हाम्रो प्रचुर आध्यात्मिक पैतृक सम्पत्ति
फिलिप एफ. स्मीथको वृतान्तमा आधारित
“अब अन्धकार अफ्रिकामा ज्योति चम्केको छ र त्यो चम्किरहनेछ।” उपरोक्त वाक्यांश १९९२ यरबूक अफ जेहोभाज् विट्नेसेज्-को (१९९२ यहोवाका साक्षीहरूको वार्षिक पुस्तक) पृष्ठ ७५ मा पढ्न पाउँदा हामी असाध्यै रमाएका थियौं। हाम्रो हजुरबुबा फ्रान्क डब्ल्यु. स्मीथले सन् १९३१ मा वाच टावर सोसाइटीका तत्कालीन अध्यक्ष भाइ जोसेफ एफ. रदरफोर्डलाई लेख्नुभएको पत्रमा ती शब्दहरू कोर्नुभएको थियो। आफू र अर्को एक जना भाइ मिलेर गर्नुभएको प्रचार यात्राबारे प्रतिवेदन पेश गर्न हजुरबुबाले उक्त पत्र लेख्नुभएको थियो।
माथि उल्लिखित १९९२ यरबूक-मा (वार्षिक पुस्तक) यो विवरण लेखिएको थियो: “केप टाउनमा [दक्षिण अफ्रिका] बस्ने दुइ जना बहादुर अग्रगामी सेवक, ग्रे स्मीथ र तिनका दाइ फ्रान्क सुसमाचार फैलाउन बेलायती पूर्वी अफ्रिकातर्फ गए। तिनीहरूले दि सोटो मोडेलको कारलाई गाडी घर बनाए। त्यसपछि ४० बाकस किताप बोकी जहाज चढेर केन्याको बन्दरगाह मम्बासातर्फ लागे।”
भाइ रदरफोर्डलाई लेख्नुभएको पत्रमा हजुरबुबाले मम्बासादेखि केन्याको राजधानी नाइरोबीसम्मको यात्रा विवरण यसरी दिनुभयो: “हाम्रो यात्रा असाध्यै डरलाग्दो थियो। मैले कहिल्यै त्यस्तो यात्रा गरेको थिइनँ। पाँच सय असी किलोमिटरको यात्रा टुङग्याउन हामीलाई पूरा चार दिन लाग्यो। . . . माइलै पिच्छे गाडीबाट ओर्लेर साबेलले बाटो मिलाउनुपऱ्यो, खाडल पुर्नुपऱ्यो अनि त्यति मात्र नभएर मान्छेभन्दा अग्ला घाँसहरू काट्नुपऱ्यो, ठाउँ-ठाउँमा रूख ढालेर दलदल ठाँउमा बाटो बनाउनुपऱ्यो।”
नाइरोबी पुगेपछि फ्रान्क र ग्रेले लगातार २१ दिनसम्म बाइबल साहित्यहरू वितरण गरे। हजुरबुबाले लेख्नुभयो, “हामीले पाएका विवरणहरूअनुसार प्रचार कार्यले नाइरोबीका धार्मिक मानिसहरूबीच तहल्का मचायो।” पछि आफ्नो दुइ वर्षीय छोरा, डनोभन र पत्नी फिलिसलाई भेट्न हजुरबुबा उत्सुक हुनुभयो। किनभने त्यतिबेला हाम्री हजुरमुमा फिलिस गर्भवती हुनुहुन्थ्यो र हाम्रो बुबा फ्रान्क जन्मिनै लाग्नुभएको थियो। अतः मम्बासाबाट जाने पहिलो जहाज चढेर हजुरबुबा घरतर्फ लाग्नुभयो तर औलोले गर्दा बाटैमा उहाँको मृत्यु भयो।
मेरी दिदी, मेरो भाइ र म मिलेर यरबूक-मा (वार्षिक पुस्तक) दिइएको उपरोक्त विवरण पढ्दा हामीले प्रिय बुबालाई सम्झ्यौं। हामीले १९९२ यरबूक (१९९२ वार्षिक पुस्तक) पाएको केही महिनाअघि मात्र १९९१ मा मुटुको शल्यक्रियासम्बन्धी समस्याले गर्दा उहाँको मृत्यु भएको थियो। उहाँले आफ्नो बुबालाई कहिल्यै भेट्न पाउनुभएन। तैपनि आफ्नो बुबाले जस्तै उहाँले पनि यहोवालाई अगाढ प्रेम गर्नुभयो। साँच्चै, २८ वर्षपछि सन् १९५९ मा आफ्नो पदचिन्हमा चल्दै छोराले पनि पूर्व अफ्रिकामा मसीही सेवकाई गर्दैछ भनी थाह पाउनुभएको भए हजुरबुबा कति रमाउनुहुन्थ्यो होला!
बुबाको प्रारम्भिक जीवन
हाम्रो बुबाको जन्म जुलाई २०, १९३१ केप टाउनमा भएको थियो। उहाँ जन्मिनुहुँदा हजुरबुबाको मृत्यु भएको दुइ महिना बितिसकेको थियो। उहाँको नाउँ पनि हजुरबुबाको जस्तै फ्रान्क नै राखियो। कलिलो उमेरदेखि नै बुबाले यहोवाप्रति प्रेम देखाउनुभयो। नौ वर्षको कलिलो उमेरमा उहाँले केप टाउन रेल स्टेशनमा साक्षी दिन थाल्नुभयो र यो देखेर उहाँका स्कूलका साथीहरूले निकै जिस्काए। उहाँले ११ वर्षको उमेरमा यहोवाप्रतिको आफ्नो समर्पणलाई बप्तिस्माद्वारा प्रतीकात्मक रूप दिनुभयो। कहिलेकाहीं बुबालाई पूरै सडकमा एक्लै प्रचार गर्न खटाइन्थ्यो। उहाँ १८ वर्ष पुग्नुभएपछि केप टाउन शहरको बाहिरी क्षेत्रमा बस्ने वृद्धा बहिनीहरूको समूहमा प्रहरीधरहरा अध्ययन सञ्चालन गर्नुहुन्थ्यो।
सन् १९५४ मा वाच टावर सोसाइटीले अर्को वर्ष युरोपमा अन्तरराष्ट्रिय अधिवेशनहरू सम्पन्न गर्ने घोषणा गऱ्यो। बुबालाई यी अधिवेशनहरूमा उपस्थित हुन साह्रै मन लाग्यो, तर के गर्ने उहाँसँग केप टाउनबाट युरोपसम्म यात्रा गर्ने पैसा थिएन। अतः उहाँले उत्तरी रोडेशियाको (हाल जाम्बिया) तामा खानीमा तीन महिनासम्म रासायनविद् भएर काम गर्नुभयो। त्यतिबेला खनिज पदार्थ परीक्षण गर्ने ठाउँ, अफ्रिकाको जंगलमा थियो।
उत्तरी रोडेशियामा धेरै अफ्रिकी साक्षीहरू थिए भनेर बुबालाई थाह थियो। अतः त्यहाँ पुग्ने बित्तिकै उहाँले साक्षीहरूलाई खोज्नुभयो र तिनीहरू भेला हुने ठाउँ पत्ता लगाउनुभयो। स्थानीय भाषा बोल्न नजान्नुभए तापनि उहाँले तिनीहरूसित संगत गर्नुभयो र यहोवाका साक्षीहरूको खानी मण्डलीका सभाहरूमा नियमित तवरले उपस्थित हुनुभयो। खानीमा काम गर्ने युरोपेलीहरूले अफ्रिकीहरूप्रति जातीय पूर्वाग्रह राख्थे र प्रायः वाक् दुर्व्यवहारद्वारा आफ्नो पूर्वाग्रह देखाउँथे। तर बुबा सधैं दयालु हुनुहुन्थ्यो।
तीन महिना सकिनै लाग्दा एक अफ्रिकी कर्मीले बुबालाई सोध्नुभयो: “तपाईंलाई थाह छ हामी तपाईंलाई कुन नाउँले बोलाउँछौं?” त्यसपछि मुस्कुराउँदै तिनले भने: “हामी तपाईंलाई ब्वाना [श्रीमान] वाचटावर भन्छौं।”
यसप्रकार सन् १९५५ मा बुबाले युरोपमा “विजयी राज्य” सम्मेलनहरू धाउन सक्नुभयो। त्यहाँ उहाँले मेरी जाहार्युलाई भेट्नु भयो र लगत्तै अर्को वर्ष विवाह गर्नुभयो। विवाहपश्चात् उहाँहरू स.रा.अ.-को पार्मा, ओहायोमा बस्नुभयो।
