पत्राचार गर्ने तरिका
पत्रले गर्दा थुप्रैको जीवन र व्यवहारमा परिवर्तन आएको छ। ख्रीष्टियन युनानी धर्मशास्त्रका अधिकांश पुस्तक वास्तवमा पत्र नै थिए। आज हामी पत्रमार्फत नयाँ व्यक्तिको विश्वास बलियो पार्छौं, साथीभाइसित सम्पर्कमा रहन्छौं, विशेष जिम्मेवारी सँभालिरहेका सँगी विश्वासीलाई प्रोत्साहन दिन्छौं, कठिन अवस्था भोगिरहेकाहरूलाई सुदृढ पार्छौं र मण्डलीका विभिन्न गतिविधि सञ्चालन गर्न आवश्यक जानकारी आदान-प्रदान गर्छौं।—१ थिस्स. १:१-७; ५:२७; २ पत्रु. ३:१, २.
पत्र लेख्नु पनि साक्षी दिने एउटा प्रभावकारी तरिका हो। केही इलाकामा मानिसहरू कडा सुरक्षा व्यवस्था भएका भवनहरूमा वा लामो समयसम्म कोठा भाडामा लिन सकिने होटेलमा अथवा खुल्लमखुल्ला प्रचार गर्न नपाइने गाउँ-बस्तीमा बस्छन्। यस्ता ठाउँमा प्रचार गर्नु असम्भवै हुन्छ। कोहीचाहिं घरमा नहुने भएकोले घर-घर प्रचार गर्दा भेटिंदैनन्। यसबाहेक कोही भने थुनामा भएकोले हतपती भेट्न सकिंदैन।
रोगबिमार, खराब मौसम वा कर्फ्युले गर्दा तपाईं कहिलेकाहीं घरमै थन्किनुपर्ला। त्यसैले नातेदारलाई वा तपाईंले अनौपचारिक साक्षी दिएको कुनै व्यक्तिलाई थप साक्षी दिन पत्र लेख्न सक्नुहुन्छ कि? के तपाईंको बाइबल विद्यार्थी बसाइँ सरेका छन्? तपाईंले लेखेको पत्र तिनको आध्यात्मिक चासो जगाइराख्न चाहिएकै कुरा साबित हुनेछ। अथवा तपाईंले चिनेका नवविवाहित जोडीलाई वा नवजात शिशुका आमाबाबुलाई वा शोक परेका कसैलाई चिठी लेखेर तपाईं उपयुक्त बाइबल सन्देश बाँड्न सक्नुहुन्छ।
पत्राचार गरेर साक्षी दिने तरिका
पहिला कहिल्यै नभेटेको व्यक्तिलाई साक्षी दिने उद्देश्यले पत्र लेख्दै हुनुहुन्छ भने सर्वप्रथम आफ्नो परिचय दिनुहोस्। तपाईं अन्तरराष्ट्रिय स्वयम्-सेवा गर्दै हुनुहुन्छ भनेर लेख्न सक्नुहुन्छ। उपयुक्त देखिन्छ भने ‘म यहोवाको साक्षी हुँ’ भनेर बताउनुहोस्। तिनीसित पत्राचार गर्नुको कारण बताउनुहोस्। उक्त व्यक्तिसित आमनेसामने कुरा गरेको जस्तैगरि लेख्नुहोस्। तर “तिमीहरू सर्पजस्तै चनाखो तर ढुकुरजस्तै सुधो होओ” भन्ने निर्देशन पछ्याउँदै आफूबारे के-कति जानकारी दिने हो, त्यसबारे राम्ररी सोच्नुहोस्।—मत्ती १०:१६.
उक्त व्यक्तिलाई भेटेको भए के कुरा गर्नुहुन्थ्यो पत्रमा पनि सोही कुरा लेख्नुहोस्। कसरी बाइबलबारे छलफल शुरु गर्ने तथा कायम राख्ने पुस्तिका वा हालसालैको हाम्रो राज्य सेवा-मा दिइएका बाइबलआधारित प्रस्तुति प्रयोग गर्न सक्नुहुन्छ। एउटा प्रश्न उठाउनुहोस् र यसबारे सोच्न उक्त व्यक्तिलाई प्रोत्साहन दिनुहोस्। केही प्रकाशक भने हामी बाइबलसम्बन्धी प्रश्नको जवाफ निश्शुल्क दिन्छौं भनेर सीधै लेख्छन्। त्यसपछि बाइबल अध्ययन गरिने प्रकाशनबाट केही अध्यायका शीर्षक उल्लेख गर्छन्। साक्षी दिन लेखिएको पत्रको नमुना पृष्ठ ७३ मा दिइएको छ। उक्त पत्रले तपाईंलाई पत्राचार गरेर साक्षी दिने तरिका सिकाउँछ। तर सधैं एकैखाले पत्र नलेख्नुहोस्। नत्रता मानिसहरू घरीघरी एकै किसिमको पत्र पाइरहन्छन्।
नौलो मान्छेले पठाएको लामो पत्र पढ्नुपर्दा कसै-कसैलाई झिजो लाग्छ। त्यसैले छोटो पत्र लेख्नु बुद्धिमानी हो। पत्र पाउने व्यक्तिलाई पढ्न झिजो लाग्नुअघि नै पत्र टुङ्ग्याउनुहोस्। राज्यभवनमा हुने सभाको निम्तो-पर्ची पत्रसँगै पठाउन सक्नुहुन्छ। साथै प्रहरीधरहरा वा ब्यूँझनुहोस्! पत्रिकाको कुनै अङ्क अथवा कुनै पर्चा वा पुस्तिका पनि सँगै राख्न सक्नुहुन्छ। पत्र पाउने व्यक्ति चाहन्छन् भने ती प्रकाशन नियमित तवरमा पठाउने व्यवस्था मिलाउन सकिन्छ भनी बताउनुहोस्। अथवा उल्लिखित विषयमा कुराकानी गर्न तिनको घरमै आउने प्रबन्ध मिलाउन सकिन्छ कि भनेर पनि सोध्नुहोस्।
