प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w95 ४/१५ पृ. २-६
  • के धार्मिक सत्य प्राप्त गर्न सकिन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के धार्मिक सत्य प्राप्त गर्न सकिन्छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • दर्शनशास्त्र र सत्य
  • के सत्यको प्रकटीकरण चाहिन्छ?
  • धर्म र सत्य
  • ‘गहुँ र सामा’
  • मसीहीहरूले आत्मा र सत्यतामा उपासना गर्छन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • सत्य किन खोज्ने?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • सत्यका परमेश्‍वरको देखासिकी गर्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • “सत्यले तिमीहरूलाई स्वतन्त्र तुल्याउनेछ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
w95 ४/१५ पृ. २-६

के धार्मिक सत्य प्राप्त गर्न सकिन्छ?

स्वीडेनस्थित उप्साला नगरको विश्‍वविद्यालयमा अध्ययनरत र आध्यात्मिक कुराहरूमा कौतूहल एक मानिसले आफ्नो शहरका बेग्लाबेग्लै धार्मिक विश्‍वासहरू अध्ययन गर्ने निर्णय गरे अनि तिनीहरूका उपासना थलोहरूमा समेत गए। पादरीहरूले प्रचार गरेको तिनले सुने र केही सदस्यहरूसित अन्तर्वार्ता लिए। आफूले “सत्य भेटाएका छन्‌” भनी यहोवाका साक्षीहरू मात्र विश्‍वस्त भएजस्तो तिनलाई लाग्यो। त्यति धेरै धार्मिक विचारधाराहरूको बावजूद साक्षीहरूले त्यस्तो दाबी कसरी गर्न सके भनी तिनले सोच्न थाले।

व्यक्‍तिगत तवरमा के तपाईंलाई धर्मसम्बन्धी सत्य प्राप्त गर्न सकिन्छ जस्तो लाग्छ? शाश्‍वत सत्य भनी के कुनै कुरालाई निर्धारणसमेत गर्नु सम्भव छ र?

दर्शनशास्त्र र सत्य

मानवजातिले शाश्‍वत सत्य कहिल्यै प्राप्त गर्न सक्दैन भन्‍ने दृष्टिकोण दर्शनशास्त्र अध्ययन गर्नेहरूले विकास गरेका छन्‌। दर्शनशास्त्रलाई “अस्तित्व र जीवनको सुरुआतको विषयमा वर्णन गर्न प्रयत्न गर्ने विज्ञान” भनी परिभाषित गरिएको त तपाईंलाई थाहै होला। तापनि यथार्थमा भने त्यो हदसम्म पुग्न सकेको छैन। फिलोसोफिन्स्‌ हिस्टोरिया-मा (दर्शनशास्त्रको इतिहास), स्वीडेली ग्रन्थकार आल्फ आल्बर्गले यसप्रकार लेखे: “धेरैजसो दार्शनिक प्रश्‍नहरूको प्रकृतिले गर्दा नै तिनीहरूको निश्‍चित जवाफ दिन मिल्दैन। . . . यथार्थबाहिरका समस्याहरू [वस्तुको प्रथम सिद्धान्तसित सम्बन्धित] यही समूहमा पर्छन्‌ भन्‍ने विचारधारा धेरै मानिसहरूको छ।”

फलस्वरूप, दर्शनशास्त्रद्वारा जीवनसम्बन्धी अत्यावश्‍यक प्रश्‍नहरूका जवाफ पाउन खोज्ने व्यक्‍तिहरू अन्तमा असन्तुष्ट र दुःखी भएका छन्‌। टान्कलिनियर ओक ट्रस्फर्मर (विचारधाराहरू र धार्मिक विश्‍वास) पुस्तकमा स्वीडेली ग्रन्थकार गनर आस्पेलिनले यसो भने: “पुतली र लामखुट्टेमा प्रकृतिले कुनै चासो नराखेझैं मान्छेको पनि कुनै वास्ता राखिंदैन। . . . हाम्रो ब्रम्हाण्ड र भित्री संसारका शक्‍तिहरूको सामु हामी शक्‍तिहीन, पूर्णतया शक्‍तिहीन छौं। शताब्दीको अन्ततिर साहित्यमा जीवनसम्बन्धी प्रायजसो यस्तै दृष्टिकोण देखिन्थ्यो, जब मानिसहरूले आफ्नो विश्‍वास विकासमा राखेका र उत्तम संसारको सपना देखेका थिए।”

के सत्यको प्रकटीकरण चाहिन्छ?

