फकाइफुस्लाई मानिसहरूको हृदयसम्म पुग्ने
थुप्रै मानिसहरू “फकाइफुस्लाई” भन्ने बित्तिकै शंकालु हुन्छन्। यो शब्दले जबरजस्ती सामान किन्न लगाउने विक्रेता, उपभोक्तालाई झुक्याउन अथवा आफ्नो हातमा पार्न तयार पारिएको विज्ञापन जस्ता कुरा सम्झना गराउनसक्छ। बाइबलमा समेत कहिलेकाहीं फकाइफुस्लाई भन्ने शब्द दूषित वा भ्रष्ट पार्ने तत्त्व भनी बुझाउन नकारात्मक अर्थमा प्रयोग गरिएको छ। उदाहरणका लागि, प्रेरित पावलले गलातीहरूलाई यसरी लेखे: “तिमीहरू राम्रैसँग दौड़िरहेका थियौ, र सत्यलाई मान्न छोड़नू भनेर कसले तिमीहरूलाई रोक्यो? त्यो फकाइफुस्लाई तिमीहरूलाई बोलाउनेको तर्फबाट आएको ता होइन।” (गलाती ५:७, ८) पावलले कलस्सीहरूलाई “कसैले फकाइफुस्लाईको बातले . . . नछलोस्” भनेर चेताउनी दिएका पनि थिए। (कलस्सी २:४) किनकि त्यस्तो फकाइफुस्लाई चतुर तर्क वा झूटो कुरामा आधारित हुन्छ।
तथापि, पावलले तिमोथीलाई लेखेको दोस्रो पत्रमा फकाइफुस्लाई भन्ने शब्द भिन्नै अर्थमा प्रयोग गरे। तिनले लेखे: “तिमी चाहिं, यो कसबाट सिकेका हौ, सो जानेर आफूले सिकेका र निश्चय भएका [“फकाइफुस्लाई विश्वस्त गराइएका,” NW] कुराहरूमा लागिरह।” (२ तिमोथी ३:१४) तिमोथीलाई ‘फकाइफुस्लाई विश्वस्त गराइनुको’ अर्थ धर्मशास्त्रका सत्य वचनहरू सिकाउने आमा र बज्यैले तिनलाई औंलामा नचाइरहेका थिए भन्ने होइन।—२ तिमोथी १:५.a
रोममा नजरबन्द हुँदा पावलले “बिहानदेखि साँझसम्मै मोशाको व्यवस्थाबाट र अगमवक्ताहरूका पुस्तकबाट . . . येशूको विषयमा [“फकाइफुस्लाई,” NW] उनीहरूलाई प्रष्ट गरी” थुप्रैलाई साक्षी दिए। (प्रेरित २८:२३) के पावलले आफ्ना श्रोताहरूलाई झुक्काइरहेका थिए? अहँ, थिएनन्! अतः फकाइफुस्लाई गर्नु सधैं खराबै हुन्छ भन्ने छैन।
सकारात्मक अर्थमा प्रयोग गरिंदा “फकाइफुस्लाई” भनेर अनुवाद गरिएको मूल युनानी शब्दले विश्वस्त पार्नु, उचित तर्कद्वारा मन बद्लाउनु बोध गराउँछ। तसर्थ, शिक्षकले फकाइफुस्लाई बाइबलका सत्य कुराहरूमा विश्वस्त गराएर धर्मशास्त्रीय आधार बसाल्नसक्छन्। (२ तिमोथी २:१५) निस्सन्देह, यही नै पावलको सेवकाईको चिनारी पनि थियो। मसीहीधर्मका शिक्षाहरूलाई झूटो ठान्ने चाँदीको शिल्पकार डेमेत्रियसले समेत “एफिससमा मात्र होइन, तर झन्डै एसिया भरिमानै, हातले बनाएका चाहिं देवता हुँदै होइनन् भनेर यस पावलले धेरै मानिसहरूलाई बहकाईकन [“फकाइफुस्लाई,” NW] मनाउन लागेको छ” भनी बतायो।—प्रेरित १९:२६.
क्षेत्र सेवकाईमा फकाइफुस्लाई सिकाउने
येशू ख्रीष्टले आफ्ना चेलाहरूलाई यस्तो आज्ञा दिनुभयो: “यसकारण गएर सबै देशका जातिहरूलाई चेला बनाओ, र पिता, पुत्र र पवित्र आत्माको नाउँमा बप्तिस्मा देओ। जे जे मैले तिमीहरूलाई आज्ञा गरें, तिनीहरूलाई ती सबै गर्नालाई सिकाओ। र हेर, म सब दिन, अँ, जगत्को अन्तसम्म तिमीहरूका साथमा छँदैछु।” (मत्ती २८:१९, २०) यहोवाका साक्षीहरूले २३० भन्दा बढी मुलुकहरूमा उक्त आज्ञा पालन गरिरहेका छन्। तिनीहरूले १९९७ को सेवा वर्षमा संसारभरि हरेक महिना औसतन ४५,५२,५८९ गृह बाइबल अध्ययन संचालन गरे।
यदि तपाईंले गृह बाइबल अध्ययन संचालन गर्ने सुअवसर पाउनुभएको छ भने फकाइफुस्लाई सिकाउनुपर्ने अवस्था पनि आउनेछ भनेर आशा गर्न सक्नुहुन्छ। उदाहरणका लागि, मानिलिनुहोस् अर्कोचोटि अध्ययन गर्दा त्रिएकको प्रश्नबारे कुरा गर्नुपर्ने छ। त्रिएक सिद्धान्तमा विद्यार्थीको विश्वास छ भनेर तपाईंलाई थाह छ भने के गर्नुहुन्छ? तिनलाई उक्त विषय छलफल गर्ने कुनै साहित्य दिन सक्नुहुन्छ। हुनसक्छ तिनलाई परमेश्वर र येशू त एउटै हुनुहुन्न रहेछ भनेर विश्वस्त पार्न सो साहित्य सफल हुन्छ होला। तर अझै प्रश्न बाँकी छ भने नि?
ध्यान दिएर सुन्नुहोस्। ध्यान दिएर सुन्नुभयो भने सम्बन्धित विषयमा विद्यार्थीको के विश्वास छ, बुझ्नु हुनेछ। उदाहरणका लागि, विद्यार्थीले “म त्रिएकमा विश्वास गर्छु” भन्दा सो सिद्धान्त सही होइन भनेर प्रमाणित गर्न तपाईं तुरुन्तै धर्मशास्त्रीय छलफल गर्न सक्नुहुन्छ। तर त्रिएकलाई विभिन्न ढंगमा विश्वास गरिन्छ। तपाईं त्रिएक सिद्धान्तलाई जुन ढंगले परिभाषित गर्नुहुन्छ सायद विद्यार्थीको विश्वास त्यस्तो नहोला। पुनर्जन्म, अमर आत्मा र मुक्तिजस्ता अन्य विश्वासमा त्यही कुरा लागू हुनसक्छ। अतः बोल्नुअघि ध्यान दिएर सुन्नुहोस्। विद्यार्थीको विश्वास यस्तो उस्तो होला भनेर अनुमान नलगाउनुहोस्।—हितोपदेश १८:१३.
प्रश्न सोध्नुहोस्। जस्तै: ‘के तपाईं पहिलेदेखि त्रिएकमा विश्वास गर्नुहुन्थ्यो? यस विषयमा बाइबल के भन्छ, के तपाईंले राम्ररी अध्ययन गर्नुभएको छ? परमेश्वर त्रिएकको भाग हुनुहुँदो हो त उहाँको वचन बाइबलले सो कुरा प्रस्टै बताउँदैनथ्यो र?’ विद्यार्थीलाई सिकाउँदै गर्दा बेला बेलामा रोकेर सोध्नुहोस्: ‘अहिलेसम्म छलफल गरेका कुराहरू के तपाईंलाई चित्त बुझिरहेको छ?’ ‘के तपाईं सहमत हुनुहुन्छ?’ कुशलतापूर्वक प्रश्नहरू सोधेर तपाईंले विद्यार्थीलाई सिक्ने क्रममा अघि बढाउन सक्नुहुन्छ। तिनलाई तपाईंले व्याख्या गर्नुभएको विषय ट्वाल्ल परेर सुन्न मात्र लगाउनु हुन्न।
युक्तिसंगत तर्क गर्नुहोस्। उदाहरणका लागि, त्रिएक सिद्धान्तबारे छलफल गर्नुहुँदा विद्यार्थीलाई भन्न सक्नुहुन्छ: ‘येशूले बप्तिस्मा लिनुहुँदा स्वर्गबाट यसो भन्ने आवाज आएको थियो: “तिमी मेरा प्यारा पुत्र हौ, तिमीसित म प्रसन्न छु।” पृथ्वीमा बप्तिस्मा लिनुहुने व्यक्ति यदि परमेश्वर नै हुनुहुन्थ्यो भने के उहाँले आफ्नो आवाज स्वर्गतिर पठाउनुभएर फेरि पृथ्वीमा सुनियोस् भनेर प्रतिबिम्बित गराउनुहुने थियो र? के त्यो छल हुने थिएन र? के “झूट नबोल्नुहुने परमेश्वरले” त्यस्तो छल गर्नुहुन्थ्यो र?’—लूका ३:२१, २२; तीतस १:१, २.
निपुणतासाथ प्रस्तुत गरिएको युक्तिसंगत तर्क अक्सर प्रभावकारी हुन्छ। एउटी आइमाईलाई विचार गर्नुहोस्, जसलाई हामी केही क्षण बार्बरा भन्नेछौं। तिनले जीवनभर येशू नै परमेश्वर र त्रिएकको भाग हुनुहुन्छ जसमा पवित्र आत्मा पनि सम्मिलित छ भन्ने विश्वास गरेकी थिइन्। त्यत्तिकैमा यहोवाका साक्षीले तिनलाई परमेश्वर र येशू त बेग्लाबेग्लै व्यक्ति हुन् भनेर बताए अनि सो कुरा समर्थन गर्न शास्त्रपदहरू पनि देखाए।b बार्बराले बाइबलको खण्डन गर्न सकिनन्। तर तिनी निराश भइन् किनकि त्रिएकमा तिनको गहिरो विश्वास थियो।
उक्त साक्षीले धैर्यसाथ बार्बरासँग तर्कवितर्क गरे। तिनले प्रश्न पनि गरे: “तपाईं ती दुई व्यक्तिहरू एकै हुन् भनेर मलाई सिकाउन चाहनुहुन्छ भने कुन पारिवारिक सम्बन्धद्वारा बुझाउनुहुन्छ?” तिनले एकछिन विचार गरेर यसो भनिन्: “दाजुभाइको सम्बन्धद्वारा बुझाउनेछु।” साक्षीले भने: “एकदमै ठीक भन्नुभयो। सायद तपाईं जुम्ल्याहा दाजुभाइको उदाहरण दिनुहुन्छ होला। त्यसोभए, परमेश्वर पिता र आफू चाहिं पुत्र हो भनेर सिकाउनुहुँदा येशूले के भन्दै हुनुहुन्थ्यो त?” बार्बराले उत्साहित हुँदै भनिन्: “हो त नि। येशूले एक जना चाहिं ज्येष्ठ हुनुहुन्छ र उहाँसित धेरै अख्तियार छ भन्दै हुनुहुन्थ्यो।”
साक्षीले जवाफ दिए: “ठीक भन्नुभयो। कुलपिताहरूको समाजमा बस्ने त्यतिबेलाका मानिसहरू पनि तपाईंजस्तै निष्कर्षमा पुगेका हुनुपर्छ।” आफ्नो कुरालाई जोड दिंदै साक्षीले यसरी कुरा टुंग्याए: “दुई व्यक्ति समान हुन् भनेर सिकाउन हामी दाजुभाइ वा जुम्ल्याहाको मिल्दो उदाहरण चलाउनसक्छौं भने महान् शिक्षक येशूले पनि पक्कै यस्तो उदाहरण चलाउन सक्नुहुन्थ्यो। यसको विपरीत, उहाँले आफू र परमेश्वरबीचको सम्बन्ध वर्णन गर्नुहुँदा ‘पिता’ र ‘पुत्र’ भन्ने शब्द पो चलाउनुभयो।”
अन्ततः बार्बराले सबै कुरा बुझिन् र स्वीकारिन्। फकाइफुस्लाई सिकाएको हुनाले तिनको हृदय छुन सकियो।
भावना बुझेर व्यवहार गर्ने
जरा गाडेर बसेका धार्मिक विश्वासहरूमा अक्सर भावना मुछिएको हुन्छ। कट्टर क्याथोलिक एडनालाई विचार गर्नुहोस्। तिनका किशोर नातिहरूले परमेश्वर र येशू एकै हुनुहुन्न भन्ने स्पष्ट धर्मशास्त्रीय प्रमाण दिए। एडनाले सो कुरा बुझिन्। यद्यपि, तिनले नम्र तर दृढतासाथ यसो भनिन्: “म पवित्र त्रिएकमा विश्वास गर्छु।”
तपाईंको पनि सायद यस्तै अनुभव हुनसक्छ। थुप्रै मानिसहरू आफ्ना धार्मिक सिद्धान्तहरू आफ्नो पहिचान नै हो भन्ठान्छन्। यस्ता बाइबल विद्यार्थीहरूलाई विश्वस्त गराउन तर्क गरेर वा उसको विचारधारा गलत छ भनेर प्रमाणित गर्नु भएभरको शास्त्रपद देखाएर मात्र पुग्दैन। उसको भावनाको कदर गर्दै फकाइफुस्लाई सिकाएर यस्तो परिस्थिति हल गर्न सकिन्छ। (रोमी १२:१५ तुलना गर्नुहोस्; कलस्सी ३:१२) हो, प्रभावकारी शिक्षक हुन पक्का विश्वास पनि चाहिन्छ। उदाहरणका लागि, पावलले “म यो निश्चय जान्दछु” अनि “म जान्दछु, र प्रभु येशूमा यो विश्वाससित भन्नसक्छु” भन्ने जस्ता वाक्यांशहरू चलाए। (रोमी ८:३८; १४:१४) तथापि, आफ्नो विश्वास व्यक्त गर्दा हठधर्मी वा आत्मधर्मी व्यक्तिले जस्तो बोल्नु हुँदैन र बाइबलका सत्य वचनहरू प्रस्तुत गर्दा खसाल्ने कुरा गर्ने वा तुच्छ ठान्ने गर्नु हुँदैन। निस्सन्देह, हामी विद्यार्थीलाई रिस उठाउन वा तिनको अपमान गर्न चाहन्नौं।—हितोपदेश १२:१८.
