के कटनी चाडहरूले परमेश्वरलाई प्रसन्न तुल्याउँछन्?
स्वादिष्ट फलफूल, ताजा तरकारी र पोटिला अन्नका बिटाहरू रास लगाएको चित्र मनमोहक हुन्छ। कटनीको समयमा बेलाइतभरि चर्चहरूको वेदी र मञ्च त्यस्तैगरि झकिझकाउ सिंगारिएका हुन्छन्। अरू ठाउँमा जस्तै युरोपमा पनि कटनीको सुरु र अन्त दुवैलाई संकेत गर्ने थुप्रै चाडहरू मनाइन्छन्।
विशेषगरि, जीविकोपार्जनको लागि खेतीपातीमा भर पर्नेहरू भूमिले उब्जनी दिंदा खुशी हुन्छन्। हो, परमेश्वरले पुरातन इस्राएल राष्ट्रमा कटनीसित सम्बन्धित तीनवटा वार्षिक चाड मनाउने आज्ञा दिनुभएको थियो। वसन्त ऋतुको प्रारम्भतिर मनाइने अखमीरे रोटीको चाडको दौडान इस्राएलीहरूले जौ कटनी गरेपछि पहिलो बिटा परमेश्वरलाई चढाउँथे। वसन्त ऋतुको अन्ततिर मनाइने सप्ताहहरूको चाडमा (वा पेन्तिकोसमा) तिनीहरूले गहुँको कटनीको पहिलो अंशबाट बनाएको रोटी परमेश्वरलाई चढाउँथे। त्यसपछि अन्न भित्र्याउने चाड मनाइन्थ्यो। र त्यस चाडले इस्राएलमा कृषि वर्ष समाप्त भएको संकेत गर्थ्यो। (प्रस्थान २३:१४-१७) यी चाडहरू “महा-सभाहरू” हुनाका साथै रमाउने समय थिए।—लेवी २३:२; व्यवस्था १६:१६.
त्यसोभए, वर्तमान समयका कटनी उत्सवहरू नि? के ती चाडहरूले परमेश्वरलाई प्रसन्न तुल्याउँछन्?
मूर्तिपूजासित साठगाँठ
कटनीको समयमा गरिने परम्परागत भोजको अधार्मिक तौरतरिका र त्यस उत्सवमा हुने मतवालीपन देखेर बेलाइत, कर्नवालका एंगलिकन पादरीले सन् १८४३ मा मध्यकालीन कटनी परम्परा पुनः थाल्ने निश्चय गरे। तिनले कटनी गरेको अन्नको पहिलो केही अंश लिए र आफ्नो चर्चमा सामुदायिक उत्सव मनाउन त्यसबाट रोटी बनाए। यसो गरेर तिनले लम्माज उत्सव अर्थात् “मसीही” भनौंदो एउटा उत्सवको पुनः सुरुआत गरे जुन अझसम्मै कायम छ। कतिपयको भनाइअनुसार यस चाडको सुरुआत सेल्टिक देवता लुकको पुरातन उपासनासितै भएको हो।a यसर्थ, आधुनिक एंगलिकन कटनी चाडको गैरमसीही सुरुआत छ।
कटनी समयको अन्ततिर मनाइने अरू उत्सवहरूबारे के भन्न सकिन्छ? दि इन्साइक्लोपीडिया ब्रिटानिका-अनुसार यी चाडहरू मनाउने परम्पराहरूले “अन्न [दाना] आत्मा वा अन्न माताको जडवाद विश्वासमा” जरा गाडेको देखिन्छ। कतिपय प्रान्तमा किसानहरूले अन्नको कटनी गरिएको अन्तिम बिटामा आत्मा हुन्छ भन्ने विश्वास गर्थे। तिनीहरूले त्यस आत्मालाई निकाल्न अन्न भुइँमा चुट्थे। कतै कतै त तिनीहरूले अन्नको बिटाको “पुतली” बनाउँथे र अर्को वर्ष बीउ नरोपेसम्म “भाग्य” पल्टोस् भनेर त्यसलाई जोगाएर राख्थे। त्यसपछि, तिनीहरूले प्रशस्त उब्जनीको आशा गर्दै त्यो पुतलीबाट अन्नको केही दाना बीउसित मिसाएर जमीनमा छर्थे।
कतिपय दन्त्यकथाहरूमा कटनी समयलाई उर्वरा देवी इश्तारका लोग्ने बेबिलोनी देवता ताम्मुजको उपासनासित जोडेको पाइन्छ। पाकेको अन्नको बाला काट्नुले ताम्मुजको असामयिक मृत्युलाई चित्रित गर्थ्यो। त्यस्तै अरू दन्त्यकथाहरूले कटनीको समयलाई यहोवा परमेश्वरले घृणा गर्नुहुने मानव बलिदानको प्रचलनसित समेत मिलान गर्छन्।—लेवी २०:२; यर्मिया ७:३०, ३१.
परमेश्वरको दृष्टिकोण के हो?
