मरेकाहरूका लागि के आशा?
एउटा जवान परिवार बिदा मनाउन, दक्षिण अफ्रिकाको पूर्वीय तट तर्फ यात्रा गरिरहेका थिए। पत्नीका आमा-बाबु अगाड़ि अर्को मोटरमा गइ रहेका थिए। अचानक एउटा चक्काको हावा फुस्कियो। त्यो चक्का फेर्न, बाटोको एक छेउ लागेर तरखर गरिरहेको बेलामा, एउटा मताहा चालकले आफ्नो मोटरले रोकी रहेका ती दुई मोटरमा आएर हानी दियो। बूढ़ा मानिस र तिनकी पत्नी मरी नै गए। जवान मानिस केही दिन पछि मरे। तिनकी पत्नीको केही करङ्गहरू भाँचिनुका साथै अरू चोट पटक पनि लाग्यो। तिनको बच्चाको दिमागमा चोट लागेको हुनाले, लुलो हुन गयो।
यो अभागी परिवारमाथि कत्ति ठूलो विपत्ति आइ पऱ्यो! जवान पत्नीकी बहिनी, क्यारलेनले यो खबर पाए पछि, तिनको होश गायब भयो। यस प्रकारका विपत्तिहरू सबै देशहरूमा हुन्छन्। शोकले पीड़ित आफन्तहरू र मित्रहरू अकसर यो सोच्छन्, ‘मरेकाहरू के वास्तवमा मरेका छन्’, अथवा . . .
‘मरेकाहरू के जीवित छन्?’
प्राय सबै धर्महरूले मानिसको प्राण अमर छ भन्ने शिक्षा दिन्छन्। यसै कारण, तिनीहरूका अनुयायीहरूले पनि मरेका मानिसहरू वास्तवमा मरेका छैनन्, तर स्वर्गमा, नरकमा अथवा पापमोचन गर्ने ठाउँमा जीवित् छन् भनी विश्वास गर्छन्। धेरै गिर्जाहरूका शिक्षा अनुसार, नरकमा अथवा पापमोचन गर्ने ठाउँमा जाने व्यक्तिहरूले सदाकालका लागि क्रूर संताप भोग्नुपर्दछ। तर आफूले सृजनुभएका व्यक्तिहरूलाई के एउटा प्रेमपूर्ण परमेश्वरले यस प्रकारको कष्ट भोग्न लाउनु हुन्थियो होला र?—१ यूहन्ना ४:८.
गर्नु होला जस्तो त लाग्दैन, तर हामी यस विषयमा निश्चित कसरी हुन सक्छौं? बाइबलमा पाइने निम्न प्रमाण विचार गर्नुहोस्: “यहोवा [NW] परमेश्वरले भूमिको माटोबाट मानिस बनाउनु भयो, र तिनको नाकमा जीवनको सास फुकिदिनु भयो र मानिस जीवित प्राणी भयो।” (उत्पत्ति २:७) के यी प्रेरित शब्दहरू अनुसार, प्रथम पुरूष आदमलाई एउटा प्राण दिइयो? होइन, त्यो स्वयं एउटा प्राणी, एउटा जीवित व्यक्ति भयो। यो कुरालाई प्रेरित पावलले पनि यस प्रकार पुष्टि दिन्छन्: “पहिलो मानिस आदम जीवित प्राणी भयो।” पावलले यहाँ उत्पत्तिबाट उद्धरण गर्दै थिए।—१ कोरिन्थी १५:४५, दी यरूशलेम बाइबल.
के मानिसको प्राण मर्न सक्छ? इजकिएल अगमवक्ताले एसो भनेर लेखेको छ: “सबै प्राण मेरै हुन्, बाबुको प्राण र छोराको प्राण पनि मेरै हुन्। जुन प्राणीले पाप गर्छ त्यो मर्छ।” (इजकिएल १८:४, २०; उपदेशक ९:५, १०) प्राण मर्छ भने, त्यस मरेको व्यक्तिलाई केही पनि थाह हुन सक्दैन र उसले कुनै प्रकारको कष्ट भोगिरहेको हुन सक्दैन। ई. स. ३३ सालको पेन्तीकोसको दिनमा, प्रेरित पत्रुसले यो घोषणा गरे: “त्यो चाहिं अगमवक्तालाई [येशू] नसुन्ने जति हरेक प्राणी मानिसहरू मध्यबाट नष्ट हुनेछ।” यसकारण, प्राण मरणशील हो।—प्रेरित ३:२३.
मरेकाहरू के फेरि बाँच्नेछन्?
बाइबल सत्य हो भनेर विश्वास गर्ने सबैलाई येशू मर्नु भयो र तेस्रो दिनमा बिउँतनु भयो भनेर थाह छ। (प्रेरित १०:३९, ४०) तर यो कसरी हुन सक्यो? परमेश्वरको पवित्र आत्माको शक्ति द्वारा।
के येशूको पुनरुत्थान एउटा असामान्य कुरा थियो? थिएन। पावलले कोरिन्थको मण्डलीलाई लेखे झैं: “तर अब मर्नेहरूमा पहिलो फल भएर ख्रीष्ट मरेकाहरूबाट बिउँतनुभएको छ। किनभने मृत्यु एक जना मानिसबाट भएको हुनाले मरेकाहरूको पुनरुत्थान पनि एकै जना मानिसबाट भयो।” (१ कोरिन्थी १५:२०-२२) तसर्थ, मरेकाहरू मध्यबाट धेरै मानिसहरूको पुनरुत्थान हुनेछ। येशूले एसो पनि भन्नु भएको थियो: “यसमा अचम्भ नमान, किनभने बेला आउँछ, जब चिहानमा हुनेहरू सबैले उसको सोर सुन्नेछन्। औ भलो गर्नेहरू जीवनको पुनरुत्थानको निम्ति . . . निस्किआउनेछन्।” (यूहन्ना ५:२८, २९) यो वचनले गर्दा, लाखौंको पुनरुत्थान एउटा निश्चित कुरा भएको छ।
माथि दिएको व्याखा द्वारा, पुनरुत्थानको विषयमा तपाईंको चासो जागेको छ भने, तपाईंले यो प्रश्न गर्नु होला: ‘पुनरुत्थान कस्का लागि हो र कहिले हुने हो?’ यी महत्वपूर्ण प्रश्नहरूमा अब हामी ध्यान दिउँ। (w89 10/15)