अध्याय १२६
“यिनी साँच्चै परमेश्वरका छोरा रहेछन्”
येशू खम्बामा टाँगिनुभएको धेरै बेर भएको छैन। त्यतिबेला मध्यदिनमै तीन घण्टासम्म जताततै असाधारण किसिमले अन्धकार छाउँछ। सूर्य-ग्रहण लागेकोले यसो भएको हुन सक्दैन किनकि सूर्य-ग्रहण औंसीमा मात्र लाग्छ र अहिले निस्तार-चाड पूर्णिमामा पर्छ। साथै सूर्य-ग्रहण केही मिनेटसम्म मात्र रहन्छ। त्यसकारण यो अन्धकारको पछाडि एउटा दैवी कारण छ! यसले गर्दा येशूलाई गिल्ला गर्नेहरू पनि केही समयका लागि चुप लाग्छन् र तिनीहरूको खिसीसमेत बन्द हुन्छ।
यदि यो घटना एक जना कुकर्मीले आफ्नो साथीलाई हकारेर आफूलाई सम्झनुहोला भनी येशूसित बिन्ती गर्नुअघि नै घटेको हो भने त्यस कुकर्मीमा पश्चात्तापको भाव उत्पन्न हुनुको एउटा कारण यो घटना पनि हुन सक्छ। अन्धकार भएकै बेलामा, सायद चार जना महिलाहरू अर्थात् येशूकी आमा र तिनकी बहिनी सलोमी, मरियम मग्दलिनी र सानो याकूबकी आमा मरियम यातनाको खम्बाको नजिक आउँछन्। यूहन्ना जो येशूका प्रिय प्रेषित हुन्, तिनी पनि तिनीहरूका साथमा त्यहाँ छन्।
आफूले पालनपोषण गरेर हुर्काएको छोरा यसरी पीडित अवस्थामा टाँगिएको देख्दा येशूकी आमाको मुटुमा ‘घोचे’ सरह भयो होला! तर त्यस्तो बेला पनि येशू आफ्नो पीडाभन्दा आमाको कल्याणबारे सोच्नुहुन्छ। बल्लतल्ल प्रयास गर्दै उहाँ यूहन्नातर्फ आफ्नो शिर हल्लाउनुहुन्छ र आफ्नी आमालाई भन्नुहुन्छ: “आमा, हेर्नुहोस्, ऊ तपाईंको छोरा!” अनि मरियमतर्फ शिर हल्लाउँदै यूहन्नालाई भन्नुहुन्छ: “हेर, तिम्री आमा!”
यसप्रकार येशूले आफ्नी आमा जो यसबेला सम्भवतः विधवा हुन्, तिनको जिम्मा आफूले असाध्यै माया गरेको प्रेषितलाई सुम्पनुहुन्छ। मरियमका अरू छोराहरूले अहिलेसम्म उहाँमाथि विश्वास नगरेकोले उहाँले यसो गर्नुभएको हो। यसप्रकार आफ्नी आमाको भौतिक आवश्यकता मात्र होइन तर परमेश्वरको सेवासित सम्बन्धित आवश्यकताहरूको पनि प्रबन्ध मिलाएर येशूले एउटा राम्रो उदाहरण कायम गर्नुहुन्छ।
दिउँसो तीन बजेतिर येशू भन्नुहुन्छ: “मलाई तिर्खा लाग्यो।” आफ्नो निष्ठाको पूर्णतया जाँच होस् भनेर अब बुबाले आफूबाट संरक्षण हटाउनुभएजस्तो उहाँलाई लाग्छ। यसकारण उहाँ चर्को सोरले कराउनुहुन्छ: “हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईंले मलाई किन त्याग्नुभयो?” यो सुनेर वरिपरि उभिनेहरूमध्ये कसै-कसैले भन्छन्: “हेर, उसले एलियालाई बोलाउँदैछ।” झट्ट एक जना दगुर्दै गएर अमिलो दाखमद्यमा स्पन्ज चोपेर त्यसलाई नर्कटमा राखेर उहाँलाई पिउन दिन्छ। तर बाँकी मानिसहरूचाहिं भन्छन्: “होस्, होस्! एलिया यसलाई तल झार्न आउँछन् कि आउँदैनन्, हेरौं न।”
