सबैले परमेश्वरलाई लेखा दिनैपर्छ
“हामी हरेकले परमेश्वरलाई आफ्ना आफ्ना लेखा दिनुपर्नेछ।”—रोमी १४:१२.
१. आदम र हव्वाको स्वतन्त्रतामा कस्ता सीमाहरू राखिएका थिए?
यहोवा परमेश्वरले हाम्रा प्रथम आमाबाबु, आदम र हव्वालाई स्वतन्त्र नैतिक अभिकर्ताहरूको रूपमा सृजनुभयो। तिनीहरू स्वर्गदूतहरूभन्दा निम्न भए तापनि विवेकपूर्ण निर्णयहरू गर्नसक्ने बौद्धिक प्राणीहरू थिए। (भजन ८:४, ५) यद्यपि, त्यो ईश्वरप्रदत्त स्वतन्त्रता स्वयंले सही वा गलत निर्णय गर्ने अनुमति चाहिं थिएन। तिनीहरू आफ्ना सृष्टिकर्ताप्रति जवाफदेही थिए र तिनीहरूका सारा सन्तानहरू पनि जवाफदेही छन्।
२. यहोवाले चाँडै कस्तो लेखा लिनुहुनेछ र किन?
२ अहिले हामी यस दुष्ट रीतिरिवाजको चरमोत्कर्षको नजीकै छौं। अतः यहोवाले पृथ्वीमा लेखा लिनुहुनेछ। (रोमी ९:२८ तुलना गर्नुहोस्।) पार्थिव सम्पदाहरूको दुरुपयोग, मानव जीवनको विनाश र विशेषगरि यहोवा परमेश्वरका सेवकहरूलाई सतावट दिएकोमा परमेश्वरप्रति अनाज्ञाकारी हुने मानिसहरूले उहाँलाई चाँडै लेखा दिनुपर्नेछ।—प्रकाश ६:१०; ११:१८.
३. हामी कुन प्रश्नहरूमाथि विचार गर्नेछौं?
३ यस विचारणीय भावी घटनालाई ध्यानमा राख्दै यहोवाले विगतमा आफ्ना प्राणीहरूसित गर्नुभएको धार्मिक व्यवहारलाई मनन गर्नु हाम्रोलागि लाभदायी हुन्छ। हामीले व्यक्तिगत तवरमा सृष्टिकर्तालाई स्वीकार्य लेखा दिन धर्मशास्त्रले कसरी मदत गर्नसक्छ? कुन उदाहरणहरू मदतकारी हुनसक्छन् र हामीले कुन कुन चाहिं अनुसरण गर्नु हुँदैन?
स्वर्गदूतहरू जवाफदेही छन्
४. परमेश्वरले स्वर्गदूतहरूलाई तिनीहरूका कार्यहरूको निम्ति जवाफदेही ठहराउनुहुन्छ भनी कसरी थाह पाउँछौं?
४ यहोवाका स्वर्गदूतीय प्राणीहरू पनि उहाँप्रति हामी जत्तिकै जवाफदेही छन्। नूहको समयको जलप्रलयअघि केही स्वर्गदूतहरूले स्त्रीहरूसित यौनसम्बन्ध राख्न अनाज्ञाकारी भई मानव रूप धारण गरे। स्वतन्त्र नैतिक अभिकर्ताहरूको हैसियतमा यी आत्मिक प्राणीहरूले यो निर्णय गर्नसक्थे तर परमेश्वरले तिनीहरूलाई जवाफदेही ठहराउनुभयो। यी अनाज्ञाकारी स्वर्गदूतहरू आत्मिक संसारमा फर्केपछि यहोवाले तिनीहरूलाई आ-आफ्नो सुरुको स्थानमा रहने अनुमति दिनुभएन। तिनीहरू “आखिरी दिनको इन्साफको लागि अन्धकारमनि अनन्त बन्धनमा” राखिएका छन् भनी चेला यहूदा बताउँछन्।—यहूदा ६.
५. शैतान र त्यसका प्रेतहरूले कस्तो पतन भोगे र तिनीहरूको विद्रोहको लेखा कसरी लिइनेछ?
