पाठकहरूका प्रश्नहरू
परमेश्वरले प्रारम्भिक परिचालक निकायका सदस्यहरू छान्नुहुँदा एउटै जाति र राष्ट्रिय पृष्ठभूमिका मानिसहरू अर्थात् यहूदीहरू मात्र छान्नुभएर के पक्षपात गर्नुभएको थियो?
अवश्य, उहाँले पक्षपात गर्नुभएको थिएन। येशूले चेला भनी बोलाउनुभएका प्रथम व्यक्तिहरू सबै यहूदीहरू थिए। त्यसपछि सा.यु. ३३ मा अभिषिक्त हुने र स्वर्गमा ख्रीष्टसँग शासन गर्न अधिकार पाउने प्रथम व्यक्तिहरू यहूदीहरू र यहूदी मत मान्नेहरू थिए। पछि मात्र सामरीहरू र खतना नगरिएका अन्यजातिहरूलाई सामेल गरियो। तसर्थ, कुरा प्रष्ट छ, तत्कालीन परिचालक निकाय यहूदीहरू अर्थात् प्रेरित १५:२ अनुसार “यरूसलेममा प्रेरितहरू र धर्मगुरुहरू” मिलेर बनेको थियो। यिनीहरूसित विस्तृत शास्त्रीय ज्ञान अनि साँचो उपासनाको अनुभव थियो र परिपक्व मसीही प्राचीनहरू हुन अरूसित भन्दा बढी समय थियो।—रोमी ३:१, २ तुलना गर्नुहोस्।
परिचालक निकायले प्रेरित १५ अध्यायमा उल्लिखित सभा गर्नुअघि थुप्रै अन्यजातिहरू मसीहीहरू भइसकेका थिए। यसमा अफ्रिकी, युरोपेली र अन्य क्षेत्रका मानिसहरू समावेश छन्। यद्यपि, गैर-यहूदीहरूलाई आकर्षित गर्न परिचालक निकायमा अन्यजातिलाई सामेल गरियो भन्ने कुनै अभिलेख छैन। धर्म परिवर्तन गरेर भर्खरै मसीही भएका अन्यजातिहरूको “परमेश्वरको इस्राएल”-मा बराबर स्थान थियो। यद्यपि, तत्कालीन परिचालक निकायका सदस्यहरू अर्थात् प्रेरितहरूजस्ता यहूदी मसीहीहरूको परिपक्वता र लामो अनुभवलाई तिनीहरूले आदर गर्नुपर्थ्यो। (गलाती ६:१६) तिनीहरूको अनुभवको कति कदर गरिन्थ्यो भनी जान्न प्रेरित १:२१, २२ हेर्नुहोस्।—हिब्रू २:३; २ पत्रुस १:१८; १ यूहन्ना १:१-३.
निकै शताब्दीसम्म परमेश्वरले इस्राएल राष्ट्रसित विशेष व्यवहार गर्नुभएको थियो जुन राष्ट्रबाट येशूले आफ्ना प्रेरितहरू छान्नुभयो। हाल दक्षिण अमेरिका, अफ्रिका वा सुदूर पूर्व कहलाइने ठाउँहरूबाट कुनै प्रेरितहरू नहुनु गल्ती अथवा अन्याय होइन। वास्तवमा भन्ने हो भने, समयमा ती ठाउँका पुरुष तथा स्त्रीहरूले प्रथम शताब्दीको परिचालक निकायका सदस्यहरूको भन्दा अथवा आज परमेश्वरको जनले पाउने कुनै पनि ओहदाभन्दा महान् सुअवसरहरू पाउने थिए।—गलाती ३:२७-२९.
एक जना प्रेरित यसो भन्न उत्प्रेरित भए, “परमेश्वरले मानिसहरूको पक्षपात गर्नुहुन्न, तर हरेक जातिमा जो उहाँसँग डराउँछ, र उचित काम गर्छ, त्यसलाई उहाँले स्वीकार गर्नुहुन्छ।” (प्रेरित १०:३४, ३५) हो, ख्रीष्टले दिनुभएको छुटकाराको बलिदानका लाभहरू निष्पक्ष रूपमा सबैका निम्ति उपलब्ध छन्। र हर जाति, भाषा, कुल र राष्ट्रका मानिसहरूलाई स्वर्गीय राज्यमा अनि पृथ्वीमा सधैंभरि बाँच्ने ठूलो भीडमा सामेल गरिनेछन्।
अधिकांश मानिसहरू रंग, भाषा वा जातीय पृष्ठभूमिप्रति संवेदनशील हुन्छन्। प्रेरित ६:१ मा युनानीभाषी र हिब्रूभाषी मसीहीहरूबीचको गनगनले गर्दा उत्पन्न विवादबारे पढ्यौं भने, हामी यो कुरा बुझ्नसक्छौं। शायद हामी मानिसहरूले अहिले भाषा, रंग, जातीय पृष्ठभूमि वा लिंगभेदप्रति देखाउने संवेदनशील वातावरणबीच हुर्क्यौं होला। यदि त्यसो हो भने, आफ्ना भावनाहरू अनि प्रतिक्रियाहरूलाई परमेश्वरको दृष्टिकोणमा ढाल्ने उत्कट प्रयास गरौं। किनकि हाम्रो बाहिरी रूप जस्तोसुकै भए तापनि उहाँको दृष्टिकोणमा हामी सबै जना बराबर छौं। परमेश्वरले प्राचीनहरू र सहायक सेवकहरूको हैसियतमा सेवा गर्न सक्नेहरूमा हुनुपर्ने आवश्यकताहरू लिपिबद्ध गर्न लगाउनुहुँदा रंग वा राष्ट्रिय पृष्ठभूमिको कुनै उल्लेख गर्नुभएन। अहँ, बरु उहाँले आध्यात्मिक दक्षताहरूमाथि जोड दिनुभयो। प्रथम शताब्दीका परिचालक निकायमाथि लागू भएजस्तै आज स्थानीय प्राचीनहरू, परिभ्रमण निरीक्षकहरू र शाखा कार्यालयका कार्यकर्ताहरूमाथि पनि लागू हुन्छ।