अध्याय १२०
चोकमा तिरस्कार
गेत्समनीको बगैंचामा येशूलाई छाडेर बाँकी अरू प्रेषितसँगै डराउँदै भागेपछि पत्रुस र यूहन्ना बाटोमा रोकिन्छन्। सायद येशूलाई हन्नासको घरतर्फ लगिरहेको बेलामा तिनीहरूले उहाँलाई भेट्टाउँछन्। हन्नासले येशूलाई प्रधान पुजारी कैयाफाकहाँ पठाउँदा पत्रुस र यूहन्ना टाढैबाट उहाँको पछि-पछि जान्छन्। तिनीहरूलाई एकातिर आफ्नै ज्यानको डर छ भने अर्कोतिर तिनीहरूका मालिकलाई के हुने हो भन्ने चिन्ता पनि छ।
कैयाफाको फराकिलो निवासस्थानमा आएपछि यूहन्नाले भित्र चोकमा प्रवेश पाउँछन् किनकि प्रधान पुजारीसित उनको चिनजान छ। पत्रुसचाहिं ढोकाबाहिर उभिरहन्छन्। तर यूहन्ना चाँडै फर्किन्छन् र ढोकामा पाले बस्ने स्त्री अर्थात् नोकर्नीसित कुरा गरेर पत्रुसलाई पनि भित्र लग्छन्।
अहिलेसम्म जाडो निकै बढिसकेको छ र प्रधान पुजारीका घरका पहरेदारहरू र दासहरूले आगो बालेका छन्। येशूको पुर्पक्षको फैसला पर्खेर बस्दा पत्रुस पनि सबै जनासँग आगो ताप्न थाल्छन्। पत्रुसलाई भित्र पस्न दिने ढोकेले त्यहाँ आगोको उज्यालोमा तिनलाई अझ राम्ररी हेर्छे। “तपाईं पनि त गालीली येशूसँगै हुनुहुन्थ्यो नि!” भन्दै ऊ कराउँछे।
आफूलाई चिनेकोमा विचलित हुँदै पत्रुसले त्यहाँ सबैको सामुन्ने आफूले येशूलाई पटक्कै चिनेको छैन भन्न थाल्छन्। तिनी भन्छन्: “न म उहाँलाई चिन्छु, न त तिमी जे भन्दैछ्यौ, त्यो बुझ्छु।”
यति भनेर पत्रुस मूल-ढोकातिर निस्कन्छन्। त्यहाँ फेरि अर्की नोकर्नीले तिनलाई देख्छे र वरिपरि उभिनेहरूलाई भन्छे: “यो मानिस नासरी येशूसँगै थियो।” यो अर्को पटक पनि कसम खाएर पत्रुसले तिरस्कार गर्दै भन्छन्: “मैले त्यो मानिसलाई चिनेकै छैन!”
आफूलाई कसैले नचिनोस् भनेर पत्रुस चोकमै उभिरहन्छन्। सायद यसै बेला बिहानको झिसमिसे उज्यालोमा भाले कराएको सुनेर उनी झस्किन्छन्। यसै बीच येशूको पुर्पक्ष सम्भवतः चोकको माथिल्लो तलाको एउटा भागमा चलिरहेको छ। पत्रुस र तल उभिरहेका अरूले जरुर पनि साक्षी दिन ल्याइएका विभिन्न साक्षीहरू आउजाउ गरेका देख्छन्।
पत्रुसलाई पछिल्लो पटक येशूका एक जना सँगी ठानिएको अब लगभग एक घण्टा बितिसकेको छ। अब त्यहाँ उभिरहेका थुप्रै व्यक्ति तिनको नजिक आएर यसो भन्छन्: “तिमी पक्कै पनि तिनीहरूमध्येकै हौ, किनकि तिम्रो बोलीबाटै थाह हुन्छ।” तिनीहरूमध्ये एक जना त त्यो माल्कसको नातेदार हो, जसको कान पत्रुसले काटेका थिए। उसले भन्छ: “मैले तपाईंलाई उहाँसित बगैंचामा देखेको होइन र?”
पत्रुस जोडसित भन्छन्: “मैले त्यो मानिसलाई चिनेकै छैन!” वास्तवमा तिनीहरूले गल्ती गरिरहेछन् भनी तिनीहरूको चित्त बुझाउन पत्रुस सराप्दै कसम खान्छन् अर्थात् आफूले सत्य बोलेको होइन भने आफैमाथि विपत्ति आइपरोस् भन्छन्।
पत्रुसले यो तेस्रो पटक येशूलाई तिरस्कार गर्नासाथै भाले बास्छ। र ठीक त्यही घडी येशू सायद चोकमाथिको बार्दलीमा बाहिर निस्कनुभएको छ। त्यहींबाट उहाँले फर्केर तल पत्रुसलाई हेर्नुहुन्छ। केही घण्टाअघि मात्र येशूले माथिल्लो तलाको कोठामा भन्नुभएको यो कुरा पत्रुसलाई तुरुन्तै सम्झना हुन्छ: “भाले दुई चोटि बास्नुअघि तिमीले मलाई तीन पटक तिरस्कार गर्नेछौ।” आफ्नो पापको बोझले थिच्चिएर पत्रुस बाहिर निस्कन्छन् र धुरुधुरु रुन्छन्!
यो कसरी हुन सक्यो! परमेश्वरसितको आफ्नो सम्बन्ध बलियो छ भनेर त्यत्तिको विश्वस्त भएर पनि तिनले आफ्ना मालिकलाई सरासर तीन पटक कसरी तिरस्कार गर्न सके? निस्सन्देह पत्रुस परिस्थितिको अचानक शिकार भएका छन्। सत्य बङ्ग्याइँदैंछ र येशूलाई सबैको नजरमा एउटा अधम अपराधीको रूपमा प्रस्तुत गरिंदैछ। सहीलाई गलत र निर्दोषलाई दोषी ठहराइँदैछ। अतः त्यस परिस्थितिको दबाबले गर्दा पत्रुसको सन्तुलन हराउँछ। अचानक तिनको भक्ति भाव ढलपल हुन्छ; स्वयम्लाई पछुतो हुनेगरि तिनी केही समयका लागि मानिसको डरले थरथर हुन्छन्। हामी कसैलाई पनि त्यस्तो कहिल्यै नहोस्! मत्ती २६:५७, ५८, ६९-७५; मर्कूस १४:३०, ५३, ५४, ६६-७२; लूका २२:५४-६२; यूहन्ना १८:१५-१८, २५-२७.
▪ प्रधान पुजारीको चोकमा पत्रुस र यूहन्नाले कसरी प्रवेश पाउँछन्?
▪ पत्रुस र यूहन्ना चोकमा हुँदा घरभित्र के भइरहेको हुन्छ?
▪ कतिपल्ट भाले बास्छ र कतिपल्ट पत्रुसले ख्रीष्टलाई चिन्दिनँ भनी तिरस्कार गर्छन्?
▪ पत्रुसले सराप्दै कसम खान्छन् भनेको अर्थ के हो?
▪ के कारणहरूले गर्दा पत्रुसले येशूलाई चिन्दिनँ भन्छन्?