“हामीलाई . . . प्रार्थना गर्न सिकाउनुहोस्”
“हे प्रभु, . . . हामीलाई . . . प्रार्थना गर्न सिकाउनुहोस्।” यो बिन्ती येशू ख्रीष्टका चेलाहरूमध्ये एक जनाले गरेका थिए। (लूका ११:१) नाउँ उल्लेख नगरिएको यो चेला स्पष्टतः प्रार्थनाप्रति गहिरो मूल्यांकन गर्ने व्यक्ति थिए। त्यसरी नै, आज साँचो उपासकहरूले पनि यसको महत्त्वलाई बुझेका छन्। आखिरमा, यस ब्रह्माण्डको सर्वोच्च व्यक्तिसित दर्शनभेट पाउने माध्यम नै प्रार्थना हो! अनि यसलाई विचार गर्नुहोस्! “प्रार्थना सुन्नुहुने[ले]” हाम्रो चिन्ता र फिक्रीहरूप्रति व्यक्तिगत चासो लिनुहुन्छ। (भजन ६५:२) अझ महत्त्वपूर्ण त प्रार्थनाद्वारा हामी परमेश्वरलाई धन्यवाद दिन्छौं र उहाँको प्रशंसा गर्छौं।—फिलिप्पी ४:६.
तैपनि, “हामीलाई . . . प्रार्थना गर्न सिकाउनुहोस्” भन्ने शब्दहरूले केही गम्भीर प्रश्नहरू खडा गर्छन्। सारा संसारभरि विभिन्न धर्महरूले परमेश्वरसामु पुग्न थुप्रै तरिकाहरू अपनाउँछन्। तर के प्रार्थना गर्ने सही र गलत तरिका छ? त्यसको जवाफको लागि हामी प्रार्थना समावेश भएका केही लोकप्रिय धार्मिक प्रथाहरू हेरौं। हामी ल्याटिन अमेरिकाका केही प्रचलनहरूमा ध्यानकेन्द्रित गर्नेछौं।
मूर्ति तथा “संरक्षक सन्तहरू”
साधारणतया ल्याटिन अमेरिकी देशहरू एकदमै धर्मपरायण छन्। उदाहरणका लागि, मेक्सिकोभरि “संरक्षक सन्तहरू”-लाई प्रार्थना गर्ने लोकप्रिय प्रचलन जोसुकैले देख्नसक्छन्। वास्तवमा मेक्सिकोका शहरहरूमा “संरक्षक सन्तहरू” राख्ने प्रचलन छ र निश्चित दिनहरूमा त्यसका लागि उत्सवहरू मनाइन्छ। मेक्सिकोका क्याथोलिकहरूले विविध मूर्तिहरूलाई पनि प्रार्थना गर्छन्। तथापि, कुन “सन्त”-लाई प्रार्थना गर्ने भन्ने कुरा चाहिं उपासकको भाकलमा भर पर्छ। कसैले विवाहको लागि जोडी खोजिरहेको छ भने तिनले “सन्त” एन्थोनीसमक्ष मैनबत्ती बाल्लान्। सवारीसाधनमा यात्रा गर्न लागेकाहरू र अझ विशेषगरि सवारीचालकहरूले यात्रुहरूका संरक्षक “सन्त” क्रिस्टोफरको शरणमा आफूलाई राख्लान्।
तर यस्ता प्रथाहरू कहाँबाट सुरु भए? इतिहासले देखाएअनुसार स्पेनीहरू मेक्सिकोमा आइपुगेपछि तिनीहरूले गैरमसीही देवताहरूको उपासनामा समर्पित जनसाधारण भेट्टाए। भिक्टर भोल्फगाङ भोन हागेन आफ्नो लोस आस्तेकास ओम्ब्रे इ त्रिबु (एजटेक्स, मानिस र जनजाति) पुस्तकमा यसो भन्छन्: “त्यहाँ व्यक्तिगत देवताहरू थिए, हरेक बोटबिरुवाको आफ्नै देवता, हरेक कामकुराको निम्ति देवीदेवताहरू थिए र आत्महत्याको लागि समेत देवता थियो। याकातेकुत्ली चाहिं व्यापारीहरूको देवता थियो। बहुदेवताहरूको यस संसारमा सबै देवताहरूका झुकाउ र उद्देश्यहरू सुस्पष्ट परिभाषित गरिएका थिए।”
यी देवताहरू र क्याथोलिक “सन्तहरू” यति मिल्दाजुल्दा थिए, स्पेनी विजेताहरूले त्यहाँका आदिवासीहरूलाई “मसीही बनाउन खोज्दा” ती आदिवासीहरूलाई मूर्तिहरूको साटो चर्चका “सन्तहरू”-लाई उपासना गर्न कुनै गाह्रो भएन। द वल स्ट्रीट जर्नल-को एक लेखले स्वीकारेअनुसार मेक्सिकोका केही भागहरूमा क्याथोलिक धर्मका प्रचलनहरू गैरमसीही कुराहरूबाट सुरु भएका हुन्। एउटा क्षेत्रमा त त्यहाँका आमजनताहरूले उपासना गर्ने ६४ “सन्तहरू”-मध्ये अधिकांश “विशेष मेयन देवताहरू”-जस्तै भएको उल्लेख गरे।
न्यु क्याथोलिक इनसाइक्लोपीडिया-को (अंग्रेजी) तर्कअनुसार “सन्तहरू र यसलाई प्रार्थना गर्नेहरूबीच एउटा आत्मीय बन्धन छ . . . यस बन्धनले ख्रीष्ट र परमेश्वरसितको सम्बन्धबाट टाढा पार्नुको साटो त्यस बन्धनलाई अझ समृद्ध र प्रगाढ बनाउँछ।” तर स्पष्टतः मूर्तिपूजाको अवशेषरूपी कुराहरूद्वारा साँचो परमेश्वरसित प्रगाढ सम्बन्ध कसरी राख्न सकिन्छ? के त्यस्ता “सन्तहरू”-लाई चढाइएको प्रार्थनाद्वारा परमेश्वरलाई साँच्चै खुशी तुल्याउन सकिन्छ?
