सङ्गीतबाट आनन्द लिनु यस्को रहस्य के हो?
पुरातन संसारमा अनैतिकता र मूर्तिपूजाको अत्यधिक मात्रामा प्रचलन थियो। त्यसैकारण, प्रेरित पावलले मसीही चालचलनवारे कड़ा सल्लाह दिनु पर्ने आवश्यक्ता देखे। एफिसी मण्डलीलाई उनले लेखे: “यसकारण म यो भन्दछु, र प्रभुमा साक्षी दिन्छु, कि तिमीहरू फेरि यस्तो चाल नचल जस्तो अन्य जातिहरू आफ्ना आफ्ना मनको व्यर्थतामा चल्दछन्। तिनीहरूका हृदय कठोर भएका र तिनीहरूमा भएको अज्ञानताको समझ अँध्यारो भएको हुनाले परमेश्वरको जीवनबाट बिराना भए।”—एफिसी ४:१७, १८.
के यो वर्णन आज भइ रहेको कुराहरूसँग राम्ररी मेल खाँदैन? सङ्गीतको क्षेत्र पनि यसमा सम्मिलित छ। धेरै जसो आधुनिक सङ्गीत शैली ‘परमेश्वरको जीवनबाट बिराना’ ढङ्गको देखिन्छ। अक्सर गीतहरूमा दया र अनुकम्पा न भएको ‘कठोर हृदयको’ झल्को देखिन्छ।
तर पावलले यसो भन्दै आफ्नो सल्लाहलाई अझ एक कदम अगाड़ि लगेका छन्: “सही र गलत छुट्ट्याउन सक्ने शक्ति एक पटक मन्द भइ सके पछि, तिनीहरूले आफूलाई लैंगिकतामा सुम्पिदिए र हर प्रकारको अश्लील जीवनचर्याको उत्सुकताका साथ पछि लाग्न थाले।”—एफिसी ४:१९, द यरूशलेम बाइबल.
यो ‘अश्लील जीवनचर्याको उत्सुकता साथ पछि लाग्ने’ कुरा आजको धेरै जसो सङ्गीतमा प्रदर्शित हुन्छ। यौन, हिंसा, लागूपदार्थ, र आनन्द रूचाउने आजका पुस्तालाई सघाउ पुऱ्याउने उद्देश्यनै गीत र सङ्गीतको रहेको छ। यस प्रकारको दुर्व्यसन प्रति मसीहीहरूको कस्तो दृष्टिकोण हुनु पर्दछ? पावलका शब्दहरूमा ध्यान दिनुहोस्: “तर ख्रीष्टलाई ता तिमीहरूले यसरी सिकेनौ, तिमीहरूले उहाँलाई सुनेको र येशूमा भएको सत्य अनुसार उहाँमा सिकेको भएता।”—एफिसी ४:२०, २१, JB.
“एउटा आध्यात्मिक क्रान्तिको” आवश्यकता
संसारको आत्मालाई प्रतिविम्वित गर्ने सङ्गीतको सम्बन्धमा यो नसीहतलाई हामीहरूले कसरी प्रयोग गर्न सक्छौं? यदि हामीमा “ख्रीष्टको मन” छ भने, अर्थात, हामीमा उहाँको जस्तो मानसिक प्रवृति छभने, “सांसारिक, स्वभाविक, र शैतानी” प्रकारको सङ्गीत सुन्न हामीहरू चाहने छैनौं.—१ कोरिन्थी २:१६; याकुब ३:१५.
तर तपाईं सोध्न सक्नु हुन्छ, ‘सङ्गीतको मेरो रुचि म कसरी फेर्न सक्छु?’ यहाँ पनि पावलले यसो भनेर मदद दिन्छन्: “तिमीहरूको अघिअघिको पुरानो आचरण त्याग, जो छलको लालसा अनुसार भ्रष्ट भएर जाने हुन्छ। तिनीहरूको मनलाई आध्यात्मिक क्रान्ति द्वारा नया बनाओ।”—एफिसी ४:२२, २३, JB.
मनलाई एउटा आध्यात्मिक क्रान्ति द्वारा नया बनाउनु नै त्यस समस्याको समाधान हो। यसमा सङ्गीतको हाम्रो रुचि भन्दा बढ़ी कुरा विथोलित छ। आदर्श र मूल्यहरूको स्तर उँचा पार्न पुनर्शिक्षाको आवश्यकता पर्नेछ। हाम्रो सोंचाइको तरीकामा परिवर्तन गर्नु पर्नेछ। एउटा भिन्न प्रकारको सिद्धान्त कायम गर्नु पर्नेछ। परमेश्वर र ख्रीष्टको दृष्टिकोणबाट सबै कुराहरू हेर्नु पर्नेछ। पावलले यसलाई एकदमै स्पष्ट ढङ्गले वर्णन गरेकाछन्: “यसकारण चाहे तिमीहरू खाओ अथवा पिओ, अथवा तिमीहरू जेसुकै गर, सबै परमेश्वरको महिमाको निम्ति गर।”—१ कोरिन्थी १०:३१.
धेरै जसो आधुनिक सङ्गीतले परमेश्वरलाई महिमीत पार्दैन। बरू, यसले ती मसीही मूल्यहरूलाई तिरस्कार गर्छ, जसलाई कायम राख्न धेरै मसीहीहरू झ्यालखान र निरोधन शिविरहरूमा मर्नसम्म पनि तैयार छन्। अत:, ‘संसारलाई, नता संसारमा भएका कुनै चीजलाई प्रेम’ नगर्ने उद्देश्यले हामीहरूले सङ्गीतको हाम्रो रुचिमा परिवर्तन गऱ्यौं भने, हामीले ठूलो बलिदान गऱ्यौं भनेर किन ठान्ने?—१ यूहन्ना २:१५-१७.
राम्रो सङ्गीत—गाँठी कुरा के छ?
यदि, धर्मशास्त्रीय सिद्धान्त प्रति हाम्रो आस्थाले गर्दा, भ्रष्ट खालको सङ्गीतलाई त्याग्नु परेमा, त्यसको ठाउँमा कुन प्रकारको सङ्गीत सुन्ने? सङ्गीतका नया नया मार्गहरू किन नखोज्नु? बितेका समयमा मन पराएका सङ्गीतहरू भन्दा तिनीहरू अझ आनन्ददाएक र उन्नतिशिल हुनसक्छन्। उदाहरणकालागि, एउटा भूतपूर्व रोक सङ्गीतज्ञले आफूले गरेको परिवर्तनवारे यसो भने:
“सजिलो रोक सङ्गीतबाट एउटा स्वीकृत किसिमको सङ्गीत र गहिरो शास्त्रीय सङ्गीत तर्फ सर्न मैले धेरैनै मेहनत गर्नु परेको थियो। तर त्यस सङ्गीतमा बढ़ी सारतत्व रहेछ भनेर थाह पाए पछि, र धेरैजसो आधुनिक सङ्गीतको भावसँग आफूलाई तादाम्य गराउँन नसक्ने भएकोले, यो सजिलो र सन्तोषप्रद हुनगयो। यो अचानक हितकारी हुनगयो। बैकल्पिक किसिमका सङ्गीतहरूका विरुद्धमा भएको मेरो प्रतिकूल धारणाले गर्दा, म के कुराबाट वञ्चित भइरहेको रहेछु भनेर अनुभव गरें।”
राम्रो सुरिलो धुन र स्वच्छ गीतहरू भएको शास्त्रीय सङ्गीतका साथै, लोकगीत र केही आधुनिक सङ्गीत व्यापक छन् र तिनीहरूले बाइबलका सिद्धान्तहरू विपरीत जाने दर्शनको अभिव्यक्ति गर्दैनन्। त्यसकारण, मूल कुरा हो, हामीले त्यस प्रकारको सङ्गीतको खोजी गरेर आनन्द उठाउनु पर्दछ, जसले हाम्रो सोंचाइमा गलत असर पार्न नसकोस्, त्यो सङ्गीत जो ‘आदरणीय छन्, जो चोखा छन्, जो असल छन्, जो सद्गुणी छन्, र जो प्रशंशाको लायक छन्।’—फिलिप्पी ४:८.