पूर्व अफ्रिकातर्फ
एक पटक संयुक्त राज्यमा एउटा अधिवेशनको दौडान अधिवेशनमा उपस्थित सबैलाई सेवकहरूको आवश्यकता धेरै भएको ठाउँमा सेवा गर्न आमन्त्रित गरियो। हाम्रा बुबामुमाले यो आमन्त्रण स्वीकार्नुभयो र पूर्व अफ्रिका जाने निधो गर्नुभयो। वाच टावर सोसाइटीले जस्तो-जस्तो सुझाव दियो उहाँहरूले त्यस्तै-त्यस्तै गर्नुभयो। कथंकदाचित् बुबाले जागिर पाउन सक्नुभएन भने फर्किन सकोस् भनेर उहाँहरूले टिकट किन्ने पर्याप्त पैसा जोगाउनुभयो। त्यतिबेला जागिर खाने अनुमतिपत्र हुने मानिसहरूलाई मात्र पूर्व अफ्रिकामा बस्न दिइन्थ्यो।
राहदानी, प्रवेशाज्ञा अनि खोप लिइसक्नुभएपछि जुलाई १९५९ मा बुबा र मुमा न्यु योर्कबाट मालवाहक जहाज चढेर केप टाउन हुँदै मम्बासातर्फ लाग्नुभयो। मम्बासासम्म पुग्न उहाँहरूलाई चार हप्ता लाग्यो। मम्बासामा उत्रने बित्तिकै उहाँहरूलाई मसीही भाइहरूले न्यानो स्वागत गरे। यी भाइहरू उहाँहरूभन्दा पहिल्यै आवश्यकता धेरै भएको ठाउँमा सेवा गर्न त्यहाँ पुगिसकेका थिए। नाइरोबी पुगेपछि बुबाले एउटा पत्र पाउनुभयो। त्यो पत्र उहाँले एन्तेबे, युगाण्डास्थित भौगोलिक सर्वेक्षण विभागमा रासायनविद् पदका लागि दिनुभएको दरखास्तको जवाफ थियो। त्यसपछि बुबा र मुमा रेल चढेर काम्पाला युगाण्डा जानुभयो। त्यहाँ उहाँको अन्तर्वार्ता लिएपछि काममा लगाइयो। त्यतिबेला एन्तेबे-काम्पाला क्षेत्रमा साक्षीको नाउँमा जर्ज काडु मात्र थिए।
त्यहाँ बस्दा बुबालाई स्थानीय भाषा, लुगाण्डा सिकाउन उपनिवेशीय सरकारले खर्च बेहोर्ने भयो। सेवकाईमा अझ प्रभावकारी हुन भाषा सिक्ने योजना गर्दै गरेको बेला अचानक त्यस्ता प्रबन्ध गरिंदा बुबा निकै रमाउनुभयो। पछि, बुबाले लुगाण्डा भाषामा “दिस गुड न्युज अफ द किंगडम” (“राज्यको यो सुसमाचार”) पुस्तिका अनुवाद गर्नुभयो।
बुबा निर्भयसाथ अरूलाई साक्षी दिनुहुन्थ्यो। उहाँले आफ्नो विभागका सबै युरोपेलीहरूसित कुरा गर्नुहुन्थ्यो र युगाण्डाबासीहरूलाई नियमित रूपमा प्रचार गर्नुहुन्थ्यो। उहाँले युगाण्डाका महान्यायाधिवक्तालाई समेत साक्षी दिनुभयो। तिनले राज्य सुसमाचार सुन्नुको साथै बुबा र मुमालाई रात्री भोजका लागि आमन्त्रित गरे।
सन् १९६० मा मेरी दिदी आन्थेको जन्म भयो र त्यसको पाँच वर्षपछि म जन्में। राजधानी काम्पालाको सानो तर वृद्धि हुँदै गरेको मण्डलीसित हामी निकै घनिष्ठ भयौं। अनि एन्तेबे नजीकै इलाकामा हामी मात्रै गोरा साक्षीहरू भएको हुँदा केही रमाइला घटनाहरू पनि भए। एक पटक बुबाको एक जना मित्र बिना कुनै खबर एन्तेबे पुग्नुभएछ र बुबासित सम्पर्क गर्न खोज्नुभएछ। उहाँले निकै विवरण दिंदा पनि केही पत्ता नलागेपछि अन्तमा यसो भन्नुभएछ: “तपाईंले यस इलाकामा बस्ने युरोपेली साक्षीहरूलाई चिन्नुहुन्छ?” त्यति भन्नेबित्तिकै त्यस मानिसले उहाँलाई हाम्रो घरमा पुऱ्याएछ।
तर हामीले कठिनाइहरू पनि भोग्नपुऱ्यो। दुइ पटक हामीले सशस्त्र विद्रोहको सामना गर्नुपऱ्यो। एक पटक सरकारी सेनाहरूले एउटा जातिका भेटे जति सबै मानिसलाई गोली हानेर मार्ने गरेका थिए। रातोदिन गोलीको आवाज सुनिन्थ्यो। अनि त्यतिबेला बेलुकी ६ बजेदेखि बिहान ६ बजेसम्म निषेधाज्ञा जारी भएको हुँदा एन्तेबेस्थित हाम्रो घरमै दिउँसोपख सभाहरू हुनेगर्थे।
पछि निषेधाज्ञा हटाएपछि बुबाले हामी सबैलाई प्रहरीधरहरा अध्ययनका लागि काम्पाला लग्नुभयो। तर बाटोमा एक जना सिपाहीले बन्दुक तेर्साएर हाम्रो कारलाई रोके र हामी कहाँ जान लागेको भनेर केरकार गर्न थाले। त्यतिबेला म काखे बालक थिएँ तर आन्थे पाँच वर्ष भइसकेकी थिइन्। बुबाले शान्त भएर हाम्रा बाइबल तथा साहित्यहरू देखाएपछि त्यो सिपाहीले जाने अनुमति दियो।
युगाण्डामा झन्डै आठ वर्ष बिताएपछि स्वास्थ्य समस्याहरू र पारिवारिक जिम्मेवारीहरूले गर्दा सन् १९६७ मा बुबा र मुमाले संयुक्त राज्य फर्कने निधो गर्नुभयो। त्यहाँ हामीले क्यानफिल्ड, ओहायो भन्ने ठाउँको मण्डलीसित संगत गर्न थाल्यौं जहाँ बुबाले प्राचीनको हैसियतमा सेवा गर्नुभयो। काम्पालाको सानो मण्डलीमा जस्तै यहाँ पनि मेरो बुबा र मुमाले भाइहरूलाई असाध्यै माया गर्न थाल्नुभयो।
मायालु मसीही लालनपालन
सन् १९७१ मा मेरो भाइ डेभिडको जन्म भयो। प्रेम र न्यानो अनुभूतिले भरिएको वातावरणबीच हाम्रो लालनपालन भयो। र वास्तवमा हाम्रो बुबामुमाको मायालु सम्बन्धले गर्दा नै घरमा त्यस्तो किसिमको वातावरण सम्भव भएको थियो।
हामी केटाकेटी छँदा बुबाले सुत्नेबेला बाइबलको कथा पढेर सुनाउनुहुन्थ्यो। अनि प्रार्थना गर्नुभएपछि मुमाले चालै नपाउनेगरि चम्किलो सुनौलो कागजमा चकलेट बेह्रेर दिनुहुन्थ्यो। हामी जहाँसुकै भए तापनि पूरै परिवार मिलेर प्रहरीधरहरा अध्ययन गर्थ्यौं। तर छुट्टीको बेला एक पटक पहाडको छेउमा र अर्को पटक समुद्र नजीकै हामीले प्रहरीधरहरा अध्ययन गऱ्यौं। ती समयहरू उहाँका रमाइला सम्झनाहरूमध्ये हुन् भनेर बुबाले प्रायः भन्ने गर्नुहुन्थ्यो। तर पारिवारिक अध्ययनले दिनसक्ने ठूलो आनन्द उठाउन नसक्ने मानिसहरू देखेर उहाँलाई अफसोस लाग्छ भनेर पनि उहाँले भन्नुहुन्थ्यो।
आफैले उदाहरण बसालेर बुबाले हामीलाई यहोवालाई प्रेम गर्न सिकाउनुभयो। प्रहरीधरहरा वा ब्यूँझनुहोस्!-को नयाँ प्रति अथवा वाचटावर प्रकाशन पाउने बित्तिकै बुबाले सुरुदेखि पुछारसम्म पढ्नुहुन्थ्यो। बाइबल सच्चाइलाई हल्का ठान्नु हुँदैन बरु मूल्यवान् धन सम्झनुपर्छ भनेर हामीले उहाँबाट सिक्यौं। हामीलाई साह्रै अमूल्य लाग्ने चीजहरूमध्ये बुबाको रेफरेन्श बाइबल हो। किनभने त्यसको हरेक पृष्ठ-पृष्ठमा उहाँले आफ्नो अध्ययनको दौडान लेख्नुभएका टिप्पणीहरू छन्। अहिले उहाँले बाइबलको किनारामा लेख्नुभएका ती टिप्पणीहरू पढ्दा हाम्रैअगाडि उभेर हामीलाई सिकाउनु अनि सल्लाह दिइरहनुभएको जस्तो लाग्छ।
अन्तसम्मै विश्वासी
एक दिन, मे १६, १९९१ मा क्षेत्र सेवकाईको दौडान बुबालाई अचानक हृदयघात भयो। हप्तादिनपछि उहाँको मुटु चिरफार गरियो र सुरुमा शल्यक्रिया सफल नै देखिएको थियो। तथापि, त्यही रात अस्पतालबाट हामीलाई फोन आयो। बुबाको रक्तस्राव बन्द भएन। जसले गर्दा चिकित्सकहरू असाध्यै चिन्तित थिए। त्यही रात उहाँको रक्तस्राव रोक्न दुइ पटक शल्यक्रिया गरियो तर केही फाइदा भएन। बुबाको रगत जम्न सकेन।
भोलिपल्ट बुबाको अवस्था झन् झन् बिग्रँदै गएपछि चिकित्सकहरूले पहिले मुमा अनि त्यसपछि भाइसित व्यक्तिगत कुरा गरेर बुबाको शरीरमा रक्तक्षेपण गर्न राजी गराउन खोजे। यद्यपि, बुबाले कुनै पनि हालतमा रक्तक्षेपण गर्दिनँ भनेर पहिल्यै चिकित्सकलाई भनिसक्नुभएको थियो। शास्त्रीय कारणहरूले गर्दा रगत लिंदै नलिने तर रक्तविहीन विकल्पहरू भने स्वीकार्ने कुरा उहाँले पहिले बताइसक्नुभएको थियो।—लेवी १७:१३, १४; प्रेरित १५:२८, २९.
फलतः केही चिकित्सकहरूको वैमनस्यले गर्दा आइसियु (सघन उपचार कक्षमा) असाध्यै तनावपूर्ण वातावरण छायो। यस्तो परिस्थिति त्यसमाथि बुबाको बिग्रँदो अवस्थाले गर्दा कहिलेकाहीं हामीलाई साह्रै असह्य हुन्थ्यो। तर हामीले यहोवालाई बिन्ती गरिरह्यौं र आफूले पाएजति व्यवहारिक सुझाव प्रयोग गर्ने कोसिस गऱ्यौं। अतः सघन उपचार कक्षमा भेट्न जाँदा हामी सधैं भद्र भएर जान्थ्यौं र चिकित्सकहरूलाई आदरपूर्ण व्यवहार गर्थ्यौं। अर्थपूर्ण प्रश्नहरू गरेर हामी बुबाको अवस्थाबारे सक्रिय चासो लिन्थ्यौं र बुबाको रेखदेख गर्ने सबै चिकित्सकहरूलाई धन्यवाद दिन्थ्यौं।
चिकित्सकहरूको नजरबाट हाम्रो यस्तो प्रयास लुक्न सकेन। अतः केही दिनभित्र तनावपूर्ण वातावरण दयालु वातावरणमा परिवर्तन भयो। सुरुमा बुबाको रेखदेख गर्न खटाइएका नर्सहरूलाई पछि अर्कै काममा खटाइँदा पनि तिनीहरू बेला-बेलामा आएर बुबाको प्रगति जाँच गर्थे। हामीसित कठोर व्यवहार गर्ने एक जना चिकित्सक यति कोमल भए, तिनले मुमालाई कस्तो हुनुहुन्छ भनेर समेत सोधे। हाम्रो मण्डली र नातेदारहरूले पनि हामीलाई मायालु सहयोग गरे। तिनीहरूले खानेकुरा तथा सान्त्वनादायी कार्डहरू पठाए र हाम्रो निम्ति प्रार्थना गरे।
तर दुःखको कुरा, बुबाको अवस्था सुध्रेन। अतः शल्यक्रिया गरेको दश दिनपछि उहाँको मृत्यु भयो। बुबाको मृत्युले गर्दा हामी असाध्यै शोकित छौं। कहिलेकाहीं भक्कानो फुट्छ। तर खुशीको कुरा, “हाम्रो बोझ दिनहुँ” उठाउँछु भनेर हाम्रो परमेश्वरले प्रतिज्ञा गर्नुभएको हुनाले हामी पहिलेभन्दा झनै उहाँमा भर पर्न सिकेका छौं।—भजन ६८:१९.
हामी सबै विश्वासीपूर्वक यहोवाको सेवा गरिरहन कटिबद्ध छौं। किनभने तब मात्र हामीले हाम्रो बुबालाई नयाँ संसारमा देख्ने सुअवसर पाउनेछौं।—मर्कूस ५:४१, ४२; यूहन्ना ५:२८; प्रेरित २४:१५.
[पृष्ठ २१-मा भएको चित्र]
फ्रान्क स्मीथ केप टाउनमा आफ्नी आमा फिलिससित
[पृष्ठ २२-मा भएको चित्र]
विवाहको बेला बुबा र मुमा
[पृष्ठ २३-मा भएको चित्र]
एन्तेबेमा पहिलो पटक बप्तिस्मा दिइँदा भाइहरूले अफ्रिकी नाइकेको पोखरी भाडामा लिएका थिए
[पृष्ठ २३-मा भएको चित्र]
परम्परागत अभिवादन
[पृष्ठ २४-मा भएको चित्र]
बुबाको मृत्यु हुनुभन्दा केही समयअघि बुबा र मुमा