प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w97 ४/१५ पृ. १९-२२
  • नाहमानीडस—के तिनले मसीहीधर्मलाई गलत साबित गरे?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नाहमानीडस—के तिनले मसीहीधर्मलाई गलत साबित गरे?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • कुन कुराले विवादलाई चर्कायो?
  • नाहमानीडस किन छानिए?
  • सत्य कहाँ छ त?
  • ताल्मुद के हो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • यहूदी धर्मलाई पुनः परिभाषित गर्ने माइमोनायडेस
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • विश्‍व परिवर्तन गर्ने बाइबल अनुवाद
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • यहूदी धर्मावलम्बीसँग तपाईं कसरी कुरा गर्नुहुन्छ?
    हाम्रो राज्य सेवकाई—१९९९
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
w97 ४/१५ पृ. १९-२२

नाहमानीडस—के तिनले मसीहीधर्मलाई गलत साबित गरे?

मध्य युग। मध्य युग भन्‍ने बित्तिकै हाम्रो मनमा झट्टै कुन कुरा आउँछ? क्रूसेड? इन्क्विजिशन? सतावट? विशेषगरि, त्यतिखेर कहिल्यै खुलस्त धार्मिक वार्तालाप भएको थिएन। तैपनि, सन्‌ १२६३ मा यहूदी-मसीहीबीच एउटा सबैभन्दा अनुपम तर्कवितर्क युरोपको इतिहासमा भयो। त्यसमा को को सम्मिलित थिए? कस्ता विवादहरू उठेका थिए? त्यस तर्कवितर्कले अहिले हामीलाई कसरी साँचो धर्म चिन्‍न मदत दिनसक्छ?

कुन कुराले विवादलाई चर्कायो?

मध्य युगभरि रोमन क्याथोलिक चर्चले आफू साँचो धर्म हो भनेर ढोल पिट्यो। तथापि, यहूदीहरू भने आफू परमेश्‍वरले छान्‍नुभएको जन भन्‍ने दाबीबाट एक बित्ता पछि हटेका थिएनन्‌। धर्म परिवर्तन गर्नु आवश्‍यक छ भनेर चर्चले यहूदीहरूलाई विश्‍वास दिलाउन नसक्दा निरुत्साहित भएर बारम्बार हिंसा र सतावटको सहारा लिए। क्रूसेड भनिने धार्मिक युद्धको दौडान लाखौं यहूदीहरू मारिए वा शूलीमा झुण्डाएर जलाइए जतिखेर तिनीहरूलाई बप्तिस्मा लिने वा मर्ने छनौट गर्न दिइएको थियो। चर्चले उक्साएको यहूदी विरुद्धको नीति थुप्रै मुलुकमा व्याप्त भयो।

यद्यपि, १२ औं र १३ औं शताब्दीतिर क्याथोलिकको बाहुल्य भएको स्पेनमा बेग्लै प्रकारको नीति व्याप्त भयो। यहूदीहरूले मसीही विश्‍वासमा धक्का नपुऱ्‍याउञ्जेल तिनीहरूलाई धार्मिक स्वतन्त्रता दिइयो। राजाको अदालतमा समेत तिनीहरूलाई महत्त्वपूर्ण ओहदाहरूमा नियुक्‍त गरियो। तर त्यस्तो कृपा पाएको लगभग एक शताब्दीपछि डोमिनिकन पादरीहरूले समाजमा यहूदीहरूले जमाएको प्रभावलाई कम गर्न र यहूदीहरूलाई क्याथोलिक धर्ममा परिणत गराउन पाइला चाले। अरोगानका राजा जेम्स प्रथमलाई डोमिनिकनहरूले औपचारिक तर्कवितर्क गर्नको लागि चाँजो मिलाउन दबाब दिए। त्यसो गर्नुको उद्देश्‍य यहूदी धर्मलाई तुच्छ साबित गर्नु र सबै यहूदीहरूले धर्म परिवर्तन गर्न खाँचो छ भनेर प्रमाणित गर्नु थियो।

यो नै यहूदी-मसीहीबीच भएको प्रथम तर्कवितर्क थिएन। सन्‌ १२४० तिर फ्रान्सको पेरिसमा एक औपचारिक तर्कवितर्क सम्पन्‍न भयो। यसको खास उद्देश्‍य यहूदीहरूको पवित्र ग्रन्थ ताल्मुदको पुर्पक्ष गर्नु थियो। तथापि, यहूदी सहभागीहरूलाई नाउँमात्रको बोल्ने स्वतन्त्रता दिइयो। यस तर्कवितर्कमा चर्चले आफ्नो विजय भएको घोषणा गरेपछि ताल्मुदका अनेकौं प्रतिहरू सार्वजनिक स्थलहरूमा जलाइए।

