राज्य प्रचारकहरूको रिपोर्ट
प्रेमले परिवारहरूमा एकता ल्याउँछ
दाम्पत्य जीवन प्रेम र निस्वार्थमा आधारित् छ भने मात्र पारिवारिक एकता प्राप्त गर्न सकिन्छ। यस प्रकारको प्रेम यहोवा, प्रेमको परमेश्वरबाट आउँने हुनाले परमेश्वरको आत्माको एउटा फल प्रेम हो। (गलाती ५:२२, २३; १ यूहन्ना ४:८) बाइबलको ज्ञानमा आधारित् प्रेमले परिवारहरूमा एकता ल्याउन सक्छ भन्ने कुराको उदाहरण निम्न अनुभवहरूले दिनेछ।
हाँगकाँग
◻ हाँगकाँगमा एक जना अग्रगामीले एउटी गृहणी र उनकी दुई छोरीहरू सँग बाइबल अध्ययन शुरू गरे। आफ्नी पत्नी कुनै उग्रवादी धार्मिक मत सँग लाग्न थालेकी होली भनी ठानेर गृहणीको पतिले चिन्ता व्यक्त गरे। आफ्नो पतिलाई स्वयं वास्तविक्ता थाह लाउने मौका दिनका लागि, अध्ययन हुँदा तिनलाई पनि सँगै बस्न र सुन्न निम्ताउन, अग्रगामीले पत्नीलाई सुझाव दिए। पतिले सूझाव माने। केही समय पछि पत्नी सभाहरूमा आउन थालिन्, तर आफ्नो छोरा-छोरीलाई प्रशिक्षण दिने समस्या खड़ा भयो। तिनले ठूलीलाई चाहिं बारम्बार गाली गरेर कान्छीलाई चाहिं पुलपुलाएकी थिइन्। साथै, तिनी र तिनको पतिका बीचमा पनि समस्याहरू भएको कुरा थाह हुन गयो। दुइजनाको झगड़ाहरूले अकसर हिंसात्मकरूप लिएको हुनाले धेरै चोटी प्रहरीलाई पनि बोलाउने आवश्यक्ता परेको थियो। अग्रगामीले परमेश्वरको शक्तिशाली वचनबाट ती दुवैलाई आफ्नो दाम्पत्य जीवनमा ईश्वरीय प्रेम व्यवहारमा ल्याउन सिकाए। चाँड़ै पुरानो आनीबानीहरू बदलिन थाले। दुवै जना नियमित रूपमा सभाहरूमा आउन थाले र घरमा पहिले भन्दा धेरै नै आनन्दित वातावरण हुन थाल्यो। पतिले धुम्रपान गर्न छाड़े र हाल ईश्वरीय पाठशालामा भर्ना भएका छन्। पत्नी चाहिं बप्तिस्मा लिएकी प्रचारक भइसकीन्।
परमेश्वरको आत्माको फल, प्रेम, व्यवहारमा ल्याएर पारिवारिक एकता प्राप्त गर्न सकियो।
ब्रिटेन
◻ आफ्नी पत्नी प्रति प्रेम, धैर्य र सहनशीलता व्यक्त गर्ने पतिलाई यहोवाले कसरी आशिष दिनु हुन्छ भन्ने कुराको उदाहरण ब्रिटेनको एउटा अनुभवले देखाउँदछ। १२ वर्ष अघि, पति सच्चाइमा आउन लागेको बेलामा, पत्नीले कट्टर विरोध गर्दै, कानूनन् पारपाचुके गरिन्। तर तिनी प्रति पतिले दयाको भाव देखाउन छाड़ेनन्। तिनलाई आर्थिक मदद दिनु बाहेक तिनका लागि नियमितरूपमा साना-साना काम कुरा गरी दिने गरे। तिनले शुरूमा विरोध गरेकी भएता पनि, पतिले चार वर्ष पछि फेरि तिनलाई सच्चाइ बारे भन्ने फैसला गरे। तिनलाई एक जना बहिनी सँग बाइबल अध्ययन गर्ने सल्लाह दिंदा, तिनले तुरन्त मानिन्। पति छक्क परे। अन्तत्वगत्वा, तिनले सच्चाइ अपनाएर बप्तिस्मा लिइन्। पतिले तिनलाई प्रेम गर्न छाड़ेको थिएन र जब तिनले सच्चाइलाई अपनाएको प्रमाण दिइ सके पछि, पतिले तिनी सँग फेरि विवाह गर्ने इच्छा व्यक्त गरे। तिनी आश्चर्यचकित भइन्! शुरूमा आफूले खराब आचरण व्यक्त गरेको थाह भएर पनि, पतिले एसो गर्लान् भनेर आशै गरेकी थिइनन्! तिनी दुईको पुनः विवाह भएको अब आठ वर्ष बित्नलाग्यो र दुवैले सच्चाइमा राम्रो सँग उन्नति गरिरहेका छन्।
दक्षिण पेसिफिक
◻ बीस वर्ष अघि, टुभलु नाउँको टापुमा बस्ने एक जना जवान मानिसले वाचटावर सोसाइटीलाई पत्रबाट किताबहरू माँगी पठाएको थियो। त्यति खेर, त्यो टापुमा साक्षीहरू थिएनन्। भएतापनि, पठाइएका किताबहरू तिनले एकलै पढ़े र सच्चाइलाई चिन्न सके। तर तिनकी पत्नीले तिनको यो नया विश्वासको कट्टर विरोध गरेको हुनाले तिनले सच्चाइ जान्न छाड़ी दिए।
तर हालसालैमा, टभालुवान भाषामा हाम्रा किताबहरू उपलव्ध भए पछि, केही प्रकाशनहरू पत्नीको हात आएछ र तिनले ती आफै पढ़न सकिन्। यो सच्चाइ हो भनेर थाह पाए पछि, तिनले आफ्नो पतिलाई एसो भन्दै गनगन गरिन्: “यत्तिका साल तपाईं सँग ज्योति थियो, तर तपाईंले त्यसलाई माथि राख्नु भएन। साक्षीहरूले भनेका कुरा तपाईंलाई ठीक लागेको कारण मलाई तपाईंले किन बताउनु भएन?” अब दुवै जना बाइबलको सच्चाइमा एक भएर, साक्षीहरू सँग सङ्गत गर्न थाले।
फिजिमा पढ़िरहेकी तिनीहरूकी दुई छोरीहरू घर फर्के पछि, आमा-बाबूले आफू यहोवाका साक्षी हुने आफ्नो फैसला तिनीहरूलाई सुनाए। छोरीहरूलाई पनि आफ्नो बाइबल अध्ययनमा बस्ने प्रोत्साहन दिए, तर छक्क पर्ने कुरा, फिजिमा छोरीहरू पनि सभाहरूमा जाने गरेका रहेछन्। सम्पूर्ण परिवारले खुशी साथ सच्चाइ सँगै अपनाए र आमा, बाबु र एक जना छोरी राज्य प्रचारक भइसकेकाछन्।
सारा संसार भरि, बाइबलको सच्चाइले परिवारहरूलाई एकतामा ल्याएको देख्नु कति आनन्दायक अनुभव हो! (w89 4/1)