अध्याय ९
स्वर परिवर्तन
भावलाई जोड दिंदा तपाईंले भन्न खोजेको कुरा श्रोताले राम्ररी बुझ्नेछन्। तर स्वर, स्वरको गति र स्वरको तिखोपनमा विविधता ल्याउँदा तपाईंको भाषण सुनमा सुगन्ध भनेझैं हुन्छ। अझै महत्त्वपूर्ण कुरा त तपाईंले भनेको कुराप्रति तपाईं आफै कस्तो महसुस गर्नुहुन्छ भनेर श्रोताले बुझ्नेछन्। श्रोतालाई भाषण कस्तो लाग्छ भन्ने कुरा भाषणप्रति तपाईंले देखाएको मनोवृत्तिमा निर्भर हुन्छ। मञ्चबाट भाषण दिंदा होस् वा प्रचार गर्दा, जहाँ भए पनि यसो गर्नु महत्त्वपूर्ण छ।
मानिसको आवाज साँच्चै अचम्मलाग्दो छ। हामी किसिम-किसिमको आवाज निकाल्न सक्छौं। आवाजलाई राम्रोसँग प्रयोग गरिएको छ भने यसले भाषण जीवन्त बनाउन सक्छ, मानिसको मन छुन सक्छ, मानिसमा विभिन्न भावना उत्पन्न गराउन सक्छ र कदम चाल्न जुर्मुऱ्याउन सक्छ। तर यी सब गर्न तपाईंले भाषण दिंदा प्रयोग गर्ने टिपोटमा कुन-कुन ठाउँमा स्वर र स्वरको गति परिवर्तन गर्ने र स्वरको तिखोपन मिलाउने भनेर चिनो लगाउँदैमा पुग्दैन। यस्तो चिनो लगाइएको ठाउँमा पुगेपछि मात्र स्वर परिवर्तन गर्नुभयो भने त्यो बनावटी सुनिन्छ। यसो गर्दा श्रोतालाई तपाईंको भाषण रोचक लाग्नु त कहाँ हो कहाँ, कहिले भाषण सकिएला भनेर दिक्क पो लाग्छ। स्वाभाविक स्वर परिवर्तन मनभित्रबाटै निस्कनुपर्छ।
स्वर परिवर्तन गर्न राम्ररी ध्यान दिइएको छ भने श्रोताको ध्यान अनावश्यक रूपमा वक्तातर्फ जाँदैन। बरु छलफल गरिंदै गरेको विषयको भाव बुझ्न यसले श्रोतालाई मदत गर्छ।
स्वर ठूलो वा सानो बनाउनुहोस्। तपाईंको स्वर ठूलो वा सानो बनाएर आवाजमा विविधता ल्याउन सकिन्छ। तर यसको अर्थ तपाईंले एकै किसिमले स्वर ठूलो बनाउनु वा सानो बनाउनु चाहिं होइन। त्यसो गर्दा त तपाईंले भन्न खोजेको कुराको अर्थै अर्को पर्न जान्छ। तपाईंले छिनछिनमा आवाज ठूलो बनाउनुभयो भने श्रोतालाई नराम्रो प्रभाव पर्न जान्छ।
तपाईंको स्वर विषय सुहाउँदो हुनुपर्छ। प्रकाश १४:६, ७ वा प्रकाश १८:४ मा दिइएको जस्तो तुरुन्तै पालना गर्नुपर्ने आदेश पढ्दा होस् वा प्रस्थान १४:१३, १४ मा दिइएको जस्तो विश्वस्त भएर बताइएको कुरा पढ्दा होस्, विषयवस्तुले मागेअनुसार स्वर ठूलो बनाउनुपर्छ। त्यसैगरि यर्मिया २५:२७-३८ मा दिइएको जस्तो कडा शब्दमा गरिएको निन्दा पढ्दै हुनुहुन्छ भने स्वरमा विविधता ल्याउँदा ती खास भाग र अरू भागबीचको भिन्नता प्रस्टै देखिन्छ।
तपाईंको भाषणको उद्देश्य के हो, त्यो पनि नबिर्सनुहोस्। के तपाईं श्रोतालाई कदम चाल्न जुर्मुऱ्याउन चाहनुहुन्छ? के तपाईं आफ्नो प्रस्तुतिको मुख्य बुँदा प्रस्टै छुट्टिएको चाहनुहुन्छ? राम्ररी सोचविचार गरेर आवश्यकताअनुसार स्वर ठूलो पार्दा यी उद्देश्य हासिल गर्न सकिन्छ। तर जहिले मन लाग्यो तहिले स्वर ठूलो बनाउँदा तपाईं आफ्नो उद्देश्य पूरा गर्न सक्नुहुन्न। किन? किनकि तपाईंले भन्ने कुरा ठूलो स्वरले होइन न्यानो पाराले र भावसहित बताउनुपर्ने हुन सक्छ। यसबारे हामी अध्याय ११ मा छलफल गर्नेछौं।
राम्ररी सोचविचार गरी स्वर एक्कासि सानो पारेर बोल्दा वक्ताले अब के भन्ने होलान् भनेर श्रोता उत्सुक हुन्छन्। तर श्रोतालाई उत्सुक बनाउन अक्सर तपाईंले स्वर सानो पार्नेबित्तिकै तुरुन्तै ठूलो स्वरमा बोल्नुपर्ने हुन्छ। चिन्ता वा डर व्यक्त गर्नको लागि पनि मसिनो तर तीखो स्वरमा बोल्न सकिन्छ। भर्खरै भनिएको कुराभन्दा कम महत्त्वपूर्ण कुरा बताउँदा पनि स्वर सानो बनाउन सकिन्छ। तर तपाईंको स्वर जहिले पनि सानो छ भने तपाईंको विषयप्रति तपाईं आफै पक्का हुनुहुन्न वा विषयप्रति तपाईंलाई चासो नै छैन भनेर श्रोतालाई लाग्न सक्छ। हो, सानो स्वरले बोल्दा सुझबुझ चलाउनै पर्छ।
स्वरको गति घटबढ गर्नुहोस्। विचार व्यक्त गर्दा शब्दहरू फरर्र निस्कन्छन्। हामी एकदमै उत्साहित छौं भने एकै सासमा सबै कुरा भनिहाल्छौं। तर आफूले भनेको कुरा अरूले राम्ररी सम्झून् भन्ने चाहँदा हामी बिस्तारै कुरा गर्छौं।
तर जनसमक्ष बोल्ने नयाँ वक्तामध्ये धेरैले स्वरको गतिमा परिवर्तन नगरी एकैनासले बोल्ने गर्छन्। किन? किनभने तिनीहरू शब्दमा बढी नै ध्यान दिन्छन्। आफूले भन्न चाहेको कुरा सबै लेखेका हुन्छन्। हुन त तिनीहरू लेखेको एक-एक शब्द हेरेर त भाषण नदेलान्। तर भाषणको एक-एक शब्द याद भएकोले तिनीहरू मुखस्त भाषण सुनाउँछन्। यसको नतिजा हरेक कुरा एउटै गतिले बोलेको जस्तो सुनिन्छ। रूपरेखा बनाएर भाषण दिंदा यस्तो कमजोरी हटाउन सकिन्छ।
आफ्नै सुरमा डुलिरहेको बिरालो अचानक कुकुर देख्दा तर्सेर उफ्रेझैं श्रोता नै तर्सनेगरि स्वरको गति अचानक नबढाउनुहोस्। यसबाहेक तपाईंको उच्चारण नै अस्पष्ट हुनेगरि छिटो-छिटो नबोल्नुहोस्।
स्वरको गति घटबढ गर्न ठाउँ-ठाउँमा अचानक छिटो बोल्ने वा अचानक ढिलो बोल्ने नगर्नुहोस्। यस्तो गर्दा श्रोतालाई तपाईंको भाषण सुनूँ-सुनूँ लाग्नुको सट्टा दिक्क लाग्न सक्छ। तपाईं के भन्दै हुनुहुन्छ, कस्तो भाव देखाउन चाहनुहुन्छ र तपाईंको भाषणको उद्देश्य कस्तो छ, त्यहीअनुसार स्वरको गति मिलाउनुपर्छ। भाषण घोडा दौडे जस्तो पनि नहोस्; कछुवाको चाल जस्तो पनि नहोस्। प्रायः उत्साहित हुँदा छिटो-छिटो बोलेझैं भाषणमा पनि उत्साह-उमङ्गको कुरा बताउँदा छिटो-छिटो बोल्नुहोस्। कम महत्त्वपूर्ण कुरा बताउँदा वा विस्तृत विवरण दिनु नपर्ने खालको घटना बताउँदा पनि त्यसरी नै बोल्नुहोस्। यसो गर्दा तपाईंको स्वरमा विविधता आउँछ र श्रोतालाई पनि तपाईंको भाषण सुनेर आनन्द लाग्छ। अर्कोतर्फ गहन तर्क प्रस्तुत गर्दा, मुख्य बुँदाहरू बताउँदा र भाषणको चुलीमा पुग्दा अलि बिस्तारै बोल्नुपर्छ।
स्वरको तिखोपनमा विविधता ल्याउनुहोस्। कल्पना गर्नुहोस्, कसैले कुनै बाजा एक घण्टादेखि एउटा मात्र सुर प्रयोग गरेर बजाइरहेको छ। जस्तै:- सुरुमा चर्को त्यसपछि मधुरो, कहिले छिटो त्यसपछि विस्तारै। हुन त त्यो धुनको ध्वनीमा घटबढ गरिएको छ र गतिमा पनि परिवर्तन गरिएको छ। तर विविधता नभएकोले सुनूँ-सुनूँ लाग्दैन। त्यसैगरि स्वरको तिखोपनमा विविधता छैन भने हाम्रो भाषण पनि सुनूँ-सुनूँ लाग्दैन।
स्वरमा विविधता ल्याएर किसिम-किसिमको विचार व्यक्त गर्न सकिन्छ। नेपाली भाषामा पनि भावलाई जोड दिन स्वर अलि ठूलो पारेर बोल्ने गर्छौं। प्रश्न सोध्दा एक किसिमको स्वर निस्कन्छ, आदेश दिंदा स्वरको किसिम अर्कै हुन्छ भने बिन्ती गर्दाको स्वर झनै फरक हुन्छ।
खुसी र जोस देखाउँदा स्वर अलि तीखो वा चर्को बनाउनुपर्छ। तर दुःख र चिन्ता व्यक्त गर्दा स्वर मधुरो पार्नुपर्छ। यसरी भावना व्यक्त गर्दा श्रोताको मनसम्म पुग्न सकिन्छ। तपाईं यसरी भावना व्यक्त गर्न चाहनुहुन्छ भने शब्दहरू भन्ने मात्र नगर्नुहोस्। त्यस्तै महसुस गरिरहेको कुरा आफ्नो आवाजबाट देखाउनुहोस्।
सुरु गर्ने तरिका: त्यसो भए स्वर परिवर्तन कुन बेलादेखि सुरु गर्ने त? भाषणको विषयवस्तु छान्दादेखि नै। यदि तपाईं भाषणमा तर्क मात्रै दिंदै हुनुहुन्छ वा स्पष्ट सल्लाह मात्रै दिंदै हुनुहुन्छ भने स्वरमा विविधता ल्याउने मौका त्यति हुँदैन। त्यसैले रूपरेखा राम्ररी अध्ययन गर्नुहोस्। त्यसपछि भाषण रोचक, लाभदायक हुने खालका बुँदा छान्नुहोस्।
भाषण दिंदा दिंदै तपाईंलाई आफ्नो भाषण जीवन्त भएन जस्तो लाग्यो भने के गर्नुपर्छ? भाषण दिइरहेको तरिका बदल्नुहोस्। तर कसरी? एउटा तरिका हो, बोलेको बोल्यै गर्नुभन्दा आफ्नो बाइबल खोल्नु। श्रोतालाई पनि बाइबल खोल्न आग्रह गर्नुहोस्। अनि कुनै पद पढ्नुहोस्। अथवा कुनै कुरालाई सीधै वाक्यको रूपमा भन्नुभन्दा प्रश्नको रूपमा सोध्नुहोस्। यसरी प्रश्न सोध्दा रोकिने र जोड दिने तरिका प्रयोग गर्नुहोस्। बुझ्न सजिलो उदाहरण बताउनुहोस्। अनुभवी वक्ताहरू यसै गर्ने गर्छन्। तपाईं अनुभवी वक्ता होस् वा कम अनुभवी, भाषण तयारी गर्दा यस्ता तरिका प्रयोग गर्न सक्नुहुन्छ।
भाषणमा स्वर परिवर्तन गर्नु खानामा मसला हाल्नु जस्तै हो भन्न सकिन्छ। स्वर परिवर्तन गर्ने तरिका उचित किसिमले र ठिक्क मात्रामा प्रयोग गरिएको छ भने भाषण स्वादिलो हुन्छ र श्रोतालाई पनि सुनूँ-सुनूँ लाग्छ।