राज्य उद्घोषकहरूका रिपोर्ट
स्कूलमा दृढ अडान लिंदा नतिजा राम्रो भयो
बाइबल यस्तो अगमवाणी गर्छ: “तेरा सबै छोरा-छोरीहरू परमप्रभुबाट सिकाइएका हुनेछन्, र तेरा छोरा-छोरीहरूलाई ठूलो शान्ति मिल्नेछ।” (यशैया ५४:१३) विस्तृत अर्थमा भन्ने हो भने, “तेरा सबै छोरा-छोरीहरू[लाई]” भन्ने अभिव्यक्ति कलिला केटोकेटीहरू समावेश भएको परमेश्वरका पार्थिव सेवकहरूको सम्पूर्ण झुन्डमा लागू गर्न सकिन्छ। आज, मसीही आमाबाबुहरूले घर र मसीही सभाहरूमा आफ्ना छोराछोरी “परमप्रभुबाट सिकाइएका” छन् कि छैनन्, पक्का गर्छन्।
तथापि, स्कूलमा अध्ययनरत युवा मसीहीहरूले कठिन चुनौतीहरूको सामना गर्छन्। बाइबलबाट सिकेका कुराहरूको आधारमा तिनीहरूले अक्सर दृढ अडान लिनुपर्ने हुन्छ। तिनीहरूले त्यसो गर्दा विद्यार्थी र शिक्षक दुवैलाई लाभ हुनसक्छ भनेर माइक्रोनेसियाबाट प्राप्त निम्न अनुभवले देखाउँछ।
चुक द्वीपहरूमा अवस्थित टोलको सानो पश्चिमी प्रशान्त द्वीपमा स्थानीय स्कूलका शिक्षकहरूले सबै केटाकेटीलाई स्कूलको हालोइन उत्सवको लागि तयारी गर्न र त्यसमा भाग लिन अह्राए। त्यस उत्सवमा भूत, पिशाच र बोक्सीहरूको चित्रण गर्ने साजसज्जा र परम्पराहरू समावेश हुनसक्छ भनेर साक्षी विद्यार्थीहरूलाई थाह थियो। ती सबै कुरा प्रेतवादी परम्पराहरूसित सम्बन्धित थिए। यी केटाकेटीहरूले आफ्नो अन्तस्करणको कारण त्यस उत्सवमा भाग लिन सकेनन्।a
यस्ता प्रचलनहरू मनोरञ्जनको लागि मात्र मनाउँदा पनि परमेश्वर दुःखी हुनुहुन्छ भनेर घर र मसीही मण्डलीमा प्राप्त बाइबलआधारित प्रशिक्षणबाट तिनीहरूलाई थाह थियो। आफ्नो अडानबारे अझ राम्रोसित शिक्षकहरूलाई बुझाउन ती केटाकेटीहरूले द्वीपमा सेवारत बाराक नाउँ गरेका एक साक्षी मिसनरीलाई निम्ताए।
मिसनरीको बयान सुनेपछि शिक्षकहरूले अर्को सभाको प्रबन्ध गरे, जुन सभामा बाराकले स्कूलका सम्पूर्ण कर्मचारीसित कुरा गर्नसक्थे। त्यस सभामा बाराकले हालोइनको साँचो प्रकृतिबारे तथ्यहरू पेश गरे। तिनले वाच टावर प्रकाशनहरू र अन्य स्रोतहरूबाट त्यसबारे जानकारी हासिल गरेका थिए। त्यस उत्सवको सुरुआत, इतिहास र धार्मिक प्रकृतिबारे थाह पाएर शिक्षक तथा स्कूलका प्रशासकहरू छक्क परे। तिनीहरूले परिस्थितिलाई सुल्झाउन कर्मचारीहरूको सभा डाक्ने निर्णय गरे।
केही दिनपछि अप्रत्याशित निर्णय घोषणा गरियो। हालोइनको लागि गरिएका सबै तयारीहरू रद्द गरिए। त्यस वर्ष स्कूलले हालोइन उत्सवै नमनाउने भयो। यी युवा साक्षीहरूले स्कूलमा सही काम गर्ने निर्णय गर्दा कत्ति राम्रो परिणाम निक्ल्यो! बाइबल सत्यप्रति बलियो अडान लिन युवा जनहरू कहिल्यै डराउनु वा लजाउनु हुँदैन।
विश्वभरिका यहोवाका साक्षीहरूले आफ्ना छोराछोरीलाई स्कूलमा कडा मेहनत गर्न सिकाउँछन्। युवा साक्षीहरूलाई बाइबल सिद्धान्तहरूअनुरूप जीवन बिताउने अवसर पाउँदा आफूले पाएको आशा तथा विश्वास अरू विद्यार्थीलाई सुनाउन प्रशिक्षण दिइएको हुन्छ। यहाँ उल्लिखित घटनामा जस्तो राम्रो वा तुरुन्तै परिणाम ननिक्लिए तापनि सत्य काम गरेर जवानहरू विश्वस्त र सन्तुष्ट हुनसक्छन्। अझ महत्त्वपूर्ण कुरा, तिनीहरू विश्वासी भई आज्ञाकारी हुँदा स्वर्गमा हुनुहुने पिता खुशी हुनुहुन्छ र आशिष् दिनुहुन्छ भनेर तिनीहरू निश्चित हुनसक्छन्।
[फुटनोट]
a हालोइन र यसका प्रेतवादी सुरुआतबारे थप जानकारीको लागि वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित नोभेम्बर २२, १९९३ को ब्यूँझनुहोस! हेर्नुहोस्।