सांसारिक कल्पनाहरूलाई तिरस्कार गर्नुहोस्, राज्यका यथार्थताहरू पछि लाग्नुहोस्
“तर पहिले उहाँको राज्य र उहाँको धार्मिकता खोजी गर, र यी सबै थोक तिमीहरूलाई थपिनेछन्।”—मत्ती ६:३३.
१. लाक्षणिक हृदयबारे परमेश्वरको वचनले हामीलाई के चेताउनी दिन्छ र यसले हामीलाई भ्रममा पार्ने मुख्य तरीका के हो?
“कुनै मूल्यवान वस्तुलाई भन्दा पनि आफ्नो हृदयलाई सुरक्षित राख्, किनभने त्यो सारा जीवनको मूल हो।” (हितोपदेश ४:२३) यो चेताउनी दिन सुलेमान राजालाई किन खाँचो परेको थियो? किनभने “मानिसको हृदय सबैभन्दा छली हुन्छ।” (यर्मिया १७:९) मुख्यतया, हामीलाई सांसारिक कल्पनाहरूमा मस्त हुन लगाएर हाम्रो लाक्षणिक हृदयले हामीलाई भ्रममा पार्न सक्तछ। तर कल्पनाहरू भनेको के हो? तिनीहरू अवास्तविक मनकल्पित कुराहरू, दिवास्वप्नहरू र अल्लारे मनका बरालसिङ्गे गन्थनहरू हुन्। यी दिवास्वप्नहरू समयमा सांसारिक कल्पनाहरू हुन थाल्छन्। त्यसपछि, यसमा हाम्रो समय खेर जाने मात्र होइन तर ती अति नै हानिकारक पनि हुन सक्तछन्। यसकारण, हामीले तिनीहरूलाई पूर्णतया तिरस्कार गर्नु पर्दछ। वास्तवमा, हामीले येशूले झैं अधर्मलाई घृणा गर्यौं भने आफ्नो हृदयलाई सांसारिक कल्पनाहरूबाट पनि बचाएर राख्ने छौं।—हिब्रू १:८, ९.
२. सांसारिक कल्पनाहरू के हुन् र तिनलाई हामीले किन तिरस्कार गर्नु पर्दछ?
२ तर सांसारिक कल्पनाहरू के हुन्? तिनीहरू शैतानको वशमा रहेको यो संसारका कल्पनाहरू हुन्। त्यस विषयमा प्रेरित यूहन्नाले यस प्रकार लेखे: “किनकि संसारमा भएको जुनसुकै कुरा पनि, अर्थात् शरीरको अभिलाषा, आँखाको अभिलाषा, जीवनको शेखी पितातर्फको होइन, तर संसारतर्फको हो।” (१ यूहन्ना २:१६; ५:१९) मसीहीहरूले सांसारिक कल्पनाहरूलाई किन तिरस्कार गर्नु पर्दछ? किनभने यस प्रकारका कल्पनाहरूले मन र हृदयमा स्वार्थी आकाड़ाहरू जगाउँदछ। भनौं भने, खराब काम गर्ने विषयलाई मनमा खेलाउनु त त्यस काम गर्नका लागि अग्रिम अभ्यास गरेको बराबर हुन सक्तछ। चेला याकूबले हामीलाई यो चेताउनी दिन्छन्: “तर हरेक मानिस आफ्नै तृष्णाबाट खिचिंई लोभिएर परीक्षामा पर्दछ। तब तृष्णा गर्भवती भएर पापलाई जन्माउँछ, र पाप पूरा बढेपछि मृत्यु उत्पन्न गराउँछ।”—याकूब १:१४, १५.
चेताउनीपूर्ण उदाहरणहरू
३. स्वार्थी कल्पनाहरू हानिकारक हुन् भनेर कस्को उदाहरणबाट हामी सबैभन्दा ठूलो चेताउनी पाउँदछौं?
३ सांसारिक कल्पनाहरूलाई तिरस्कार गर्न जरुरी छ। यस कुरालाई प्रदर्शित गर्ने केही उदाहरणहरू अब हामी हेरौं। स्वार्थी कल्पनाहरू गर्नु कतिको हानिकारक हुन सक्तछ, त्यो सर्वप्रथम दियाबल अर्थात् शैतानसित घटेको घटनाबाटै देखिन्छ। त्यसले आफ्नो हृदयमा उच्चाभिलाषी आकाड़ाहरूको विकास हुन दियो। यहाँ सम्म कि त्यसले यहोवाका अतुलनीय विश्वव्यापी सार्वभौमिकताको डाह गर्न थाल्यो। अरूहरूले त्यसको पनि उपासना गरोस् भन्ने चाहना त्यसमा भयो। (लूका ४:५-८) के यो एउटा अवास्तविक कल्पना थियो र? निश्चय नै थियो! शैतानलाई हजार वर्षसम्म बाँधेर राख्दा अथवा त्यसलाई “आगोको कुण्ड” अर्थात् दोस्रो मत्युमा घोक्य्राइ दिंदा, त्यसले गरेको त्यो अभिलाषाको अवास्तविकता सम्पूर्ण रूपमा प्रमाणित हुनेछ।—प्रकाश २०:१-३, १०.
४. शैतानले हव्वालाई कसरी भ्रममा पार्यो?
४ प्रथम स्त्री हव्वामा पनि हामी एउटा अर्को चेताउनीपूर्ण उदाहरण पाउँदछौं। आफ्नो उच्चाभिलाषा पूरा गर्ने प्रयास गर्दा शैतानले हव्वालाई भ्रममा पार्यो। उसले निषेध फल खाइ भने ऊ मर्ने छैन बरु उसले असल र खराबको ज्ञान पाउने छ र परमेश्वर जस्तै हुने छ भन्ने कल्पना शैतानले हव्वाको सामुन्ने प्रस्तुत गर्यो। के यो कल्पना अवास्तविक र स्वार्थी थियो र? अवश्य थियो। यो कुरा आदम र हव्वाको सुनवाइ पछि, यहोवाले तिनीहरूलाई दिनु भएको दण्डबाट नै हामी देख्न सक्तछौं। फलःस्वरूप, प्रमोदवनमा जीवन बिताउने आफ्नो अधिकार, साथै आफ्ना सारा सन्तानको अधिकार पनि तिनीहरूले गुमाए।—उत्पत्ति ३:१-१९; रोमी ५:१२.
५. परमेश्वरका केही आत्मिक पुत्रहरूको पतन के कारणले गर्दा भयो र फलःस्वरूप, तिनीहरूमध्ये कुनै कुनैले के कस्तो परिणाम भोगी रहेका छन्?
५ परमेश्वरका केही आत्मिक पुत्रहरू पनि हाम्रालागि चेताउनीपूर्ण उदाहरणहरू हुन्। (उत्पत्ति ६:१-४) यहोवाका स्वर्गीय उपस्थितिमा अनुभव गर्न सकिने आशिषहरू सित तिनीहरू सन्तुष्ट भएनन्। बरु, पृथ्वीका स्त्रीहरू बारे तिनीहरूले कल्पना गर्न थाले। ती स्त्रीहरू सित यौनिक सम्भोग गर्न पाए कति रमाइलो होला भन्दै ती दूतहरूले मन डुलाउन थाले। यी कल्पनाहरूलाई काममा परिणत गरेको हुनाकारण ती अनाज्ञाकारी स्वर्गदूतहरू आज टारटारसको आध्यात्मिक अन्धकारमा बन्द छन्। येशू ख्रीष्टका हजार वर्षीय शासनपछि नष्ट हुने बाहेक तिनीहरूको सामुन्ने अरू कुनै आशा छैन।—२ पत्रुस २:४; यहूदा ६; प्रकाश २०:१०.
सांसारिक कल्पनाहरूलाई तिरस्कार गर्नु होस्
६, ७. धन-सम्पत्तिबारे सांसारिक कल्पनाहरू किन हानिकारक र भ्रमात्मक हुन्?
६ शैतानले बढावा दिने सबैभन्दा प्रचलित र खतरनाक कल्पनाबारे हामी अब विचार गरौं। हर प्रकारको प्रसार माध्यमद्वारा सांसारिक कल्पनाहरूमा ग्रस्त हुने परीक्षाको सामना हामी गर्दछौं। यी कल्पनाहरू अक्सर धन-सम्पतिको लालचबाट उत्पन्न हुँदछ। आफूसित धन-सम्पत्ति हुनु कुनै खराब कुरा होइन। ईश्वर भक्त अब्राहाम, अय्यूब र राजा दाऊद धनसम्पन्न मानिसहरू थिए। तर तिनीहरूमा धन-सम्पत्तिको लालच चाहिं थिएन। भौतिकवादी कल्पनाहरूले गर्दा, मानिसहरू धन प्राप्त गर्न वर्षौंसम्म कडा परिश्रम गर्दछन्। यस प्रकारका कल्पनाहरूले गर्दा तिनीहरू हर किसिमका जूवा खेल्ने अथवा घोडाहरूमा बाजी लाउने र चिठ्ठा किन्ने गर्दछन्। हामीहरू चाहिं धन-सम्पत्तिबारे कुनै प्रकारको भ्रममा बस्नु भएन। धन-सम्पत्तिले हामीलाई सुरक्षित राख्ने छ भनी हामी ठान्छौं भने यो यथार्थवादी हितोपदेशमाथि विचार गर्नुहोस्: “क्रोधको अन्तिम समयमा धन-सम्पत्तिको केही मोल हुँदैन, तर सोझोपनाले मृत्युबाट रक्षा गर्छ।” (हितोपदेश ११:४) साँच्चै नै, “महा सङ्कष्ट” पार गर्नका लागि, भौतिक धनले सघाउ पुर्याउने छैन।—मत्ती २४:२१; प्रकाश ७:९, १४.
७ भौतिक धनले हामीलाई सजिलैसित भ्रममा पार्न सक्तछ। त्यसैकारण त हामीलाई यसो भनिएको छ: “धनी मानिसको धन-सम्पत्ति त्यसको बलियो शहरजस्तै हो, उसले धनलाई नै उच्च पर्खाल सम्झन्छ।” (हितोपदेश १८:११) हो, यो उसले ‘सम्झेको’ अथवा कल्पना गरेको मात्र हो। किनभने बढदो मुद्रास्फीति, आर्थिक धराशयी, राजनैतिक उथलपुथल अथवा सिकिस्त रोगको सामुन्ने भौतिक धनले विशेष सुरक्षा प्रदान गर्दैन। भौतिक धनमाथि भरोसा गर्ने गल्ती नगर्नु भनेर येशू ख्रीष्टले हामीलाई चेताउनी दिनु भएको छ। (लूका १२:१३-२१) प्रेरित पावलबाट पनि हामी यी चेताउनीपूर्ण शब्दहरू पाउँद छौं: “रूपियाँ-पैसाको प्रेमनै सबै किसिमका खराबीको जरा हो, जसको पछि लाग्ने कुनै कुनै विश्वासबाट कुमार्गमा तर्केका हुन्छन्, र धेरै दुःखले तिनीहरूका हृदय छेंडेका हुन्छन्।”—१ तिमोथी ६:१०.
८. यौनिक विषय-वस्तुमा केन्द्रित सांसारिक कल्पनाहरू कतिको व्याप्त छन् र यिनीहरू किन खतरनाक हुन्?
८ अरू कल्पनाहरू चाहिं अनुचित यौनसित सम्बन्धित हुन्छ। कुनै कुनै नम्बरहरूमा फोन लगाउँदा अति नै फोहर भाषा अथवा यौनक्रिया सम्बन्धी कुराकानी सुन्न पाउने सुविधा उपलव्ध छ र यो धेरै नै प्रचलित पनि भएको छ। यसबाट स्पष्ट देखिन्छ कि पापी मानव स्वभावलाई यौनिक कल्पनाहरू कति साह्रो मन पर्दो रहेछ। संयुक्त राष्ट्र अमेरीकामा टेलिफोनद्वारा अनैतिक यौनक्रिया सम्बन्धी सेवाहरू उपलव्ध गराउन, अरबौं डालरको व्यापार भएको छ। हामीले पनि अनुचित यौनसम्बन्धी कुराहरू मनमा खेलाइ रह्यौं भने, के हामी बाहिरबाट मात्र स्वच्छ मसीहीहरू जस्तो देखिने कपटीहरू होइनौं र? साथै, यस प्रकारका कुराहरू मनमा खेलाए पछि अनैतिक पाइलाहरू चाल्ने खतरा उत्पन्न हुँदैन होला र? यस्तो भएको छ। कति त व्यभिचार अथवा अन्य अनैतिक कार्य गरेका हुनाले मसीही मण्डलीबाट बहिष्कृत पनि भएका छन्।। मत्ती ५:२७, २८ मा उल्लेखित येशूका शब्दहरूको आधारमा यस प्रकारका कल्पनाहरू लगातार गरिरहनु के आफ्नो हृदयमा व्यभिचार गर्नु जस्तै होइन र?
९. सांसारिक कल्पनाहरू बारे हामीलाई चेताउनी दिनका लागि शास्त्रमा कुन राम्रो सल्लाह हामी पाउँदछौं?
९ यस प्रकारका कल्पनाहरू गरिरहने हाम्रा पापी हृदयका झुकावलाई हामीले दबाउनु पर्दछ। यसो गर्नका लागि हामीले पावलले दिएका यो चेताउनी मनमा राख्नु पर्दछ: “उहाँको दृष्टिमा सृष्टिको कुनै कुरा छिपेको हुँदैन, तर जससँग हामीले व्यवहार गर्नुपर्छ, उहाँको नजरको सामने सब कुराहरू स्पष्ट र खुला राखिएका छन्।” (हिब्रू ४:१३) हामी सधैं नै मोशा जस्तै हुने इच्छा गर्नु पर्दछ। किनकि “अदृश्यलाई देखेझैं गरी तिनी स्थिर रहे।” (हिब्रू ११:२७) हो, यहोवाले सांसारिक कल्पनाहरू मनपराउनु हुन्न र ती हाम्रालागि हानिकारक हुन्। यो कुरा हामीले आफूलाई सम्झाइ रहनु पर्दछ। परमेश्वरका आत्माका जम्मै फलहरू आफूमा विकास गर्न हामी इच्छुक हुनु पर्दछ। विशेष गरी संयमको विकास गर्न जरुरी छ। शारीरिक अभिलाषाहरूको बिउ छर्यौं भने हामीले शरीरैबाट विनाशको कटनी गर्नेछौं।—गलाती ५:२२, २३; ६:७, ८.
राज्यका यथार्थताहरू
१०, ११. (क) सृष्टिकर्त्ताको यथार्थतालाई कुन कुन कुराले पुष्टि दिन्छ? (ख) बाइबल वास्तवमा परमेश्वरको वचन हो भनेर के प्रमाण पाइन्छ? (ग) परमेश्वरको राज्यको राजाको यथार्थताबारे के प्रमाण छ?
१० सांसारिक कल्पनाहरूको तिरस्कार गर्ने सबैभन्दा उत्तम उपाय राज्यका यथार्थताहरूको पछि लाग्नु हो। राज्यका यी यथार्थताहरूका स्रोत परमेश्वर हुनुहुन्छ र यी यथार्थताहरू सांसारिक कल्पनाहरूका ठीक विपरीत छन्। के परमेश्वर एउटा यथार्थता हुनुहुन्छ र? उहाँको अस्तित्व निर्विवाद छ। सृष्टिका सबै दृश्य कुराहरूले यस यथार्थताको पुष्टि दिन्छ। (रोमी १:२०) सय वर्षभन्दा अघि, वाच्टावर सोसाइटीद्वारा प्रकाशित्, युगानुयुग देखिका ईश्वरीय योजना (The Divine Plan Of the Ages, नेपालीमा उपलव्ध छैन) मा उल्लेखित कुराको हामीलाई यहाँ सम्झना हुँदछ। त्यसमा यसो भनिएको थियो: “कुनै मानिसले एउटा दूरबीनद्वारा अथवा सोझै आफ्नै आँखाले मात्र पनि माथि आकाशलाई हेर्दा, त्यहाँ तिनले सृष्टिको प्रशस्ततया, त्यसको समता, सौन्दर्य, एकरूपता र भिन्नताको सङ्गम देख्तछन्। तर यी सबै देखेर पनि, तिनीभन्दा एकजना अति नै बुद्धिमान र शक्तिशाली सृष्टिकर्ता हुनुहुन्छ भन्ने तथ्यबारे शङ्का तिनले गर्दछन् अथवा यो सारा व्यवस्था कुनै सृष्टिकर्ता बिना संयोगद्वारा भयो भन्दछन् भने, ती मानिसले या त आफ्नो सोच्ने शक्ति गुमाएको हुनुपर्छ अथवा त्यसको प्रयोग नगरेको हुनुसक्छ। तिनलाई बाइबलमा प्रयोग गरिएको शब्द अर्थात् मूर्ख भन्नु मिल्दछ।”—भजनसंग्रह १४:१.
११ हामी पवित्र बाइबलबाट परमेश्वरको राज्यबारे सबै कुरा सिक्तछौं। तर के बाइबल वास्तवमा परमेश्वरको लिखित वचन हो? निश्चय नै हो। यो कुरा त्यसको एकरूपता, वैज्ञानिक सत्यता र मानिसहरूको जीवन शैलीमा परिवर्तन ल्याउन सक्ने त्यसको शक्ति र विशेषगरी त्यसमा उल्लेखित भविष्यवाणीहरूको पूर्तिबाट देख्न सकिन्छ।a परमेश्वरको राज्यको राजा, येशू ख्रीष्टबारे चाहिं के भन्न सकिन्छ? के उहाँ वास्तवमा हुनु हुन्थ्यो र? येशू ख्रीष्ट एक जना ऐतिहासिक व्यक्ति हुनु हुन्थ्यो भनेर उहाँका जीवनी र ईश्वरीय प्रेरणाद्वारा युनानी भाषामा लेखिएका मसीही शास्त्रहरूले स्पष्ट र जोरदार ढङ्गमा दिंदछ। येशू ऐतिहासिक व्यक्ति हुनु हुन्थ्यो भन्ने प्रमाण यहूदी टाल्मुडमा (Talmud) पनि पाइन्छ। यसले येशूलाई एउटा वास्तविक व्यक्ति मान्दछ। यस तथ्यलाई प्रथम शताब्दीका यहूदी र रोमी इतिहासकारहरूले पनि स्वीकारेका थिए।
१२, १३. परमेश्वरको राज्यको यथार्थतालाई कुन कुन वास्तविकताहरूले प्रमाणित पार्दछ?
१२ परमेश्वरको राज्यको यथार्थताबारे के भन्न सकिन्छ? मसीही जगतले यस विषयको अक्सर उपेक्षा गर्दछ। यो कुरा प्रेस्बिटेरी गिर्जाको एक जना विशिष्ट सदस्यले गरेको सिकायतद्वारा ज्ञात हुन्छ: “तीस वर्षभन्दा बढी भइसक्यो, आजसम्म गिर्जाको प्रचारकले आफ्ना स्रोताहरूलाई राज्यको यथार्थता बुझाउन खोजेको मैले सुन्न पाएको छैन।” तर, राज्यद्वारा नै यहोवाको नाम पवित्र गराइनेछ भन्ने विषय परमेश्वरको वचनको मूल ध्येय हो। राज्य सम्बन्धी प्रथम प्रतिज्ञा परमेश्वरले स्वयं यी शब्दहरूमा गर्नु भएको थियो: “तेरो र स्त्रीको बीचमा, र तेरो सन्तान र स्त्रीको सन्तानको बीचमा म दुश्मनी हालिदिनेछु। त्यसले तेरो शिर कुच्याउनेछ, र तैंले त्यसको कुर्कुच्चो डस्नेछस्।” (उत्पत्ति ३:१५) इस्राएली राष्ट्र त्यो राज्यको एउटा अग्रिम झल्को थियो। विशेष गरी सुलेमान राजाको शासनकालमा। (भजनसंग्रह ७२) साथै, परमेश्वरको राज्य नै येशूको प्रचारको मूल विषय थियो। (मत्ती ४:१७) उहाँले आफ्ना धेरै जसो उखानहरूमा यो राज्यको चर्चा गर्नु भयो। उदाहरणका लागि मत्तीको १३ वाँ अध्यायमा उल्लेखित उखानहरू हेर्नुहोस्। येशूले हामीलाई त्यही राज्यका लागि प्रार्थना गर्न र त्यसैलाई प्रथम स्थान दिन भन्नुभयो। (मत्ती ६:९, १०, ३३) भनौं भने, युनानी भाषामा लेखिएको मसीही शास्त्रमा परमेश्वरको राज्यको चर्चा झन्डै झन्डै १५० पटक गरिएको छ।
१३ शक्ति र अख्तियारले सम्पन्न त्यो राज्य एउटा वास्तविक सरकार हो र त्यसले सबैको आशा पूरा गरिदिनेछ। त्यसका एक मुष्ट कानुनहरू बाइबलमा पाइन्छन्। त्यो राज्यले धेरै कुरा सम्पन्न गरी सकेको छ। त्यसका वफादार प्रजाहरू छन्। तिनीहरू यहोवाका ४०,००,००० भन्दा बढी साक्षीहरू हुन्। मत्ती २४:१४ मा उल्लेखित भविष्यवाणी पूरा गर्दै ती प्रजाहरूले २११ मुलुकहरूमा परमेश्वरको राज्यको सुसमाचारको प्रचार गरिरहेका छन्। १९९१ को सेवकाई वर्षभरि, राज्यको समाचार प्रचार गर्नमा तिनीहरूले ९५,१८,७०,०२१ घण्टाहरू बिताए। तिनीहरूको यो गतिविधिको वास्तविक र स्थायी परिणाम प्रत्यक्ष छ किनकि भीडका भीड मानिसहरूले बाइबलका सत्य कुराहरूमा आधारित “शुद्ध भाषा” सिकिरहेका छन्।—सपन्याह ३:९.
राज्यका यथार्थताहरूको पछि लाग्नु
१४. परमेश्वरको राज्यको यथार्थताका निम्ति हामीले आफ्नो मूल्याङ्कन कसरी बढाउन सक्तछौं?
१४ हामी राज्यका यथार्थताहरूको पछि कसरी लाग्न सक्तछौं? यसको लागि हाम्रो आशा दृढ विश्वासमा आधारित हुनु पर्दछ। परमेश्वरले प्रतिज्ञा गर्नु भएका नया संसार हाम्रा लागि एउटा वास्तविकता हुनु पर्दछ। (२ पत्रुस ३:१३) परमेश्वरले “[हाम्रा] आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीडा फेरि केही हुनेछैन” भन्ने प्रतिज्ञामा हामीले विश्वास गर्नुपर्दछ। (प्रकाश २१:४) यो एउटा काल्पनिक कुरा मात्र होइन भनेर हामी कसरी विश्वस्त हुन सक्तछौं? परमेश्वरले झूट बोल्नु असम्भव छ। यसकारण समयमा यो प्रतिज्ञा पूरा नभइ छाडदैन। (तितस १:१, २; हिब्रू ६:१८) यी प्रतिज्ञाहरूमा हामीले मनन गर्नु पर्दछ। परमेश्वरको नया संसारमा हामी बसोबास गरेको र त्यहाँका आशिषहरू उपभोग गरेको कल्पना गर्नु कुनै फोस्त्रो दिवास्वप्न होइन। बरु त्यसबाट हाम्रो विश्वास प्रमाणित हुँदछ। पावलले दिएका परिभाषाअनुसार, “विश्वास चाहिं आशा राखेका कुराको निश्चयता, र नदेखेका कुराको प्रमाण [यथार्थता, न्यु०व०] हो।” (हिब्रू ११:१) आफ्नो यो विश्वासलाई हामी बलियो पारौं। यसो गर्नका लागि नियमित रूपमा परमेश्वरको वचन र त्यसलाई बुझ्ने सहायता दिने अन्य मसीही प्रकाशनहरू अध्ययन गर्ने गरौं। र औपचारिक वा अनौपचारिक, जुन रूपमा होस्, यो राज्यबारे अरूहरू सित कुरा गर्न हामी जति बढी समय बिताउँछौं, त्यसबारे आफ्नो विश्वासलाई उति नै बलियो र आशालाई त्यति नै उज्यालो पार्दछौं।
१५. मसीही सेवकाईबारे हाम्रो कर्त्तव्य के हो?
१५ राज्यका यथार्थताहरूका पछि लाग्नुको अर्थ हामीले आफ्नो सेवकाईको गुणस्तरमा उन्नति ल्याउनु पनि हो। यो हामी कसरी गर्न सक्छौं? (मत्ती ९:३७, ३८) आफ्नो उमेर जति नै पाको भए तापनि हामी सिक्न चाहिं सक्तछौं। साक्षी दिने काममा हामीले धेरै समयदेखिन् भाग लिइरहेका छौं भने पनि, उन्नति गर्ने खाँचो रही नै रहन्छ। परमेश्वरको वचन प्रयोग गर्नमा हामी जति सिपालु हुन्छौं, उति नै बढी हामी अरूहरूलाई राजा येशू ख्रीष्टको आह्वान सुन्न मद्दत दिन सक्छौं। (यूहन्ना १०:१६ सित तुलना गर्नुहोस्) मानिसहरूको अनन्तकालीन भविष्यहरू यसमा विथोलित छन्। यसकारण, हामीले आफ्नो प्रचार-इलाकामा बस्ने कोही पनि नछुट्ने गरी प्रचार गर्नु पर्दछ। त्यहाँका मानिसहरू “भेडा” अथवा “बाख्राको” पक्षमा छन् भनेर स्वयं प्रदर्शित गर्ने मौका हामीले तिनीहरूलाई बारम्बार दिनु पर्दछ। (मत्ती २५:३१-४६) यसो गर्नका लागि हामीले मानिस फेला नपरेका घरहरू र विशेषगरी राज्यको समाचारमा चासो देखाउनेहरूको नाम र ठेगाना लेखेर राख्नु पर्दछ।
राज्यको पिछा गरी नै रहनुहोस्
१६. राज्यका यथार्थताहरूका पछि लाग्नमा कसले एउटा राम्रो उदाहरण कायम गरेका छन् र तिनीहरूले राज्यलाई कुन अर्थमा “हासिल” गरिरहेका छन्?
१६ राज्यका यथार्थताहरूको पिछा गरी नै रहनका लागि साँचो हृदयका साथ कोशिश गर्नु आवश्यक छ। बाँकी रहेका अभिषिक्त मसीहीहरूको जोशिलो उदाहारणबाट के हामी प्रोत्साहन पाउँदैनौं र? तिनीहरूले राज्यका यथार्थताहरूको पिछा गरेका धेरै दशक भइसक्यो। यस प्रकार पछि लाग्ने कार्यको वर्णन येशूका यी शब्दहरूमा गरिएको थियो: “औ बप्तिस्मा दिने यूहन्नाका दिनदेखि यसो अहिलेसम्म स्वर्गको राज्य नै मानिसहरूको लक्ष्य भएको छ र त्यही लक्ष्य हासिल गर्न मानिसहरू जोरतोडका साथ अघि लम्किरहेका छन्।” (न्यु०व०, मत्ती ११:१२) यसको अर्थ राज्यलाई शत्रुहरूले हासिल गर्न खोजको होइन। बरु, राज्यमा प्रवेश पाउने आशा भएकाहरूको गतिविधिको चर्चा यहाँ भइ रहेको छ। बाइबलका एकजना विद्वानले भने: “आउने वाला मसीही राज्यका निम्ति गरिएको त्यो उत्सुकतापूर्ण कोशिश र सङ्घर्षको वर्णन यी शब्दहरूले गर्दछन्।” अभिषिक्त जनहरूले राज्यलाई अपन्याउनका लागि हर प्रयास गरेका छन्। त्यस्तै प्रकारको प्रयास “अरू भेडाहरूले” पनि गर्नु आवश्यक छ। अनि मात्र तिनीहरू परमेश्वरको स्वर्गीय राज्यका पार्थिव प्रजाहरू हुने योग्यका हुनेछन्।—यूहन्ना १०:१६.
१७. सांसारिक कल्पनाहरूको पछि लाग्नेहरूको अवस्था के हुनेछ?
१७ साँच्चै नै, हामी मौका पाउने एउटा विशेष समयमा बाँची रहेका छौं। सांसारिक कल्पनाहरूको पछि लाग्नेहरूले कुनै दिन झसङ्ग भएर कठोर वास्तविकताहरूको सामना गर्नु पर्ने छ। तिनीहरूको अवस्थाको वर्णन यी शब्दहरूमा खूबै राम्रोसित गरिएको छ: “जसरी भोकाएको मानिसले सपनामा खाएको देख्छ, तर व्यूझँदा पेट रित्तै हुन्छ, अथवा जसरी तिर्खाएको मानिसले सपनामा पिएको देख्छ, तर ब्यूझँदा घाँटी सुकिरहेको र तिर्खाले मर्नैलागेको हुन्छ।” (यशैया २९:८) निःसन्देह, संसारका कल्पनाहरूले कसैलाई पनि तृप्त र आनन्दित तुल्याउन सक्तैन।
१८. राज्यको यथार्थतालाई ध्यानमा राख्तै, हामीले आफ्नो सामुन्ने के आशा राखेर, कुन मार्ग अपन्याउनु पर्दछ?
१८ यहोवाको राज्य एउटा वास्तविकता हो। त्यो राज्यले सक्रिय ढङ्गमा शासन गरिरहेको छ। तर यो दुष्ट रीतिरिवाज चाँडै नै सधैंका लागि नष्ट हुनेछ। अतः, पावलले दिएका यस सल्लाहको हामी हृदयङ्गम गरौं: “अरूहरू झैं हामी नसुतौं, तर जागा रहौं र होशियार होऔं।” (१ थिस्सलोनिकी ५:६) हामी आफ्ना मन र हृदय, राज्यका यथार्थताहरूमा केन्द्रित राखौं र अनन्तकालीन आशिषहरू उपभोग गरौं। र हामीलाई त्यस राज्यका राजाले यसो भन्नु भएको हामी सुन्न पाउन सकौं: “आओ, ए मेरा पिताका धन्यका हो, जो राज्य जगतको उत्पत्तिदेखि तिमीहरूका निम्ति तयार गरिएको छ, त्यो अधिकार गर।”—मत्ती २५:३४. (w92 7/15)
[फुटनोट]
a वाच्टावर बाइबल एण्ड ट्र्याक्ट सोसाइटी अफ न्यू योर्क इन्को, द्वारा प्रकाशित् बाइबल—परमेश्वरको वचन कि मानिसको? (The Bible—God’s Word or Man’s? नेपालीमा उपलव्ध छैन) हेर्नुहोस्।
तपाईं कसरी जवाफ दिनु हुन्छ?
◻ सांसारिक कल्पनाहरू के हुन् र हामीले तिनीहरूलाई किन तिरस्कार गर्नु पर्दछ?
◻ सांसारिक कल्पनाहरू गरी रहनु गलत हो भनेर कुन उदाहरणहरूले देखाउँदछ?
◻ सृष्टिकर्त्ता, उहाँका लिखित वचन, येशू ख्रीष्ट र राज्यका यथार्थताको प्रमाण के ले दिन्छ?
◻ राज्यका यथार्थताहरूमा हामीले आफ्नो विश्वासलाई कसरी बलियो पार्न सक्तछौं?
[पृष्ठ २७-मा भएको चित्र]
सांसारिक धन-सम्पत्तिको लालचले अक्सर सांसारिक कल्पनाहरूलाई उत्पन्न गर्दछ
[पृष्ठ २८-मा भएको चित्र]
सुसमाचार प्रचार गर्नु राज्यको यथार्थताहरूका पछि लाग्ने एउटा तरीका हो
[पृष्ठ २९-मा भएको चित्र]
के तपाईं लगनशीलताका साथ परमेश्वरको वचन अध्ययन गर्दै, राज्यका यथार्थताहरूको पिछा गर्नु हुँदैछ?