राज्य सामाचार न. ३५
के सबै मानिसहरूले एकअर्कालाई प्रेम गर्ने समय पनि आउला र?
छिमेकीको प्रेम सेलाएको छ
आफूलाई मदत गर्ने कोही पनि नभएकोले लाखौं व्यक्तिहरू निस्सहाय र दुःखित महसुस गर्छन्। अवकाशप्राप्त एक व्यापारी महिलाले भनिन्: ‘मेरो घरको पल्लो कोठामा बस्ने विधवीले एक साँझ मेरो कोठामा आएर आफूलाई एक्लो लागिरहेको कुरा बताइन्। मैले सोझै तर विनयी भावमा मसँग कुरा गर्ने फुर्सत छैन भनिदिएँ। मलाई बाधा पुऱ्याएकोमा माफी मागेर तिनी आफ्नो बाटो लागिन्।’
अपसोचको कुरा, त्यही रात त्यस विधवीले आत्महत्या गरिन्। यो घटनापछि, मैले “ठूलो पाठ” सिकें भनेर उक्त व्यापारी महिला बताउँछिन्।
छिमेकीप्रति प्रेम नहुनाले अक्सर दुःखद परिणाम हुन्छन्। कुनै समय युगोस्लाभियाको भाग रहेको बोस्निया र हर्जगोभिनामा जातीय मुठभेडमा लाखौं घरबारविहीन भए र हजारौं मारिए। कसको हातबाट? घरबारविहीन भएकी एउटी केटी भन्छिन्: “हाम्रै छिमेकीको हातबाट, तिनीहरूसँग हाम्रो चिनापर्ची थियो।”
रूवाण्डामा प्रायः छिमेकीद्वारा नै हजारौं मानिसहरू मारिए। द न्यु योर्क टाइम्स-ले यसो भन्यो: “हुटु र टुट्सीहरू एकैसाथ बस्थे, अन्तरविवाह गर्थे, यहाँसम्म कि को हुटु र को टुट्सी भनेर थाह हुँदैन थियो अनि वास्ता पनि हुँदैन थियो। तर अचानक परिस्थितिले कोल्टो फेऱ्यो र काटमार सुरु भयो।”
त्यस्तै किसिमले इजरायलमा यहूदी र अरबीहरू एकैसाथ बस्छन् तर धेरैले एकअर्कालाई घृणा गर्छन्। आयरल्याण्डका अधिकांश क्याथोलिक र प्रोटेस्टेन्टहरूबीच मात्र होइन तर अन्य देशहरूका मानिसहरूबीच पनि यही समस्या पाइन्छ। अहिले जति निष्ठुरी मानिसहरू त इतिहासमा पहिला कहिल्यै थिएनन्।
छिमेकीको प्रेम किन सेलाएको?
हाम्रो सृष्टिकर्ताले यसको जवाफ दिनुहुन्छ। उहाँको वचन, बाइबलले हामी बाँचिरहेको समयलाई “आखिरी दिन” भन्छ। अर्थात् बाइबलको भविष्यवाणीअनुसार यो समयमा “स्वाभाविक प्रेमरहितका” मानिसहरू हुनेछन्। यो “डरलाग्दो समय[लाई]” धर्मशास्त्रमा “जगत्को अन्त” पनि भनिएको छ। येशू ख्रीष्टले अगमवाणी गर्नुभयो, “धेरैका प्रेम सेलाएर जानेछ।”—२ तिमोथी ३:१-५; मत्ती २४:३, १२.
त्यसकारण, अहिले प्रेमको अभाव हुनु हामी संसारको आखिरी दिनमा बाँचिरहेका छौं भन्ने प्रमाणहरूमध्ये एक हो। खुशीको कुरा, यसले के पनि प्रमाणित गर्छ भने अभक्त मानिसहरूले भरिएको यो संसारमा प्रेमपूर्ण धार्मिक नयाँ संसार चाँडै आउनेछ।—मत्ती २४:३-१४; २ पत्रुस २:५; ३:७, १३.
तर यस्तो परिवर्तन हुन्छ भनेर अर्थात् सबैले आपसमा प्रेम गर्न र सबै शान्तिसित मिलेर बस्न सिक्नेछन् भन्ने कुरामा विश्वास गर्न के हामीसँग कुनै ठोस कारण छ र?
छिमेकीको प्रेम—वास्तविकता
“मेरो छिमेकी चाहिं को हो त?” प्रथम शताब्दीका एक वकिलले येशूलाई यो प्रश्न सोधेका थिए। जवाफमा येशूले ‘तिम्रा संगी यहूदीहरू’ भन्नुहोला भनी त्यस व्यक्तिले ठाने होलान्। तर अन्य राष्ट्रका मानिसहरू पनि छिमेकी हुन् भनेर येशूले असल सामरीको कथाद्वारा बताउनुभयो।—लूका १०:२९-३७; यूहन्ना ४:७-९.
हाम्रो जीवनमा प्रमुख कुरा परमेश्वरप्रति प्रेम र दोस्रोमा छिमेकीप्रति प्रेम हुनुपर्छ भनेर येशूले जोड दिनुभयो। (मत्ती २२:३४-४०) तर के कुनै समूहले कहिल्यै आफ्ना छिमेकीहरूलाई साँच्चै प्रेम गरेको छ र? प्रारम्भिक मसीहीहरूले गरे! तिनीहरू अरूलाई प्रेम गर्ने मानिसहरू हुन् भनेर सबैले चिन्थे।—यूहन्ना १३:३४, ३५.
वर्तमान समयमा नि? के येशूले देखाउनुभएको जस्तै प्रेम कसैले देखाउँछ? इन्साइक्लोपीडिया क्यानाडियना यसो भन्छ: “यहोवाका साक्षीहरूको काम येशू र उहाँका अनुयायीहरूले सुरु गरेको प्रारम्भिक मसीहीधर्मको जागरण र पुनर्स्थापना हो . . . तिनीहरू सबै दाजुभाइ हुन्।”
यसको अर्थ? यसको अर्थ के हो भने, यहोवाका साक्षीहरूलाई कुनै पनि कुराले अर्थात् न जातले, न राष्ट्रियताले, न जनजातीय पृष्ठभूमिले नै आफ्ना छिमेकीहरूलाई घृणा गर्न उक्साउँछ। नता तिनीहरूले अरू कसैको नै हत्या गर्छन् किनकि तिनीहरूले प्रतीकात्मक रूपमा आ-आफ्ना तरवार पिटेर हलोको फाली र भाला चाहिं हँसिया बनाएका छन्। (यशैया २:४) साँच्चै भन्ने हो भने, आफ्ना छिमेकीहरूलाई मदत गर्न पछि नहट्ने मानिसहरू भनेर साक्षीहरू चिरपरिचित छन्।—गलाती ६:१०.
क्यालिफोर्नियाको समाचारपत्र साक्रामेन्टो युनियन-को सम्पादकीयले यसो भन्नु कुनै अचम्मको कुरा होइन: “यहोवाका साक्षीहरूको विषयमा यति भने पुग्छ, सबै मानिसहरू तिनीहरूको सिद्धान्तअनुसार चल्ने हुन् भने रक्तपात र घृणाको अन्त हुनेछ अनि प्रेमपूर्ण वातावरण हुनेछ।” हंगेरीको रीङ पत्रिकामा एक लेखकले यसो लेखे: “संसारमा यहोवाका साक्षीहरू मात्र रहने हो भने युद्धको नामोनिसानै हुनेछैन भन्ने निष्कर्षमा म पुगेको छु। अनि प्रहरीको दायित्व, ट्राफिक नियन्त्रण गर्नु र पासपोर्ट वितरण गर्नु मात्र हुनेछ।”
तथापि, सबैले एकअर्कालाई प्रेम गर्न आमूल अर्थात् विश्वव्यापी परिवर्तनको आवश्यकता पर्छ भनेर स्वीकार्नैपर्छ। यस्तो परिवर्तन कसरी हुनसक्छ? (कृपया पछाडिको पृष्ठ हेर्नुहोस्।)
जब सबै मानिसहरूले एकअर्कालाई प्रेम गर्नेछन्
येशू ख्रीष्टले सिकाउनुभएको प्रार्थनाले आमूल परिवर्तन नजीकै छ भनेर देखाउँछ। डाँडाको प्रसिद्ध उपदेशमा उहाँले यसरी प्रार्थना गर्न सिकाउनुभयो: “तपाईंको राज्य आओस्। तपाईंको इच्छा स्वर्गमाझैं यस पृथ्वीमा पूरा होस्।”—मत्ती ६:१०.
