तपाईंको निम्ति धार्मिक स्वतन्त्रताले के अर्थ राख्छ?
संयुक्त राज्यमा धार्मिक स्वतन्त्रतालाई मूलभूत अधिकार ठानिए तापनि सन् १९४० को दशकमा यहोवाका साक्षीहरूको विरुद्धमा हिंसात्मक दंगाको लहर चल्यो
लाखौं मानिसहरूले यसको लागि संघर्ष गरेका छन्। कोहीले त यसको लागि ज्यानसमेत दिएका छन्। वास्तवमा, यो मानिसजातिले अनमोल ठान्ने कुराहरूमध्ये एक हो। त्यो के हो? स्वतन्त्रता! द वर्ल्ड बूक इनसाइक्लोपीडीया-ले (अंग्रेजी) स्वतन्त्रतालाई “आफूले चाहेको कुरा रोजेर त्यसअनुसार गर्ने क्षमता” भनी वर्णन गर्छ। यसले अझै यसो भन्छ: “कानुनी तवरले हेर्ने हो भने, मानिसहरू तब मात्र स्वतन्त्र हुन्छन् जब समाजले अन्यायपूर्ण, अनावश्यक वा अव्यवहारिक सीमाहरू राख्दैनन्। समाजले मानिसहरूको अधिकार सुरक्षित राख्नुपर्छ अर्थात् तिनीहरूको मूलभूत हकहितहरूलाई सुरक्षित राख्नुपर्छ।”
यी विचारधाराहरू सुन्दा त सरलै सुनिन्छ। तथापि, व्यवहारमा चाहिं कुन हदसम्म स्वतन्त्रता दिने भनी भन्न असम्भवै जस्तो देखिन्छ। उदाहरणका लागि, कसै कसैको विचारमा सरकारले आफ्ना नागरिकहरूको स्वतन्त्रता सुरक्षित राख्न नियमकानुनहरू लागू गर्नुपर्छ। तर यी नियमकानुनहरूले नै नागरिकहरूलाई सांलोमा बाँधेका हुन्छन् भनी केहीले तर्क गर्छन्! स्पष्टतः, मान्छेपिच्छे स्वतन्त्रताको अर्थ फरक फरक छ।
धार्मिक स्वतन्त्रता नि?
शायद स्वतन्त्रताहरूमध्ये सबैभन्दा विवादास्पद चाहिं धार्मिक स्वतन्त्रता नै होला जसलाई यसरी वर्णन गरिएको छ, “आफूले चाहेको कुरामा विश्वास गर्ने र त्यसअनुसार गर्ने अधिकार।” मानव अधिकारसम्बन्धी संयुक्त राष्ट्रको अन्तरराष्ट्रिय बडापत्रले यसो भन्छ: “आफ्नो विचार, अन्तस्करण र धर्मअनुसार गर्ने स्वतन्त्रता सबैले पाएको हुन्छ।” यसमा “धर्मपरिवर्तन गर्ने” अधिकारको साथसाथै “धर्मबारे शिक्षा दिने, त्यसअनुसार गर्ने, उपासना गर्ने तथा मानेर विश्वासअनुरूप काम गर्ने” स्वतन्त्रता पनि समावेश छ।—धारा १८.
आफ्ना प्रजाहरूबारे साँच्चै चासो लिने राष्ट्रले पक्कै पनि यस्तो स्वतन्त्रता त दिइहाल्छ नि भनी हामी सोचौंला। तर दुःखको कुरा, सधैं त्यसो हुँदैन। द वर्ल्ड बूक इनसाइक्लोपीडीया-ले (अंग्रेजी) यस्तो टिप्पणी गर्छ, “धर्मले प्रायः मानिसहरूको सबैभन्दा भित्री भावनाहरूलाई छोएको हुन्छ। कुनै कुनै सरकारको एउटा धर्मसित घनिष्ठ सम्बन्ध हुन्छ र आफ्नो सरकारको निम्ति अर्को धर्मका मानिसहरू खतरा ठान्छन्। धर्मले सरकारको आज्ञालाई भन्दा परमेश्वरप्रति बढी भक्ति देखाउन सक्ने भएको हुँदा कुनै कुनै सरकारले सबै धर्मलाई नै खतरा ठान्छन्।”
यी कारणहरूले गर्दा केही सरकारहरूले धार्मिक गतिविधिहरूमा प्रतिबन्ध लगाउँछन्। कुनै कुनै सरकारहरूले त जुनसुकै धर्ममा आस्था राख्न पनि निरुत्साहित गर्छन्। अरू सरकारहरूले चाहिं धार्मिक स्वतन्त्रता दिने दाबी त गर्छन्, तर सबै धार्मिक क्रियाकलापहरूमा कडिकडाउसाथ निगरानी राख्छन्।
उदाहरणका लागि, मेक्सिकोमा धेरै वर्षसम्म भएको परिस्थितिलाई लिनुहोस्। मेक्सिकोको संविधानले धार्मिक स्वतन्त्रताको ग्यारेन्टी त दिन्थ्यो तर यस्तो शर्त राख्यो: “सार्वजनिक उपासनाको लागि प्रयोग गरिने चर्चहरू राष्ट्र अर्थात् संघीय सरकारको सम्पत्ति हुन् र यही सरकारले नै सार्वजनिक उपासनाको लागि कुन चाहिं चर्च प्रयोग गर्ने हो त्यसको निर्णय गर्नेछ।” यो प्रतिबन्ध हटाउन सन् १९९१ मा उक्त संविधान संशोधन गरियो। तर जे होस्, यस उदाहरणले धार्मिक स्वतन्त्रताको अर्थ मुलुकैपिच्छे फरक फरक हुनसक्ने कुरा प्रमाणित गर्छ।
अर्कै प्रकारको धार्मिक स्वतन्त्रता
के तपाईं बस्नुहुने मुलुकमा धार्मिक स्वतन्त्रता छ? छ भने यसको व्याख्या कसरी गरिएको छ? के तपाईं आफ्नो इच्छाअनुसार परमेश्वरको उपासना गर्न सक्नुहुन्छ वा आफू बस्ने मुलुकको राष्ट्रिय धर्म नै मान्नुपर्छ? के तपाईंले धार्मिक साहित्यहरू पढ्न र वितरण गर्न सक्नुहुन्छ वा त्यस्तो मुद्रित पत्रपत्रिकाहरूमाथि सरकारले रोक लगाएको छ? के तपाईं आफ्नो विश्वासबारे अरूलाई बताउन सक्नुहुन्छ वा यसरी प्रचार गर्नु अरूको धार्मिक अधिकार हनन भएको ठानिन्छ?
यी प्रश्नहरूको जवाफ तपाईं बस्ने मुलुकअनुसार फरक फरक हुन्छ। तथापि, चाखलाग्दो कुरा के छ भने, एउटा यस्तो प्रकारको धार्मिक स्वतन्त्रता छ जुन कुनै इलाकामा पनि पटक्कै निर्भर गर्दैन। यरूशलेममा सा.यु. ३२ मा येशूले आफ्ना अनुयायीहरूलाई यसो भन्नुभयो: “तिमीहरू मेरो वचनमा रह्यौ भने साँच्चै मेरा चेला हौ। औ तिमीहरूले सत्य के हो, सो जान्नेछौ, र सत्यले तिमीहरूलाई स्वतन्त्र तुल्याउनेछ।”—यूहन्ना ८:३१, ३२.
येशूले के भन्न खोज्दै हुनुहुन्थ्यो? येशूको कुरा सुनिरहेका यहूदीहरू रोमी शासनबाट छुटकारा चाहन्थे। तर येशूले राजनैतिक शोषणबाट स्वतन्त्रता पाउने कुरा गरिरहनुभएको थिएन। बरु उहाँले आफ्ना चेलाहरूलाई त्योभन्दा धेरै उत्तम कुराको प्रतिज्ञा गरिरहनुभएको थियो। त्यो के हो, हामी अर्को लेखमा हेर्नेछौं।