येशू ख्रीष्ट—उहाँ को हुनुहुन्छ?
“मसीही धर्म नमान्ने थुप्रै व्यक्तिहरूले समेत उहाँ एक महान् र बुद्धिमान् शिक्षक हुनुहुन्थ्यो भनी विश्वास गर्छन्। उहाँ आजसम्म बाँचेकाहरूमध्ये सबैभन्दा प्रभावशाली व्यक्ति हुनुहुन्थ्यो भन्ने कुरामा कसैको दुई मत छैन।” (द वर्ल्ड बूक इन्साइक्लोपीडिया) “उहाँ” को हुनुहुन्छ? उहाँ मसीहीधर्मका संस्थापक, येशू ख्रीष्ट हुनुहुन्छ। के तपाईंलाई थाह छ, उहाँ को हुनुहुन्छ? के तपाईंको जीवनलाई उहाँले कुनै तरिकामा प्रभाव पार्छ?
येशूको सेवकाईका घटनाहरू बाइबलमा सुसमाचारका पुस्तक भनिने चारवटा ऐतिहासिक ग्रन्थहरूमा लिपिबद्ध छन्। यी विवरणहरू कत्तिका सत्य छन्? यी विवरणहरूको विश्लेषण गरेपछि एक चर्चित इतिहासकार विल डुरान्टले यस्तो लेखे: “एकै पुस्ताभित्र, केही साधारण मानिसहरूले यस्तो शक्तिशाली र मन लोभ्याउने व्यक्तित्व, यतिका उच्च नैतिक स्तर र मानव भ्रातृत्वको यति प्रेरणादायी दर्शन आविष्कार गर्न सक्नु नै सुसमाचारका पुस्तकमा उल्लिखित सबै चमत्कारहरूमध्ये सबैभन्दा अपत्यारिलो चमत्कार हुनेछ।”
यद्यपि, पूर्वीय र अन्य देशहरूमा बस्ने लाखौं मानिसहरू येशू ख्रीष्टलाई चिन्दैनन्। उहाँको आस्तित्व थियो भनेर तिनीहरूले विश्वास त गर्लान् तर आफ्नो जीवनमा उहाँले कुनै अर्थ राख्छ भन्ने सोचाइ राख्दैनन्। ख्रीष्टका अनुयायी भनी दाबी गर्नेहरूको व्यवहार देखेर येशू ख्रीष्टबारे जान्नु केही कामको छैन भन्नेहरू पनि छन्। जापानमा कसै-कसैले यसो भन्लान्, “जापानका शहरहरूमध्ये सबैभन्दा बढी संख्यामा मसीहीहरू बसोबास गर्ने नागासाकी शहरमै तिनीहरूले परमाणु बम खसाले।”
तर डाक्टरको निर्देशन पालन नगरेको कारण बिरामीको रोग निको नभएमा के तपाईं डाक्टरलाई दोष दिनुहुन्छ? अवश्य दिनुहुन्न। मसीहीजगत्का मानिसहरूले दिनहुँ सामना गर्नुपर्ने समस्याहरूको समाधान गर्न येशूले दिनुभएको निर्देशनलाई बेवास्ता गर्दै आएका छन्। त्यसैले, उहाँका निर्देशनहरू पालन नगर्ने ती मसीही भनौंदाहरूका कारण येशूलाई बेवास्ता गर्नुको साटो उहाँबारे आफैले सिके कसो होला? बाइबलमा खोज्नुहोस् अनि उहाँ वास्तवमा को हुनुहुन्छ र येशूले तपाईंको जीवन कसरी परिवर्तन गर्न सक्नुहुन्छ भनी पत्ता लगाउनुहोस्।
प्रेम—उहाँको निर्देशन
झन्डै २,००० वर्षअघि प्यालेस्टाइनमा बस्नुहुने येशू ख्रीष्ट एक महान् शिक्षक हुनुहुन्थ्यो। उहाँको बाल्यकालबारे धेरै कुरा थाह छैन। (मत्ती, अध्याय १ र २; लूका, अध्याय १ र २) येशू ३० वर्ष पुग्नुभएपछि उहाँले ‘सत्यको गवाही दिन’ आफ्नो सेवकाई सुरु गर्नुभयो। (यूहन्ना १८:३७; लूका ३:२१-२३) येशूको जीवनी लेख्ने चार जना ऐतिहासिक लेखकहरूको विवरण, उहाँले आफ्नो पार्थिव जीवनको अन्तिम साढेतीन वर्षभित्र गर्नुभएको जनसेवकाईमा केन्द्रित छ।
आफ्नो सेवकाईको दौडान येशूले चेलाहरूलाई जीवनमा आउने विभिन्न समस्याहरूको सामना गर्ने कुञ्जीबारे बताउनुभयो। त्यो कुञ्जी के थियो? त्यो थियो, प्रेम। डाँडाको उपदेश भनी चिनिने इतिहासकै सबैभन्दा चर्चित उपदेशमा सहमानवहरूप्रति प्रेम कसरी देखाउने भनेर येशूले आफ्ना चेलाहरूलाई सिकाउनुभयो। उहाँले यसो भन्नुभयो: “यसकारण मानिसहरूले तिमीहरूलाई जे जसो गरून् भन्ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिनीहरूलाई त्यसै गर।” (मत्ती ७:१२) यस सिद्धान्तलाई सुनौलो नियम भनिन्छ। येशूले यहाँ चलाउनुभएको “मानिसहरू” भन्ने शब्दले आफ्ना शत्रुहरूलाई पनि बुझाउँछ। त्यही उपदेशमा उहाँले यसो भन्नुभयो: “आफ्ना शत्रुहरूलाई प्रेम गर, औ तिमीहरूलाई खेदो गर्नेहरूका निम्ति प्रार्थना गर।” (मत्ती ५:४४) के यस्तो प्रेमले हामीले आज भोग्नु परिरहेका प्रायजसो समस्याहरूको समाधान नगर्ला र? गर्छ भन्ने विचार हिन्दू नेता मोहनदास गान्धीको थियो। तिनको भनाइ यसरी उद्धरण गरिएको छ: “ख्रीष्टले डाँडाको उपदेशमा दिनुभएका शिक्षाहरूअनुसार [हामी] हिंड्न सक्यौं भने हामीले . . . सारा संसारका समस्याहरूको समाधान गर्न सक्नेछौं।” प्रेमबारे येशूले दिनुभएको शिक्षालाई पालन गरेको खण्डमा मानिसजातिको प्रायजसो दुःखकष्टको समाधान हुन सक्छ।
उहाँले कामद्वारा प्रेम देखाउनुभयो
येशूले जे सिकाउनुभयो, त्यही व्यवहारमा उतार्नुभयो। उहाँले आफ्नोभन्दा अरूको इच्छालाई प्राथमिकता दिनुभयो र कामद्वारा प्रेम देखाउनुभयो। एक दिन येशू र उहाँका चेलाहरू खाना खाने समय पनि नलिई धेरै मानिसहरूको सेवा गरिरहनुभएको थियो। येशूले आफ्ना चेलाहरूलाई “थकाइ” लागेको कुरा बुझ्नुभयो, त्यसैले उहाँहरू एकान्त ठाउँतिर जानुभयो। तर भीडहरू उहाँहरूभन्दा अघि पुगेर पर्खिरहेका थिए। त्यतिखेर तपाईं येशूको ठाउँमा हुनुभएको भए के गर्नुहुन्थ्यो? तथापि, येशू “तिनीहरूमाथि टिठाउनुभयो” अनि “तिनीहरूलाई धेरै कुराको शिक्षा दिन लाग्नुभयो।” (मर्कूस ६:३०-३४) दया देखाउने यस्तो तीव्र इच्छाले अरूलाई सहायता गर्न उहाँ उत्प्रेरित हुनुभयो।
अरूको हितको लागि येशूले आध्यात्मिक शिक्षाहरू मात्र दिनुभएन। उहाँले व्यावहारिक मदत पनि दिनुभयो। उदाहरणका लागि, अपराह्नसम्म आफ्नो उपदेश सुनेर बस्ने ५,००० पुरुषहरूलाई (स्त्री र केटाकेटीबाहेक) उहाँले खुवाउनुभयो। अर्को पटक उहाँले ४,००० जनालाई खुवाउनुभयो। पहिलो अवसरमा उहाँले पाँच टुक्रा रोटी र दुईटा माछाले ५,००० लाई खुवाउनुभयो भने पछि सातवटा रोटी र अलिकता ससाना माछाहरूले ४,००० लाई खुवाउनुभयो। (मत्ती १४:१४-२१; १५:३२-३८; मर्कूस ६:३५-४४; ८:१-९) के यो चमत्कार होइन र? हो, उहाँले चमत्कारपूर्ण कार्यहरू गर्नुहुन्थ्यो।
येशूले थुप्रै बिरामीहरूलाई पनि निको पार्नुभयो। उहाँले अन्धा, लंगडा, कोरी अनि बहिराहरूलाई निको पार्नुभयो। त्यति मात्र कहाँ हो र, उहाँले मरेकाहरूलाई पनि बिउँताउनुभयो! (लूका ७:२२; यूहन्ना ११:३०-४५) एकपल्ट एक जना कोरीले उहाँलाई यस्तो बिन्ती गऱ्यो: “तपाईंले इच्छा गर्नुभयो भने मलाई शुद्ध पार्नसक्नुहुन्छ।” येशूले कस्तो प्रतिक्रिया देखाउनुभयो? “उहाँले टिठाएर आफ्नो हात बढाई त्यसलाई छुनुभयो, र त्यसलाई भन्नुभयो, ‘म इच्छा गर्छु, तिमी शुद्ध भइजाऊ।’”(मर्कूस १:४०, ४१) तिनीहरूलाई मदत गर्ने तीव्र इच्छाले येशू प्रेरित हुनुभयो। दीन दुःखीहरूलाई यसरी चमत्कारी ढंगमा निको पार्नुभएर येशूले आफ्नो प्रेम देखाउनुभयो।
के यो विश्वास गर्नै गाह्रो कुरा हो र? यद्यपि, येशूले सार्वजनिक रूपमा प्रायजसो चमत्कारहरू गर्नुभयो। उहाँको दोष मात्र कोट्याइरहने उहाँका विरोधीहरूले समेत उहाँले चमत्कारहरू गर्नुहुन्थ्यो भन्ने तथ्यलाई नकार्न सकेनन्। (यूहन्ना ९:१-३४) यसबाहेक, उहाँका चमत्कारी कार्यहरूको उद्देश्य थियो। ती चमत्कारहरूद्वारा परमेश्वरले नै उहाँलाई पठाउनुभएको हो भनेर मानिसहरूले थाह पाउन सके।—यूहन्ना ६:१४.
येशूको शिक्षा अनि उहाँको जीवनलाई संक्षिप्तमा मात्र विचार गर्दा पनि उहाँप्रति श्रद्धा जागेर आउँछ र हामीमा उहाँको प्रेम अनुकरण गर्ने चाहना बढ्छ। तर, येशूले हाम्रो जीवनलाई प्रभाव पार्न सक्ने तरिका यो मात्र होइन। उहाँ प्रेम सिकाउनुहुने महान् शिक्षक मात्र हुनुहुन्न थियो। परमेश्वरको एक मात्र पुत्रको हैसियतमा उहाँको मानवपूर्व अस्तित्व थियो भन्ने कुरालाई उहाँले संकेत गर्नुभयो। (यूहन्ना १:१४; ३:१६; ८:५८; १७:५; १ यूहन्ना ४:९) मानव जीवनपछि पनि उहाँको अस्तित्व छ भन्ने कुराले उहाँ तपाईंको लागि झनै अर्थपूर्ण हुन्छ। येशूलाई बिउँताइयो र हाल उहाँ परमेश्वरको राज्यको राजाको हैसियतमा शासन गर्दै हुनुहुन्छ भनी बाइबलले संकेत गर्छ। (प्रकाश ११:१५) येशूले यसो भन्नुभयो: “अनन्त जीवन यही [हो], कि तिनीहरूले तपाईं, एकमात्र सत्य परमेश्वरलाई, र जसलाई तपाईंले पठाउनुभयो, अर्थात् येशू ख्रीष्टलाई चिनून् [“ज्ञान लिऊन्,” NW]।” (यूहन्ना १७:३; २०:३१) साँच्चै, येशू ख्रीष्टको ज्ञान लिनुको अर्थ प्रमोदवनमा अनन्त जीवन हुन सक्छ! यो कसरी सम्भव छ? येशूबारे अझ बढी सिक्नुका साथै उहाँको अनुकरण गर्न कसरी “ख्रीष्टको प्रेमले हामीलाई करमा पार्दछ” भनी बुझ्नुभए कसो होला? (२ कोरिन्थी ५:१४) यहोवाका साक्षीहरू तपाईंलाई मदत गर्न खुसी हुनेछन्।—यूहन्ना १३:३४, ३५.
अन्यथा उल्लिखित नभए सबै बाइबल उद्धरणहरू पवित्र बाइबल-बाट लिइएका हुन्। उद्धरणपछि जहाँ NW देख्नुहुन्छ, त्यहाँ अंग्रेजी भाषाको न्यु वर्ल्ड ट्रान्सलेसन अफ द होलि स्क्रिप्चर्स विथ रेफरेन्सेस्-बाट उद्धृत गरिएका हुन्।