५ यी अनाज्ञाकारी स्वर्गदूतहरू वा प्रेतहरूको शासक, शैतान अर्थात् दियाबल हो। (मत्ती १२:२४-२६) यस दुष्ट स्वर्गदूतले सृष्टिकर्ताको विद्रोह गरेर यहोवाको सार्वभौमिकताको औचित्यलाई चुनौती दियो। शैतानले हाम्रा प्रथम आमाबाबुलाई पाप गर्न उस्कायो, फलस्वरूप तिनीहरू मर्नुपऱ्यो। (उत्पत्ति ३:१-७, १७-१९) यहोवाले शैतानलाई केही समयसम्म स्वर्गीय चोकहरूमा प्रवेश गर्न दिनुभए तापनि परमेश्वरको तोकिएको समयमा यस दुष्टलाई पृथ्वीमा फ्याँकिनेछ भनी बाइबल पुस्तक, प्रकाशले भविष्यवाणी गऱ्यो। सन् १९१४ मा येशू ख्रीष्टले परमेश्वरको राज्य शक्ति पाउनुभएको धेरै समय नबित्दै उक्त घटना भयो भनी प्रमाणहरूले संकेत गर्छन्। अन्ततः, दियाबल र त्यसका प्रेतहरूको अनन्त विनाश हुनेछ। सार्वभौमिकतासम्बन्धी विवादको अन्तिम फैसला भएपछि यस विद्रोहको विवाद न्यायोचित ढंगमा सुल्झिनेछ।—अय्यूब १:६-१२; २:१-७; प्रकाश १२:७-९; २०:१०.
परमेश्वरको पुत्र जवाफदेही हुनुहुन्छ
६. येशूले यहोवाप्रति आफ्नो जवाफदेहीलाई कस्तो दृष्टिकोणले हेर्नुहुन्छ?
६ परमेश्वरको पुत्र, येशू ख्रीष्टले साँच्चै राम्रो उदाहरण बसाल्नुभएको छ! येशू पनि आदमजस्तै सिद्ध पुरुष हुनुहुन्थ्यो र उहाँ ईश्वरीय इच्छा गर्न रमाउनुहुन्थ्यो। यहोवाको व्यवस्थाअनुरूप गर्न जवाफदेही ठहराइएकोमा पनि उहाँ हर्षित हुनुहुन्थ्यो। भजनरचयिताले उहाँबारे यसप्रकार उपयुक्त भविष्यवाणी गरे: “हे मेरा परमेश्वर, तपाईंको इच्छाबमोजिम गर्न म प्रसन्न छु। तपाईंको व्यवस्था मेरो हृदयमा छ।”—भजन ४०:८; हिब्रू १०:६-९.
७. आफ्नो मृत्युको साँझ प्रार्थना गर्नुहुँदा येशूले यूहन्ना १७:४, ५ मा लिपिबद्ध शब्दहरू किन भन्न सक्नुभयो?
७ येशूले भोग्नुभएको घृणित विरोधको बावजूद उहाँले परमेश्वरको इच्छा गर्नुभयो र शूलीमा मरूञ्जेल पनि निष्ठावान् रहनुभयो। यसप्रकार उहाँले आदमको पापका मृत्युदायी असरहरूबाट मानिसजातिलाई छुटाउन छुटकाराको मोल तिर्नुभयो। (मत्ती २०:२८) यसर्थ, आफ्नो मृत्युको साँझ येशूले निर्धक्क हुनुभएर यसरी प्रार्थना गर्न सक्नुभयो: “तपाईंले मलाई गर्नदिनुभएको काम पूरा गरेर मैले पृथ्वीमा तपाईंको महिमा गरें। अब हे पिता, मेरो जुन महिमा संसार हुनभन्दा अघि तपाईंसित थियो, त्यसैले मलाई तपाईं आफैसित महिमा गर्नुहोस्।” (यूहन्ना १७:४, ५) येशूले स्वर्गमा हुनुहुने आफ्नो पितालाई उपरोक्त शब्दहरू भन्न सक्नुभयो किनभने जवाफदेही हुने सन्दर्भमा उहाँ सफल हुनुका साथै परमेश्वरसामु स्वीकार्य हुनुभयो।
८. (क) हामीले यहोवा परमेश्वरलाई आफ्नो लेखा दिनुपर्छ भनी पावलले कसरी देखाए? (ख) परमेश्वरसामु स्वीकार्य हुन हामीलाई कुन कुराले मदत दिनेछ?
८ हामी येशू ख्रीष्टजस्तो सिद्ध छैनौं तर असिद्ध छौं। यद्यपि, हामी परमेश्वरप्रति जवाफदेही छौं। प्रेरित पावलले यसो भने: “तिमी आफ्नो भाइलाई किन दोष लाउँछौ? अथवा तिमी फेरि आफ्नो भाइलाई किन तुच्छ ठान्छौ? किनभने हामी सबै परमेश्वरको न्याय-आसनको सामने खड़ा हुनेछौं। किनभने लेखिएको छ, ‘प्रभु भन्नुहुन्छ, म जिएझैं, हरेक मानिसले मेरो सामने घुँड़ा टेक्नेछ, औ सबै जिब्रोले परमेश्वरलाई स्वीकार गर्नेछ।’ तब यसैले हामी हरेकले परमेश्वरलाई आफ्ना आफ्ना लेखा दिनुपर्नेछ।” (रोमी १४:१०-१२) त्यसो गरेर यहोवाको स्वीकृति पाउन अनि हाम्रो बोलीचाली र आचरणलाई डोऱ्याउन उहाँले हामीलाई अन्तस्करणको साथै उहाँको प्रेरित वचन, बाइबल दिनुभएको छ। (रोमी २:१४, १५; २ तिमोथी ३:१६, १७) यहोवाका आध्यात्मिक प्रबन्धहरूको पूर्ण सदुपयोग गर्नुका साथै बाइबल-प्रशिक्षित अन्तस्करणलाई पछ्याउँदा हामीले यहोवाबाट स्वीकृत हुने मदत पाउनेछौं। (मत्ती २४:४५-४७) बल र डोऱ्याइ प्रदान गर्ने थप स्रोत, यहोवाको पवित्र आत्मा अथवा सक्रिय शक्ति हो। हामी आत्माको निर्देशन र बाइबल-प्रशिक्षित अन्तस्करणको डोऱ्याइअनुरूप चल्यौं भने ‘परमेश्वरलाई इन्कार’ गर्दैनौं भनी देखाउँछौं किनभने हाम्रा सबै कार्यहरूका लागि उहाँलाई लेखा दिनैपर्छ।—१ थिस्सलोनिकी ४:३-८; १ पत्रुस ३:१६, २१..
राष्ट्रहरूको हैसियतमा जवाफदेही
९. एदोमीहरू को थिए र तिनीहरूले इस्राएलप्रति गरेको व्यवहारको कस्तो परिणाम भोगे?
९ यहोवाले राष्ट्रहरूलाई जवाफदेही ठहराउनुहुन्छ। (यर्मिया २५:१२-१४; सपन्याह ३:६, ७) मृत सागरको दक्षिण र अक्वाबा खाडीको उत्तरमा अवस्थित पुरातन राज्य, एदोमलाई विचार गर्नुहोस्। एदोमीहरू शेम वंशका र इस्राएलीहरूका निकटतम नातेदार थिए। एदोमीहरूका पुर्खा, अब्राहामको नाति एसाव भए तापनि प्रतिज्ञा गरिएको देशको “मूल-बाटो” हुँदै एदोम भएर यात्रा गर्न इस्राएलीहरूलाई अनुमति दिइएन। (गन्ती २०:१४-२१) शताब्दीयौंको दौडान इस्राएलप्रति एदोमको वैमनस्य असह्य घृणामा परिणत भयो। अन्ततः, सा.यु.पू. ६०७ मा यरूशलेमको नाश गर्न बेबिलोनीहरूलाई आग्रह गर्नाको परिणाम एदोमीहरूले भोग्नुपऱ्यो। (भजन १३७:७) छैठौं शताब्दी सा.यु.पू. मा राजा नाबोनिडसको नेतृत्वमा आएका बेबिलोनी फौजहरूले एदोमलाई आफ्नो कब्जामा लिए र यहोवाको आज्ञप्तिअनुरूप त्यो उजाड भयो।—यर्मिया ४९:२०; ओबदिया ९-११.
१०. मोआबीहरूले इस्राएलप्रति कस्तो व्यवहार गरे र परमेश्वरले कसरी मोआबको लेखा लिनुभयो?
१० मोआबको पनि हविगत राम्रो भएन। एदोमको उत्तर र मृत सागरको पूर्वमा मोआबी राज्य अवस्थित थियो। प्रतिज्ञा गरिएको देशमा इस्राएलीहरू प्रवेश गर्नुअघि मोआबीहरूले तिनीहरूप्रति राम्रो व्यवहार गरेनन्। त्यसैकारण केवल आर्थिक लाभको लागि रोटीपानी दिए। (व्यवस्था २३:३, ४) मोआबी राजा बालाकले इस्राएललाई सराप्न अगमवक्ता बिलामलाई भाडामा लिए र इस्राएली पुरुषहरूलाई अनैतिकता तथा मूर्तिपूजामा फसाउन मोआबी स्त्रीहरू प्रयोग गरे। (गन्ती २२:२-८; २५:१-९) तथापि, यहोवाले इस्राएलप्रति मोआबको घृणालाई देखे नदेखेझैं गर्नुभएन। भविष्यवाणी गरिएअनुरूप मोआबले बेबिलोनीहरूको हातबाट विनाश भोग्नुपऱ्यो। (यर्मिया ९:२५, २६; सपन्याह २:८-११) हो, परमेश्वरले मोआबको लेखा लिनुभयो।
११. मोआब र अम्मोन कुन शहरहरूजस्तै भए र बाइबल भविष्यवाणीहरूले वर्तमान दुष्ट रीतिरिवाजबारे के संकेत गर्छन्?
११ मोआबले मात्र होइन तर अम्मोनले पनि परमेश्वरलाई लेखा दिनुपऱ्यो। यहोवाले यस्तो भविष्यवाणी गर्नुभएको थियो: “निश्चय मोआब सदोमजस्तै र अम्मोनका सन्तानहरू गमोराजस्तै सिस्नुघारी, नूनका खानी र सदा सर्वदाको निम्ति उजाड़ हुनेछन्।” (सपन्याह २:९) परमेश्वरले सदोम र गमोरालाई नाश गर्नुभएझैं मोआब र अम्मोनको भूमि पनि उजाड पारियो। लन्डनको भौगोलिक सोसाइटीअनुसार अनुसन्धानकर्ताहरू मृत सागरको पूर्वी तटमा सदोम र गमोराका भग्नावशेषहरू पत्ता लागेको दाबी गर्छन्। यस सन्दर्भमा भविष्यमा पत्ता लाग्नसक्ने भरपर्दा प्रमाणहरूले अवश्य पनि ती बाइबल भविष्यवाणीहरूलाई समर्थन गर्नेछन् र यहोवा परमेश्वरले यस वर्तमान दुष्ट रीतिरिवाजको पनि लेखा लिनुहुनेछ भन्ने संकेत त्यसमा पाइनेछ।—२ पत्रुस ३:६-१२.
१२. इस्राएलले आफ्ना पापहरूको लागि परमेश्वरलाई लेखा दिनु परे तापनि अल्पसंख्यक शेष यहूदीहरूबारे कस्तो भविष्यवाणी गरिएको थियो?
१२ यहोवाले इस्राएललाई विशेष सुअवसरहरू दिनुभए तापनि तिनीहरूले परमेश्वरलाई आफ्ना पापहरूको लेखा दिनुपऱ्यो। येशू ख्रीष्ट इस्राएल राष्ट्रमा आउनुहुँदा अधिकांशले उहाँलाई इन्कार गरे। थोरैले मात्र विश्वास गरेर उहाँका अनुयायीहरू भए। पावलले निम्नलिखित भविष्यवाणी ती अल्पसंख्यक शेष यहूदीहरूमा लागू गर्दै यसरी लेखे: “इस्राएलका बारेमा यशैया यसो भनी कराएर भन्छन्, ‘इस्राएलका सन्तानका संख्या समुद्रको बालुवा जत्तिकै भए तापनि बाँकी रहेको संख्याको मात्र उद्धार हुनेछ।’ किनभने प्रभुले समाप्त गरेर छोट्याउँदै पृथ्वीमा आफ्नो वचन पूरा गर्नुहुनेछ। औ यशैयाले अघाड़ि पनि भनेका छन्, ‘सेनाहरूका प्रभुले हाम्रा निम्ति एउटा सन्तान नछोड़नुहुँदा हो ता हामी सदोमजस्तै हुने थियौं, र गमोरासमान बनिनेथियौं।’” (रोमी ९:२७-२९; यशैया १:९; १०:२२, २३) त्यस प्रेरितले एलियाको समयमा बालसामु ननिहुरिने ७,००० को उदाहरण उल्लेख गरेपछि यसो भने: “यसैगरी यस वर्त्तमान समयमा पनि अनुग्रहको चुनाउअनुसार केही संख्या बाँकी रहेको छ।” (रोमी ११:५) ती बाँकी रहेका व्यक्तिहरू, परमेश्वरप्रति व्यक्तिगत तवरमा जवाफदेही मानिसहरूको समूह थियो।
व्यक्तिगत तवरमा जवाफदेही भएका उदाहरणहरू
१३. परमेश्वरले कयिनलाई आफ्नो भाइ हाबिलको हत्याको लेखा लिन बोलाउनुहुँदा के भयो?
१३ यहोवा परमेश्वरप्रति व्यक्तिगत तवरमा जवाफदेही भएका थुप्रै उदाहरणहरू बाइबलमा उल्लिखित छन्। उदाहरणको लागि, आदमको जेठो छोरा, कयिनलाई लिनुहोस्। तिनी र तिनका भाइ हाबिल दुवैले यहोवालाई बलिदानहरू चढाए। परमेश्वरले हाबिलको बलिदान स्वीकार्नुभयो तर कयिनको भने स्वीकार्नुभएन। आफ्नो भाइको निर्मम हत्याको लेखा दिन बोलाइँदा कयिनले कठोर भएर यसो भने: “के म मेरो भाइको गोठाला हुँ र?” आफ्नो पापको कारण कयिनलाई “अदनको पूर्वपट्टि भएको नोद भन्ने देशमा” खेदियो। तिनले आफ्नो अपराधको लागि निष्कपट पश्चात्ताप देखाएनन् तर जुन दण्ड तिनले भोग्नु उचितै थियो केवल त्यसप्रति अफसोच गरे।—उत्पत्ति ४:३-१६.
१४. प्रधानपूजाहारी एली र तिनका छोराहरूको सन्दर्भमा परमेश्वरप्रति व्यक्तिगत तवरमा जवाफदेही हुने कुरा कसरी प्रकट भयो?
१४ परमेश्वरप्रति व्यक्तिगत तवरमा जवाफदेही हुने सन्दर्भमा इस्राएलका प्रधानपूजाहारी, एलीको उदाहरणबाट पनि प्रष्ट हुन्छ। तिनका छोराहरू, होप्नी र पीनहासले पूजाहारीको हैसियतमा सेवा गरे तापनि तिनीहरू “मानिसहरूप्रति अन्यायी, परमेश्वरप्रति अनाज्ञाकारी हुनाको दोषी थिए र कुनै पनि प्रकारको खराबीबाट अलग बस्दैनथिए” भनी इतिहासकार जोसेफस भन्छन्। यी “दुष्ट” पुरुषहरूले यहोवालाई स्वीकारेनन्, तिनीहरू असाध्यै अश्रद्धेय आचरणमा संलग्न हुनुका साथै घोर अनैतिकताको दोषी भए। (१ शमूएल १:३; २:१२-१७, २२-२५) तिनीहरूका बुबा र इस्राएलको प्रधानपूजाहारीको हैसियतमा तिनीहरूलाई अनुशासन दिनु एलीको कर्तव्य थियो तर तिनले केवल हल्का हप्की दिए। एलीले ‘यहोवालाई भन्दा आफ्ना छोराहरूको बढी आदर गरिरहे।’ (१ शमूएल २:२९) एलीको घरानामा दण्ड आइपऱ्यो। दुवै छोरा र बुबा एकै दिन मरे र तिनीहरूको पूजाहारी वंश सदाको लागि अन्त भयो। यसरी तिनीहरूको लेखा लिइयो।—१ शमूएल ३:१३, १४; ४:११, १७, १८.
१५. राजा शाऊलका छोरा जोनाथनले किन इनाम पाए?
१५ राजा शाऊलका छोरा जोनाथनले भने बेग्लै उदाहरण बसाले। दाऊदले गोल्यतलाई मार्ने बित्तिकै “जोनाथनले दाऊदलाई आफैलाईझैं हृदयले प्रेम गर्नलागे” र तिनीहरूले मित्रताको करार बाँधे। (१ शमूएल १८:१, ३) सम्भवतः, जोनाथनले शाऊलसित परमेश्वरको आत्मा नरहेको थाह पाए तर यसले साँचो उपासनाप्रति तिनको जोशलाई कुनै असर गरेन। (१ शमूएल १६:१४) दाऊदको ईश्वरप्रदत्त अख्तियारप्रति जोनाथनको मूल्यांकन कहिल्यै ढलपल भएन। जोनाथनले आफू परमेश्वरप्रति जवाफदेही छु भन्ने बुझे र यहोवाले तिनको आदरणीय मार्गको इनामस्वरूप तिनको वंशलाई पुस्तौंसम्म चलाउनुभयो।—१ इतिहास ८:३३-४०.
मसीही मण्डलीमा जवाफदेही
१६. तितस को थिए र तिनले परमेश्वरलाई आफ्नो विषयमा असल लेखा दिए भनी किन भन्न सकिन्छ?
१६ मसीही युनानी धर्मशास्त्रले असल लेखा दिने थुप्रै पुरुष तथा स्त्रीहरूबारे राम्रो विवरण दिन्छ। उदाहरणका लागि, तितस नाउँको युनानी मसीही पुरुषलाई लिनुहोस्। पावलको प्रथम मिसनरी यात्राको दौडान साइप्रसमा जाँदा तितस मसीही भएजस्तो देखिन्छ। साइप्रसका जन्मजात यहूदी तथा धर्म परिवर्तन गरेर यहूदी मत अपनाएकाहरू सा.यु. ३३ को पेन्तिकोसमा यरूशलेममा थिए होलान्। फलस्वरूप त्यसको लगत्तैपछि यस टापुमा मसीही धर्म पुगेको हुनुपर्छ। (प्रेरित ११:१९) तर जे होस्, तितस पावलका वफादार सहकर्मी साबित भए। सा.यु. ४९ तिर तिनी पावल र बर्णाबाससँगै यरूशलेम जाँदा खतनासम्बन्धी महत्त्वपूर्ण विवाद सुल्झिएको थियो। तितसको खतना नभएको हुँदा मसीही धर्म अपनाउनेहरू मोशालाई दिइएको व्यवस्थाको अधीनमा बस्नु पर्दैन भन्ने पावलको तर्कलाई झन् वजनदार बनायो। (गलाती २:१-३) धर्मशास्त्रले तितसको असल सेवकाईबारे पुष्टि दिन्छ र पावलले तिनलाई ईश्वरप्रेरित पत्रसमेत पठाए। (२ कोरिन्थी ७:६; तितस १:१-४) प्राप्त प्रमाणअनुसार तितसले आफ्नो पार्थिव जीवनको अन्तसम्मै परमेश्वरलाई असल लेखा दिइरहे।
१७. तिमोथीले आफ्नो कस्तो लेखा दिए र यो उदाहरणले हामीलाई कसरी असर गर्नसक्छ?
१७ यहोवा परमेश्वरलाई स्वीकार्य लेखा दिने अर्को जोशिलो व्यक्ति, तिमोथी थिए। तिमोथीको स्वास्थ्य त्यति राम्रो नभए तापनि तिनले “निष्कपट विश्वास” देखाए र ‘पावलसितै सुसमाचार फैलाउने काममा सेवा गरे।’ त्यसकारण प्रेरित पावलले फिलिप्पीका सँगी मसीहीहरूलाई यसो भन्न सके: “[तिमोथीले जस्तो] साँचो मनले तिमीहरूका कल्याण सोच्ने मजस्तै मन भएको मानिस अरू कोही छैन।” (२ तिमोथी १:५; फिलिप्पी २:२०, २२; १ तिमोथी ५:२३) मानव कमजोरी तथा अन्य परीक्षाहरू सामना गर्नुपर्दा हामी पनि निष्कपट विश्वास राख्दै परमेश्वरलाई स्वीकार्य लेखा दिनसक्छौं।
१८. लिडिया को थिइन् र तिनले कस्तो मनोवृत्ति देखाइन्?
१८ लिडिया, भक्तालु स्त्री थिइन् र स्पष्टतः तिनले परमेश्वरलाई आफ्नो असल लेखा दिइन्। पावलले लगभग सा.यु. ५० तिर फिलिप्पीमा गरेको क्रियाकलापले गर्दा युरोपमा मसीही धर्म स्वीकार्ने प्रथम व्यक्तिहरूमध्ये तिनी र तिनको परिवार थियो। लिडिया, थाइआटीराकी स्थानीय बासिन्दा थिइन्। सम्भवतः, तिनले आफ्नो धर्म परिवर्तन गरेर यहूदी मत स्वीकारेकी थिइन् तर त्यस ठाउँमा यहूदीहरू थोरै मात्र थिए अनि फिलिप्पीमा एउटै पनि सभाघर थिएन। तिनी र अन्य भक्तालु स्त्रीहरू नदीको किनारमा भेला भइरहेको बेला पावलले तिनीहरूसित कुरा गरे। परिणामस्वरूप, लिडिया मसीही भइन् र पावल तथा उनका सँगीहरूलाई तिनीसितै बस्न कर गरिन्। (प्रेरित १६:१२-१५) लिडियाले देखाएकी आतिथेय साँचो मसीहीहरूको विशेष चिनारी हो।
१९. तबीताले कस्ता राम्रा कार्यहरू गरेर परमेश्वरलाई आफ्नो असल लेखा दिइन्?
१९ यहोवा परमेश्वरलाई आफ्नो असल लेखा दिने अर्की स्त्री, तबीता थिइन्। तिनको मृत्यु हुँदा जोप्पाका चेलाहरूको आग्रहमा पत्रुस त्यहाँ गए। पत्रुसलाई भेटेका दुइ पुरुषहरूले उनलाई “माथिल्लो कोठामा लगे। विधवाहरू सबै तिनका नजीक उभिएर रूँदै, र तबीता तिनीहरूसित हुँदाखेरि तिनले बनाइराखेका कोटहरू र लुगाहरू देखाए।” तबीतालाई बिउँताइयो। के अति उदारवादी मनोवृत्तिको लागि मात्र तिनको सम्झना गरिन्छ? होइन। तिनी ‘चेला’ थिइन् र निस्सन्देह चेला बनाउने कार्यमा भाग लिन्थिन्। त्यसरी नै आज मसीही स्त्रीहरू “असल काम गर्न र दान-पुण्यमा निपुण” छन्। तिनीहरू परमेश्वरको राज्यको सुसमाचार उद्घोषणा गरेर चेला बनाउने कार्यमा सक्रिय भाग लिन पाएकोमा पनि रमाउँछन्।—प्रेरित ९:३६-४२; मत्ती २४:१४; २८:१९, २०.
२०. हामीले आफैलाई कस्ता प्रश्नहरू सोध्नसक्छौं?
२० राष्ट्रहरू तथा व्यक्तिविशेषले सार्वभौम प्रभु यहोवालाई लेखा दिनैपर्छ भनी बाइबलले स्पष्टसित देखाउँछ। (सपन्याह १:७) हामी परमेश्वरप्रति समर्पित छौं भने आफैलाई यी प्रश्नहरू सोध्नु बेस हुनेछ, ‘म आफ्ना ईश्वरप्रदत्त सुअवसर तथा जिम्मेवारीहरूलाई कुन दृष्टिकोणले हेर्छु? मैले यहोवा परमेश्वर र येशू ख्रीष्टलाई कस्तो लेखा दिंदैछु?’
तपाईं कस्तो जवाफ दिनुहुन्छ?
◻ यहोवाप्रति स्वर्गदूतहरू तथा परमेश्वरको पुत्र जवाफदेही छन् भनेर तपाईं कसरी प्रमाणित गर्नुहुन्छ?
◻ परमेश्वरले राष्ट्रहरूलाई जवाफदेही ठहराउनुभएका कस्ता उदाहरणहरू बाइबलमा पाइन्छन्?
◻ परमेश्वरप्रति व्यक्तिगत तवरमा जवाफदेहीबारे बाइबलले के भन्छ?
◻ बाइबल विवरणमा उल्लिखित कस कसले यहोवा परमेश्वरलाई असल लेखा दिए?
[पृष्ठ १०-मा भएको चित्र]
येशू ख्रीष्टले स्वर्गमा हुनुहुने पितालाई आफ्नो असल लेखा दिनुभयो
[पृष्ठ १५-मा भएको चित्र]
तबीताले जस्तै आजका मसीही स्त्रीहरूले पनि यहोवा परमेश्वरलाई आफ्नो असल लेखा दिन्छन्
[पृष्ठ १३-मा भएको चित्रको स्रोत]
The Death of Abel/The Doré Bible Illustrations/Dover Publications, Inc.