेख गर्ने नाइके” ख्रीष्टले आफ्ना चेलाहरूमाथि पवित्र शक्ति खन्याउनुहुन्छ। येशूका यी चेलाहरू “पछिल्ला” अर्थात् साँझ पाँच बजे काम गर्न आउने खेतालाहरूजस्ता हुन्। दिनार भनेको पवित्र शक्तिको वरदानै त होइन। दिनारले चेलाहरूले पृथ्वीमा प्रयोग गर्ने कुरालाई बुझाउँछ। त्यसको अर्थ तिनीहरूको दिनभरिको कमाइ अर्थात् तिनीहरूले पाउने अनन्त जीवन हो। यो परमेश्वरको राज्यबारे प्रचार गर्न अभिषिक्त इस्राएली हुन पाउने विशेषाधिकार हो।
येशूका चेलाहरूले ज्याला पाइसकेको कुरा ती पहिले आउने खेतालाहरूले चाँडै थाह पाइहाल्छन् र ती चेलाहरूले त्यो प्रतीकात्मक दिनारलाई प्रयोग गरिरहेको पनि देख्छन्। तर यिनीहरू पवित्र शक्ति र त्यससित सम्बन्धित राज्यका विशेषाधिकारहरूभन्दा बढी कुराहरू चाहन्छन्। दाखबारीमा सबैभन्दा “पछि” काम गर्न आउने खेतालाहरू अर्थात् येशूका चेलाहरूलाई यिनीहरूले सताउँदै आफ्नो गनगन र आपत्ति व्यक्त गर्छन्।
येशूको यो उदाहरणको पूर्ति के प्रथम शताब्दीमा मात्र हुन्छ? होइन, यस २१ औं शताब्दीमा पनि चर्चजगत्का पादरीहरू तिनीहरूका पद र जिम्मेवारीहरूको कारण परमेश्वरका प्रतीकात्मक दाखबारीमा काम गर्न लगाइएकाहरूमध्ये “पहिला” हुन्। वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीसित सम्बन्धित समर्पित प्रचारकहरूलाई तिनीहरूले परमेश्वरको सेवा गर्न “पछि” आएकाहरू भन्ठाने। तर यथार्थमा पादरीहरूले तुच्छ ठानेकाहरूले नै दिनार पाएका छन् अर्थात् परमेश्वरको स्वर्गीय राज्यको अभिषिक्त राजदूतहरूको हैसियतमा सेवा गर्ने मान पाएका छन्। मत्ती १९:३०–२०:१६.
▪ दाखबारीले केको प्रतिनिधित्व गर्छ? दाखबारीको मालिक अनि १२ घण्टा र एक घण्टा काम गर्ने खेतालाहरूले कसको प्रतिनिधित्व गर्छन्?
▪ काम गर्ने प्रतीकात्मक दिन कहिले अन्त भयो र ज्याला कहिले दिइयो?
▪ ज्यालास्वरूप दिनार दिनुको अर्थ के हो?