विद्यार्थीका विश्वासहरू आदर गर्नुका साथै उसँग सो विश्वास गर्ने अधिकार छ भनेर मानिलिंदा बरु बढी प्रभावकारी हुन्छ। विनम्रता महत्त्वपूर्ण कुरा हो। नम्र शिक्षकले कहिल्यै आफूलाई विद्यार्थीभन्दा श्रेष्ठ ठान्दैन। (लूका १८:९-१४; फिलिप्पी २:३, ४) परमेश्वरले जस्तै फकाइफुस्लाई सिकाउने कलामा विनम्रता सम्मिलित छ जसले यसो भन्छ: ‘यहोवाको दयाले मैले यो कुरा बुझ्न पाएँ। म तपाईंलाई पनि बताउन चाहन्छु।’
पावलले कोरिन्थका सँगी मसीहीहरूलाई लेखे: “हाम्रो युद्धका हतियार शारीरिक होइनन्, तर किल्लाहरू भत्काउनसक्नेझैं छन्, ती परमेश्वरका सामने शक्तिमान् छन्, परमेश्वरको ज्ञानको विरुद्धमा खड़ा हुने कल्पना र हरेक उच्च कुरालाई हामी खण्डन गर्छौं, र हरेक विचारलाई ख्रीष्टको आज्ञा मान्नालाई अधीनमा पार्छौं।” (२ कोरिन्थी १०:४, ५) आज यहोवाका साक्षीहरू जरा गाडेर बसेका झूटा सिद्धान्तहरूका साथै परमेश्वरलाई अप्रशन्न तुल्याउने रीतिथितिहरू उदांग पार्न उहाँको वचन प्रयोग गरिरहेका छन्। (१ कोरिन्थी ६:९-११) त्यसो गर्दा यहोवा तिनीहरूसँग धैर्यवान् हुनुहुन्छ भन्ने कुरा साक्षीहरू बिर्सदैनन्। उहाँको वचन बाइबल पाएकोमा र उक्त शक्तिशाली औजार झूटो शिक्षा जरैदेखि उखेल्न प्रयोग गर्न पाउनुका साथै फकाइफुस्लाई मानिसहरूको हृदयसम्म पुग्न पाएकोमा तिनीहरू साह्रै खुसी छन्!
[फुटनोटहरू]
a यही प्रहरीधरहरा-को पृष्ठ ७-९ मा “युनिस र लोइस—उदाहरणीय शिक्षिकाहरू” भन्ने लेख हेर्नुहोस्।
b यूहन्ना १४:२८; फिलिप्पी २:५, ६; कलस्सी १:१३-१५ हेर्नुहोस्। थप जानकारीका लागि वाच टावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित के तपाईंले त्रिएकमा विश्वास गर्नुपर्ने हो? (अंग्रेजी) पुस्तिका हेर्नुहोस्।
[पृष्ठ २३-मा भएको पेटी]
तपाईंको विद्यार्थीको हृदयसम्म पुग्ने
◻ बाइबल विद्यार्थीको हृदयसम्म पुग्न यहोवालाई प्रार्थना गरेर निर्देशन माग्नुहोस्।—नहेम्याह २:४, ५; यशैया ५०:४.
◻ विद्यार्थीले के विश्वास गर्छ र उसलाई किन झूटो विश्वास पनि ठीकै हो जस्तो लाग्छ, बुझ्नुहोस्।—प्रेरित १७:२२, २३.
◻ दयालु र धैर्यवान् भएर अनि दुवैलाई चासो लाग्ने कुरा गरेर तर्कसंगत ढंगमा धर्मशास्त्रीय कुराकानी गर्नुहोस्।—प्रेरित १७:२४-३४.
◻ सम्भव भए उदाहरणहरू चलाएर बाइबलका सत्य वचनहरू प्रकाश पार्नुहोस्।—मर्कूस ४:३३, ३४.
◻ बाइबलबाट सही ज्ञान लिंदा के कस्ता फाइदाहरू हुन्छन्, विद्यार्थीलाई बताउनुहोस्।—१ तिमोथी २:३, ४; २ तिमोथी ३:१४, १५.