परमेश्वरको राज्य भनेको के हो? स्वर्गबाट शासन गरिने यो एउटा वास्तविक सरकार हो। त्यसैकारण त यसलाई “स्वर्गको राज्य” भनिएको छ। “शान्तिका राजकुमार,” येशूलाई उहाँको पिताले यो राज्यको शासक नियुक्त गर्नुभएको छ।—मत्ती १०:७; यशैया ९:६, ७; भजन ७२:१-८.
परमेश्वरको राज्य आएपछि घृणै घृणाले भरिएको यस संसारलाई के हुनेछ? यो “राज्य[ले]” यस संसारका सम्पूर्ण भ्रष्ट सरकारहरूलाई “चक्नाचूर पार्नेछ, र तिनीहरूको अन्त गरिदिनेछ।” (दानियल २:४४) बाइबल बताउँछ: “संसार बितिजान्छ . . . तर परमेश्वरको इच्छाबमोजिम गर्ने चाहिं सधैंभरि रहिरहन्छ।”—१ यूहन्ना २:१७.
परमेश्वरले ल्याउनुहुने नयाँ संसारबारे बाइबल भन्छ: “धर्मात्माहरूले देश अधिकार गर्नेछन्, र त्यसैमा सधैंभरि रहन्छन्।” (भजन ३७:९-११, २९; हितोपदेश २:२१, २२) आहा! त्यो समय कस्तो गौरवमय हुनेछ! “फेरि मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीड़ा फेरि केही हुनेछैन।” (प्रकाश २१:४) मरेकाहरूसमेत फेरि जीवित हुनेछन् र पूरै पृथ्वी साँच्चिकै प्रमोदवनमा परिणत हुनेछ।—यशैया ११:६-९; ३५:१, २; लूका २३:४३; प्रेरित २४:१५.
परमेश्वरले ल्याउनुहुने त्यस नयाँ संसारमा बाँच्नका लागि परमेश्वरले सिकाउनुभएअनुसार हामीले एकअर्कालाई प्रेम गर्नैपर्छ। (१ थिस्सलोनिकी ४:९) पूर्वी देशको एक बाइबल विद्यार्थीले यसो भने: “बाइबलले प्रतिज्ञा गरेअनुसार सबैले एकअर्कालाई प्रेम गर्ने समयको म उत्सुकतासाथ प्रतीक्षा गरिरहेछु।” परमेश्वरले उहाँको प्रतिज्ञा पूरा गर्नुहुनेछ भनेर हामी निश्चिन्त हुनसक्छौं! उहाँ भन्नुहुन्छ, “मैले यो अभिप्राय गरेको छु। र म त्यो गर्नेनै छु।”—यशैया ४६:११.
तर परमेश्वरको राज्यमा आशिष् प्राप्त गर्न तपाईंले बाइबलको ज्ञान लिनैपर्छ। निष्कपट ह्रदय भएका संसारभरिका लाखौंले यस्तो ज्ञान लिइरहेका छन्। (यूहन्ना १७:३) यो ज्ञान प्राप्त गर्न तपाईंलाई ३२ पृष्ठ भएको परमेश्वर हामीबाट के चाहनुहुन्छ? भन्ने पुस्तिकाले मदत गर्नेछ। अगाडिको पानामा भएको कुपन भरेर तपाईंलाई पायक पर्ने ठेगानामा पठाउनुहोस् र एक प्रति प्राप्त गर्नुहोस्।
□ परमेश्वर हामीबाट के चाहनुहुन्छ? पुस्तिका कृपया पठाइदिनुहोला।
□ म निश्शुल्क गृह बाइबल अध्ययन गर्न चाहन्छु, कृपया मलाई भेट्नुहोला।
[पृष्ठ २-मा भएको चित्रको स्रोत]
Sniper and funeral in Bosnia: Reuters/Corbis-Bettmann