येशूले अमिलो दाखमद्य लिएपछि उहाँ कराउनुहुन्छ: “सबै पूरा भयो!” हो, उहाँका बुबाले जुन-जुन काम गर्न उहाँलाई पृथ्वीमा पठाउनुभएको थियो, ती सबै काम उहाँले पूरा गर्नुभएको छ। अन्तमा उहाँ भन्नुहुन्छ: “हे बुबा, म आफ्नो सास तपाईंको हातमा सुम्पिन्छु।” यसप्रकार आफ्नो जीवन-शक्ति परमेश्वरले आफूलाई फेरि फिर्ता दिनुहुनेछ भन्ने विश्वास व्यक्त गर्दै येशूले त्यो जीवन-शक्ति परमेश्वरको हातमा छोडिदिनुहुन्छ। त्यसपछि शिर निहुराएर उहाँ बित्नुहुन्छ।
येशू बित्नेबित्तिकै एउटा भयङ्कर भैंचालो जान्छ र चट्टानहरू पनि फाट्छन्। भैंचालो यति जोडसित आउँछ कि यरूशलेम सहरको बाहिर भएका चिहानहरू उघारिन्छन् र थुप्रै लासहरू बाहिर निस्कन्छन्। बाटोमा आउजाउ गर्नेहरूले ती लासहरू देख्छन् र सहरमा आएर त्यसको सूचना दिन्छन्।
साथै येशू मर्नुभएकै बेलामा पवित्र र अति पवित्रलाई छुट्ट्याउने परमेश्वरको मन्दिरको विशाल पर्दा टुप्पोदेखि फेदसम्म दुई फ्याक भएर च्यातिन्छ। यो अति नै सुन्दर ढङ्गले सिंगारिएको पर्दा लगभग १८ मिटर उचाइ भएको र धेरै गह्रौं छ! यो आश्चर्यजनक चमत्कारद्वारा परमेश्वरको छोराको हत्याराहरूको विरुद्धमा उहाँको क्रोध जाहेर हुनुका साथै अब अति पवित्र स्थान अर्थात् स्वर्गमै प्रवेश गर्ने बाटो येशूको मृत्युको कारण सम्भव भएको छ भन्ने कुरा लाक्षणिक ढङ्गमा खुलस्त हुन्छ।
जब मानिसहरूले भैंचालो र त्यहाँ भएका घटनाहरू देख्छन्, तिनीहरू धेरै नै भयभीत हुन्छन्। त्यस ठाउँमा खटिएका सैनिक अफिसरले परमेश्वरलाई महिमा दिन्छन्। उनी यो घोषणा गर्छन्: “यी मानिस साँच्चै परमेश्वरका छोरा रहेछन्।” पिलातसको सामुन्ने येशूको पुर्पक्षको बेला येशूले आफू परमेश्वरको छोरा भएको दाबी गर्दा यी सैनिक अफिसर त्यहाँ थिए होलान्। अब उनी येशू परमेश्वरका छोरा हुनुहुँदोरहेछ, हो उहाँ सबैभन्दा महान् पुरुष हुनुहुन्छ भनी पूरै पत्यार गर्छन्।
अरूहरू पनि यी चमत्कारपूर्ण घटनाहरू देखेर अति नै प्रभावित हुन्छन् र आफ्नो गहिरो दुःख र लाज प्रकट गर्न आ-आफ्ना छाती पिट्दै घर फर्किन्छन्। यी घटनाहरू टाढाबाट हेर्ने येशूका धेरै महिला चेलाहरू पनि यी सबै कुरा भएको देखेर अत्यन्तै प्रभावित हुन्छन्। प्रेषित यूहन्ना पनि त्यहीं छन्। मत्ती २७:४५-५६; मर्कूस १५:३३-४१; लूका २३:४४-४९; २:३४,३५; यूहन्ना १९:२५-३०.
▪ सूर्य-ग्रहणको कारण तीन घण्टासम्म अन्धकार भएको किन हुन सक्दैन?
▪ आफ्नो मृत्यु हुनुभन्दा केही समयअघि उमेर ढलेका आमाबुबा हुनेहरूका लागि येशूले कुन राम्रो उदाहरण कायम गर्नुहुन्छ?
▪ मृत्यु हुनुअघि येशूका अन्तिम चार अभिव्यक्ति के हुन्?
▪ भैंचालोले गर्दा के हुन्छ र मन्दिरको पर्दा दुई फ्याक हुनुको अर्थ के हो?
▪ मृत्युदण्ड दिने ठाउँमा खटिएका सैनिक अफिसरमाथि यी चमत्कारहरूले कस्तो असर पार्छ?