पत्रको खाका तयार पार्ने तरिका
पृष्ठ ७३ मा दिइएको नमुना पत्र हेर्नुहोस्। उक्त पत्रका यी कुरा ध्यान दिनुहोस्: (१) पत्र गज्याङमज्याङ छैन, चिटिक्क परेको छ। (२) खाम हरायो भने पनि कसले, कहाँबाट पठाएको हो भनेर थाह पाउन सकिन्छ। (३) पत्र लेख्नुको उद्देश्य पहिलो अनुच्छेदमै प्रस्टसँग खुलाइएको छ। (४) हरेक मुख्य बुँदा फरक अनुच्छेदमा लेखिएको छ। (५) पत्रको उद्देश्यअनुसारै यसको भाषा एकदमै औपचारिक पनि छैन र अति अनौपचारिक पनि छैन।
मण्डलीको सचिवले शाखा कार्यालयलाई लेखेको पत्रलाई औपचारिक पत्रको उदाहरणको रूपमा लिन सक्छौं। त्यस्तो पत्रमा मण्डलीको नाम, सचिवको नाम, ठेगाना र मिति लेखिएको हुन्छ। पत्र पाउने व्यक्तिको वा सङ्गठनको नाम र ठेगाना पनि लेख्नुपर्छ। त्यसपछि उपयुक्त सम्बोधन र अभिवादन लेख्नुपर्छ। पत्रको अन्तमा भाषाअनुसार यस्ता शब्द वा शब्दावली राख्नुपर्छ:- भवदीय,/शुभचिन्तक,/तपाईंको, इत्यादि। त्यसपछि आफ्नो नाम वा हस्ताक्षर हुनुपर्छ वा दुवै हुनुपर्छ। हस्ताक्षर हस्तलिपि नै हुनुपर्छ।
पत्र लेख्दा हिज्जे, व्याकरण र विराम-चिह्नमा ध्यान दिनुपर्छ। यसबाहेक पत्र सफासित लेखिएको पनि हुनुपर्छ। यसो गर्दा पत्र र त्यसमा लेखिएका कुरा महत्त्वपूर्ण छन् भनेर स्पष्ट हुन्छ।
पत्र पठाउने व्यक्तिले खामबाहिर आफ्नो पूरा ठेगाना लेख्नुपर्छ। नचिनेका व्यक्तिलाई साक्षी दिन पत्र लेख्दा आफ्नै ठेगाना लेख्नु उपयुक्त होला जस्तो लाग्दैन भने स्थानीय राज्यभवनको ठेगाना लेख्न मिल्छ कि मिल्दैन भनेर एल्डरहरूलाई सोध्नुहोस्। पत्रमार्फत साक्षी दिंदा शाखा कार्यालयको ठेगाना कहिले पनि नलेख्नुहोस्। किनभने त्यसो गर्दा त्यो पत्र शाखा कार्यालयले पठाएको जस्तो देखिन्छ र पत्र पाउने व्यक्ति अलमलमा पर्छन्। पत्रसँगै प्रकाशन पनि पठाइएको छ तर पत्र पठाउनेको ठेगाना लेखिएको छैन भने पनि उक्त पत्र शाखा कार्यालयले पठाएको हो भन्ने भान पर्न सक्छ।
पत्र पठाउँदा पर्याप्त टिकट टाँस्न नबिर्सनुहोस्। विशेषगरि पत्रमा कुनै साहित्य राख्नुभएको छ भने पर्याप्त टिकट टाँसिएको हुनुपर्छ। पर्याप्त टिकट टाँसिएको छैन भने पत्र पाउने व्यक्तिले नै पैसा तिर्नुपर्छ जसले गर्दा तपाईंले लेखेको सन्देशमा तिनको ध्यान जाँदैन। याद गर्नुहोस् थुप्रै देशमा पत्रसँगै पत्रिका वा पुस्तिका पनि राखिएको छ भने साधारण चिठ्ठी पठाउँदा लाग्नेभन्दा महँगो टिकट टाँस्नुपर्ने हुन्छ।
पत्रको शैली
पत्र लेखिसकेपछि के लेखें भनेर हेर्न पत्र पढ्नुहोस्। पत्र कस्तो सुनिन्छ? होसियारीसाथ सुझबुझ चलाएर मित्रैलो पारामा लेख्नुभएको छ? हामी अरूलाई प्रेम र दया देखाउने कोसिस गर्छौं। (गला. ५:२२, २३) त्यसकारण पत्रमा नकारात्मक भाव वा निराशावादी विचार भेट्टाउनुभयो भने ती वाक्य फेरि मिलाउनुहोस्।
तपाईं पुग्न नसक्ने ठाउँमा पत्र पुग्छ। त्यसैले प्रचार गर्नको लागि पत्र एउटा विशेष माध्यम नै हो। पत्रले तपाईं अनि तपाईंका सिद्धान्तबारे बताउँछ। त्यसकारण पत्रमा के लेखिएको छ, पत्र कसरी लेखिएको छ, कस्तो देखिएको छ र कस्तो सुनिन्छ भन्ने कुरालाई ध्यान दिनुहोस्। तपाईंको पत्रले मानिसलाई जीवनको सही मार्गमा हिंड्न थाल्न र हिंडिरहन मदत गर्नुका साथै प्रोत्साहन दिन सक्छ।
२४ राज्यभवन मार्ग,
काठमाडौं, नेपाल।