प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ypq प्रश्‍न ८ पृ. २४-२६
  • यौन दुर्व्यवहारबारे मैले के थाह पाउनुपर्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यौन दुर्व्यवहारबारे मैले के थाह पाउनुपर्छ?
  • युवाहरूको १० प्रश्‍नका जवाफहरू
  • मिल्दोजुल्दो सामग्री
  • म कसरी यौन दुर्व्यवहारको सामना गर्नसक्छु?
    ब्यूँझनुहोस्‌!—२०००
  • साथीहरू मलाई किन दिक्क पार्छन्‌?
    युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ
  • प्रेमलीला गर्नुमा के हानि छ?
    ब्यूँझनुहोस्‌!—१९९८
  • विषयसूची
    ब्यूँझनुहोस्‌!—२०१३
युवाहरूको १० प्रश्‍नका जवाफहरू
ypq प्रश्‍न ८ पृ. २४-२६
एक जना निराश जवान केटी

प्रश्‍न ८

यौन दुर्व्यवहारबारे मैले के थाह पाउनुपर्छ?

यसबारे किन चासो राख्नुपर्छ?

हरेक वर्ष लाखौं मानिसहरू बलात्कार वा यौन दुर्व्यवहारको सिकार हुन्छन्‌। अनि यसको मुख्य तारो भनेको युवायुवतीहरू हुन्‌।

तपाईं के गर्नुहुन्छ?

सजिनालाई आक्रमण गर्ने मान्छेले अचानक उनलाई भुईंमा पछाऱ्‍यो। के हुँदै छ भनेर उनले ठम्याउन सकिनन्‌। उनी भन्छिन्‌, “मैले आफूलाई बचाउने हर प्रयास गरें। मैले त्यसलाई धकेलें, लात्ताले हाने, मुक्का हाने र कोतरें। म चिच्याउन खोजें तर मेरो आवाज निस्केन। त्यही बेला त्यसले मलाई छुराले घोप्यो। त्यसपछि त म लल्याकलुलुक भएँ।”

तपाईं हुनुभएको भए के गर्नुहुन्थ्यो?

एकछिन सोच्नुहोस्‌!

राती बाहिर जानुहुँदा तपाईं चनाखो भई जानुहुन्छ होला। तैपनि तपाईं सुरक्षित हुनुहुन्छ भन्‍न मिल्दैन। बाइबल भन्छ: “वेग कुदाइले दौड जित्न सक्दैन . . . सफलता निपुण मानिसको निम्ति हुँदैन। समय र अवसरले नै सबैलाई अधीन गरेको हुन्छ।”—उपदेशक ९:११.

सजिना जस्तै केही युवायुवती अपरिचित व्यक्‍तिबाट यौन दुर्व्यवहारको सिकार भएका छन्‌। अरूचाहिं चिनेको मान्छे वा आफ्नै परिवारको सदस्यद्वारा यौन दुर्व्यवहारको सिकार भएका छन्‌। नेहा दस वर्षकी हुँदा उनको घर नजिकै बस्ने एक किशोरले उनलाई यौन दुर्व्यवहार गऱ्‍यो। उनी भन्छिन्‌, “मलाई एकदम डर लाग्यो अनि लाज पनि लाग्यो। त्यसबारे मैले सुरुमा कसैलाई पनि भनिनँ।”

दोष तपाईंको होइन

सजिना आफैलाई दोष दिन्छिन्‌। उनी भन्छिन्‌, “त्यो रात म कहिल्यै बिर्सन सक्दिनँ। आफूलाई बचाउन अझ कोसिस गरेको भए हुन्थ्यो जस्तो लाग्छ। त्यो मान्छेले छुराले हानेपछि म निकै डराएँ र केही गर्न नसक्ने भएँ। तैपनि केही न केही गरेको भए हुन्थ्यो जस्तो लाग्छ।”

नेहा पनि आफैलाई दोष दिन्छिन्‌। तिनी भन्छिन्‌, “म अति विश्‍वस्त हुनु हुँदैनथ्यो। मेरो आमाबाबुले म र बहिनीलाई ‘तिमीहरू बाहिर खेल्दा कहिल्यै नछुट्टिनु है!’ भन्‍नुहुन्थ्यो। तर उहाँहरूको कुरा सुनिनँ। आफैले नै छिमेकीलाई यौन दुर्व्यवहार गर्न दिएको जस्तो लाग्छ। यो घटनाले परिवारलाई पनि असर गऱ्‍यो। मेरो कारणले गर्दा उहाँहरू धेरै दुःखी हुनुभयो। यही कुरा सहन निकै गाह्रो लाग्छ।”

तपाईं पनि सजिना र नेहाजस्तै महसुस गर्नुहुन्छ भने यो कुरा नबिर्सनुहोस्‌, बलात्कार हुने व्यक्‍ति जानाजानी बलात्कारको सिकार हुन पुगेको हुँदैन। कोही-कोही मानिस यस्तो कुरालाई हल्कासित लिन्छन्‌। केटाहरूले यस्तो काम गर्नु सामान्य हो वा बलात्कारको सिकार भएको व्यक्‍तिले नै उक्साएको हुनुपर्छ भनेर कोही-कोही तर्क गर्छन्‌। तर बलात्कार गर्ने अधिकार कसैसँग छैन। यदि तपाईं यस्तो घोर अपराधको सिकार हुनुभएको छ भने यसमा तपाईंको दोष छैन।

“तपाईंको दोष छैन” भन्‍ने कुरा पढ्‌नु जति सजिलो छ, त्यसमा विश्‍वास गर्नु उत्ति नै गाह्रो छ। जे भएको थियो त्यस विषयमा कोही-कोही कुरा गर्न चाहँदैनन्‌। यसले गर्दा उनीहरू आफैलाई दोष दिन्छन्‌ अनि उनीहरूलाई नकारात्मक भावनाले पनि पिरोल्छ। तर यसरी चुप लाग्दा कसको फाइदा हुन्छ, तपाईंको कि दुर्व्यवहार गर्ने व्यक्‍तिको? त्यसोभए तपाईंले के गर्नुपर्छ?

आफ्नो व्यथा पोखाउनुहोस्‌

ईश्‍वरको स्तरअनुसार चल्ने अय्यूबले निक्कै पीडा भोग्नुपर्दा तिनले यसो भने: “म मेरो मनको पीरमा बोल्नेछु।” (अय्यूब १०:१) तपाईंले पनि अय्यूबले जस्तै गर्न सक्नुहुन्छ। कुनै एक जना भरोसायोग्य व्यक्‍तिसित कुरा गर्नुहोस्‌। यसो गर्नुभयो भने तपाईं आफ्नो समस्यासित लड्‌न सक्नुहुन्छ अनि मन हल्का पार्न सक्नुहुन्छ।

एक जना जवान केटी आफ्नो साथीसँग कुरा गर्दै

आफ्नो भावना कसैलाई व्यक्‍त नगर्दा समस्या सुल्झिंदैन र यो सहिरहन गाह्रो हुन्छ। तपाईं कसैसित मदत माग्न सक्नुहुन्छ कि?

सजिनाको सन्दर्भमा यो कुरा सही साबित भयो। उनी भन्छिन्‌: “मेरो घनिष्ठ साथीसँग कुरा गरें र तिनले मलाई मण्डलीका एल्डरहरूसित कुरा गर्न प्रोत्साहन दिइन्‌। धन्‍न! मैले उहाँहरूसित कुरा गरें। उहाँहरू मसँग थुप्रै चोटि भेट्‌नुभयो अनि मलाई चाहिएकै मदत दिनुभयो। जे भयो त्यसमा मेरो पटक्कै दोष छैन भन्‍ने कुरा बुझें।”

नेहाले तिनीमाथि भएको दुर्व्यवहारबारे आमाबाबुसित कुरा गरिन्‌। तिनी भन्छिन्‌, “उहाँहरूले मेरो साथ दिनुभयो। त्यसबारे कुरा गर्न प्रोत्साहन दिनुभयो। यसले गर्दा मलाई अचाक्ली दु:खी नहुन र भित्र-भित्रै रिस पालेर नराख्न मदत पाएँ।”

नेहाले प्रार्थना गरेर पनि सान्त्वना पाइन्‌। तिनी भन्छिन्‌, “कसैलाई पनि आफ्नो मनको कुरा पोखाउन नसकेको बेला प्रार्थनाले निकै मदत दियो। अप्ठेरो नमानी ईश्‍वरलाई प्रार्थना गर्न सक्छु। यसले गर्दा मनमा शान्ति भएको अनि ढुक्क महसुस गर्छु।”

“निको पार्ने एउटा समय” छ भनेर तपाईंले पनि महसुस गर्न सक्नुहुनेछ। (उपदेशक ३:३) आफ्नो शारीरिक र भावनात्मक स्वास्थ्यको ख्याल राख्नुहोस्‌। पर्याप्त मात्रामा आराम गर्नुहोस्‌। विशेषगरि सान्त्वनाका परमेश्‍वर यहोवामा भरोसा राख्नुहोस्‌।—२ कोरिन्थी १:३, ४.