तर अरोगानको उदारवादी राजा जेम्स प्रथमको लागि यस्तो उपहासपूर्ण कार्य स्वीकार्य भएन। यस कुरालाई बुझेर डोमिनिकनहरूले बेग्लै चाल चल्ने प्रयास गरे। आफ्नो पुस्तक यहूदीधर्म संकष्टमा-मा (अंग्रेजी) ह्‍याम माकोबीले बताएअनुसार तिनीहरूले यहूदीहरूलाई “पेरिसमा जस्तो निन्दा गर्दै होइन तर बोक्रे शिष्टाचार देखाउँदै र फकाइ फुस्लाइ गरेर” तर्कवितर्कको लागि बोलाए। डोमिनिकनहरूले आफ्नो मुख्य प्रतिनिधिको रूपमा पाब्लो क्रीस्टीयानीलाई नियुक्‍त गरे। तिनी पहिला यहूदी थिए र क्याथोलिक धर्म अपनाएर डोमिनिकन पादरी भएका थिए। ताल्मुद र रब्बानीक लेखोटहरूबारे पाब्लो क्रिस्टीयानीले आर्जन गरेको ज्ञानलाई प्रयोग गरेर डोमिनिकनहरूले आफ्नो दाबी निश्‍चयै प्रमाणित गर्नसक्ने महसुस गरे।

नाहमानीडस किन छानिए?

तर्कवितर्कमा यहूदी पक्षको प्रतिनिधित्व गर्नको लागि आध्यात्मिक मर्यादा भएको एक मात्र व्यक्‍ति स्पेनबासी मजेस बेन नाकमान वा नाहमानीडस थिए।a स्पेनको गेरोनाको शहरमा सन्‌ ११९४ मा जन्मेका नाहमानीडसले किशोर अवस्थामै बाइबल तथा ताल्मुदसम्बन्धी विद्वानको रूपमा प्रसिद्धि कमाइसकेका थिए। तीस वर्ष पुगुञ्जेल त तिनले अधिकांश ताल्मुदबारे टिप्पणीहरू लेखिसकेका थिए। त्यसपछि तुरुन्तै तिनी यहूदी समुदायको एकतालाई खतरामा पार्ने माइमोनायडेसका लेखोटहरूसम्बन्धी विवादलाई सुल्झाउने मुख्य अधिवक्‍ता भएका थिए।b नाहमानीडसलाई बाइबल तथा ताल्मुदबारे तिनको समयका महान्‌ यहूदी विद्वान मानिन्छ र त्यतिबेला यहूदीधर्ममाथि आफ्नो प्रभाव जमाउनमा तिनीभन्दा धुरन्धर त माइमोनायडेस नै थिए।

नाहमानीडसले केटालोनियाको यहूदी समुदायमाथि अत्यधिक प्रभाव जमाएका थिए र राजा जेम्स प्रथमले समेत राज्यको कतिपय कामकुराको लागि तिनीसित सुझाउ लिन्थे। तिनको तीक्ष्ण सोच्ने क्षमतालाई यहूदी तथा अन्यजातिले समेत कदर गर्थे। डोमिनिकनहरूले समेत के बुझे भने, यहूदीहरूलाई घोर अपमान गरेर दबाउने हो भने तर्कवितर्क गर्ने प्रधान रब्बी तिनी नै हुनु पर्नेथियो।

डोमिनिकनहरूको निष्पक्ष हुने मनसाय छैन भनी बुझेर नाहमानीडस तर्कवितर्कमा सहमत हुन इच्छुक भएनन्‌। तिनले प्रश्‍नहरूको जवाफ दिनुपर्थ्यो तर कुनै प्रश्‍न सोध्न पाउँदैन थिए। तथापि, स्वतन्त्रसित जवाफ दिन पाउनुपर्छ भन्‍ने शर्तमा तिनले राजाको निवेदनलाई स्वीकार गर्दै तर्कविर्तक गर्न राजी भए। राजा जेम्स प्रथमले त्यो प्रस्ताव स्वीकारे। त्यसरी अलिकति भए पनि बोल्ने स्वतन्त्रता मध्य युगभरि अघि कहिल्यै दिइएको थिएन र फेरि दिइने पनि थिएन। यो, राजाले नाहमानीडसलाई देखाएको उच्च सम्मानको स्पष्ट प्रमाण थियो। तैपनि, नाहमानीडस सशंकित थिए। तर्कवितर्क गर्दा तिनी अत्यधिक विरोधी ठहरिएमा आफू र यहूदी समुदायमाथि नराम्रा परिस्थितिहरू खडा हुनेथिए। कुनै पनि समयमा हिंसा मच्चिनसक्थ्यो।

नाहमानीडस विरुद्ध पाब्लो क्रिस्टीयानी

तर्कवितर्क सम्पन्‍न हुने मुख्य ठाउँ बार्सिलोनास्थित राजदरबार थियो। सन्‌ १२६३ को जुलाई २०, २३, २६ र २७ मा तर्कवितर्कको लागि चार वटा बैठक बस्यो। प्रत्येक बैठकको तर्कवितर्कमा राजाले नै अध्यक्षको भार लिए। त्यहाँ स्थानीय यहूदीहरूका साथै चर्च र राज्यका विभिन्‍न पदाधिकारीहरू उपस्थित थिए।

तर्कवितर्कको परिणामबारे चर्च निश्‍चित थियो। डोमिनिकनहरूले आफ्नो सरकारी पुर्जीमा के बताए भने, तर्कवितर्क गर्नुको उद्देश्‍य ‘विश्‍वासलाई शंकास्पद कुराजस्तै गरी विवादमा पार्नु थिएन तर यहूदीहरूका गल्तीहरू नामेट पार्नु र थुप्रै यहूदीहरूको कट्टर विश्‍वासलाई हटाउनु थियो।’

यद्यपि, लगभग ७० वर्षीय नाहमानीडसले त्यस छलफललाई आधारभूत विवादहरूमा मात्र सीमित गर्न खोजेर आफ्नो तीक्ष्ण सोच्ने क्षमताको प्रदर्शन गरे। तिनले यसो भन्दै कुराको थालनी गरे: “अन्यजाति र यहूदीहरूबीचका [विगत] विवादहरू धार्मिक उत्सवहरूका थुप्रै पक्षहरूबारे थियो। त्यसमा विश्‍वासको आधारभूत सिद्धान्तसित कुनै सम्बन्ध थिएन। तथापि, यस राजकीय अदालतमा म ती कुराहरूबारे मात्र तर्कवितर्क गर्न चाहन्छु जसमाथि सम्पूर्ण विवाद आधारित छन्‌।” त्यसपछि भने विषयहरू सीमित हुने कुरामा सहमति जनाइयो। जस्तो ती विषयहरू थिए, मसीह आइसक्नुभयो कि आउनुभएको छैन, उहाँ परमेश्‍वर हुनुहुन्छ वा मानिस अनि यहूदीहरूसित कि मसीहीहरूसित साँचो व्यवस्था छ।

क्रिस्टीयानीले सुरुमा तर्क गर्दै मसीह आइसक्नुभयो भनेर ताल्मुदबाट प्रमाणित गर्न सकिने कुरा घोषणा गरे। त्यसको जवाफ दिंदै नाहमानीडसले भने, यदि यो साँचो हुँदो हो त ताल्मुद मान्‍ने रब्बीहरूले किन येशूलाई स्वीकारेनन्‌? क्रिस्टीयानीले स्पष्ट बुझिने धर्मशास्त्रीय तर्कमाथि ध्यानकेन्द्रित गर्नुको साटो आफ्ना तर्कहरूलाई माथि पार्न रब्बीहरूका अस्पष्ट परिच्छेदहरूलाई घरीघरी उद्धृत गरे। नाहमानीडसले रब्बीहरूका परिच्छेदहरू प्रसंगबाहिरबाट उद्धरित गरिएको भनेर त्यसका एक एक बुँदाहरूलाई गलत साबित गरे। जुन लेखोटहरू अध्ययन गर्नमा नाहमानीडसले आफ्नो जीवन बिताएका थिए, त्यसबारे तिनले दक्षतासाथ तर्कवितर्क गर्नसक्नु न्यायसंगत थियो। क्रिस्टीयानीले धर्मशास्त्रलाई उल्लेख गर्दै तर्क गर्न चलाएका बुँदाहरूसमेत सजिलैसित गलत साबित भए।

नाहमानीडसले प्रश्‍नहरूका जवाफ मात्र दिन पाउने भए तापनि क्याथोलिक चर्च किन यहूदी र अरू विचारशील मानिसहरूका लागि स्वीकार्य थिएन भनेर प्रमाणित गर्ने शक्‍तिशाली तर्क तिनले पेश गर्न सके। त्रिएकको सिद्धान्तबारे तिनले यस्तो घोषणा गरे: “स्वर्ग र पृथ्वीको सृष्टिकर्ता . . . यहूदी स्त्रीको कोखबाट जन्मिनु हुनेथियो . . . अनि पछि शत्रुहरूको हातमा पर्नुहुनेथियो, जुन शत्रुहरूले . . . उहाँलाई मारे भनेर कुनै पनि यहूदी वा अरू कुनै मानिसले विश्‍वास गर्न सक्दैन थिए।” नाहमानीडसले निचोडमा यसो भन्‍नु ठीकै थियो: “तपाईंले विश्‍वास गर्ने कुरा अर्थात्‌ तपाईंको विश्‍वासको आधार विचारशील व्यक्‍तिको लागि स्वीकार्य छैन।”

आजसम्म थुप्रै यहूदीहरूलाई येशू नै मसीह हुनुहुन्छ भन्‍ने सम्भाव्यतालाई स्वीकार्न समेत रोक्ने एउटा अमिल्दो कुरालाई प्रकाश पार्दै नाहमानीडसले चर्चद्वारा भएको अत्यधिक रक्‍तपातलाई प्रष्ट पारे। तिनले भने: “भविष्यवक्‍ताले बताएअनुसार मसीहको समयमा . . . तिनीहरूले आफ्ना आफ्ना तरवार पिटेर हलोको फाली र भाला चाहिं हँसिया बनाउनेछन्‌। एउटा जातिले अर्को जातिको विरुद्धमा तरवार उठाउनेछैन, औ तिनीहरूले अब उप्रान्त युद्ध गर्न सिक्नेछैन। त्यस नाजरीको समयदेखि अहिलेसम्म सम्पूर्ण संसार हिंसा र लुटपाटले व्याप्त छ। [वास्तवमा], अरू मानिसहरूले भन्दा मसीहीहरूले धेरै रक्‍तपात गर्छन्‌ अनि तिनीहरूले अनैतिक जीवन पनि बिताउँछन्‌। हे महाराज, तपाईंका यी शूरवीरहरूले युद्ध गर्न नसिक्ने भए त तपाईं र तिनीहरूलाई कत्ति कठिन हुनेछ!”—यशैया २:४.

चार चोटि बैठक बसिसकेपछि राजाले तर्कवितर्कलाई अन्त गरिदिए। राजाले नाहमानीडसलाई यसो भने: “गलत विवादहरू उठ्‌दा पनि त्यति कौशलतासाथ त्यसको सामना गर्ने तिमीजस्तो मानिस अझसम्म मैले देखेको छैन।” नाहमानीडसलाई अरोगानका राजा जेम्स प्रथमले बोल्ने स्वतन्त्रता र सुरक्षाको ग्यारेन्टी दिन्छु भनेर गरेको प्रतिज्ञालाई ३०० दिनारी उपहारसहित तिनलाई घर पठाएर पूरा गरे। गेरोनाको विशपको अनुरोधमा नाहमानीडसले विवादलाई लिपिबद्ध गरे।

निर्णायक विजयको घोषणा हुँदा डोमिनिकनहरू अवश्‍यै रुष्ट भए। पछि तिनीहरूले चर्चमाथि नाहमानीडसले दोषारोपण गऱ्‍यो भनेर तिनी विरुद्ध अभियोग लगाए। राजाले नाहमानीडसको पक्ष लिएकोमा असन्तुष्ट भएर डोमिनिकनहरूले पोप क्लिमेन्ट चौथोलाई अपील गरे। त्यसपछि ७० वसन्त पार गरिसकेका नाहमानीडसलाई स्पेनबाट डाँडो कटाए।c

सत्य कहाँ छ त?

के दुवै पक्षको तर्कले साँचो धर्म चिन्‍न मदत दियो? एउटाले अर्कोका दोषहरू देखाए तापनि तिनीहरूले सत्यको स्वच्छ सन्देश प्रस्तुत गरेनन्‌। नाहमानीडसले त्यति दक्षतासाथ गलत साबित गरेको कुरा साँचो मसीहीधर्म थिएन। बरु, त्यो त येशूको मृत्युपछिका शताब्दीहरूमा मसीहीजगत्‌ले सुरु गरेको त्रिएकको शिक्षाजस्तो मान्छेले बनाएको सिद्धान्त थियो। मसीहीजगत्‌को अनैतिक आचरण र तिनीहरूले मनपरी गरेको रक्‍तपातलाई नाहमानीडसले निडरतासाथ पर्दाफास गरेको कुरा पनि निर्विवाद विवरण हो।

यी परिस्थितिहरूमा नाहमानीडस र अरू यहूदीहरू मसीहीधर्मको पक्षमा गरिएको तर्कवितर्कद्वारा किन प्रभावित हुन सकेनन्‌ भनेर सजिलैसित बुझ्न सकिन्छ। त्यसबाहेक, पाब्लो क्रिस्टीयानीका तर्कहरू हिब्रू धर्मशास्त्रमा आधारित नभई रब्बनीक लेखोटहरूको गलत स्रोतमा आधारित थिए।

वास्तवमा, नाहमानीडसले साँचो मसीहीधर्मलाई गलत साबित गरेनन्‌। तिनको समयसम्ममा त येशूका शिक्षाहरू र उहाँको मसीहत्वलाई झूटा कुराहरूले धमिलाइसकेका थिए। यस्तो धर्मत्यागी शिक्षा देखापर्नेछ भनेर येशू र उहाँका प्रेरितहरूले वास्तवमा भविष्यवाणी गर्नुभएको थियो।—मत्ती ७:२१-२३; १३:२४-३०, ३७-४३; १ तिमोथी ४:१-३; २ पत्रुस २:१, २.

तथापि, वर्तमान समयमा साँचो धर्मलाई सजिलै चिन्‍न सकिन्छ। येशूले आफ्ना साँचो अनुयायीहरूबारे यसो भन्‍नुभयो: “तिनीहरूका फलबाट तिमीहरूले तिनीहरूलाई चिन्‍नेछौ। . . . त्यसैगरि हरेक असल रूखले बढ़िया फल फलाउँछ। तर बिग्रेको रूखले खराब फल फलाउँछ।” (मत्ती ७:१६, १७) हामी चाहन्छौं, तपाईं पनि त्यसरी नै चिन्‍नुहोस्‌। यससम्बन्धी धर्मशास्त्रीय प्रमाणको लागि निष्पक्ष जाँचपड्‌ताल गर्न तपाईंलाई यहोवाका साक्षीहरूले मदत दिनसक्छन्‌। यसप्रकार, तपाईंले मसीह र उहाँको शासनसित सम्बन्धित परमेश्‍वरका सबै प्रतिज्ञाहरूको साँचो अर्थ थाह पाउनुहुनेछ।

[फुटनोटहरू]

a थुप्रै यहूदीहरूले नाहमानीडसलाई हिब्रू शब्दहरू “रब्बी मजेस बेन नेहमानका” अघिल्ला अक्षरहरूबाट बनिएका “राम्बान”-को (अंग्रेजी) रूपमा लिन्छन्‌।

b प्रहरीधरहरा मार्च १, १९९५, पृष्ठ २०-३ का “यहूदी धर्मलाई पुनः परिभाषित गर्ने माइमोनायडेस” लेख हेर्नुहोस्‌।

c अहिले इस्राएल भनिने देशमा नाहमानीडस सन्‌ १२६७ मा आइपुगे। तिनले आफ्नो जीवनका अन्तिम घडीहरूमा थुप्रै काम फत्ते गरे। तिनले यरूशलेममा यहूदीहरूको उपस्थितिलाई देखाउने अध्ययन केन्द्र पुनर्स्थापित गरे। तिनले बाइबलका प्रथम पाँच पुस्तकहरू अर्थात्‌ तोरहबारे टिप्पणी लेखोट पूरा गरे अनि आक्राको उत्तरी समुद्रतटीय शहरका यहूदीहरूको आध्यात्मिक प्रमुख भए। त्यसै ठाउँमा सन्‌ १२७० मा तिनको मृत्यु भयो।

[पृष्ठ २०-मा भएका चित्र]

नाहमानीडसले आफ्नो मामिलाबारे बार्सिलोनामा तर्कवितर्क गरे

[पृष्ठ १९-मा भएको चित्रको स्रोत]

पृष्ठ १९-२० मा भएका चित्रहरू   Illustrirte Pracht - Bibel/Heilige Schrift des Alten und Neuen Testaments, nach der deutschen Uebersetzung D. Martin Luther’s बाट लिएका हुन्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने