तीन ज्योतिषीहरू तथ्य वा कल्पित्?
“सी + एम + बी”
यी अक्षरहरू के तपाईंकालागि अर्थपूर्ण छन्? हुने थिए, यदि तपाईं जर्मनीको कुनै रोमन-क्याथोलिक इलाकामा बसो-बास गर्नु हुन्छ भने। त्यहाँ तपाईंले ढोका-ढोकाहरूमा, साल-साथै यी अक्षरहरू खरीले कोरिएको देख्नु हुनेछ। एसो किन गर्छन्?
लोकप्रिय लोक-कथा अनुसार, यी अक्षरहरू जर्मन भाषामा, ती तीन ज्योतिषीहरूका नाउँका प्रथम अक्षरहरू हुन्। गेस्पार (जर्मनमा, केपर) मेलकिओर र बेलथेसर।a यी तीन ज्योतिषीका हाडहरू जर्मनीको कोलोन भन्ने शहरमा, सन् ११६४ मा सारिएका थिए र पछि शहरको महा-गिर्जामा राखिए भन्छन्। यसैले गर्दा, कोलोनको शहर तिनीहरूका भक्तहरूको एउटा केन्द्र हुन गयो। प्रत्यक साल, जनवरी ६ तारिक—जसलाई तीन पवित्र राजाहरूको चाड़ पनि भन्छन्—प्राचीन राजाहरूका झैं पोशाक पहिरेका युवकहरूको टोली, ढोकाहरूको खापामा, ती अक्षरहरू लेख्दै, ढोका-ढोका जान्छन्। यसबाट घरका मानिसहरू विपत्तिबाट सुरक्षित् हुनेछन् भन्ने परम्परा छ।
धार्मिक चित्र र परम्परा अनुसार, यी तीन ज्योतिषी अथवा “राजाहरूलाई” येशू जन्मनु भएको ठाउँ सम्म एउटा “ताराले” बाटो देखाएको थियो। यी “राजाहरूलाई” दिएको श्रद्धा र भक्तिले गर्दा, यो विश्वास शास्त्रमा आधारित् छ वा छैन भन्ने प्रश्न उठदछ।
यी आगन्तुकहरू बारे मत्ती रचित् सुसमाचारमा मात्र चर्चा गरिएको छ। (मत्ती २:१-१२) तर मत्तीले के तिनीहरूको नाम दिएको छ र? अनि तिनीहरू तीन राजाहरू थिए भनेको छ र? कर्खनसाइटुङ्ग फ्युर डास बिस्टुम आखन नामको क्याथोलिक पत्रिकाले यो स्वीकारेको छ: “तीन पवित्र राजाहरू बाइबलमा उल्लेखित् छैन। छैठौं शताब्दि देखिन्, ती ज्योतिषीहरू . . . तीन राजाहरू थिए होलान् भनेर अनुमान लगाइयो। . . . तिनीहरू कति जना थिए भन्ने विषय बारे मत्तीले कुनै प्रकारको विवरण दिएको छैन . . . नौवाँ शताब्दि देखिन्, तिनीहरू गेस्पार, मेलकिओर र बेलथेसार नामबाट प्रचलित् हुन थाले।” साथै, लेक्सीकन फ्युर थिओलोजी उन्ट कर्ख नामको क्याथोलिक जानकारी पुस्तक अनुसार, ग्रीक शब्द मागोईको अर्थ राजाहरू होइन तर “ज्योतिषविद्याबारे गुप्त ज्ञान हुने मानिसहरू” हो। जस्टिन मार्टियर, ओरिगेन र टरटुलियन, सबैलेनै त्यो शब्दको अर्थ “ज्योतिषी” हो भनी स्वीकारेका छन्। बाइबलका आधुनिक अनुवादहरूले पनि, मत्ती २:१, ७ मा “ज्योतिषी” शब्द नै प्रयोग गरेका छन्।—दी लिवीङ्ग बाइबल; एन अमेरिकन ट्रान्सलेशन.
येशूलाई बालकको रूपमा चित्रित् गर्ने तस्वीरहरूमा, अकसर “तीन राजाहरू” देखापरेतापनि, के वास्तवमा तिनीहरू येशूको जन्म हुँदा उपस्थित् थिए र? अघि उल्लेखित् शब्दकोष अनुसार: “मत्ती २:१६ को लेख बमोजिम, यिनीहरू (तीन ज्योतिषीहरू) येशूको जन्म भए पछि, प्राय एक वर्ष अथवा यो भन्दा बढ़ी समय पश्चात् आएका थिए।” हुनु पनि हो, किनभने, ११ वाँ पदमा, यिनीहरूले “बालकलाई” तबेला भित्र होइन, तर “घर” भित्र देखेको कुरा पाउँछौं।—किङ्ग जेम्स वर्सन.
“पवित्र राजाहरू” भन्ने पदबारे के भन्न सकिन्छ? के यी आगन्तुकहरूलाई उचित् रूपमा पवित्र भन्न सकिन्छ र? धर्मशास्त्रले तिनीहरूलाई त्यो पद पटक्कै दिएको छैन। वास्तवमा, तिनीहरू ईश्वरीय सिद्धान्तलाई उल्लङ्घन गर्ने मानिसहरू थिए। यशैया ४७:१३, १४ मा, परमेश्वरले “ज्योतिषीहरू र ग्रह हेर्नेहरूको” भर्त्सना गर्नु भएकोछ। (व्यवस्था १८:१० सँग तुलना गर्नुहोस्) यी ज्योतिषीहरू “पूर्वबाट” आएका थिए, अर्थात् अपवित्र बेबिलनबाट आएका हुन सक्छन् किनभने त्यस बेला त्यो शहर, मन्त्र-तन्त्र र झूटा देवहरूको उपासनाको एउटा केन्द्र थियो। तिनीहरूलाई एउटा “ताराले” बाटो देखायो र तिनीहरूको विचारमा त्यो एउटा हिड़ने तारा थियो, जसलाई अरू कसैले पनि देखेनन्। यस बाहेक, मत्तीको लेख अनुसार, त्यो “ताराले” तिनीहरूलाई सर्व प्रथम राजा हेरद कहाँ लग्यो जसले यस पछि येशूको हत्या गर्ने कोशिश गरे।—मत्ती २:१, २.
होइन, परमेश्वरले तिनीहरूलाई येशू कहाँ लैजान कुनै “तारा” पठाउनु भएन। बरू येशूले ईश्वरबाट पाउनु भएको काम सम्पन्न गर्नु अघि नै, उहाँलाई मार्न चाहने व्यक्तिले यो “तारा” पठाएको जस्तो देखिन्दैन र?—उत्पत्ति ३:१५ सँग तुलना गर्नुहोस्.
परमेश्वरको वचनलाई “परम्परा” सँग मिसाएर “बेकम्मा” पार्न सकिन्छ भनेर येशूले चेताउनी दिनु भएको थियो। (मत्ती १५:६) यी व्यक्तिहरू बारे बनाइएका परम्पराहरू शास्त्रमा आधारित् होइनन् भनी स्पष्ट देखिन्छ। यसकारण, ती ज्योतिषीहरूलाई पवित्र ठान्नु अथवा पूज्नु गलत हो भनेर के तपाईं स्वीकार्नु हुन्न? (w88 12/15)
[फुटनोट]
a ज्योतिषीहरूको आगमनबारे अझ जानकारी लिन चाहनुहुन्छ भने, दिसम्बर १५, १९७९ को वाचटावर पत्रिकाको, पाना ३० हेर्नुहोस्।