जपमालाको सुरुआत
अर्को लोकप्रिय प्रथा जपमालाको प्रयोग हो। डिक्सोनार्यो एनसिक्लोपेडीको इस्पानो-आमेरिकानो-ले (स्पेनी-अमेरिकी विश्वकोशीय शब्दकोश) जपमालालाई यसरी वर्णन गर्छ, “यो जम्माजम्मी पचास वा एक सय पचास दानाहरू भएको माला हो। यसलाई दश दश गरी बीचमा एउटा ठूलो दाना राखेर छुट्टाइएको हुन्छ र क्रसले छेउ जोड्नुअघि तीनवटा दानाहरू राखिएका हुन्छन्।”
जपमालाको प्रयोगबारे व्याख्या गर्दै एक क्याथोलिक प्रकाशन यसो भन्छ: “पवित्र जपमाला, हाम्रो मुक्तिका रहस्यहरूबारे मौखिक र मनमनै गरिने प्रार्थनाको रूप हो। यो दश दशवटा गरी छुट्टाइएको पन्ध्रवटा खण्डहरू मिलेर बनेको हुन्छ। हरेक दशौं दानामा एक चोटि प्रभुको प्रार्थना, अर्को दश चोटि हेल मेरी र एक चोटि ग्लोरिया पाट्रे जप्ने हुन्छ। कुनै एउटा बाइबलीय रहस्यलाई हरेक दशौं दानामा मनन गरिन्छ।” ती रहस्यहरू क्याथोलिकहरूले जान्नुपर्ने धर्मसिद्धान्त वा शिक्षाहरू हुन्। अनि यस सन्दर्भमा चाहिं येशू ख्रीष्टको जीवन, पीडा र मृत्युसित सम्बन्धित छ।
द वर्ल्ड बूक इनसाइक्लोपीडिया (अंग्रेजी) यसो भन्छ: “मसीही धर्ममा जपमाला जपेर प्रार्थना गर्ने प्रारम्भिक तरिकाहरू मध्ययुगमा सुरु भएको थियो तर यो १४औं र १५औं शताब्दीहरूमा मात्रै व्यापक भयो।” के क्याथोलिक धर्मले मात्रै जपमाला प्रयोग गर्छ? गर्दैन। डिक्सोनार्यो एनसिक्लोपेडीको इस्पानो-आमेरिकानो-ले यसरी उल्लेख गर्छ: “त्यस्तै प्रकारको माला मुस्लिम, लामा तथा बौद्ध धर्ममा प्रयोग गरिन्छ। वास्तवमा, इनसाइक्लोपीडिया अफ रिलिजन एण्ड रिलिजनस्-ले (धर्महरूको शब्दकोश) यस्तो टिप्पणी गर्छ: “मुस्लिमहरूले बौद्ध धर्मावलम्बीहरूबाट अनि मसीहीहरूले धार्मिक युद्धको दौडान मुस्लिमहरूबाट जपमाला प्राप्त गऱ्यो भन्ने संकेत दिइएको छ।”
थुप्रै प्रार्थनाहरू दोहोऱ्याएर भन्नुपर्दा जपमालाले स्मरण सहायकको रूपमा मात्र काम गर्छ भनेर केहीले तर्क गर्छन्। तर के त्यस्तो प्रयोगद्वारा परमेश्वर खुशी हुनुहुन्छ?
यस्ता प्रथाहरूको औचित्य वा वैधताबारे हामीले अनुमान लाइरहनु वा वादविवाद गरिरहनु पर्दैन। प्रार्थना कसरी गर्ने भन्ने सम्बन्धमा आफ्ना अनुयायीहरूले बिन्ती गर्दा येशूले आधिकारिक जवाफ दिनुभयो। उहाँले भन्नुभएको कुराले हामीलाई ज्ञान प्रदान गर्नेछ र केही पाठकहरू छक्क पनि पर्लान्।
[पृष्ठ ३-मा भएका चित्र]
साधारणतया क्याथोलिकहरू जपमाला प्रयोग गर्छन्। यसको सुरुआत कहाँबाट भयो?