अध्याय ८७
चतुर हुनुहोस् र पहिल्यै योजना बनाउनुहोस्
बेइमान भण्डारेको उदाहरण
आफ्नो धनसम्पत्तिले ‘मित्रहरू बनाउनुहोस्’
येसुले भर्खरै बताउनुभएको हराएको छोराको उदाहरणबाट कर उठाउनेहरू, शास्त्रीहरू र फरिसीहरूले परमेश्वर पश्चात्तापी पापीहरूलाई क्षमा दिन इच्छुक हुनुहुन्छ भनेर बुझ्नुपर्ने हो। (लुका १५:१-७, ११) येसु अब आफ्ना चेलाहरूलाई सम्बोधन गर्नुहुन्छ। उहाँ फेरि अर्को एउटा उदाहरण चलाउनुहुन्छ। यो उदाहरण एक जना धनी मानिसको हो, जसले आफ्नो भण्डारेले बेइमानी गरेको चाल पाउँछन्।
आफ्नो मालिकको सम्पत्ति हिनामिना गरेको आरोप लागेको एक जना भण्डारेबारे येसु बताउनुहुन्छ। ती मालिकले भण्डारेलाई कामबाट निकाल्ने कुरा बताउँछन्। तब भण्डारेले मनमनै यसो भन्छ: “मेरो मालिकले मलाई भण्डारेको कामबाट निकाल्ने भए, अब म के गरूँ? म खनजोत गर्न सक्दिनँ अनि भीख माग्न मलाई लाज लाग्छ।” त्यसपछि भण्डारे एउटा योजना बनाउँछ। ऊ यसो भन्छ: “अँ, मैले के गरेँ भने भण्डारेको कामबाट निकालिएपछि पनि मानिसहरूले मलाई उनीहरूको घरमा स्वागत गर्नेछन्, त्यो मलाई थाह छ!” अनि उसले तुरुन्तै ऋणीहरूलाई बोलाएर सोध्छ: “तिमीले मेरो मालिकलाई कति ऋण तिर्नु छ?”—लुका १६:३-५.
पहिलोले यसो भन्छ: “१०० भाँडो जैतुनको तेल।” यो झन्डै २,२०० लिटरबराबर हो। त्यो ऋणीको ठूलो जैतुन बारी हुन सक्छ वा ऊ तेल व्यापारी हुन सक्छ। भण्डारेले उसलाई यसो भन्छ: “तिम्रो तमसुक लैजाऊ र बसेर तुरुन्तै त्यसलाई ५० [१,१०० लिटर] बनाऊ।”—लुका १६:६.
भण्डारेले अर्कोलाई यस्तो सोध्छ: “तिम्रो चाहिँ कति ऋण छ नि?” उसले भन्छ: “१०० भाँडो गहुँ।” यो झन्डै २२ हजार लिटरको भाँडोमा अटाउने जतिको परिमाण हो। तब भण्डारेले उसलाई यसो भन्छ: “तिम्रो तमसुक लैजाऊ र त्यसलाई ८० बनाऊ।” यसरी भण्डारेले उसको ऋण २० प्रतिशतले कम गरिदिन्छ।—लुका १६:७.
यो भण्डारेले अझै पनि मालिकको आर्थिक कारोबार सम्हालिरहेको छ। त्यसैले ऋणीहरूले तिर्नुपर्ने रकम कम गर्न सक्ने अधिकार ऊसित छ। यसरी ऋणीहरूको ऋण कम गरिदिएर उसले पछि आफूलाई मदत गर्न सक्नेहरूलाई मित्र बनाइरहेको छ।
भण्डारेले के गरिरहेको छ भनेर मालिकले थाह पाउँछन्। भण्डारेले त्यसो गर्दा तिनलाई घाटा हुने भए तापनि तिनी भण्डारेदेखि प्रभावित हुन्छन् र उसको तारिफ गर्छन् किनकि ऊ “बेइमान” भए तापनि “उसले चतुऱ्याइँ देखायो।” येसु यसो भन्नुहुन्छ: “आफ्नो पुस्ताका मानिसहरूसित व्यवहार गर्नमा ज्योतिका सन्तानभन्दा यस युगका मानिसहरू अझ चतुर छन्।”—लुका १६:८.
येसुले यो भण्डारेले गरेको काम सही हो भन्न खोज्नुभएको होइन न त उहाँ व्यापारमा त्यस्तो धूर्तता अपनाउन प्रोत्साहन नै दिँदै हुनुहुन्छ। त्यसोभए उहाँ के भन्न खोज्दै हुनुहुन्छ? उहाँ चेलाहरूलाई यस्तो आग्रह गर्नुहुन्छ: “बेइमान धनले आफ्नो निम्ति मित्रहरू बनाओ किनभने त्यस्तो धन सिद्धिएपछि तिनीहरूले सायद अनन्त निवासमा तिमीहरूलाई आश्रय दिनेछन्।” (लुका १६:९) हो, दूरदर्शी र चतुर हुनेबारे यसबाट पाठ सिक्न सकिन्छ। “ज्योतिका सन्तान” अर्थात् परमेश्वरका सेवकहरूले अनन्त जीवनलाई मनमा राख्दै भौतिक धनसम्पत्ति बुद्धिमानी तरिकामा चलाउनुपर्छ।
यहोवा परमेश्वर र उहाँको छोराले मात्र मानिसहरूलाई स्वर्गीय राज्यमा वा त्यस राज्यअन्तर्गत पार्थिव प्रमोदवनमा स्वागत गर्न सक्नुहुन्छ। त्यसैले आफूसँग भएको भौतिक धनसम्पत्ति राज्य गतिविधिको लागि चलाउँदै उहाँहरूसितको मित्रतालाई बलियो बनाउन हामी लगनशील हुनुपर्छ। सुनचाँदी र अरू भौतिक कुराहरू नाश हुँदा पनि हामीले पाउने अनन्त जीवनचाहिँ सुनिश्चित रहन्छ।
आफूसँग भएको धन वा भौतिक कुराहरूको हेरविचार गर्न वा ती चलाउन जो विश्वासयोग्य हुन्छन्, तिनीहरू अझ महत्त्वपूर्ण कुराहरूको हेरविचार गर्न विश्वासयोग्य साबित हुनेछन् भनेर पनि येसु बताउनुहुन्छ। उहाँ यसो भन्नुहुन्छ: “त्यसैले बेइमान धन चलाउँदा तिमीहरू आफूलाई विश्वासयोग्य साबित गर्दैनौ भने कसले तिमीहरूलाई साँचो धन [जस्तै राज्यसम्बन्धी कामकुरा] सुम्पेला र?”—लुका १६:११.
“अनन्त निवासमा” आश्रय पाउने हो भने तिनीहरूबाट धेरै माग गरिनेछ भनेर येसु आफ्ना चेलाहरूलाई बताउँदै हुनुहुन्छ। एकातिर परमेश्वरको साँचो सेवक बन्न र अर्कोतिर बेइमान धनको दास बन्न सकिँदैन। येसु यो उदाहरण यसरी टुङ्ग्याउनुहुन्छ: “कुनै पनि नोकर दुई मालिकको दास बन्न सक्दैन किनकि उसले एक जनालाई घृणा र अर्कोलाई प्रेम गर्नेछ अथवा ऊ एक जनासित टाँसिनेछ र अर्कोलाई तुच्छ ठान्नेछ। तिमीहरू परमेश्वर र धनसम्पत्ति दुवैको दास बन्न सक्दैनौ।”—लुका १६:९, १३.