प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • bh पृ. २०६-पृ. २०८
  • प्रभुको साँझको भोज—परमेश्‍वरको आदर गर्ने उत्सव

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रभुको साँझको भोज—परमेश्‍वरको आदर गर्ने उत्सव
  • बाइबलले वास्तवमा के सिकाउँछ?
  • मिल्दोजुल्दो सामग्री
  • प्रभुको साँझको भोज कसरी मनाइयो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • प्रभुको साँझको भोज किन मनाउने?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • “मेरो सम्झनामा यो गर्ने गर”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • यहोवाका साक्षीहरू किन चर्चहरूभन्दा फरक तरिकामा प्रभुको साँझको भोज मनाउँछन्‌?
    यहोवाका साक्षीहरूबारे अक्सर सोधिने प्रश्‍नहरू
थप हेर्नुहोस्
बाइबलले वास्तवमा के सिकाउँछ?
bh पृ. २०६-पृ. २०८

अतिरिक्‍त लेख

प्रभुको साँझको भोज—परमेश्‍वरको आदर गर्ने उत्सव

ख्रीष्टको मृत्युको स्मरणार्थ उत्सव मनाउन ख्रीष्टियनहरूलाई आज्ञा दिइएको छ। यस उत्सवलाई “प्रभुको साँझको भोज” पनि भनिन्छ। (१ कोरिन्थी ११:२०) यस उत्सवको कस्तो महत्त्व छ? यो कहिले र कसरी मनाउनुपर्छ?

येशू ख्रीष्टले इस्वी संवत्‌ ३३, निस्तार चाडको रात यो उत्सव स्थापना गर्नुभयो। प्रत्येक वर्ष यहूदी महिना नीसानको १४ औं दिनमा यो चाड मनाइन्थ्यो। यस चाडको मिति निश्‍चित गर्न यहूदीहरू हरेक वर्ष वसन्त-विषुव पत्ता लगाउँथे। वसन्त-विषुव पर्ने दिनमा लगभग १२ घण्टा उज्यालो र १२ घण्टा अँध्यारो हुन्छ। वसन्त-विषुवको अघि अथवा पछि देखा पर्ने नयाँ चन्द्रमादेखि नीसान महिना सुरु हुन्छ। निस्तार चाडचाहिं नीसान महिनाको १४ औं दिनको सूर्यास्तपछि मनाइन्थ्यो।

येशूले आफ्ना चेलाहरूसित निस्तार चाड मनाएपछि यहूदा इस्करियोतलाई त्यहाँबाट पठाउनुभयो। त्यसपछि प्रभुको साँझको भोज स्थापना गर्नुभयो। त्यसबेलादेखि निस्तार चाडको सट्टा त्यो भोज मनाउन थालियो। त्यसैले वर्षको एक चोटि मात्र यो चाड मनाउनुपर्छ।

सुसमाचारको किताबका लेखक मत्तीले यस्तो लेखे: “येशूले एउटा रोटी लिनुभयो अनि प्रार्थना गरेपछि भाँच्नुभयो र चेलाहरूलाई दिंदै भन्‍नुभयो: ‘लेओ, खाओ। यो मेरो शरीरको प्रतीक हो।’ साथै, उहाँले कचौरा लिनुभयो अनि प्रार्थना चढाएपछि तिनीहरूलाई दिंदै भन्‍नुभयो: ‘तिमीहरू सबैले यसबाट पिओ; किनकि यो “करारको मेरो रगतको” प्रतीक हो, जो पापहरूको क्षमा होस्‌ भनेर थुप्रैका लागि बगाइनेछ।’”—मत्ती २६:२६-२८.

येशूले रोटीलाई आफ्नो शरीरमा र दाखमद्यलाई आफ्नो रगतमा परिणत गर्नुभयो भनी कोही-कोही विश्‍वास गर्छन्‌। तर उहाँले चेलाहरूलाई रोटी दिनुहुँदा उहाँको शरीरमा कुनै चोटपटक लागेको थिएन। के येशूका चेलाहरूले साँच्चै उहाँको शरीर र रगत खाएका थिए? अहँ, थिएनन्‌। किनभने त्यसरी मान्छेको मासु र रगत खानु भनेको नरभक्षी हुनु हो र परमेश्‍वरको आज्ञा उल्लङ्‌घन गर्नु हो। (उत्पत्ति ९:३, ४; लेवी १७:१०) लूका २२:२० मा येशूले यसो भन्‍नुभयो: “यो कचौरा त्यो नयाँ करारको प्रतीक हो।” के त्यो कचौरा साँच्चै “नयाँ करार” बन्यो? त्यो त असम्भव थियो किनभने करार भनेको एउटा सम्झौता हो, जुन छुन वा देख्न सकिने वस्तु होइन।

त्यसैले रोटी र दाखमद्य दुवै प्रतीक मात्र हुन्‌। रोटी ख्रीष्टको त्रुटिरहित शरीरको प्रतीक हो। निस्तार चाड मनाएर बाँकी भएको रोटी येशूले प्रयोग गर्नुभएको थियो। रोटी खमिर (रोटीलाई फुलाउने पदार्थ) नहालीकन बनाइन्थ्यो। (प्रस्थान १२: ८) पाप वा भ्रष्टतालाई बुझाउन बाइबलमा अक्सर खमिर शब्द चलाइएको छ। यसरी उक्‍त रोटीले येशूले चढाउनुभएको त्रुटिरहित शरीरलाई सङ्‌केत गर्छ, जुन पापरहित थियो।—मत्ती १६:११, १२; १ कोरिन्थी ५:६, ७; १ पत्रुस २:२२; १यूहन्‍ना २:१, २.

प्रभुको साँझको भोजमा प्रयोग गरिने रातो दाखमद्य येशूको रगतको प्रतीक हो। रगतले नयाँ करारलाई लागू गर्ने कानुनी आधार दियो। येशूले आफ्नो रगत “पापहरूको क्षमा होस्‌” भनेर बगाउनुभएको हो। त्यसैले मानिसहरू परमेश्‍वरको नजरमा शुद्ध हुन सक्छन्‌ र यहोवासित नयाँ करारमा बाँधिन सक्छन्‌। (हिब्रू ९:१४; १०:१६, १७) यस करारले गर्दा १,४४,००० वफादार ख्रीष्टियन स्वर्ग जान सम्भव भयो। सबै मानिसजातिले आशिष्‌ पाऊन्‌ भनेर तिनीहरूले स्वर्गमा राजा र पुजारीको रूपमा सेवा गर्नेछन्‌।—उत्पत्ति २२:१८; यर्मिया ३१:३१-३३; १ पत्रुस २:९; प्रकाश ५:९, १०; १४:१-३.

स्मरणार्थ उत्सवका ती प्रतीक क-कसले खान्छन्‌? नयाँ करारमा बाँधिएकाहरूले मात्र। तिनीहरूसित स्वर्ग जाने आशा हुन्छ। तिनीहरू स्वर्गमा राजा हुन छानिएका छन्‌ भनेर परमेश्‍वरको पवित्र शक्‍तिले तिनीहरूलाई विश्‍वस्त बनाउँछ। (रोमी ८:१६) येशूले तिनीहरूलाई परमेश्‍वरको राज्यमा शासन गर्ने अधिकार दिनेछु भनेर वाचा गर्नुभएको छ।—लूका २२:२९.

प्रमोदवनमा सधैंभरि बाँच्ने आशा भएकाहरूबारे चाहिं के भन्‍न सकिन्छ? तिनीहरू येशूको आज्ञा पालन गर्दै स्मरणार्थ उत्सवमा उपस्थित त हुन्छन्‌ तर रोटी र दाखमद्य भने खाँदैनन्‌। हरेक वर्ष अर्थात्‌ नीसान १४ को दिन सूर्यास्तपछि यहोवाका साक्षीहरू प्रभुको साँझको भोज मनाउँछन्‌। स्वर्ग जाने आशा भएकाहरू अहिले पृथ्वीमा केही हजार मात्र छन्‌। तैपनि यो उत्सव सबै ख्रीष्टियनको लागि विशेष छ। यस उत्सवमा सबैले यहोवा परमेश्‍वर अनि येशू ख्रीष्टले देखाउनुभएको उत्कृष्ट प्रेमबारे मनन गर्ने मौका पाउँछन्‌।—यूहन्‍ना ३:१६.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने