प्रार्थनाहरूको गुणस्तर तपाईं कसरी बढाउन सक्नुहुन्छ?
यहोवा परमेश्वरका अद्भुत प्रबन्धहरूमध्ये प्रार्थना अनुपम छ। विरोधीहरूले तपाईंको बाइबल जफत गर्न वा सँगी उपासकहरूसित भेला हुन रोक्न सक्छन् तर तपाईंलाई प्रार्थना गर्नदेखि कसैले रोक्न सक्दैन। प्रार्थनाको महत्त्व अनमोल छ। अतः हामी प्रत्येकले यो सुअवसरको कदर गर्नु तथा त्यसबाट पूरापूर फाइदा उठाउनु कतिको महत्त्वपूर्ण छ। प्रार्थनाहरूको गुणस्तर बढाउन तपाईंलाई कुन कुराले मदत गर्न सक्छ?
बाइबल प्रार्थनाको पुस्तक होइन। यद्यपि, यसलाई प्रार्थनासम्बन्धी मानवजातिको सर्वोत्तम पाठ्यपुस्तक हो भन्न सकिन्छ। हिब्रू शास्त्रमा मात्रै १५० भन्दा बढी प्रार्थनाहरू पाइन्छन्। केही छोटा छन्; केही लामा छन्। यी प्रार्थनाहरू राजा वा बन्दीहरूले विजय वा संकट, सार्वजनिक वा गुप्तमा गरेका थिए। दाऊदले भजनसंग्रह ६५:२ मा गाएझैं “प्रार्थना सुन्नुहुने” यहोवाकहाँ “सबै प्राणी आउनेछन्।” प्रार्थनाहरूको यो बृहत् संकलन लिपिबद्ध गर्न परमेश्वरले बाइबलका लेखकहरूलाई किन प्रेरित गर्नुभयो?
त्यस प्रश्नको जवाफ पाउन २ तिमोथी ३:१६ ध्यान दिनुहोस्। त्यहाँ यसो भनिएको छ: “परमेश्वरबाट प्रेरणा भएको . . . धर्मशास्त्र . . . उपयोगी हुन्छ।” तसर्थ, बाइबलमा लिपिबद्ध प्रार्थनाहरूले हामीलाई शास्त्रीय भविष्यवाणी, सिद्धान्तहरू र इतिहासले झैं डोऱ्याउँछन्। यी प्रार्थनाहरू हाम्रो लागि कसरी लाभकारी हुन सक्छन्?
यी शास्त्रीय प्रार्थनाहरू गहिरिएर केलाउँदा हाम्रोजस्तै परिस्थितिमा भनिएका ती प्रार्थनाहरू राम्ररी बुझ्न सक्छौं। यसबाहेक, प्रार्थनाहरूको उद्देश्य र प्रकार कसरी बेग्लाबेग्लै हुन्छन् भनी हामी सिक्न सक्छौं। साथै प्रशंसा तथा धन्यवाद व्यक्त गर्न नयाँ अभिव्यक्ति भेटाउनेछौं र बिन्ती तथा निवेदनहरूका लागि जीवन्त शब्दहरू पाउनेछौं। संक्षिप्तमा भन्ने हो भने, हाम्रा प्रार्थनाहरूको गुणस्तर बढाउन बाइबलका प्रार्थनाहरूले मदत पुऱ्याउन सक्छन्।
बाइबलमा लिपिबद्ध प्रार्थनाहरूका अभिव्यक्तिहरूबाट लाभ उठाउने व्यक्ति सम्भवतः येशूकी आमा, मरियम हुन सक्छिन्। दैवीय सहयोगद्वारा मरियम र इलिशिबा दुवैले गर्भधारण गरेपछि मरियम आफ्नो नातेदार इलिशिबालाई भेट्न गइन्। मरियमले परमेश्वरलाई प्रशंसा र धन्यवाद चढाइन्। उनले व्यक्त गरेका केही शब्दहरू हिब्रू शास्त्रमा उल्लिखित एउटा प्रार्थनासित स्पष्टतः मेल खान्छ। अगमवक्ता शमूएलकी आमा, हन्नाको प्रार्थनासित मरियम परिचित थिइन् जस्तो देखिन्छ। हजार वर्षभन्दा अघि हन्नाले पनि परमेश्वरको मदतद्वारा गर्भधारण गरेकी थिइन्। आफ्नै भावनाहरू प्रतिबिम्बित भएको हुँदा मरियमले यी प्रार्थनाहरूमाथि मनन गरेकी हुन सक्दिनन् र?—१ शमूएल २:१-१०; लूका १:४६-५५.
तपाईंबारे के भन्न सकिन्छ? तपाईंकै जस्तो परिस्थितिमा गरिएको बाइबलको कुनै प्रार्थना के तपाईंलाई सम्झना छ? त्यस्ता प्रार्थनाहरू भेटाउँदा, पढ्दा र मनन गर्दा परमेश्वरसित तपाईंको सञ्चारलाई गुणस्तरीय बनाउन मदत मिल्नेछ। यस पछिको लेखमा पवित्र शास्त्रबाट तीन वटा प्रार्थनाहरू केलाउन हामी तपाईंलाई निमन्त्रणा दिन्छौं। ती प्रार्थनाहरू सायद तपाईंको जस्तै बेग्लाबेग्लै परिस्थितिहरूमा गरिएका थिए।