विवाहपूर्व भेटघाट गर्न सक्ने उमेरको हुनुहुन्छ भने

तपाईंलाई अनैतिक क्रियाकलापमा भाग लिन दबाब दिइँदै छ भने दृढ भई “यस्तो नगर!” वा “तिम्रो हात हटाऊ!” भन्‍न नडराउनुहोस्‌। आफ्नो प्रेमीलाई गुमाउनुपर्ला भन्‍ने डरले चुपचाप नबस्नुहोस्‌। यही कारणले गर्दा उसले सम्बन्ध तोड्यो भने ऊ तपाईंको प्रेमी हुन लायकको छैन। तपाईंको शरीर र तपाईंको स्तरलाई आदर गर्ने मान्छे मात्र साँचो प्रेमी हुन्छ।

यौन दुर्व्यवहारसम्बन्धी क्विज

“स्कुलमा छँदा केटाहरूले पछाडिबाट मेरो ब्रा तान्थे। अनि चाहिने-नचाहिने कुरा गर्थे। मैले तिनीहरूसित यौनसम्बन्ध राखें भने मलाई मज्जा आउँछ भनेर हैरान पार्थे।”—कबिता

तपाईंको विचारमा ती केटाहरूले

  1. क. उसलाई जिस्क्याइरहेका थिए?

  2. ख. ऊसँग फ्लर्ट गर्दै थिए?

  3. ग. यौन दुर्व्यवहार गरिरहेका थिए?

“बसमा एक जना केटाले मसित फोहोरी कुरा गर्न थाल्यो अनि मलाई समात्न समेत आयो। त्यसपछि उसको हातलाई झटारेर अन्तै सर्न भने। उसले अचम्म मानेर मलाई हेर्न थाल्यो।”—रिता

यो केटाले रितालाई के गर्न खोजेको जस्तो लाग्छ?

  1. क. उसलाई जिस्क्याइरहेको थियो?

  2. ख. ऊसँग फ्लर्ट गर्दै थियो?

  3. ग. यौन दुर्व्यवहार गरिरहेको थियो?

“गएको वर्ष एक जना केटाले ‘म तिमीलाई मन पराउँछु, मेरो प्रेमीका बनाउन चाहन्छु’ भनेर हैरान पाऱ्‍यो। उसको प्रस्तावलाई बारम्बार इन्कार गरें। कहिलेकाहीं ऊ मेरो हात सुम्सुम्याउँथ्यो। त्यस्तो नगर्न भनें तर उसले मानेन। अनि म जुत्ता लगाइरहेको बेला त उसले मेरो पछिल्तिर हान्यो।”—बिनिता

तपाईंको विचारमा यो केटाले:

  1. क. उसलाई जिस्क्याइरहेको थियो?

  2. ख. ऊसँग फ्लर्ट गर्दै थियो?

  3. ग. यौन दुर्व्यवहार गरिरहेको थियो?

यी तिनै वटा प्रश्‍नको सही जवाफ ‘ग’ हो।

यौन दुर्व्यवहार जिस्क्याउनु र फ्लर्ट गर्नुभन्दा कसरी फरक छ?

यौन दुर्व्यवहार एकतर्फी हुन्छ। यसको सिकार हुने व्यक्‍तिले रोक्न भने तापनि दुर्व्यवहार गर्ने व्यक्‍तिले रोक्दैन।

यौन दुर्व्यवहार गम्भीर कुरा हो। यसले यौन हिंसातर्फ लैजान सक्छ।

योजना बनाऔं!

  • आफैलाई दोष दिन थालें भने म के गर्नेछु?

  • यसबारे म कसलाई बताउन सक्छु?

थप कुराहरू हेर्नुहोस्‌!

तपाईंका साथीहरू के भन्छन्‌​—⁠यौन दुर्व्यवहार

www.jw.org तपाईंका साथीहरू के भन्छन्‌ —यौन दुर्व्यवहार भन्‍ने अङ्‌ग्रेजी भिडियो हेर्नुहोस्‌। (बाइबलको शिक्षा > किशोरकिशोरी अन्तर्गत हेर्नुहोस्‌।)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने