यहोवा, पक्षपात रहित “सारा पृथ्वीका न्यायकर्त्ता”
“पनपेक्ष नगरी मानिसको कामअनुसार इन्साफ गर्ने . . . पिता।”—१ पत्रुस १:१७.
१, २. (क) यहोवा महान न्यायकर्त्ता हुनुहुन्छ भन्ने कुराबाट हामीले किन सान्त्वना र भय, दुवै मान्नु पर्दछ? (ख) राष्ट्रहरूका विरुद्धमा यहोवाले मुद्दा लडनु हुँदा उहाँका पार्थिव सेवकहरूले के भूमिका निभाउँदछन्?
यहोवा ‘सारा पृथ्वीका [महान] न्यायकर्त्ता’ हुनु हुन्छ। (उत्पत्ति १८:२५) उहाँ सारा ब्रह्माण्डका सर्वोच्च परमेश्वर हुनुहुन्छ। यसैकारण, आफूले सृजनु भएका प्राणीहरू माथि न्याय गर्ने उहाँसित सम्पूर्ण अधिकार छ। यस कुराले भय उत्पन्न गराउँछ भने, यसले सान्त्वना पनि प्रदान गर्दछ। यो हेर्दा एउटा विरोधाभास जस्तो देखिन्छ। तर यसै कुराबारे मोशाले यस प्रकारको हृदयस्पर्शी अभिव्यक्ति गरे: “परमप्रभु [यहोवा, न्यु०व०] तिमीहरूका परमेश्वरनै ईश्वरहरूका ईश्वर र प्रभुहरूका परमप्रभु, महान परमेश्वर, शक्तिशाली र भययोग्य हुनुहुन्छ। उहाँले कसैको पक्षपात गर्नुहुन्न, औ उहाँलाई कहिल्यै घूस चढाउनसकिंदैन। उहाँले अनाथ र विधवाहरूको इन्साफ गर्नुहुन्छ, औ प्रवासीहरूलाई भोजन र वस्त्र दिनुहुन्छ।”—व्यवस्था १०:१७, १८.
२ कस्तो प्रभावशाली सन्तुलन! उहाँ एउटा महान, शक्तिशाली र भय उत्पन्न गराउने परमेश्वर हुनका साथसाथै, उहाँ निष्पक्ष र मायालु पनि हुनुहुन्छ। उहाँले अनाथ, विधवाहरू र प्रवासीहरूको हेरविचार गर्नुहुन्छ। यहोवाभन्दा अझ मायालु न्यायकर्त्ता को हुन सक्छ र? शैतानको संसारका राष्ट्रहरूका विरुद्धमा मुद्दा लडने एक जना व्यक्तिसित आफूलाई तुलना गर्नुहुँदै यहोवाले आफ्ना पार्थिव सेवकहरूलाई उहाँका साक्षी हुने आह्वान गर्नुहुन्छ। (यशैया ३४:८; ४३:९-१२) उहाँ आफ्नो ईश्वरत्त्व र उचित सार्वभौमिकताको पुष्टिका लागि यहोवा यी साक्षीहरूको गवाहीमा भर गर्नुहुँदैन। तर यी साक्षीहरूले उहाँको सार्वभौमिकतालाई स्वीकार्दछन्। यही कुराको गवाही सारा मानवतजातिका सामुन्ने दिने विशेष सौभाग्य उहाँले तिनीहरूलाई दिनु हुन्छ। उहाँका साक्षीहरू उहाँका धार्मिक सार्वभौमिकताको अधीनमा बस्तछन् र आफ्नो जनसेवकाईद्वारा अरूहरूलाई पनि सर्वोच्च न्यायकर्त्ताको अधीनमा बस्ने प्रोत्साहन दिन्छन्।
यहोवाको न्यायप्रणाली
३. यहोवाको न्यायप्रणालीको छोटकरीमा बयान कसरी दिन सकिन्छ र आदम र हव्वासित घटेको घटनामा यो कसरी प्रदर्शित भयो?
३ मानव इतिहासको सुरुआतमा यहोवाले कुनै कुनै अपराधीहरूको इन्साफ स्वयं गर्नुहुन्थ्यो। न्यायपरक मामिलाहरू फैसला गर्दा यहोवाले प्रयोग गर्नु भएका तरीकाहरू नै पछिबाट उहाँका जनहरू बीच मुद्दाहरूको फैसला गर्ने जिम्मावारी लिने परमेश्वरका सेवकहरूका लागि नमूना हुने थिए। (भजनसंग्रह ७७:११, १२) उहाँका न्यायप्रणालीको छोटकरीमा यसरी वर्णन गर्न सकिन्छ: आवश्यकतानुसारको दृढता र यथा-सम्भव दया। आदम र हव्वाजस्ता सिद्ध मानव व्यक्तिहरूले जानाजानी विरोध गर्दा तिनीहरू दयाको योग्य ठहरेनन्। अतः यहोवाले तिनीहरूलाई मृत्यु दण्ड दिनुभयो। तर तिनीहरूका सन्तानका लागि चाहिं उहाँले दया देखाउनुभयो। उहाँले मत्यु दण्डलाई तुरुन्तै कार्यान्वयन हुन दिनु भएन। उहाँले आदम र हव्वालाई छोरा-छोरी जन्माउने मौका दिनुभयो। उहाँले प्रेमपूर्वक तिनीहरूका सन्तानलाई पाप र मृत्युबाट छुटकारा पाउने आशा प्रदान गर्नु भयो।—उत्पत्ति ३:१५; रोमी ८:२०, २१.
४. यहोवाले कयिनसित कसरी व्यवहार गर्नुभयो र यो खास चासोको विषय किन हो?
४ यहोवाले कयिनसित गर्नु भएको व्यवहार एउटा विशेष चासोको विषय हो। किनभने यो प्रथम उल्लेखित न्यायिक मामिला हो जसमा आदम र हव्वाका “पापमा बेचिएको” एक जना असिद्ध सन्तान विथोलित थियो। (रोमी ७:१४) के यहोवाले कयिनसित व्यवहार गर्नु हुँदा यो पाप र असिद्धताको कुरालाई ध्यानमा राख्नु भयो? के उहाँले कयिनसित गर्नु भएको व्यवहार तिनका आमाबाबुसित गर्नु भएको व्यवहारभन्दा बेग्लै थियो? के यसबाट आजका मसीही अध्यक्षहरूले केही शिक्षा लिन सक्छन् कि? हामी हेरौं। आफ्नो बलिदान यहोवाको नजरमा ग्रहणयोग्य नहुँदा कयिनले गलत प्रतिक्रिया व्यक्त गरे। तिनको यो खतरनाक मनोस्थितिबारे यहोवाले प्रेमपूर्वक तिनलाई सम्झाउनु भयो। एउटा पुरानो उखानअनुसार: “अघि सम्झे सदा सुखी, पछि सम्झे दुःखी।” कयिन आफ्नो पापी मानसिक झुकावको बसमा नपरोस् भनेर यहोवाले उसलाई यथासम्भव चेताउनी दिनुभयो। उहाँले उसलाई “असल” कार्यतिर लाग्न मद्दत दिने प्रयास गर्नुभयो। (उत्पत्ति ४:५-७) यहाँ प्रथम पटक परमेश्वरले एक जना पापी मानवलाई पश्चाताप गर्नु अह्राउनु हुँदै थियो। तर कयिनले पश्चाताप नगर्ने प्रवृत्ति देखाउँदै अपराध गर्यो। यसपछि, यहोवाले उसलाई त्यहाँबाट धपाइ दिनु भयो। तर अरूहरूलाई उसको हत्या गर्न चाहिं परमेश्वरले निषेध गरी दिनुभयो। यस प्रकार कयिनलाई दण्ड दिनु हुँदा पनि यहोवाले केही मात्रामा दया देखाउनु भयो।—उत्पत्ति ४:८-१५.
५, ६. (क) जलप्रलयभन्दा अघिका पुस्तासित यहोवाले कस्तो व्यवहार गर्नुभयो? (ख) सदोम र गमोराका बासिन्दाहरूलाई दण्ड दिनुअघि यहोवाले के गर्नुभयो?
५ जलप्रलयभन्दा अघि ‘मानिसहरूको दुष्टता बढी भएको देख्नु भएर परमप्रभु मनमा साह्रै दुःखित हुनुभयो।’ (उत्पत्ति ६:५, ६) जलप्रलयअघिको पुस्ताका धेरै जसो मानिसहरूले आफ्नो स्व-इच्छाको दुरुपयोग गरेका थिए। यसकारण तिनीहरूमाथि न्यायको फैसला कार्यान्वयन गर्नु परेकोमा परमेश्वरले “अफसोस गर्नुभयो।” तापनि, उहाँले तिनीहरूलाई यथेष्ट चेताउनी दिनुभयो। यस कामका लागि उहाँले धेरै वर्षसम्म “धर्मका प्रचारक” नूहलाई प्रयोग गर्नु भयो। त्यस पछि, यहोवाले ती ‘अभक्तहरूको संसारलाई’ सजाय नदिने केही आधार नै रहेन।—२ पत्रुस २:५.
६ यसै प्रकार, सदोम र गमोराका भ्रष्ट बासिन्दाहरूको विरुद्धमा पनि यहोवालाई एउटा कानुनी मामिलाको फैसला गर्न आवश्यक पऱ्यो। तर यसो गर्न उहाँले कदम कसरी चाल्नु भयो, हेर्नु होस्। उहाँले ती मानिसहरूका अचाक्ली खराब कामकुराको खिलाफ सम्भवतः, लूतका प्रार्थनाहरूद्वारा एउटा सिकायतपूर्ण “ठूलो आवाज” सुन्नुभयो। (उत्पत्ति १८:२०; २ पत्रुस २:७, ८) तर कुनै ठोस कदम चाल्नुअघि, उहाँ आफ्ना स्वर्गदूतहरूद्वारा कुरा पक्का गर्न अर्थात् ‘तल ओर्लनु’ भयो। (उत्पत्ति १८:२१, २२; १९:१) उहाँले अन्याय गर्नु हुनेछैन भनेर अब्राहामलाई पनि सान्त्वना दिन आवश्यक ठान्नु भयो।—उत्पत्ति १८:२३-३२.
७. न्यायिक समितिहरूमा सेवा गर्ने प्राचीनहरूले यहोवाका न्यायप्रणालीहरूबाट के सिक्न सक्छन्?
७ यी उदाहरणहरूबाट आज प्राचीनहरूले के सिक्न सक्छन्? आदम र हव्वाको मामिलामा दोषीहरूको नातेदार भए तापनि व्यक्तिगत रूपमा दोषी नहुनेहरूका लागि यहोवाले प्रेम र विवेक नै प्रदर्शित गर्नु भयो। उहाँले आदम र हव्वाका सन्तानलाई दया नै देखाउनु भयो। कयिनको सम्बन्धमा तिनी कस्तो खतरनाक स्थितिमा छन् भनेर यहोवाले पहिले नै बुझ्नु भयो। यसबारे तिनलाई दयापूर्वक बुझाउने प्रयास यहोवाले गर्नुभयो। तिनलाई पापगर्न देखिन् रोक्ने कोशिश गर्नुभयो। तिनलाई धपाइ दिनु भएपछि पनि यहोवाले कयिनप्रति विवेक नै व्यक्त गर्नुभयो। यसबाहेक, जलप्रलयअघिका पुस्तामाथि धेरै नै धैर्य र सहनशीलता धारण गर्नु भएपछि मात्र यहोवाले न्यायको फैसला कार्यान्वयन गर्नुभयो। अटेर दुष्ट्याइँको सामना गर्नु हुँदा पनि यहोवा “मनमा साह्रै दुःखित हुनुभयो।” मानिसहरूले उहाँको धार्मिक शासनको विरोध गरेको हुनाकारण तिनीहरूको कडा इन्साफ गर्न उहाँ बाध्य हुनुहुन्थ्यो। यसका लागि उहाँ दुखीत हुनुहुन्थ्यो। (उत्पत्ति ६:६; इजकिएल १८:३१ सङ्ग तुलना गर्नुहोस्; २ पत्रुस ३:९) सदोम र गमोराको सम्बन्धमा चाहिं यहोवाले कुरा पक्का गर्नु भएपछि मात्र कदम चाल्नु भयो। वर्तमान समयमा कानुनी मामिलाहरूको फैसला गर्ने व्यक्तिहरूका लागि यी कति उत्तम उदाहरणहरू हुन्!
कुलपिताहरूको पालोमा मानव न्यायकर्ताहरू
८. कुलपिताहरूको पालोमा यहोवाका कुन आधारभूत नियमहरूसित मानिसहरू परिचित थिए?
८ कुलपिताहरूको पालोमा कुनै लिखित नियमहरू थिएनन् जस्तो छ। तापनि, कुलपिताहरूको समाज यहोवाका मौलिक नियमहरूसित परिचित थिए। उहाँका सेवकहरू ती नियमहरू पालन गर्न बाध्य थिए। (उत्पत्ति २६:५ सँग तुलना गर्नुहोस्) अदनमा घटेका घटना अथवा नाटकले यहोवाको सार्वभौमिकताको अधीनमा बस्ने आवश्यकतालाई प्रदर्शित गरेको थियो। यहोवाले हत्या मन पराउनु हुँदैन भन्ने कुरा कयिनको मामिलाद्वारा जाहेर गर्नु भएको थियो। जलप्रलय सिद्धिनका साथै परमेश्वरले मानवजातिलाई जीवनको पवित्रता, हत्या, मृत्युदण्ड र रक्त खाने सम्बन्धमा नियमहरू दिनुभयो। (उत्पत्ति ९:३-६) अब्राहाम, सारा र गाजाको नजिक पर्ने गेरारका राजा अबिमेलेकसित घटेको घटनाद्वारा यहोवाले व्यभिचारको घोर भर्त्सना गर्नु भयो।—उत्पत्ति २०:१-७.
९, १०. कुलपिताहरूको पालोमा न्याय व्यवस्था थियो भन्ने कुरा कुन कुन उदाहरणहरूबाट जाहेर हुन्छ?
९ ती दिनहरूमा परिवारका शिरहरू नै न्यायकर्ताको हैसियतमा काम गर्दथिए। तिनीहरूले नै कानुनी मामिलाहरूको पनि फैसला गर्दथिए। यहोवाले अब्राहामबारे यसो भन्नु भयो: “किनभने त्यसले आफ्ना छोरा-छोरीहरू र घरानालाई धर्म र न्याय गरेर परमप्रभुको मार्ग पालन गर्नलाई आज्ञा देओस् भनेर मैले त्यसलाई छानेको छु।” (उत्पत्ति १८:१९) आफ्ना र लूतका गोठालाहरू बीच उठेको झगडा मिलाउँदा अब्राहामले निस्वार्थपना र समझशक्तिका साथ काम गरे। (उत्पत्ति १३:७-११) यहूदाले आफ्नी बुहारी तामार व्यभिचारिणी भइन् भनी ठानेर तिनलाई ढुङ्गाले हानेर मार्नु अथवा जलाइ दिनु भन्ने फैसला सुनाए। यहाँ यहूदा, कुलपिताहरूको समाजका शिर अथवा न्यायकर्ताको हैसियतमा काम गर्दै थिए। (उत्पत्ति ३८:११, २४; यहोशू ७:२५ सँग तुलना गर्नु होस्) तर सबै कुरा थाह पाएपछि, तिनले तामारलाई आफूभन्दा धर्मी घोषित गरे। (उत्पत्ति ३८:२५, २६) कुनै न्यायिक फैसला गर्नुअघि सबै कुरा थाह पाउनु कति जरुरी छ!
१० अय्यूबको पुस्तकमा न्यायप्रशासनबारे चर्चा गरिएको छ र निष्पक्ष रूपमा गरिएको न्याय सबैले नै मन पराउँछन् भन्ने कुरालाई स्पष्ट पारिएको छ। (अय्यूब १३:८, १०; ३१:११; ३२:२१) स्वयं एउटा सम्मानित न्यायकर्त्ता भएको समयबारे अय्यूबले सम्झना गर्छन्। तिनी पनि कुनै समयमा शहरका मूल-ढोकामा बसेर विधवा र अनाथको पक्षमा न्याय गर्दथिए। (अय्यूब २९:७-१६) अतः प्रस्थान हुनु र इस्राएली राष्ट्रले ईश्वर-प्रदत्त नियमावली पाउनुअघि नै, कुलपिताहरूको पालोमा “बूढापाकाहरू” अब्राहामका सन्तान बीच न्यायकर्ताहरूको हैसियतमा काम गर्दथिए। (प्रस्थान ३:१६, १८) वास्तवमा, वाचाको व्यवस्थाका शर्तहरू मोशाले “बूढापाकाहरू” अथवा प्राचीनहरूको सामुन्ने पेस गरेका थिए। यिनीहरूले नै इस्राएलका मानिसहरूलाई प्रतिनिधित्व गर्दथिए।—प्रस्थान १९:३-७.
इस्राएलको न्यायप्रशासन प्रणाली
११, १२. दुईजना बाइबलका विद्वानहरूको भनाइअनुसार, इस्राएलको न्याय-व्यवस्था अन्य राष्ट्रहरूको न्याय-व्यवस्थाभन्दा कसरी भिन्न थियो?
११ वरिपरिका राष्ट्रहरूमा कार्यान्वयन गरिने कानुनी प्रणालीहरूभन्दा इस्राएलको न्याय-व्यवस्था धेरै नै भिन्न थियो। निजामती कानुन र अपराध कानुन दुई बेग्ला बेग्लै कुरा थिएनन्। ती नैतिक र धार्मिक कानुनहरूसित गाभिएका हुन्थिए। आफ्नो छिमेकीको विरुद्धमा अपराध गर्नु, यहोवाको विरुद्धमा अपराध गरेको बराबर हुन्थ्यो। लेखक आन्ड्रे शुराकीले मानिसहरू र बाइबलको विश्वास (The People and the Faith of the Bible) शीर्षक भएको आफ्नो पुस्तकमा यस प्रकार लेखेका छन्: “हिब्रूहरूको परम्परागत न्यायप्रशासन तिनीहरूका वरिपरिका छिमेकीहरूको भन्दा बेग्लै छ। अपराधको परिभाषा र दण्डबारे मात्र भिन्न नभएर, नियमहरूको भित्रि मर्म नै बेग्लै छ। दैनिक जीवनको नियमव्यवस्था टोरामा (Torah) सङ्गलग्न छ; आशिष अथवा सरापद्वारा टोराले दैनिक जीवनको नैतिक स्तर र कामकुरालाई नियन्त्रणमा राख्त छ। इस्राएलमा शहरका कानुनी गतिविधिहरूलाई अलग्ग छुट्ट्याउन प्रायः असम्भव छ। यी जम्मै गतिविधिहरू, जीवित परमेश्वरको इच्छा पूरा गर्न समर्पण गरिएको जीवनको एउटा भाग थियो।”
१२ यो अनौठो स्थितिले गर्दा इस्राएलको न्यायप्रशासनको स्तर त्यस बेलाका अन्य राष्ट्रहरूको न्यायप्रशासनको स्तरभन्दा धेरै नै उच्च थियो। बाइबलको एक जना विद्वान, रोलाँ दः भो यस प्रकार लेख्तछन्: “इस्राएली कानुनको विकास र विषय-वस्तु मध्यपूर्वीय कानुनसित मिल्दो-जुल्दो भए तापनि, मध्यपूर्वका ‘कानुनी व्याख्याहरू’ र ‘ऐनहरू’ भन्दा इस्राएली कानुन एकदमै भिन्न छ। इस्राएली कानुन एउटा धार्मिक कानुन हो . . . मध्यपूर्वका कुनै पनि मुलकी ऐनलाई इस्राएलका कानुनसित तुलना गर्न मिल्दैन। परमेश्वरलाई नै सम्पूर्ण रूपमा इस्राएली कानुनको रचनाकार मानिन्छ। यस कानुनले ईश्वरीय वाचाको सम्पूर्ण क्षेत्र ढाक्तछ। यो वाचाले मानिस-मानिस बीच तथा परमेश्वर र मानिसबीचको सम्बन्धलाई नियन्त्रणमा राख्त थियो। अतः यसमा कहिलेकाहीं नैतिक र नैमिक सिद्धान्तहरू मिसमास भएको जस्तो देखिन्छ।” नभन्दै, मोशाले यो प्रश्न सोधेका थिए: “मैंले तिमीहरूलाई दिएको सारा व्यवस्थामा जस्तै ठीक-ठीक विधि-विधान भएको अरू कुनचाहिं यति महान जाति छ?”—व्यवस्था ४:८.
इस्राएलमा न्यायकर्ताहरू
१३. आजका प्राचीनहरूका लागि मोशा कुन कुन कुरामा एउटा असल उदाहरण थिए?
१३ यस्तो उच्च स्तरको न्यायप्रशासन व्यवस्थामा कस्तो मानिस न्यायकर्त्ता हुनु पर्दथियो? इस्राएलमा नियुक्त भएका सबैभन्दा प्रथम न्यायकर्त्ताबारे बाइबल भन्दछ: “मोशाचाहिं पृथ्वीभरिमा सबैभन्दा विनम्र व्यक्ति थिए।” (गन्ती १२:३) तिनमा प्रशस्त मात्रामा आत्मविश्वास थिएन। (प्रस्थान ४:१०) तिनी मानिसहरूमाथि एक जना न्यायकर्त्ता भए तापनि, समय समयमा त्यही मानिसहरूका लागि तिनले एउटा वकिलको रूपमा पनि काम गर्दथिए। ती मानिसहरूले गरेका गल्तीहरू क्षमा होस् भनेर, तिनले मानिसहरूको तर्फबाट यहोवासित बिन्ती गर्नेगर्थे। तिनले आफ्नो र तिनीहरूका तर्फबाट बलिदान समेत चढाउने गर्थे। (प्रस्थान ३२:११, ३०-३२) तिनले कवितामय भाषामा भने: “मेरो शिक्षा झरिझैं वर्षनेछ, मेरो बोली शीतझैं टप्कनेछ, कलिलो घाँसमाथि सिमसिम पानीझैं, औ झारपातमाथि दर्कने पानीझैं।” (व्यवस्थाविवरण ३२:२) आफ्नै बुद्धिमा भर पर्दै मानिसहरूलाई न्याय गर्नुको सट्टा, तिनले यो घोषणा गरे: “तिनीहरूको केही कुरा छ भने तिनीहरू मकहाँ आउँछन्, र कुनै मानिस र त्यसको भाइ-बन्धुको बीचमा म इन्साफ गरिदिन्छु, औ म तिनीहरूलाई परमेश्वरका नियम र व्यवस्था बताइदिन्छु।” (प्रस्थान १८:१६) कुनै कुराबारे शङ्का भएको खण्डमा तिनले मामिला यहोवाको सामुन्ने राखिदिन्थे। (गन्ती ९:६-८; १५:३२-३६; २७:१-११) आज ‘परमेश्वरका बगाललाई चराउने’ प्राचीनहरूका लागि यो एउटा कति असल उदाहरण हो। (प्रेरित २०:२८) यिनीहरूले पनि आफ्ना भाइहरू सित गरेको व्यवहार “कलिलो घाँसमाथि सिमसिम पानी” झैं होस्।
१४. मोशाले इस्राएलमा न्यायकर्त्ता नियुक्त गरेका मानिसहरूमा कुन प्रकारका आध्यात्मिक गुणहरू थिए?
१४ केही समयपछि, मानिसहरूको न्यायपरक मामिलाहरूको बोझ मोशा एकलैले बोक्न नसक्ने भए। (प्रस्थान १८:१३, १८) अब विभिन्न सहायकहरूबाट मद्दत लिन भनेर तिनका ससुराले दिएको सल्लाहलाई तिनले माने। फेरि, कुन प्रकारका मानिसहरू छानिए? हामी पढ्दछौं: “‘सबै मानिसहरूमध्येबाट परमेश्वरको भय मान्ने औ योग्य मानिसहरू चुन, तिनीहरू इमान्दारी र चरित्रवान होऊन्।’ . . . त्यसैकारण मोशाले सारा इस्राएलीमध्येका योग्य योग्य मानिसहरूलाई छाने, औ तिनीहरूलाई मानिसहरूमाथि मुखिया बनाए, अर्थात् हजार हजारका नायक, सय सयका नायक, पचास पचासका नायक र दश दशका नायक। तिनीहरूले हर समय मानिसहरूका इन्साफ गर्थे। गाह्रा गाह्रा विषयहरू चाहिं तिनीहरूले मोशाकहाँ ल्याउँथे, तर हरेक मामुली कुरा तिनीहरू आफैले इन्साफ गर्थे।”—प्रस्थान १८:२१-२६.
१५. कस्ता कस्ता गुण भएका मानिसहरू इस्राएलमा न्यायकर्ताहरूको हैसियतमा काम गर्दथिए?
१५ न्यायकर्ता हुनका लागि मानिसहरू छान्दा उमेर सबैभन्दा मुख्य आधार थिएन। मोशाले भने: “तिमीहरूका कुलहरूअनुसार ज्ञानी, समझदार र अनुभवी मानिसहरू तिमीहरूले छान, अनि म तिनीहरूलाई तिमीहरूका नायके नियुक्त गर्नेछु।” (व्यवस्था १:१३) धेरै वर्षअघि जवान एलीहूले भनेका यो कुरा मोशालाई थाह थियो: “बूढाहरू मात्रै ता बुद्धिमानी हुँदैनन्, अथवा जे ठीक छ सो बुझ्ने पाकोहरू मात्र हुँदैनन्।” (अय्यूब ३२:९) नियुक्त हुने मानिसहरू निश्चय नै “अनुभवी” हुनु पर्दथियो। तर यो भन्दा पनि तिनीहरू योग्य, परमेश्वरको भय मान्ने, विश्वासिलो, इमानदार र चरित्रवान मानिसहरू हुन पर्दथियो। अतः, यहोशू २३:२ र २४:१ मा उल्लेखित “न्यायकर्त्ताहरू” र “अधिकारीहरू” त्यही पद्यहरूमा चर्चा गरिएका “बूढा प्रधानहरू” भन्दा बेग्लै थिएनन् जस्तो देखिन्छ। बरु, यी “न्यायकर्त्ताहरू” र “अधिकारीहरू” ती “बूढा प्रधानहरूमध्येबाट” नै छानिन्थे जस्तो छ।—शास्त्रहरूमाथि अन्तरदृष्ट (Insight on the Scriptures, नेपालीमा उपलव्ध छैन) खण्ड २, पाना ५४९ हेर्नुहोस्।
न्यायप्रशासन
१६. भर्खरै नियुक्त भएका न्यायकर्ताहरूलाई मोशाले दिएका उपदेशमा हामीले कुन कुरालाई ध्यान दिनु पर्दछ?
१६ यी नियुक्त न्यायकर्ताहरूलाई दिइएको उपदेशबारे, मोशाले भने: “तिमीहरूका आफ्ना जात-भाइ होस् वा विदेशी होस्, जुनसुकै मानिसको पनि ठीक ठीक न्याय गर। न्याय गर्दा तिमीहरूले मानिसहरूको पक्ष नलेऊ। तिमीहरूले साना ठुला दुवैको कुरा सुन। कुनै मान्छेसँग नडराओ, किनकि न्यायको फैसला ता परमेश्वरको हातमा हुन्छ। तिमीहरूलाई गाह्रो परेको मामिला मकहाँ ल्याओ, र म त्यो सुन्नेछु।”—व्यवस्थाविवरण १:१६, १७.
१७. कस्ता कस्ता मानिसहरूलाई न्यायकर्ता नियुक्त गरिन्थ्यो र यहोशापत राजाले तिनीहरूलाई के चेताउनी दिए?
१७ तर मोशा बाँचुञ्जेल मात्र तिनीहरूले तिनीकहाँ मामिलाहरू ल्याउन सक्तथिए। यसकारण, पुजाहारीहरू, लेवीहरू र विशेष ढङ्गमा नियुक्त गरिएका न्यायकर्ताहरूकहाँ गाह्रो मामिलाहरू ल्याउने थप प्रबन्ध मिलाइयो। (व्यवस्था १७:८-१२; १ इतिहास २३:१-४; २ इतिहास १९:५, ८) यहूदाका शहरहरूमा नियुक्त गरिएका न्यायकर्ताहरूलाई यहोशापातले यसो भने: “तिमीहरूले न्यायको फैसला सुनाउँदा मानिसहरूलाई होइन तर तिमीहरूसित हुनुहुने परमप्रभुलाई खुशी तुल्याउन तिमीहरू त्यहाँ न्यायकर्त्ता नियुक्त भएका छौ। . . . तिमीहरूले सधैं परमेश्वरको भय राखेर विश्वाससित मन-तनले काम गर्नुपर्छ। सबै मुद्दा जो तिमीहरूका कुटुम्बहरूबाट तिमीहरूको सामने आउँछन्, तिनीहरू जुनसुकै शहरमा बस्ने होस् . . . तिमीहरूले तिनीहरूलाई परमप्रभुको विरुद्धमा कुनै किसिमको अपराध नगर्नू भनी चेताउनी दिनू। नत्रता तिमीहरूका कुटुम्बहरूले पनि त्यसको निम्ति सजाय भोग्नुपर्छ। तिमीहरूले यसो गर्यौ भने तिमीहरू सबै दोषी ठहरिनेछैनौ।”—२ इतिहास १९:६-१०.
१८. (क) इस्राएलका न्यायकर्ताहरूले व्यवहारमा ल्याउनु पर्ने केही सिद्धान्तहरू के थिए? (ख) न्यायकर्ताहरूले कुन कुन कुरा याद राख्न परेको थियो र यो बिर्सन्दा परिणाम के भयो, सो कुरा शास्त्रका कुन पद्यहरूले देखाउँदछन्?
१८ इस्राएलका न्यायकर्ताहरूले प्रयोगमा ल्याउनु पर्ने केही सिद्धान्तहरू यस प्रकारका थिए: धनी र गरीब, दुवैका लागि समान न्याय गर्नु (प्रस्थान २३:३, ६; लेवी १९:१५); सम्पूर्ण निष्पक्षता (व्यवस्था १:१७); घूस न खानु। (व्यवस्था १६:१८-२०) न्यायकर्ताहरूले सधैं याद गर्नु पर्दथियो कि तिनीहरूले यहोवाका भेडाहरूका लागि न्याय गर्दैछन्। (भजनसंग्रह १००:३) तर इस्राएलका पुजाहारीहरू र गोठालाहरूले चाहिं धार्मिकताका साथ न्याय गरेनन् अथवा मानिसहरूसित कठोर व्यवहार गरे। यसैकारण पनि यहोवाले शारीरिक इस्राएललाई तिरस्कार गर्नुभयो।—यर्मिया २२:३, ५, २५; २३:१, २; इजकिएल ३४:१-४; मलाकी २:८, ९.
१९. सामान्य युगभन्दा अघिको समयमा यहोवाले दिनु भएका न्यायपरक सिद्धान्तहरूले हाम्रा लागि के महत्त्व राख्तछ?
१९ यहोवा बदलनु हुँदैन। (मलाकी ३:६) इस्राएलको न्यायप्रशासन प्रणाली र अन्यायबारे यहोवाको दृष्टिकोणको यो छोटो पुनःरावलोकनले प्राचीनहरूलाई गहिरेर सोच्न बाध्य पार्नु पर्छ। किनकि न्यायसम्बन्धी फैसलाहरूका लागि तिनीहरू जिम्मावार छन्। न्यायकर्त्ताको हैसियतमा यहोवाले स्वयं कायम गर्नु भएको उदाहरणका साथसाथै, उहाँले इस्राएललाई दिनु भएका न्यायप्रशासन प्रणालीहरूले केही सिद्धान्तहरू स्थापित गरे। ती सिद्धान्तहरू नै मसीही मण्डलीको न्यायप्रशासनका लागि एउटा आदर्श हुन गएको छ। यो हामी आउँदो लेखमा हेर्नेछौं। (w92 7/1)
पुनःरावलोकनका प्रश्नहरू
◻ यहोवाको न्यायप्रणालीको छोटकरीमा कसरी बयान गर्न सकिन्छ?
◻ कयिन र जलप्रलयभन्दा अघिका मानिसहरूसित यहोवाले गर्नु भएको व्यवहारद्वारा यहोवाको न्यायप्रणाली कसरी प्रदर्शित भयो?
◻ कुलपिताहरूको पालोमा न्यायकर्ताहरू को थिए र तिनीहरूले कसरी न्याय गर्द थिए?
◻ अन्य राष्ट्रहरूको न्याय-व्यवस्थाभन्दा इस्राएलको न्याय-व्यवस्था कसरी भिन्न थियो?
◻ इस्राएलमा कुन प्रकारका मानिसहरूलाई न्यायकर्ता नियुक्त गरिन्थ्यो र तिनीहरूले कुन कुन सिद्धान्तहरूको अनुसरण गर्नु परेको थियो?
[पृष्ठ १०-मा भएको चित्र]
कुलपिताहरूको पालोमा र इस्राएलमा नियुक्त गरिएका बूढापाकाहरूले शहरका ढोकामा बसेर न्याय गर्दथिए