विश्वासमा तन्दुरूस्त रहनुहोस्!
तितसको विवरणिका
भूमध्य सागरमा, क्रेटको टापूका मसीही मण्डलीहरूलाई विशेष आध्यात्मिक मददको आवश्यकता परेको थियो। तिनीहरूलाई यो मदद दिन सक्ने त्यहाँ को थिए? प्रेरित पावलको सहकर्मी, तितस! तितस साहसी, शिक्षा दिनमा निपूण, असल कामहरूका लागि जोशिला र विश्वासमा तन्दुरूस्त थिए।
रोममा आफ्नो प्रथम र दोस्रो कारावासका बीच, पावल क्रेटमा गएका थिए। त्यहाँ केही कुराहरूको सुधार गर्न र मण्डलीमा प्राचीनहरू नियुक्त गर्न तिनले त्यहाँ तितसलाई छाड़ेर आए। तितसले झूटो शिक्षकहरूलाई हप्काउन र आफू असल उदाहरण भएर देखाउनु पनि परेको थियो। यी सबै कुराहरू पावलले तितसलाई लेखेको पत्रमा देखिन्छ। यो पत्र शायद तिनले मेसिडोनियाबाट इ. स. ६१ र ६४ को बीचमा लेखेको हुनु पर्छ। प्रेरितले यहाँ दिएको सर-सल्लाह प्रयोगमा ल्याइयो भने, वर्तमान अध्यक्षहरू र विश्वास गर्ने सबैले नै साहसी, जोशिला र आध्यात्मिक तन्दुरूस्ती कायम राख्ने मदद पाउन सक्ने छन्।
अध्यक्षहरूले पूरा गर्नु पर्ने आवश्यकताहरू के हुन्?
अध्यक्षहरू नियुक्त गर्न र केही गम्भीर समस्याहरूको समाधान गर्न आवश्यक परेको थियो। (१:१-१६) अध्यक्ष नियुक्त हुने मानिस, निर्दोष हुनु बाहेक, उसको दुवै व्यक्तिगत र पारिवारिक जीवन अनुकरणीय हुनु पर्थियो। साथै, सन्तुलित आतिथ्यपूर्ण र सहनशील हुन आवश्यक थियो। उसको शिक्षा सत्य हुनु पर्दथियो र विपरीत विचार प्रकट गर्नेहरूलाई हप्काउन र सुधार गर्न सक्नु पर्दथियो। उसमा साहसको खाँचो पर्दथियो किनभने मण्डलीमा बेकायदासँग हिड़ने मानिसहरू थिए जसलाई चूप पार्नु परेको थियो। विशेषगरी खतना रूचाउने मानिसहरू जसले मण्डलीका सम्पूर्ण परिवारहरूलाई भड़काउन सकेका थिए। मण्डलीहरू आध्यात्मिक तौरमा तन्दुरूस्त हुनका लागि कड़ा सुधारको पनि आवश्यकता पर्न सक्छ। आज, मसीही अध्यक्षहरूले पनि मण्डलीको बृद्धिका लागि हप्की र ताड़ना दिंदा, साहसको खाँचो पर्ने छ।
स्वस्थकर शिक्षा प्रयोगमा ल्याउनुहोस्
तितसले सबैलाई स्वस्थ आत्मिक शिक्षा दिन परेको थियो। (२:१-१५) वृद्धहरू परहेज, गम्भीर, आत्मसंयम, विश्वास, प्रेम र धीरजमा उदाहरण हुनु परेको थियो। वृद्धाहरू पनि “पवित्र चालचलनका” हुनु परेको थियो। “बढ़िया कुराहरूको शिक्षा” दिने भएर, तिनीहरूले तरूणीहरूलाई पत्नी र आमाहरूको आफ्ना कर्त्तव्य प्रति सही दृष्टिकोण राख्ने मदद दिन सक्थिए। जवान मानिसहरूमा आत्मसंयम हुनु आवश्यक थियो र नोकरहरू आ-आफ्ना मालिकहरूको अधीनमा बसेर परमेश्वरको शिक्षाको शोभा बढ़ाउनु परेको थियो। सबै मसीहीहरूले नास्तिकपना र संसारको तृष्णा इन्कार गरेर, यस वर्त्तमान युगमा आत्मसंयम, धार्मिक र भक्तिको जीवनसाथ हाम्रा महान परमेश्वरको र उद्वारकर्त्ता येशू ख्रीष्टको महिमाको आगमनको बाटो हेर्दै बस्नु परेको थियो किनभने येशूले “हामीलाई हाम्रा अधर्मबाट उद्वार गर्नालाई र उहाँको निम्ति सुकर्ममा जोशिलो भएका उहाँकै आफ्नै एक खास पवित्र जाति तुल्याउनालाई हाम्रो निम्ति आफैलाई अर्पणगर्नु भयो।” यस प्रकारको स्वस्थकर सर-सल्लाह प्रयोगमा ल्याएर हामीहरूले पनि परमेश्वरको “शिक्षाको शोभा” बढ़ाउने गरौं।
पावलका अन्तिम उपदेशले आध्यात्मिक तन्दुरूस्तीलाई बढ़ावा दिन्छ। (३:१-१५) शासनाधिकारीहरूको अधीनमा बस्न र विवेकशील हुन आवश्यक छ। मसीहीहरूलाई अनन्त जीवनको आशा छ, यसैकारण तिनीहरूको मनलाई असल कामहरूमा राख्न पावलका शब्दहरूलाई महत्वपूर्ण ठान्नु परेको थियो। मूर्ख प्रश्नहरू र व्यवस्थाको विषयमा उठेका झगड़ाहरूबाट टाढ़ा बस्नु थियो र पाखण्डीलाई चाहिं दुई पटक सम्झाएर इन्कार गर्नु पर्दथियो। आज प्राचीनहरूले यस प्रकारको सल्लाह प्रयोगमा ल्याए भने, तिनीहरू र तिनीहरूका सङ्गी-विश्वासीहरू विश्वासमा तन्दुरूस्त भएर बस्न सक्नेछन्। (w91 2/15)
[पृष्ठ १०-मा भएको पेटी/चित्र]
रक्सी धेरै नपिउने: स्वास्नी मानिसहरूले मण्डलीमा पुरूषहरूलाई शिक्षा दिन नपाएता पनि, वृद्धा दिदीहरूले तरूणीहरूलाई व्यक्तिगत रूपमा शिक्षा दिन सक्छन्। तर यो काम गर्न निपुण हुनाकालागि, उमेर पाकेका दिदी-बहिनीहरूले पावलको यो सल्लाह मान्नु पर्दछ: “वृद्धाहरू पवित्र चालचलनका, अर्कालाई सित्तैं दोष नलाउने, रक्सी धेरै नपिउने, बढ़िया कुराहरूको शिक्षा दिने होउन।” (तितस २:१-५; १ तिमोथी २:११-१४) धेरै रक्सी पिउने बानीको असर बारे चिन्ता गर्दै, मण्डलीका अध्यक्षहरू, सहायक सेवकहरू र वृद्धाहरू संयमी हुनु पर्छ र धेरै रक्सी पिउने हुनु हुँदैन। (१ तिमोथी ३:२, ३, ८, ११) सबै मसीहीहरू मतवालापनबाट टाढ़ै बस्नु पर्छ र सुसमाचारको प्रचार गर्ने “पवित्र काम” गर्दा मात लाग्ने कुराहरू पटक्कै पिउने गर्नु हुँदैन।—रोमी १५:१६; हितोपदेश २३:२०, २१.