एउटा मसीहीको जीवनमा सङ्गीतको भूमिका
कसै कसैले, राम्रो सङ्गीतको आनन्द, गीत गाएर वा एउटा कुनै बाजा बजाउन सिकेर उठाउछन्। एक्लै र परिवार र साथीहरूसित सामूहिक प्रदर्शन गरेर ठूलो आनन्द उठाउन सकिन्छ। तथापि, सबै कुराहरूमा जस्तै, सन्तुलनको आवश्यकता पर्दछ। एउटा मसीहीको जीवनलाई मनोरञ्जन अथवा आमोद-प्रमोदले मोहित पार्नु हुँदैन। यदि त्यसो भयोभने, हितकारी सङ्गीतको पनि, अच्चाकलीले गर्दा, अहितकारी असर हुनेछ। अनि, ‘परमेश्वर भन्दा बरु सुख-विलास निको मान्ने’ हुने खतरा मसीहीकालागि हुनसक्छ।—२ तिमोथी ३:४.
सङ्गीत पनि यहोवाको हाम्रो उपासनाको एउटा अभिन्न अङ्ग हो। प्राचीन इस्राएलमा, आसाप र तिनका कुटुम्बहरूले गीत गाए: “परमप्रभुलाई (यहोवालाई न्यू. व) धन्यवाद चढ़ाऊ, उहाँको नाउँ लिएर उहाँलाई पुकार, संसारभरि उहाँको कार्यहरूको वर्णन गर! गीत र भजनले उहाँको आदर गर, र उहाँका सबै अचम्मका कामहरूको विचार गर।” हो, सङ्गीतद्वारा परमेश्वरको प्रशंशा गर्न सकिन्छ र उहाँलाई खुशी पार्न सकिन्छ।—१ इतिहास १६:८, ९.
यहोवाका साक्षीहरूले तिनीहरूको राज्य सभागृहमा प्रयोग गरिने राज्य सङ्गीत बाइबल पदहरू, भजनसंग्रह, प्रार्थनाहरू र शिक्षाहरूमा आधारित छन्। के हामीहरू यस्तो पवित्र सङ्गीतबाट गहिरो ढ़ङ्गले आनन्द उठाउन सक्दैनौं? र ती गीतहरूलाई भावना र उमङ्गकासाथ गाएर के हामी आफ्नो आनन्द प्रदर्शन गर्न सक्तैनौं? मसीही सभाहरू बाहेक अरू बेलामा पनि राज्य मधुर सङ्गीत कहलाइने यी गीतहरूको राम्रो व्यवस्था गरेर के हामी जीवनलाई उज्जवल पार्न सक्तैनौं?
यी वादकगण सम्बन्धी प्रतिपादनमा, सबै सङ्गीतकारहरू यहोवाका साक्षीहरूनै हुन्। कोहीचाहिं सिम्फोनी वाद्यवृन्दमा बजाउने पेशादार छन्। अरूहरू, यहाँ वर्णन गरिएका भूतपूर्व रोक सङ्गीतकार समेत, असल खालका धेरै प्रकारका सङ्गीतको आनन्द लिने मेधावी नौजवानहरू हुन्। सांसारिक, र पैशाचिक प्रवृत्ति झल्काउने सङ्गीतलाई त्यागेकोमा केही कुरा गुमाउनु परेको जस्तो तिनीहरू अनुभव गर्दैनन्। तिनीहरूको राम्रो उदाहरणले के देखाउँछ भने, यदि हामीहरूले पनि आफ्नो चयनको आधार बाइबलका सिद्धान्तलाई बनायौं भने, लौकिक र पवित्र दुवै प्रकारको सङ्गीतबाट स्वास्थ्यकर आनन्द उठाउन सक्नेछौं।—एफिसी ५:१८-२०. (W89 6/1)
[पृष्ठ २१-मा भएको पेटी]
“राक-सङ्गितको एक मात्र आकर्षण, प्रेम अथवा इरोस होइन तर असभ्य योनिक इच्छा हो। हो, अनियन्त्रित् र अपरिपक्व योनिक इच्छा . . . जवान मानिसहरूलाई थाह छ कि राक सङ्गितमा योनिक सम्बन्धको ताल छ।”—दी क्लोजिङ्ग अफ दी अमेरिकन माइन्ड। लेखक एलन ब्लुम.