के तपाईंले उद्धार पाउनुभएको छ?
“ए नौजवान, के तिमी येशू ख्रीष्टलाई आफ्नो प्रभु र उद्धारकको रूपमा स्वीकार्छौ?” मेलामा गएको बेला एउटा मानिसले उपरोक्त प्रश्न सोध्दा जनी दश वर्षको थियो। येशूमाथि पहिलेदेखि विश्वास गर्ने जनीलाई यो प्रश्न निकै अनौठो लाग्यो। त्यसकारण उसले जवाफ दियो, “अवश्य गर्छु।” “प्रभुको प्रशंसा गर!” त्यो मानिस सबैले सुन्ने गरी करायो। “ख्रीष्टको लागि अर्को आत्माले उद्धार पायो!”
के उद्धार यति सजिलै प्राप्त गर्न सकिन्छ? जीवनभर जनीले जे सुकै गरे तापनि ती शब्दहरू भने देखिन् के उसले “उद्धार” पाएको हो त? निष्कपट मानिसहरूले यसको सकारात्मक उत्तर दिनेछन्। केही धार्मिक पर्चाहरूमा “उद्धार” पाएको दिन सम्झन मिति टिप्नोस् भनिएको हुन्छ।
“सतही तवरमा मात्रै भएपनि ख्रीष्टलाई स्वीकार्नेबित्तिकै . . . कुनै पनि व्यक्तिको भविष्य स्थायी रूपमा निर्धारित हुन्छ” भनेर एक पादरीले लेखे। बाइबलअनुसार उद्धार एक पटक गरेको “विश्वासको कार्यमा निर्भर हुन्छ निरन्तर विश्वास गरिरहनुमा होइन” भन्ने दाबा तिनले गरे। एक अर्को धार्मिक लेखकले यसरी लेखे: “एक पटक विश्वास गरिसकेपछि फेरि केही गर्नुपर्दैन। तपाईंले उद्धार पाइसक्नुभएको छ। . . . तपाईंको ‘लडन्त सिद्धिसक्यो।’ तपाईंको ‘पाप कटिसक्यो।’” यो सत्य हो भनी दृढ विश्वास गर्नेहरूलाई पनि यो कुरा पत्याउन अलि गाह्रो भइरहेको छ। “उद्धार” पाइसक्नुभयो भनेर बताइएका अधिकांश मानिसहरूले आफ्नो जीवन बाइबलअनुरूप नबिताएको प्रष्टै छ। स्पष्ट छ: तिनीहरूले ख्रीष्टलाई साँच्चै “स्वीकारेका” छैनन्।
त्यसो भए येशूलाई वास्तवमा “स्वीकार्नुको” अर्थ के हो? के यो कुनै एक पटक गरिने विश्वास हो वा आजीवन निरन्तर विश्वास गरिरहनु हो? के हाम्रो विश्वास ठोस कदम चाल्न हामीलाई उत्प्रेरित गर्नसक्ने खालको हुनैपर्छ? येशूलाई पछ्याउनुपर्ने दायित्व पूरा नगरिकन के उहाँले दिनुभएको बलिदानबाट साँच्चै लाभ प्राप्त गर्नसक्छौं?
अधिकांश मानिसहरू आशिष्हरू चाहन्छन् तर येशूलाई पछ्याउनुपर्ने र उहाँको आज्ञा पालन गर्नुपर्ने दायित्वबाट भने उम्कन खोज्छन्। भनौं भने, “पालन” शब्दले प्रायः तिनीहरूलाई विचलित तुल्याउँछ। यद्यपि येशूले यसो भन्नुभयो: “आऊ, मेरोपछि लाग।” (लूका १८:१८-२३) अनि बाइबलले यसो भन्छ: “हाम्रा प्रभु येशूको सुसमाचार नमान्नेहरू[ले] . . . अनन्त विनाशको सजाय भोग्नेछन्।”—२ थिस्सलोनिकी १:८, ९; मत्ती १०:३८; १६:२४.
उद्धारको विषयमा जे जति सिकाइएको छ, त्यसबारे बाइबलले भनेका थुप्रै कुराहरूले गम्भीर प्रश्नहरू खडा गर्छन्। यस विषयमा बाइबलले वास्तवमा के भन्छ, तपाईं जाँच्न चाहनुहुन्छ भने यस पछिका पृष्ठहरू तपाईंलाई विशेषगरि रोचक लाग्नेछन्। यस अत्यावश्यक विषयबारे येशू र उहाँका प्रेरितहरूले के सिकाए त्यो बुझ्न आफ्नो बाइबल पल्टाएर उद्धरित पदहरू पढ्नुहोस्।