जीवनको सृजनहार तथा स्रोत, यहोवाले आफ्ना उपासकहरूबाट ऐकान्तिक भक्तिको माग गर्नुहुन्छ भन्ने कुरा उहाँले पुरातन इस्राएलसित गर्नुभएको व्यवहारबाट स्पष्ट हुन्छ। (भजन ३६:९; नहूम १:२) भविष्यवक्ता इजकिएलको समयमा ताम्मुज देवताको लागि बिलौना गर्ने प्रचलन यहोवाको दृष्टिमा ‘घीनलाग्दो कुरा’ थियो। यो प्रचलन र अरू झूटा धार्मिक विधिविधानले गर्दा ती झूटा उपासकहरूका प्रार्थना परमेश्वरले सुन्नुभएन।—इजकिएल ८:६, १३, १४, १८.
यहोवा परमेश्वरले इस्राएललाई कटनीको सम्बन्धमा जे गर्न निर्देशन दिनुभएको थियो, त्योसित उक्त कुरा तुलना गर्नुहोस्। अन्न भित्र्याउने चाडमा इस्राएलीहरू खास अवसरको लागि एकत्रित हुन्थे। त्यतिबेला जवान, वृद्ध, धनी, गरिब सबै शानदार रूखका पातले बनाएको अस्थायी झुप्रोहरूमा बस्थे। तिनीहरूका लागि त्यो अति रमाहटको समय हुन्थ्यो। त्यति मात्र होइन परमेश्वरले तिनीहरूका पुर्खाहरूलाई मिश्रबाट छुटकारा दिनुभएको कुरा पनि त्यस चाडमा तिनीहरूले झलझली सम्झन्थे।—लेवी २३:४०-४३.
इस्राएली चाडहरूमा एक मात्र साँचो परमेश्वर, यहोवालाई बलिदानहरू चढाइन्थ्यो। (व्यवस्था ८:१०-२०) अघि उल्लिखित जडवादी परम्पराको सन्दर्भमा भन्ने हो भने, गहुँका बिटाजस्तो उब्जनीमा प्राण भएको बाइबलले कहीं पनि बताएको छैन।b अनि मूर्तिहरू निर्जीव हुनुका साथै बोल्न, देख्न, सुन्न, सुँघ्न, अनुभव गर्न वा उपासकहरूलाई मदत गर्न सक्दैनन् भनेर धर्मशास्त्रले स्पष्ट देखाउँछ।—भजन ११५:५-८; रोमी १:२३-२५.
आज मसीहीहरू यहोवाले पुरातन इस्राएल राष्ट्रलाई दिनुभएको व्यवस्थाको वाचाको अधीनमा छैनन्। हो, परमेश्वरले “त्यसलाई झिकेर येशूको क्रूसमा कीला ठोकिदिनुभयो।” (कलस्सी २:१३, १४) यहोवाका वर्तमान सेवकहरू “ख्रीष्टको व्यवस्था” अनुसार चल्छन् र परमेश्वरले प्रबन्ध गर्नुभएको सबै कुराको मूल्यांकन गर्छन्।—गलाती ६:२.
प्रेरित पावलले “मूल कुरो चाहिं ख्रीष्टको हो” भन्दै यहूदी चाडहरू “आउने कुराका छायाँ” हुन् भनी स्पष्ट पारे। (कलस्सी २:१६, १७) अतः, साँचो मसीहीहरूले यो धर्मशास्त्रीय तर्क स्वीकार्छन्: “अन्यजातिहरू जो बलि चढाउँछन् परमेश्वरलाई होइन, तर भूत-प्रेतहरूलाई चढाउँछन्, . . . तिमीहरूले प्रभुको कचौरा र भूत-प्रेतहरूको कचौरा दुवैबाट पिउनसक्तैनौ।” (१ कोरिन्थी १०:२०, २१) त्यसबाहेक, मसीहीहरू “अशुद्ध कुरो नछोओ” भन्ने निर्देशन पालन गर्छन्। तपाईंका छरछिमेकमा मनाइने कटनी चाडहरूमा गैरमसीही वा झूटा धर्मका झलकहरू पाइन्छन्? पाइन्छन् भने, साँचो मसीहीहरूले यस्ता प्रदूषित उपासनामा भाग लिएर यहोवालाई दुःखित नतुल्याउनु पर्ने हो।—२ कोरिन्थी ६:१७.
आफ्नो पिताको मूल्यांकन गर्ने बच्चाले पिताबाट उपहार पाउँदा कसलाई धन्यवाद दिन्छ? कहिल्यै नचिनेको व्यक्तिलाई वा आमाबाबुलाई? परमेश्वरका उपासकहरूले हार्दिक प्रार्थनाद्वारा स्वर्गमा हुनुहुने तिनीहरूका पितालाई उहाँको प्रशस्त उदारताका लागि धन्यवाद चढाउँछन्।—२ कोरिन्थी ६:१८; १ थिस्सलोनिकी ५:१७, १८.
[फुटनोटहरू]
a “लम्माज” शब्द पुरानो अंग्रेजी शब्दबाट लिइएको र त्यसको अर्थ “रोटी-उत्सव” हो।
b धर्मशास्त्रमाथि अन्तरदृष्टि (अंग्रेजी) बताउँछ: “सृष्टिको तेस्रो ‘दिन’-मा वा त्यसपछि वनस्पति सृष्टि गर्दा ती वनस्पतिमा नेफेश (प्राण) हालिएको उल्लेख छैन (उत्प १:११-१३) किनभने वनस्पतिमा रगत हुँदैन।”—वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित।