“उत्कट आशा” लिएर पर्खने
“सृष्टिको उत्कट आशाले परमेश्वरका छोराहरू प्रकट हुनआउने बाटो हेर्दछ।”—रोमी ८:१९.
१. आजका मसीहीहरू तथा प्रथम शताब्दीका मसीहीहरूबीच कुन अवस्था मिल्दोजुल्दो छ?
आज साँचो मसीहीहरूको अवस्था प्रथम शताब्दीका मसीहीहरूको जस्तै छ। त्यतिखेर यहोवाका सेवकहरूलाई एउटा भविष्यवाणीले मसीह कहिले देखापर्नेछ भनेर ठम्याउन मदत गऱ्यो। (दानियल ९:२४-२६) त्यही भविष्यवाणीले यरूशलेमको विनाशबारे पनि अगमवाणी गरेको थियो तर उक्त शहर कहिले नाश हुने हो, त्यसबारे किटेर बताउनसक्ने तथ्य मसीहीहरूलाई दिइएको थिएन। (दानियल ९:२६ख, २७) त्यसैगरि, एउटा भविष्यवाणीले १९ औं शताब्दीका बाइबल विद्यार्थीहरूलाई पर्खेर बस्ने कारण दियो। दानियल ४:२५ को “सात काल[लाई]” “अन्यजातिको समय[सित]” गाँसेर ख्रीष्टले १९१४ मा राज्य शक्ति प्राप्त गर्नुहुनेछ भनेर तिनीहरूले आशा गरे। (लूका २१:२४; इजकिएल २१:२५-२७) दानियलको पुस्तकमा थुप्रै भविष्यवाणीहरू भए तापनि यीमध्ये कुनैले पनि अहिले बाइबल विद्यार्थीहरूलाई शैतानको सम्पूर्ण रीतिरिवाज कहिले नाश हुनेछ, त्यो ठ्याक्कै हिसाब गरेर निकाल्न मदत गर्दैन। (दानियल २:३१-४४; ८:२३-२५; ११:३६, ४४, ४५) तथापि, “अन्तको समय[मा]” बाँचिरहेकोले त्यो चाँडै हुनेछ भनेर तिनीहरूलाई थाह छ।—दानियल १२:४.a
ख्रीष्टको उपस्थितिको दौडान सतर्कता
२, ३. (क) ख्रीष्टले राज्यसत्ता पाउनुभएको समयमा हामी बाँचिरहेका छौं भन्ने सबैभन्दा ठूलो प्रमाण के हो? (ख) ख्रीष्टको उपस्थितिको दौडान मसीहीहरू जागा रहिरहनुपर्छ भनेर केले देखाउँछ?
२ हो, १९१४ मा ख्रीष्ट राज्य शक्तिमा आउनुअघि नै त्यो समयलाई पर्खिबस्ने आशा मसीहीहरूलाई भविष्यवाणीले नै दिएको थियो। तर आफ्नो उपस्थिति र जगत्को अन्तबारे ख्रीष्टले दिनुभएको “चिह्न”-ले घटनाहरू बताएको छ। अनि यीमध्ये धेरैजसो चाहिं उहाँको उपस्थिति सुरु भइसकेपछि हुने थिए। युद्ध, अनिकाल, भुइँचालो, रोग, बढ्दो अधर्म, मसीहीहरूलाई हुने सतावट र राज्यको सुसमाचारको विश्वव्यापी प्रचारजस्ता घटनाहरूले अहिले हामी ख्रीष्टले राज्यसत्ता पाउनुभएको समयमा बाँचिरहेका छौं भन्ने सशक्त प्रमाण दिन्छ।—मत्ती २४:३-१४; लूका २१:१०, ११.
३ यद्यपि, येशूले छुट्टिने बेला आफ्ना चेलाहरूलाई दिनुभएको सल्लाहको मूल आशय नै “होशियार रहो, जागा बस . . . जागा रहो” थियो। (मर्कूस १३:३३, ३७; लूका २१:३६) सतर्क रहने सम्बन्धमा दिइएका यी उपदेशहरूको प्रसंगलाई होसियारीसाथ पढ्दा ख्रीष्टले आफ्नो उपस्थिति सुरु हुने चिह्नहरूलाई ध्यान दिएर हेर्नू मात्र भन्न खोज्नुभएको थिएन भन्ने बुझिन्छ। बरु, उहाँ आफ्ना साँचो चेलाहरूलाई आफ्नो उपस्थितिको दौडान सतर्क रहिरहने आदेश दिनुहुँदै थियो। तर साँचो मसीहीहरू के को निम्ति जागा रहनुपर्थ्यो?
४. येशूले दिनुभएको चिह्नले कुन उद्देश्य पूरा गर्ने थियो?
४ येशूले निम्न प्रश्नको उत्तरमा सबैभन्दा ठूलो भविष्यवाणी गर्नुभएको थियो: “हामीलाई भन्नुहोस्, यो कुरा कहिले हुनेछन् [यहूदी रीतिरिवाजको विनाश हुनअघि घटनाहरू], र तपाईंको आगमन र जगत्को अन्तको चिह्न के हुन्छ?” (मत्ती २४:३) अगमवाणी गरिएको चिह्नले ख्रीष्टको उपस्थिति मात्र नभई वर्तमान् दुष्ट रीतिरिवाजको अन्तअघि हुने घटनाहरूलाई पनि चिनाउने थियो।
५. आध्यात्मिक तवरमा उपस्थित हुनुभएर पनि आफू ‘आउँदैछु’ भनेर येशूले कसरी देखाउनुभयो?
५ आफ्नो “उपस्थितिको” दौडान (युनानी, पारुसिया) आफू शक्ति र महिमामा आउने कुरा येशूले देखाउनुभयो। ‘आउने’ सम्बन्धमा (युनानी शब्द एर्खोमाइ-का रूपहरूले जनाउने) उहाँले यस्तो घोषणा गर्नुभयो: “तब मानिसको पुत्रको चिह्न आकाशमा देखा पर्नेछ औ पृथ्वीका सब जातिहरू विलाप गर्नेछन्, र तिनीहरूले मानिसको पुत्रलाई आकाशका बादलहरूमा शक्ति र ठूलो महिमासित आउँदैगरेको देख्नेछन्। . . . नेभाराको रूखबाट एउटा उपमा सिक जब त्यसको हाँगा कमलो भएर पातहरू पलाउँछ, तब ग्रीष्म ऋतु आएछ भनी थाह पाउँछौ। त्यसरीनै तिमीहरूले पनि जब यी सबै कुरा भएका देख्नेछौ तब उ [ख्रीष्ट] नजीकै, ढोकाहरूमै छ भनी जान। . . . जागा रहो, किनकि कुन दिन तिमीहरूका प्रभु आउँछन्, सो तिमीहरूले जान्दैनौ। . . . तिमीहरू पनि तयार रहो किनकि मानिसको पुत्र तिमीहरूले नचिताएको बेलामा आउँछ।”—मत्ती २४:३०, ३२, ३३, ४२, ४४.
येशू ख्रीष्ट किन आउनुभयो?
६. “महान् बेबिलोन”-को विनाश कसरी हुनेछ?
६ येशू ख्रीष्ट १९१४ देखि राजा हुनुभए तापनि उहाँ ज-जसलाई दुष्ट भेट्टाउनुहुन्छ, तिनीहरूको न्याय गर्नुअघि रीतिरिवाज तथा मानिसहरूको न्याय गर्नैपर्छ। (२ कोरिन्थी ५:१० तुलना गर्नुहोस्।) यहोवाले अब चाँडै शासकहरूको मनमा झूटो धर्मको विश्वव्यापी साम्राज्य “महान् बेबिलोन”-लाई नाश गर्ने विचार राखिदिनुहुनेछ। (प्रकाश १७:४, ५, १६, १७) “पापको मानिस” अर्थात् “महान् बेबिलोन”-को मुख्य अंग, मसीहीजगत्का धर्मत्यागी पादरीहरूलाई येशू ख्रीष्टले विनाश गर्नुहुनेछ भनी प्रेरित पावलले विशेष जोड दिएर बताए। तिनले लेखे: “तब त्यो अधर्मी प्रकट हुनेछ, जसलाई प्रभु येशूले आफ्नो मुखको सासले नाश पार्नुहुनेछ, र उहाँको आगमनको प्रकाशले विनाश पार्नुहुनेछ।”—२ थिस्सलोनिकी २:३, ८.
७. मानिसको पुत्र आफ्नो महिमामा आउनुहुँदा उहाँले कस्तो न्याय गर्नुहुनेछ?
७ निकट भविष्यमा ख्रीष्टले उहाँका भाइहरू यस पृथ्वीमा छँदा जाति जातिका मानिसहरूले कस्तो व्यवहार गरे त्यसको आधारमा तिनीहरूको न्याय गर्नुहुनेछ। हामी यस्तो पढ्छौं: “जब मानिसको पुत्र स्वर्गदूतहरूसमेत आफ्नो महिमामा आउला, तब आफ्नो महिमाको सिंहासनमा बस्नेछ। औ उसको सामु सबै देशका मानिसहरू जम्मा हुनेछन्, र जसरी गोठालोले भेड़ाहरूलाई बाख्राबाट छुट्याउँछ, उसरीनै उसले तिनीहरू एकलाई अर्कोबाट छुट्याउनेछ। औ उसले भेड़ाहरूलाई आफ्नो दाहिने हातपट्टि, तर बाख्राहरूलाई देब्रेपट्टि राख्नेछ। . . . तब राजाले [भेडाहरूलाई] भन्नेछन्, ‘म तिमीहरूलाई साँच्चै भन्दछु, तिमीहरूले यी मेरा भाइहरूमध्ये सबैभन्दा सानो एउटालाई जे जति गऱ्यौ, त्यो तिमीहरूले मलाईनै गऱ्यौ। त्यसपछि यिनीहरूचाहिं [बाख्राहरू] अनन्त दण्डमा, तर धार्मिकहरूचाहिं अनन्त जीवनमा जानेछन्।’ ”—मत्ती २५:३१-४६.
८. अभक्तहरूमाथि ख्रीष्टले न्याय कार्यान्वयन गर्न आउनुहुनेबारे पावलले कसरी व्याख्या गरे?
८ भेडा र बाख्राको उखानमा भनेजस्तै येशूले सबै अभक्तहरूको अन्तिम न्याय गर्नुहुन्छ। पावलले कष्ट भोगिरहेका सँगी विश्वासीहरूलाई आश्वासन दिंदै भने, “हामी[सँगसँगै] आरामी दिनलाई उहाँको शक्तिशाली स्वर्गदूतहरूसँग प्रभु येशू स्वर्गबाट बल्दो आगोमा प्रकाश हुँदा, परमेश्वरलाई नचिन्नेहरूलाई, हाम्रा प्रभु येशूको सुसमाचार नमान्नेहरूलाई बदला दिंदा, यिनीहरूले प्रभुको मुखबाट र उहाँको शक्तिको तेजबाट अनन्त विनाशको सजाय भोग्नेछन्, जब त्यस दिन उहाँका पवित्र जनहरूमा महिमा पाउन, र विश्वास गर्नेहरू सबैमा अचम्म हुनलाई उहाँ आउनुहुनेछ, किनभने तिमीहरूलाई दिएको हाम्रो साक्षीमा तिमीहरूले विश्वास गऱ्यौ।” (२ थिस्सलोनिकी १:७-१०) भविष्यमा यस्ता रोमाञ्चकारी घटनाहरू हुने भएकाले के हामीले विश्वास गर्नु र ख्रीष्ट आउनुहुने समयलाई उत्सुकतासाथ जागा रहेर पर्खनुपर्ने होइन र?
ख्रीष्टको प्रकाशलाई उत्सुकतासाथ पर्खने
९, १०. पृथ्वीमा बाँकी रहेका अभिषिक्त जनहरू येशू ख्रीष्टको प्रकाशलाई किन उत्सुकतासाथ पर्खन्छन्?
९ दुष्टहरूलाई नाश गर्न मात्र होइन तर धर्मीहरूलाई इनाम दिन पनि “ख्रीष्ट स्वर्गबाट . . . प्रकाश” हुनुहुनेछ। ख्रीष्टको प्रकाश हुनुअघि यस पृथ्वीमा उहाँका शेष अभिषिक्त भाइहरूले कष्ट भोग्लान् तर तिनीहरू आफ्नो महिमित स्वर्गीय आशाको कारण रमाउँछन्। अभिषिक्त मसीहीहरूलाई प्रेरित पत्रुसले लेखे: “ख्रीष्टको शासनाहरूको सहयोगी भएर रमाओ, र उहाँको महिमा प्रकट हुँदाखेरि तिमीहरू पनि हर्षित र आनन्दित होओ।”—१ पत्रुस ४:१३.
१० ख्रीष्टले ‘तिनीहरूलाई एकसाथ उहाँकहाँ भेला’ नगराउञ्जेल विश्वासी भइरहने निधो अभिषिक्त जनहरूले गरेका छन् ताकि तिनीहरूको “विश्वासको प्रमाण” “येशू ख्रीष्टको प्रकाशमा प्रशंसा, महिमा र आदरमा पाइओस्।” (१ थिस्सलोनिकी २:१; १ पत्रुस १:७) यस्ता विश्वासी आत्मा-अभिषिक्त मसीहीहरूको सन्दर्भमा यसो भन्न सकिन्छ: “ख्रीष्टको विषयको साक्षी तिमीहरूमा पुष्टि भएबमोजिम पनि, यहाँसम्म कि, हाम्रा प्रभु येशू ख्रीष्टको प्रकाश पर्खिरहँदा तिमीहरूमा कुनै वरदानको अभाव छैन।”—१ कोरिन्थी १:६, ७.
११. येशू ख्रीष्टको प्रकाश पर्खंदै अभिषिक्त मसीहीहरू के गर्छन्?
११ शेष अभिषिक्त जनहरूको भावना पावलको जस्तै छ। तिनले लेखे: “म ठान्छु, यस वर्त्तमान समयको दुःख हामीलाई पछि प्रकट हुनआउने महिमासँग तुलना हुने योग्यको छैन।” (रोमी ८:१८) तिनीहरूले समय हिसाब गरेर विश्वास थाम्नु जरुरी थिएन। यहोवाको सेवामा व्यस्त भएर तिनीहरू आफ्ना सँगी अर्थात् “अन्य भेड़ा[को]” निम्ति अद्भुत उदाहरण बसाल्छन्। (यूहन्ना १०:१६) यस दुष्ट रीतिरिवाजको अन्त नजिकै छ भनेर ती अभिषिक्त जनहरूलाई थाह छ। त्यसैले तिनीहरू पत्रुसको यो सल्लाह पालन गर्छन्: “आफ्नो मन बाँधेर सचेत होओ, र येशू ख्रीष्टको प्रकाशमा तिमीहरूकहाँ ल्याइने अनुग्रहमा तिमीहरूको आशा ठीकसँग राख।”—१ पत्रुस १:१३.
“सृष्टिको उत्कट आशाले”
१२, १३. मानव सृष्टि कसरी “व्यर्थताको अधीनमा रह्यो” र अरू भेडा के को चाह गर्छ?
१२ के अरू भेडासित पनि उत्कट आशाले जीवन बिताउने केही कारण छ? पक्कै पनि छ। यहोवाले आफ्ना अभिषिक्त “छोरा” तथा स्वर्गीय राज्यमा “ख्रीष्टसँग साझे-हकवाला[को]” रूपमा ग्रहण गर्नुभएका जनहरूको महिमित प्रत्याशाबारे बताइसकेपछि पावलले यसो भने: “सृष्टिको उत्कट आशाले परमेश्वरका छोराहरू प्रकट हुनआउने बाटो हेर्दछ। किनभने यसको आफ्नै इच्छाले होइन, तर त्यसलाई अधीनमा तुल्याउनेको कारणले सृष्टि व्यर्थताको अधीनमा रह्यो। यसै आशामा, कि परमेश्वरको सन्तानको महिमाको स्वतन्त्रतामा सृष्टि आफैले पनि विनाशको बन्धनबाट छुटकारा पाउनेछ।”—रोमी ८:१४-२१; २ तिमोथी २:१०-१२.
१३ आदमको पापको कारण उसका सम्पूर्ण सन्तति पाप र मृत्युको बन्धनमा जन्मिएर “व्यर्थताको अधीनमा रह्यो।” तिनीहरू आफूलाई यस्तो बन्धनबाट मुक्त गर्न असमर्थ थिए। (भजन ४९:७; रोमी ५:१२, २१) अरू भेडाले “विनाशको बन्धनबाट छुटकारा पाउने” अति चाह गर्छ! तर त्यसअघि यहोवाको बेला र समयअनुसार केही खास कुराहरू हुनैपर्छ।
१४. “परमेश्वरका छोराहरू प्रकट हुनआउने” विषयमा के के सम्बन्धित हुनेछ र यसको परिणामस्वरूप मानिसजातिले कसरी “विनाशको बन्धनबाट छुटकारा पाउनेछ”?
१४ सबैभन्दा पहिले “परमेश्वरका [शेष अभिषिक्त] छोराहरू” “प्रकट” हुनैपर्छ। यसमा के बिथोलित हुनेछ? परमेश्वरले तोक्नुभएको समयमा अन्ततः अभिषिक्त जनहरूमाथि “छाप” लगाइसकिएको र ख्रीष्टसित शासन गर्न महिमित भइसकेको कुरा अरू भेडालाई स्पष्ट हुनेछ। (प्रकाश ७:२-४) शैतानको रीतिरिवाज नाश गर्दा ख्रीष्टसँगसँगै पुनरुत्थान भएका “परमेश्वरका छोराहरू” पनि प्रकट हुनेछन्। (प्रकाश २:२६, २७; १९:१४, १५) त्यसपछि, ख्रीष्टको हजार वर्षे शासनको दौडान तिनीहरू पूजाहारीको रूपमा मानव “सृष्टि[लाई]” ख्रीष्टको छुटकाराको बलिदानको लाभ पुऱ्याउने माध्यम रहेछन् भनेर अझै “प्रकट” हुनेछन्। यसको परिणाम, मानिसजातिले “विनाशको बन्धनबाट छुटकारा पाउनेछ” र अन्ततः “परमेश्वरको सन्तानको महिमाको स्वतन्त्रतामा” प्रवेश गर्नेछन्। (रोमी ८:२१; प्रकाश २०:५; २२:१, २) यस्ता महान् प्रत्याशाहरू भएको हुँदा अरू भेडाले “उत्कट आशाले परमेश्वरका छोराहरू प्रकट हुनआउने बाटो” हेर्नु के अनौठो छ?—रोमी ८:१९.
यहोवाको धीरजको अर्थ छुटकारा हो
१५. घटनाहरू पूरा गराउनुहुने यहोवाको समय तालिका सम्बन्धी हामीले कहिल्यै बिर्सन नहुने कुरा के हो?
१५ यहोवा समय तालिका राख्नुहुने महान् व्यक्ति हुनुहुन्छ। घटनाहरू उहाँले तोक्नुभएकै समयमा पूरा हुन्छ। कामकुराहरू सधैं हामीले चाहेजस्तो नहोला। तथापि, परमेश्वरका सबै प्रतिज्ञा पूरा हुनेछ भनी हामी पूर्णतया विश्वस्त हुनसक्छौं। (यहोशू २३:१४) उहाँले कतिपय कुराहरू धेरैले आशा गरेभन्दा लामो समयसम्म भइरहन दिनुभएको होला। उहाँका मार्गहरू बुझ्न खोज्दै उहाँको बुद्धिको प्रशंसा गरौं। पावलले लेखे: “अहा! परमेश्वरका बुद्धि र ज्ञान, दुवैका सम्पत्ति कस्तो गहीरो छ! उहाँका इन्साफ कति अगम, र उहाँका मार्ग अभेद्य छ! किनभने प्रभुको मनलाई कसले जानेको छ? अथवा उहाँको सल्लाहकार को भएको छ?”—रोमी ११:३३, ३४.
१६. यहोवाको धीरजबाट कसले फाइदा उठाउँछ?
१६ पत्रुसले लेखे: “हे प्रिय हो, यी कुराको [पुरानो “स्वर्ग” र “पृथ्वीको” नाश र तिनको ठाउँमा परमेश्वरले प्रतिज्ञा गर्नुभएअनुसार बसालिने “नयाँ स्वर्ग” र “नयाँ पृथ्वीको”] बाटो हेर्ने भएर शान्तिसाथ तिमीहरू प्रभुको दृष्टिमा निष्खोट र निष्कलंक ठहरिनालाई प्रयत्न गर। औ . . . प्रभुको धीरजनै मुक्ति हो भनी सम्झ।” यहोवाको धीरजको कारण, करोडौं मानिसहरूले अचानक “चोर जस्तैगरी आउने” “परमेश्वरको त्यस दिन[मा]” बचाइने मौका पाएका छन्। (२ पत्रुस ३:९-१५) उहाँको धीरजले हामी प्रत्येकलाई “डर र कम्पसाथ आफ्नो मुक्तिको काम पूरा गर्दै” जाने मौका पनि दिएको छ। (फिलिप्पी २:१२) येशू न्याय गर्न आउनुहुँदा “मानिसको पुत्रको सामने खड़ा हुनसक्नलाई” उहाँले हामीलाई “आफ्नो विषयमा होशियार रहो” र “जागा रहो” भन्नुभयो।—लूका २१:३४-३६; मत्ती २५:३१-३३.
धीरजी भई पर्खनुहोस्
१७. पावलका कुन शब्दहरू हामीले पालन गर्नुपर्ने हो?
१७ पावलले सँगी आध्यात्मिक भाइहरूलाई आफ्ना आँखा “देखिने कुरा[मा] होइन, तर नदेखिने कुरा[मा]” स्थिर राख्न आग्रह गरे। (२ कोरिन्थी ४:१६-१८) तिनीहरूअघि राखिदिएको स्वर्गीय इनामलाई कुनै पनि कुराले धमिलो पार्न नसकोस् भन्ने तिनी चाहन्थे। चाहे हामी अभिषिक्त मसीहीहरू होऔं वा अरू भेडा, आफूअघि राखिएको अद्भुत आशा मनमा ठप्प बसालौं र त्यसलाई नत्यागौं। आउनुहोस्, “हामीचाहिं विनाशसम्म पुग्नेगरी पछि हट्नेहरूमध्येका होइनौं, तर आत्माको उद्धारको निम्ति विश्वास गर्नेहरूमध्येका हौं” भन्ने प्रमाण दिंदै ‘धीरजसँग बाटो हेरौं।’—रोमी ८:२५; हिब्रू १०:३९.
१८. यहोवाको हातमा पूर्ण भरोसासाथ बेला र समय किन सुम्पनसक्छौं?
१८ हामी पूर्ण भरोसाका साथ बेला र समय यहोवाको हातमा छोड्नसक्छौं। उहाँका प्रतिज्ञाहरूको पूर्ति उहाँको समय तालिकाअनुसार ‘ढिलो हुनेछैन।’ (हबकूक २:३) त्यतिञ्जेल पावलले तिमोथीलाई दिएको यो सल्लाहले हामीलाई थप अर्थ प्रदान गर्छ। तिनले भने: “परमेश्वरको औ जिउँदा र मरेकाहरूको इन्साफ गर्न आउनुहुने ख्रीष्ट येशूको दृष्टि, र उहाँको आगमन र उहाँको राज्यको सामने, म तिमीलाई कड़ा आज्ञा दिन्छु, वचन प्रचार गर, समय र बेसमयमा तयार रह, . . . प्रचारकको काम गर, र तिम्रो सेवाको काम पूरा गर।”—२ तिमोथी ४:१-५.
१९. यहोवाका मानिसहरूले के गर्ने समय अझै पनि छ र किन?
१९ हाम्रो र हाम्रा छिमेकीहरूको जीवन खतरामा छ। त्यसैकारण पावलले लेखे: “आफ्नो विषयमा र आफ्नो शिक्षाको विषयमा होशियार रह। यी कुरामा लागिबस। किनभने यसो गर्नाले तिमीले आफूलाई र तिमीलाई सुन्नेलाई समेत उद्धार गर्नेछौ।” (१ तिमोथी ४:१६) यस रीतिरिवाजको समय निकै छोटो छ। अतः हुन आउने रोमाञ्चकारी घटनाहरूलाई उत्कट आशासहित पर्खंदै यहोवाले आफ्ना जनहरूलाई राज्यको सुसमाचार प्रचार गर्नदिनुहुने बेला र समय बाँकी नै छ भनेर हामी सबै सजग हुनसकौं। यो काम उहाँ सन्तुष्ट नहोउञ्जेल पूरा गर्नैपर्छ। “त्यसपछि” येशूले भन्नुभएझैं “अन्त हुनेछ।”—मत्ती २४:१४.
[फुटनोट]
a वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्याउँछ पुस्तकको अध्याय १० र ११ हेर्नुहोस्।
पुनरावलोकन गर्दा
◻ समय हिसाब गर्ने सम्बन्धमा हाम्रो अवस्था प्रथम शताब्दीका मसीहीहरूको जस्तै कसरी छ?
◻ मसीहीहरू ख्रीष्टको उपस्थितिको दौडानमा समेत किन ‘जागा रहनुपर्छ?’
◻ मानव सृष्टिले “परमेश्वरका छोराहरू प्रकट हुनआउने बाटो” किन उत्कट आशाले हेरिरहेका छन्?
◻ यहोवाको हातमा हामी बेला र समय पूर्ण भरोसासाथ किन सुम्पनसक्छौं?
[पृष्ठ १७-मा भएको चित्र]
ख्रीष्ट आउनुहुने प्रतीक्षामा मसीहीहरू जागा रहनैपर्छ
[पृष्ठ १८-मा भएको चित्र]
अभिषिक्त जनहरूले हिसाब गर्नुलाई आफ्नो विश्वासको आधार नबनाई यहोवाको सेवामा व्यस्त छन्