अध्याय १३३
परमेश्वरले अह्राउनुभएको सबै काम येशूले सिध्याउनुहुन्छ
योद्धा राजा येशूले सैतान र त्यसको दुष्ट संसारलाई नष्ट गर्नुभएपछि हर्ष मनाउने कत्ति ठूलो कारण हुनेछ! अन्तमा येशूको शान्तिमय हजार वर्षे राज्य सुरु हुन्छ!
आरमागेडोनमा बाँच्नेहरूले येशू र उहाँका सह-शासकहरूको निर्देशनमा त्यस युद्धका अवशेषहरूलाई सफा पार्नेछन्। सम्भवतः पृथ्वीमा बाँचेकाहरूले केही समयका लागि छोराछोरीहरू पाउनेछन् र यिनीहरूले पृथ्वीलाई एउटा अति सुन्दर बगैंचामा परिवर्तन गर्ने काममा भाग लिनेछन्।
समयमा, येशूले अनगन्ती लाखौं व्यक्तिहरूलाई त्यो सुन्दर बगैंचाको आनन्द उठाउन चिहानबाट निकाल्नुहुनेछ। आफ्नै यी वचन पूरा गर्न उहाँले यसो गर्नुहुनेछ: “बेला आउँदैछ, जब चिहानमा हुनेहरू सबै . . . निस्किआउनेछन्।”
येशूले पुनर्जीवित पार्नुभएकाहरूमध्ये त्यो कुकर्मी पनि हुनेछ जो येशूको छेउमा यातनाको खम्बामा टाँगिएको थियो। येशूले त्यसलाई गर्नुभएको प्रतिज्ञा सम्झिनुहोस्: “म आज तिमीलाई साँचो-साँचो भन्छु, तिमी मसित प्रमोदवनमा हुनेछौ।” त्यो मानिस नता येशूसँग राजा हुनका निम्ति स्वर्ग लगिनेछ नता येशू नै फेरि मानव भएर त्यससँग यस पार्थिव प्रमोदवनमा बस्नुहुनेछ। येशू त्यो कुकर्मीसित हुनुको अर्थ, येशूले त्यसलाई पुनर्जीवित पारेर पछाडीको पानामा देखाएझैं, त्यसका सबै शारीरिक र परमेश्वरसँग सम्बन्धित आवश्यकताहरू पूरा गर्ने प्रबन्ध मिलाउनु हो।
सोच्नुहोस्! येशूको मायालु रेखदेखमा सारा मानव परिवार—आरमागेडोनबाट बाँचेकाहरू, तिनीहरूका सन्तानहरू, पुनर्जीवित भएर आउने र उहाँको आज्ञा मान्ने लाखौं-लाख मानिसहरू मानव सिद्धतातर्फ बढ्नेछन्। यहोवा आफ्ना शाही छोरा येशूद्वारा मानवजातिसँग प्रतीकात्मक अर्थमा बस्नुहुनेछ। “अनि,” स्वर्गबाट आएको आवाज यूहन्नाले सुनेझैं “उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ अनि मृत्यु हुनेछैन, न त फेरि कहिल्यै शोक, रुवाइ वा पीडा नै हुनेछ।” पृथ्वीमा हुने कुनै पनि व्यक्ति दुःखी अथवा बिरामी हुनेछैन।
परमेश्वरले सुरुमा प्रथम दम्पतीलाई वृद्धि हुँदै र पृथ्वीमा भरिंदै जानू भन्नुहुँदा जुन उद्देश्य रच्नुभएको थियो, ठीक त्यही उद्देश्य येशूको हजार वर्षे राज्यको अन्तमा पूरा हुनेछ। त्रुटिरहित मानिसहरूको धार्मिक जातिले पृथ्वी भरिनेछ। किनभने येशूले फिरौतीस्वरूप चढाउनुभएको बलिदानको लाभ हरेकका निम्ति प्रयोग गरिएको हुनेछ। आदमको पापको कारण आएको मृत्यु हुनेछैन!
यसप्रकार यहोवाले अह्राउनुभएको सबै काम येशूले पूरा गरिसक्नुभएको हुनेछ। यसकारण हजार वर्षको अन्तमा उहाँले आफ्नो राज्य र त्रुटिरहित मानव परिवार आफ्नो बुबाको जिम्मामा सुम्पनुहुनेछ। त्यसपछि परमेश्वरले मृत्युजस्तै निष्क्रिय अवस्थाको खाडलबाट सैतान र त्यसका दुष्ट स्वर्गदूतहरूलाई छाडिदिनुहुनेछ। कुन उद्देश्यका निम्ति?
हजार वर्षको अन्तमा, पार्थिव प्रमोदवनमा बसेका धेरैजसो मानिसहरू पुनर्जीवित भएर आएका ती व्यक्तिहरू हुनेछन् जसको विश्वासको कहिल्यै जाँच भएको छैन। मर्नुभन्दा अघि परमेश्वरका प्रतिज्ञाहरूबारे केही थाह नपाएकाले तिनीहरूले आफ्नो विश्वासको प्रदर्शन गर्न सकेनन्। पछि फेरि पुनर्जीवित भएपछि, बाइबलमा भएका सत्य कुराहरू सिकेर प्रमोदवनमा विनारोकटोक परमेश्वरको सेवा गर्न तिनीहरूलाई सजिलो हुन्छ। तर परमेश्वरको सेवा गर्नबाट तिनीहरूलाई रोक्ने मौका सैतानलाई दिइएमा के तिनीहरू जाँचको सामुन्ने वफादार रहनेछन्? यस प्रश्नको जवाफ पाउन सैतानलाई छाडिनेछ।
येशूको हजार वर्षे राज्यपछि, अनगन्ती मानिसहरूलाई परमेश्वरको सेवा गर्नबाट हटाउन सैतान सफल हुनेछ भन्ने कुरा यूहन्नाले पाएको दर्शनबाट देखिन्छ। तर अन्तिम परीक्षा समाप्त भइसकेपछि सैतान र त्यसका दुष्ट स्वर्गदूतहरू अनि त्यसको बहकाउमा लागेका सबै नै सदाका लागि नष्ट हुनेछन्। अर्कोतिर पूर्ण रूपले जाँचिएर बाँचेका वफादार मानिसहरूचाहिं अनन्तकालसम्म स्वर्गमा हुनुहुने बुबाबाट प्राप्त हुने आशिष् पाउन बाँचिरहनेछन्।
स्पष्टतया, परमेश्वरको महान् उद्देश्यहरूलाई सफल पार्न येशूले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ र गरि नै रहनुहुनेछ। परमेश्वरको महान् राजाको हैसियतमा उहाँले सम्पन्न गर्नुहुने कुराहरूको कारण हामीले कस्तो अद्भुत भविष्यको आनन्द उठाउन सक्नेछौं। तैपनि मानवको रूपमा उहाँले गर्नुभएका कुराहरू हामी बिर्सन सक्दैनौं।
येशू स्वेच्छाले पृथ्वीमा आउनुभयो र आफ्नो बुबाबारे हामीलाई सिकाउनुभयो। यसको अलावा परमेश्वरको अमूल्य गुणहरू उहाँ आफैले देखाउनुभयो। उहाँको विशिष्ट हिम्मत र पुरुषार्थ, उहाँको अद्वितीय ज्ञान, शिक्षकको रूपमा उहाँको विशिष्ट योग्यता, उहाँको साहसिक नेतृत्व र उहाँको कोमल अनुकम्पा र सहानुभूतिबारे विचार गर्दा हाम्रो मन छुन्छ। जीवन पाउन सम्भव पारिदिने फिरौतीको बलिदान चढाउँदा उहाँले भोग्नुभएको अवर्णनीय दुःख सम्झिंदा, उहाँको हार्दिक कदर गर्न हामी निश्चय नै प्रेरित हुन्छौं!
साँच्चै नै, येशूको जीवनको अध्ययनबाट हामीले कस्तो महान् पुरुषलाई देख्न सक्यौं! उहाँको महानता प्रत्यक्ष र बेजोड छ। रोमी राज्यपाल पन्तियस पिलातसका यी शब्दहरूलाई दोहोऱ्याउन हामी बाध्य हुन्छौं: “हेर, यो मानिस!” हो, यथार्थमा “यो मानिस” सबैभन्दा महान् पुरुष हुनुहुन्छ!
उहाँले चढाएको फिरौतीको बलिदानलाई स्वीकाऱ्यौं भने आदमबाट आएको पाप र मृत्युको बोझ हामीबाट हट्नेछ र येशू हाम्रो “सनातनका पिता” हुनुहुनेछ। अनन्त जीवन पाउन चाहने सबैले परमेश्वरको मात्र होइन तर उहाँका छोरा येशू ख्रीष्टको पनि ज्ञान लिनुपर्छ। यस पुस्तकको पढाइ र अध्ययनले यसप्रकारको जीवनदायी ज्ञान प्राप्त गर्न तपाईंलाई मदत देओस्! १यूहन्ना २:१७; १:७; यूहन्ना ५:२८,२९; ३:१६; १७:३; १९:५; लूका २३:४३; उत्पत्ति १:२८; १कोरिन्थी १५:२४-२८; प्रकाश २०:१-३, ६-१०; २१:३,४; यशैया ९:६.
▪ आरमागेडोनमा बाँच्नेहरू र तिनका सन्तानले पाउने आनन्ददायी सुअवसर के हो?
▪ आरमागेडोनमा बाँच्नेहरू र तिनका सन्तानहरूबाहेक अरू कसले पनि पार्थिव प्रमोदवनको आनन्द उठाउनेछन् र येशू कुन अर्थमा तिनीहरूसँग हुनुहुनेछ?
▪ हजार वर्षे राज्यपछिको स्थिति कस्तो हुनेछ र त्यसबेला येशूले के गर्नुहुनेछ?
▪ सैतान अगाध खाडलबाट किन छाडिनेछ र अन्तमा त्यसलाई र त्यसलाई अनुसरण गर्नेहरूलाई के हुनेछ?
▪ येशू हाम्रो “सनातनको पिता” कसरी हुन सक्नुहुनेछ?