मानव प्रयासहरूद्वारा मात्र जीवनबारे सत्य थाह पाउन सकिंदैन नता तिनीहरूले कहिल्यै सक्नेछन्‌ भन्‍ने कुरा स्पष्ट छ। त्यसकारण कुनै प्रकारको ईश्‍वरीय प्रकटीकरण अत्यावश्‍यक छ भन्‍ने निष्कर्षमा पुग्ने ठोस कारण छ। कसै कसैले भन्‍ने गरेको प्रकृतिमाताले केही प्रकटीकरण प्रदान गर्छिन्‌। यसले जीवनको सुरुआतसम्बन्धी ठोस विवरणहरू नदिए तापनि जीवनको तात्त्विक स्पष्टीकरणबाहेक अझ सन्तोषजनक जवाफ उपलब्ध छ भनी अवश्‍य देखाउँछ। हुर्किरहेको घाँसको बाला र खाल्डामा धसिरहेका चटानको थुप्रोको बनावट बेग्लै हुन्छ। निर्जीव वस्तुहरूको विपरीत जीवित वस्तुहरूले आफ्नो निर्माण आफै गर्छ र आफूलाई व्यवस्थित पार्छ। तसर्थ, कानुन र धर्मका ख्यातिप्राप्त विद्यार्थी यस निष्कर्षमा पुग्नुको ठोस आधार थियो, “[परमेश्‍वरको] अदृश्‍य गुण, . . . संसारको सृष्टिदेखिनै बनिएका कुराबाट थाह . . . भएको छ।”—रोमी १:२०.

तर यस निर्माण र व्यवस्थापनपछाडि को छ भनी थाह पाउन हामीलाई थप प्रकटीकरण चाहिन्छ। त्यस्तो प्रकटीकरण होला भनी के हामीले आशा गर्नु पर्दैन र? पृथ्वीमा जीवनको लागि जिम्मेवार व्यक्‍तिले आफ्ना प्राणीहरूसमक्ष आफूलाई प्रकट गर्नुहुनेछ भनी आशा गर्नु के तर्कसंगत हुनेछैन र?

बाइबलले त्यस्तो प्रकटीकरणको दाबी गर्छ। यो दाबी स्वीकार्ने राम्रा कारणहरू हामीले यस पत्रिकामा प्रायजसो प्रस्तुत गरेका छौं अनि थुप्रै विचारशील मानिसहरूले ती स्वीकारेका पनि छन्‌। बाइबलका लेखकहरूले आफ्नै विचारधारा व्यक्‍त नगरी त्यसलाई अझ स्पष्ट पार्न साह्रै उत्सुक हुनु नै उल्लेखनीय छ। बाइबलका अगमवक्‍ताहरूले ३०० पटकभन्दा बढी “परमप्रभु यसो भन्‍नुहुन्छ” जस्ता अभिव्यक्‍तिहरू प्रयोग गरेका पाउँछौं। (यशैया ३७:३३; यर्मिया २:२; नहूम १:१२) पुस्तक वा लेखहरू लेख्ने पुरुष तथा स्त्रीहरू आफ्नो कृतिमा हस्ताक्षर गर्न प्रायजसो उत्सुक हुने कुरा त तपाईंलाई थाहै होला। यद्यपि, बाइबलका लेखकहरूले आफूलाई श्रेय दिएनन्‌; कहिलेकाहीं बाइबलका केही अंशहरू कसले लेखे, त्यो पत्ता लगाउन पनि गाह्रो पर्छ।

तपाईंलाई उल्लेखनीय लाग्ने बाइबलको अर्को पक्ष यसको आन्तरिक सामञ्जस्य हुनसक्छ। यो साँच्चै अचम्मको छ किनभने १,६०० वर्षको अवधिमा बाइबलका ६६ पुस्तकहरू लेखिए। मानि लिनुहोस्‌, सार्वजनिक पुस्तकालयमा गएर १६ शताब्दीहरूको दौडान लेखिएका ६६ वटा धार्मिक पुस्तकहरू तपाईंले छान्‍नुभयो। त्यसपछि ती अलग अलग पुस्तकहरू जम्मा गरेर एउटै पुस्तक बनाउनुभयो। त्यो पुस्तकको विषय एउटै र समाचार सामञ्जस्यपूर्ण हुनेछ भनी के तपाईं आशा गर्नुहुनेछ? कदापि गर्नु हुनेछैन। त्यसो हुन त चमत्कार हुनुपर्छ। तथापि, यसमाथि ध्यान दिनुहोस्‌: बाइबलका पुस्तकहरूको एउटै विषय छ र त्यसले एकअर्काको समर्थन गर्छ। बाइबलका लेखकहरूलाई एउटै विषयवस्तु लिपिबद्ध गर्न लगाउने मार्गनिर्देशक वा ग्रन्थकार हुनुपर्छ भनी यसले प्रदर्शित गर्छ।

तथापि, बाइबलको ईश्‍वरीय स्रोत साबित गर्ने सबैभन्दा ठोस प्रमाण तपाईंले पाउनुहुनेछ। त्यो हो, भविष्यवाणीहरू अर्थात्‌ भविष्यमा हुने घटनाबारे लेखिएको अग्रिम जानकारी। “त्यस दिन” र “पछिल्ला दिनमा” जस्ता अभिव्यक्‍तिहरू बाइबलमा मात्रै पाइन्छन्‌। (यशैया २:२; ११:१०, ११; २३:१५; इजकिएल ३८:१८; होशे २:२१-२३; जकरिया १३:२-४) येशू ख्रीष्ट पृथ्वीमा आउनुभन्दा सयौं वर्षअघि जन्मदेखि मृत्युसम्म उहाँको जीवनसम्बन्धी सम्पूर्ण विवरणहरू हिब्रू शास्त्रका भविष्यवाणीहरूले प्रदान गरेको थियो। जीवनबारे सत्यको स्रोत बाइबलबाहेक अरू कुनै होला भन्‍ने तार्किक निष्कर्षमा पुग्न सकिंदैन। यी शब्दहरूद्वारा येशू स्वयंले पुष्टि दिनुहुन्छ: “तपाईंको वचन सत्य हो।”—यूहन्‍ना १७:१७.

धर्म र सत्य

बाइबलमा विश्‍वास गर्छु भनी दाबी गर्नेहरूसमेत पूर्ण सत्य प्राप्त गर्न सकिंदैन भन्‍ने विश्‍वास राख्छन्‌। सं.रा. का पादरी, जोन एस. स्पंगले यस्तो टिप्पणी गरे: “सत्य हामीसित मात्रै छ भन्‍ने विचारधारा अब . . . हामीले छाड्‌नुपर्छ र पूर्ण सत्य हामी कसैले प्राप्त गर्न सक्दैनौं भन्‍ने हाम्रो दृष्टिकोणसित अरू सहमत हुनुपर्छ।” सत्य पत्ता लगाउने सन्दर्भमा त्यस्ता नकारात्मक दृष्टिकोणहरूबारे रोमन क्याथोलिक ग्रन्थकार, क्रिस्टोफर डेरिक एउटा कारण यसरी दिन्छन्‌: “धार्मिक ‘सत्य’ उल्लेख गर्नुको अर्थ आफूलाई केही थाह भएको दाबी गर्ने संकेत दिनु हो . . . अर्को व्यक्‍ति चाहिं सम्भवतः गलत होलान्‌ भन्‍ने संकेत तपाईं दिनुहुन्छ; त्यो कुनै पनि हालतमा स्वीकारयोग्य हुनेछैन।”

तथापि, विचारशील व्यक्‍तिको हैसियतमा केही सान्दर्भिक प्रश्‍नहरू छलफल गर्नु तपाईंको लागि लाभकारी हुनेछ। सत्य प्राप्त गर्न नसकिंदो हो त, येशूले यसो किन भन्‍नुहुन्थ्यो: “तिमीहरूले सत्य के हो, सो जान्‍नेछौ, र सत्यले तिमीहरूलाई स्वतन्त्र तुल्याउनेछ।” अनि सबै “मानिसहरूले उद्धार पाऊन्‌ र तिनीहरू सत्यको ज्ञानमा आऊन्‌” भन्‍ने परमेश्‍वरको इच्छा छ भनी येशूको एक प्रेरितले किन भन्‍नेथिए र? मसीही युनानी शास्त्रमा विश्‍वास सँगसँगै सय पटकभन्दा बढी “सत्य” शब्द किन प्रयोग गरिन्थ्यो र? सत्य प्राप्त गर्न सकिंदैन भने प्रयोग नै किन गर्नु र?—यूहन्‍ना ८:३२; १ तिमोथी २:३, ४.

वास्तवमा, सत्य प्राप्त गर्न सकिन्छ भनेर मात्र होइन तर हाम्रो उपासना परमेश्‍वरको सामु ग्रहणयोग्य हुन त्यो सत्य भेटाउनु आवश्‍यक छ भनी येशूले औंल्याउनुभयो। यहूदीहरूले यरूशलेममा वा सामरीहरूले गीरिज्जीममा गर्ने उपासनामध्ये कुन चाहिं सही उपासना थियो भनी सामरी स्त्रीले प्रश्‍न गर्दा येशूले सत्य प्राप्त गर्न सकिंदैन भन्‍ने जवाफ दिनुभएन। बरु, उहाँले यसो भन्‍नुभयो: “साँचोसँग पुज्नेहरू पितालाई आत्मा र सत्यतामा पुज्नेछन्‌। किनकि पिताले उहाँलाई पुज्नेहरू यस्तै चाहनुहुन्छ। परमेश्‍वर आत्मा हुनुहुन्छ, औ उहाँलाई पुज्नेहरूले आत्मा र सत्यतामा पुज्नुपर्दछ।”—यूहन्‍ना ४:२३, २४.

धेरै मानिसहरू दाबी गर्छन्‌, ‘विभिन्‍न किसिमले बाइबलको अर्थ खुलाउन सकिन्छ, त्यसकारण सत्य यही हो भनेर कोही पनि निश्‍चित हुन सक्दैन।’ तर कसरी बुझ्नुपर्ने हो, त्यो बुझ्नै नसकिने गरी साँच्चै नै अस्पष्ट ढंगमा बाइबल लेखिएको छ र? हो, केही भविष्यसूचक तथा लाक्षणिक अर्थहरू बुझ्न गाह्रो हुनसक्छ। उदाहरणको लागि, प्रायजसो भविष्यसूचक भाषामा लेखिएको दानियलको पुस्तकका सम्पूर्ण कुराहरू “अन्तको समय” नआउञ्जेल बुझिनेछैन भनी परमेश्‍वरले दानियल अगमवक्‍तालाई भन्‍नुभयो। (दानियल १२:९) अनि केही उखान तथा चिन्हहरू प्रस्टाउनु पर्ने आवश्‍यकता पनि प्रष्ट देखिन्छ।

तापनि, यो कुरा स्पष्ट छ, आधारभूत मसीही शिक्षाहरू तथा सत्यमा परमेश्‍वरको उपासना गर्न अपरिहार्य नैतिक मूल्यहरूको विषयमा बाइबल असाध्यै खुलस्त छ। यसले विरोधाभासपूर्ण अर्थहरूलाई कुनै ठाउँ दिंदैन। एफिसीहरूलाई लेखिएको पत्रमा मसीही विश्‍वास धेरै नभई “एउटै” हुनेछ भनेर देखाइएको छ। (एफिसी ४:४-६) शायद तपाईं सोच्नुहोला, ‘बाइबलको सही अर्थ विभिन्‍न प्रकारले खुलाउन सकिंदैन भने यति धेरै “मसीही” सम्प्रदायहरू किन?’ येशूका प्रेरितहरूको मृत्युको केही समयपश्‍चात्‌ साँचो मसीही धर्मबाट उत्पन्‍न धर्मत्यागलाई हेऱ्‍यौं भने हामी त्यसको जवाफ पाउन सक्छौं।

‘गहुँ र सामा’

गहुँ र सामाको उखानमा येशूले यो धर्मत्यागबारे भविष्यवाणी गर्नुभयो। “गहुँ[ले]” साँचो मसीहीहरू, “सामा[ले]” झूटो वा धर्मत्यागी मसीहीहरूको प्रतिनिधित्व गर्छ भनी येशू स्वयंले बताउनुभयो। “मानिसहरू सुतेको बेलामा उसको शत्रु” आएर गहुँको खेतमा सामा छर्नेछ भनी येशूले भन्‍नुभयो। प्रेरितहरू मृत्युको निद्रामा परेपछि यो छर्ने काम सुरु भयो। साँचो तथा झूटा मसीहीहरू “जगत्‌को अन्तसम्म” छ्यासमिस हुनेछन्‌ भनी यो उखानले देखाउँछ। तसर्थ, धार्मिक खेतमा नाउँ मात्रका मसीहीहरूले अधिकार जमाएकोले शताब्दीयौंदेखि साँचो मसीहीहरूको चिनारी अस्पष्ट भएको छ। तथापि, “जगत्‌को अन्तमा” परिवर्तन आउनेछ। “मानिसको पुत्रले” साँचो र झूटो मसीहीहरू छुट्याउन “आफ्ना स्वर्गदूतहरू पठाउनेछ।” यसको अर्थ, त्यतिबेला मसीही मण्डली चिन्‍न सजिलो हुनेछ र प्रेरितहरूको समयमा जस्तै त्यसको स्थान रहनेछ।—मत्ती १३:२४-३०, ३६-४३.

“पछिल्ला दिनमा” साँचो उपासकहरू पुनः जम्मा गरिनेछन्‌ भनी यशैया र मीका दुवै भविष्यवाणी गर्छन्‌। यशैया यसो भन्छन्‌: “पछिल्ला दिनमा परमप्रभुको भवन बसालिएको पर्वत सबै पर्वतहरूभन्दा उच्च पारिनेछ। डाँड़ाहरूभन्दा माथि त्यो उच्च उठाइनेछ। सबै जातिहरू त्यहीतर्फ ओइरिएर आउनेछन्‌। जाति जातिका धेरै मानिसहरू त्यहाँ गएर भन्‍नेछन्‌, ‘आऊ हामी परमप्रभुको पर्वतमा उक्लेर याकूबका परमेश्‍वरको भवनमा जाऔं। उहाँले हामीलाई आफ्नो मार्ग देखाउनुहुनेछ, र हामी उहाँको बाटोमा हिंड़नेछौं।’” विचारशील भएर तथ्यहरू केलाउँदा यशैयाको भविष्यवाणी हाम्रो समयमा पूरा भइरहेको देखिन्छ।—यशैया २:२, ३; मीका ४:१-३.

तथापि, कुनै मानव प्रयासद्वारा मसीही मण्डलीको वृद्धि भइरहेको होइन। यो जम्मा गर्ने कार्यको लागि “आफ्ना दूतहरू पठाउने[छु]” भनी येशूले भविष्यवाणी गर्नुभएको थियो। यसो गर्नुको विशेष उद्देश्‍य पनि उहाँले संकेत गर्नुभयो: “तब धर्मीहरू आफ्ना पिताको राज्यमा सूर्य जस्ता चम्किला हुनेछन्‌।” (मत्ती १३:४३) मसीही मण्डलीद्वारा संसारभरि ज्ञानोद्दीपन वा शैक्षिक कार्य सञ्चालन हुनेछ भनी यसले देखाउँछ।

आज २३२ मुलुकहरूमा सम्पन्‍न शैक्षिक कार्यमा यहोवाका साक्षीहरूले यी भविष्यवाणीहरू पूरा भइरहेको देखेका छन्‌। साक्षीहरूको विश्‍वास, आचरणको स्तर तथा बाइबलअनुरूपको संगठनलाई तुलना गरेर हेर्दा निष्पक्ष मानिसहरूले ती प्रथम शताब्दीको मसीही मण्डलीजस्तै भएको स्पष्टसित देख्न सक्छन्‌। यहोवाका साक्षीहरू व्यक्‍तिगत श्रेष्ठताद्वारा उत्प्रेरित नभई आफ्नो विश्‍वास “सत्य” भएको बताउँछन्‌। बरु, विस्तृत तवरमा परमेश्‍वरको वचन, बाइबल अध्ययन गरेको र धर्मको एक मात्र सही मापदण्डसरह त्यसको अनुसरण गरेकोले त्यसो भएको हो।

प्रारम्भिक मसीहीहरूले आफ्नो विश्‍वासलाई “सत्य” भन्थे। (१ तिमोथी ३:१५; २ पत्रुस २:२; २ यूहन्‍ना १) तिनीहरूका लागि सत्य, अहिले हाम्रो लागि पनि सत्य हुनुपर्छ। बाइबल अध्ययन गरेर त्यो पक्का गर्न यहोवाका साक्षीहरू सबैलाई निमन्त्रणा दिन्छन्‌। आशा छ, त्यसो गरेर तपाईंले पनि सर्वोत्तम धर्म मात्र नभई सत्य पाएको आनन्द अनुभव गर्न सक्नुहुनेछ!

[पृष्ठ ५-मा भएको पेटी]

केही दर्शनशास्त्रहरूका विरुद्धमा सत्य

तत्त्ववाद: धार्मिक प्रकृतिका सबै विचारधाराहरू अप्रमाणित निरर्थक कुराहरू हुन्‌ र दर्शनशास्त्रको उद्देश्‍य सकारात्मक विज्ञानहरू जम्मा गरेर सिंगो बनाउनु हो भन्‍ने दृष्टिकोण।

अस्तित्ववाद: यसका समर्थकहरू दोस्रो विश्‍व-युद्धका त्रासहरूले असाध्यै प्रभावित भएका थिए र त्यसले गर्दा जीवनसम्बन्धी निराशाजनक दृष्टिकोण राख्न थाले। मृत्यु र जीवनको शून्यतासमक्ष मानिसका चिन्ताहरू जाँच्ने कुरामाथि यसले जोड दिन्छ। अस्तित्ववादी ग्रन्थकार झाँ पल सार्तेअनुसार परमेश्‍वरको अस्तित्व नभएकोले मानिस त्यागिएको छ र पूर्णतया भावशून्य ब्रम्हाण्डमा बाँच्छ।

संदेहवाद: अवलोकन र तर्कद्वारा अस्तित्वसम्बन्धी कुनै उद्देश्‍य वा सर्वव्यापी ज्ञान प्राप्त गर्न असम्भव छ भन्‍ने दृष्टिकोण।

उपयोगितावाद: यसले शिक्षा, नीति र राजनीतिजस्ता मानवीय चासोका विषयहरू छाँटकाँट गर्न व्यवहारिक उपयोगिताको आधारमा हाम्रा अटल धारणाहरूको साँचो मूल्य अनुमान गर्छ। सत्य आफैमा कुनै मूल्य हुँदैन भन्‍ने धारणा यसले राख्छ।

[पृष्ठ २-मा भएको चित्रको स्रोत]

Page 3: Second from left: Courtesy of The British Museum; Right: Sung Kyun Kwan University, Seoul, Korea

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने