गिलियडले मिसनरीहरूलाई “पृथ्वीको अन्तसम्म” पठाउँछ
वाचटावर बाइबल स्कूल अफ गिलियडले मिसनरीहरूलाई पठाउन थालेको आधा शताब्दीभन्दा बढी भइसक्यो। सेप्टेम्बर ११, १९९९ को दिन गिलियडको १०७ औं कक्षाले स्नातक पायो। उक्त कक्षामा ११ वटा देशबाट आएका ४८ जना विद्यार्थीहरू थिए र तिनीहरूलाई २४ वटा विभिन्न मुलुकहरूमा सेवा गर्न खटाइयो। येशूले आफू स्वर्गमा उक्लनुअघि भन्नुभएका अन्तिम शब्दहरू पूरा गर्न मूख्य भूमिका निर्वाह गर्ने अरू हजारौं मिसनरीहरूसँगै तिनीहरूले पनि सेवा गर्नेछन्। चेलाहरू “पृथ्वीको अन्तसम्म [आफ्नो] गवाही” हुनेछन् भनेर येशूले अगमवाणी गर्नुभएको थियो।—प्रेरित १:८.
न्यु योर्क, प्याटर्सनस्थित वाचटावर शैक्षिक केन्द्रको सुन्दर वातावरणमा सम्पन्न दीक्षान्त कार्यक्रम साँच्चै एउटा महान् अवसर साबित भयो। स्नातक प्राप्त गर्ने विद्यार्थीहरूले यो समारोहमा आफ्ना नातेदार, घनिष्ठ मित्र र पाहुनाहरू पनि उपस्थित भएको देख्दा अत्यन्तै खुसी भए। ब्रुकलिन र वल्कीलमा दृश्य र श्रव्य प्रसारण मार्फत कार्यक्रम हेर्ने र सुन्नेहरू लगायत जम्मा ४,९९२ जना व्यक्तिहरू थिए।
विश्वासी भई यहोवा र छिमेकीको सेवा गर्नुहोस्
“यहोवातर्फ को छ?” परिचालक निकायका सदस्य तथा दीक्षान्त कार्यक्रमका अध्यक्ष क्यारी बार्बरले उक्त शीर्षकमा सुरुको भाषण दिए। मोशाको दिनमा इस्राएलीहरूलाई पनि यही प्रश्न सोधिएको थियो भनेर तिनले बताए। यहोवातर्फ वफादार नरहेकाले उजाडस्थानमा थुप्रै इस्राएलीहरूले आफ्नो जीवन गुमाउनुपऱ्यो भनेर स्नातक प्राप्त गर्ने विद्यार्थीहरू र उपस्थित सबैलाई सम्झना गराइयो। मूर्तिपूजाको पासोमा परेपछि तिनीहरू “खान-पीन गर्नलाई बसे। त्यसपछि लीला गर्नलाई उठे।” (प्रस्थान ३२:१-२९) येशूले मसीहीहरूलाई पनि त्यही खतराबारे यस्तो चेताउनी दिनुभयो: “तिमीहरू आफ्नो विषयमा होशियार रहो, नत्रता तिमीहरूका मन वाक्क-ब्याक्क, नशा र जीवनको फिक्रीले लट्टिएका हुनेछन्, औ त्यो दिन तिमीहरूमाथि एक्कासि पासोझैं आइपर्ला।”—लूका २१:३४-३६.
अर्को वक्ता, लेखन विभागका जिन स्मलीले स्नातक प्राप्त गर्ने विद्यार्थीहरूलाई यस्तो प्रश्न गरे: “के तपाईं पारेगोरिक हुनुहुनेछ?” तिनले भने, युनानी शब्द पारेगोरिया, पीडा कम गर्ने औषधीको मिश्रणको नाउँको रूपमा हालैका शताब्दीहरूमा प्रयोग हुन थालेको छ। तथापि, प्रेरित पावलले कलस्सी ४:११ मा आफ्ना सहकर्मीहरूलाई बुझाउन उक्त वर्णणात्मक युनानी शब्द चलाए। नयाँ विश्व अनुवाद-मा यो शब्द “सुदृढ पार्ने” भनेर अनुवाद गरिएको छ।
यी स्नातक मिसनरीहरू आ-आफ्नो असाइनमेन्टमा स्थानीय भाइबहिनीहरूको लागि सुदृढ पार्ने नम्र सहायक भएर अनि सँगी मिसनरीहरूप्रति सहयोगी र मायालु भएर विनम्र तरिकामा आधुनिक पारेगोरिकहरू हुनसक्थे।
त्यसपछि, परिचालक निकायका सदस्य डानियल सिड्लिकले “सुनौलो नियमअनुरूप जीवन बिताउने” विषयमा भाषण दिए। येशूले मत्ती ७:१२ मा “मानिसहरूले तिमीहरूलाई जे जसो गरून् भन्ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिनीहरूलाई त्यसै गर” भनेर प्रस्तुत गर्नुभएको उत्कृष्ट सिद्धान्तमा अरूलाई हानि नगर्नु मात्र होइन तर अरूको लागि सकारात्मक कार्यहरू गर्नु पनि समावेश छ।
यसो गर्नको लागि तीनवटा कुराहरू आवश्यक छन्। ती हुन्, देख्ने आँखा, समानुभूतिशील हृदय र सहयोगी हात। निचोडमा तिनले यसो भने: “सहयोग गर्ने इच्छा जाग्ने बित्तिकै हामीले सहयोग गरिहाल्नुपर्छ। अरूले हामीलाई जे जसो गरेको हामी चाहन्छौं तिनीहरूलाई पनि त्यसै गर्न हामीले कडा परिश्रम गर्नुपर्छ।” अरू मुलुकहरूमा गएर मानिसहरूलाई साँचो मसीहीधर्म सिकाउन मदत गर्ने मिसनरीहरूले त झनै यसो गर्नुपर्छ।
प्रशिक्षकहरू न्यानो सम्झौटोहरू दिन्छन्
गिलियडका प्रशिक्षक कार्ल आडम्सले स्नातक मिसनरीहरूलाई “बढ्दै जाओ” भनेर प्रोत्साहन दिए। कुन सन्दर्भमा? प्रथमतः, ज्ञानमा र त्यसको सदुपयोग गर्ने योग्यतामा। बाइबल विवरणहरूका पृष्ठभूमि र परिस्थिति बुझ्न कसरी अनुसन्धान गर्ने भनेर विद्यार्थीहरूले गिलियडमा सिके। हरेक विवरणले तिनीहरूको जीवनलाई कसरी असर गर्नुपर्ने हो भनेर विचार गर्न पनि तिनीहरूलाई प्रोत्साहित गरियो। तिनीहरूले सधैं यसो गरिरहनुपर्छ।
भाइ आडम्सले यसो भने, “दोस्रो हो, प्रेममा बढ्दै जाओ। प्रेम एउटा यस्तो चीज हो जसलाई पोषण गरेको खण्डमा त्यो बढ्छ। तर त्यसको बेवास्ता गऱ्यौं भने त्यो मर्नसक्छ।” (फिलिप्पी १:९) अब मिसनरीहरूको हैसियतमा तिनीहरू विभिन्न परिस्थितिमा प्रेममा बढ्दै जानुपर्छ। अनि तेस्रो: “हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्टको अनुग्रह र ज्ञानमा बढ्दै जाओ।” (२ पत्रुस ३:१८) वक्ताले भने, “यहोवाले आफ्नो पुत्र मार्फत देखाउनुभएको यो एकदमै अद्भुत दया हो। हामीले त्यो अनुग्रहको मूल्यांकन गऱ्यौं भने परमेश्वरको इच्छा गर्न र उहाँले हामीलाई अह्राउनुभएको काम गर्न हामी अझ बढी खुसी हुन्छौं।”
गिलियडका अर्का प्रशिक्षक मार्क नुमारले “प्रेमपूर्ण ढंगमा सामना गर्नुभयो भने तपाईंले सहन सक्नुहुनेछ” भन्ने विषयमा भाषण दिए। तिनले यस्तो आग्रह गरे: “मिसनरी जीवनमा चुनौतीपूर्ण परिस्थितिहरूको प्रेमपूर्वक सामना गर्न सिक्नुहोस् र तपाईंले सामना गर्न सक्नुहुनेछ। आफूले प्रेम गर्नेहरूलाई मात्र यहोवाले अनुशासन दिनुहुन्छ। तपाईंलाई कुनै कुनै सल्लाहहरू अनुपयुक्त, रिस उठ्दो वा अन्यायपूर्ण जस्तो लाग्छ भने पनि यहोवाप्रतिको प्रेम र उहाँसितको सम्बन्धले त्यसको सामना गर्न मदत गर्छ।”
मिसनरी सेवामा थुप्रै जिम्मेवारीहरू पनि पूरा गर्नुपर्ने हुन्छ भनेर भाइ नुमारले औंल्याए। तर प्रेमबिनाको कामले तपाईंलाई सन्तुष्टि दिन सक्दैन। खाना पकाउने, किनमेल गर्ने, तरकारी पखाल्ने, पानी उमाल्नेजस्ता तपाईंको सामान्य घरधन्दामा पनि कुनै प्रेम छैन भने, एकदमै झिंझो लाग्नसक्छ। आफैलाई सोध्नुहोस्, ‘म यी कामहरू किन गर्दैछु?’ ‘मेरा प्रयासहरूले गर्दा मेरा सँगी मिसनरीहरू स्वस्थ र खुसी हुन्छन्’ भन्ने विचार तपाईंको मनमा छ भने तपाईंलाई गाह्रो लाग्नेछैन।” सारांशमा तिनले यस्तो आग्रह गरे: “चाहे अनुशासन स्वीकार्नु परोस्, चाहे आफ्नो मिसनरी दायित्व पूरा गर्नु परोस् वा एकअर्काको कुरा राम्ररी नबुझ्नाले उत्पन्न समस्याको सामना नै किन गर्नु नपरोस्, तपाईंले प्रेमपूर्वक त्यसको सामना गर्नुभयो भने तपाईं आफ्नो असाइनमेन्टमा लागिरहन सक्नुहुनेछ। ‘प्रेम कहिल्यै टल्दैन।’ ”—१ कोरिन्थी १३:८.
त्यसपछि, गिलियडका प्रशिक्षक वालेस लिभरन्सले विद्यार्थीहरूले स्थानीय मण्डलीहरूबाट आनन्द उठाएका रमाइला अनुभवहरू प्रदर्शन गरे। घरघर जानुबाहेक ट्रक बिसौनी, लुगा धुने सार्वजनिक ठाउँ, रेल स्टेशन र अन्य ठाउँहरूमा पनि तिनीहरूले मिसनरी तालिमको दौडान सिकेका कुरा व्यवहारमा उतारे।
अनुभवी मिसनरीहरूले आश्वासन दिन्छन्
विदेशमा जाँदा के नयाँ मिसनरीहरू चिन्तित हुनुपर्ने कारण छ? के तिनीहरूले विदेशमा असाइनमेन्टका चुनौतीहरू सामना गर्नसक्नेछन्? यी नयाँ मिसनरीहरू सफल होऊन् भनेर शाखा कार्यालयले कस्तो मदत पुऱ्याउँछ? उक्त तथा अन्य प्रश्नहरूको जवाफ दिन सेवा विभागका स्टीभन लेट र लेखन विभागका डेभिड स्प्लेनले शैक्षिक केन्द्रका शाखा स्कूलमा त्यतिखेर उपस्थित भाइहरूको अन्तरवार्ता लिए। यी भाइहरू स्पेन, हङकङ, लाइबेरिया, बेनिन, माडागास्कर, ब्राजिल र जापानका शाखा समितिहरूमा सेवारत छन्।
यहोवाका यी अनुभवी सेवकहरूले स्नातक विद्यार्थीहरूका साथै उपस्थित तिनीहरूका आमाबुबा र नातेदारहरूलाई पनि आश्वासन दिए। ती सेवकहरूमध्ये धेरैजनाले मिसनरी सेवा गरेको दशकौं भइसक्यो। आफ्ना तथा आफ्ना सँगी मिसनरीहरूको व्यक्तिगत अनुभवको आधारमा तिनीहरूले समस्या तथा फिक्रीहरूको सामना गर्न सकिन्छ भनेर देखाए। माडागास्करमा सेवारत मिसनरी राइमो क्वोकानेनले यसो भन्दै आश्वासन दिए, समस्या ठूलो होला “तर त्यसको सामना गर्न सकिन्छ र सोसाइटीले हामीलाई मदत गर्छ।” हाल ब्राजिलमा सेवारत ओस्टन गुस्टाभसनले भने, “हामीले असाइनमेन्ट छानेका होइनौं तर हामीलाई दिइयो। यसकारण, त्यसमा लागिरहन हामीले यथाशक्य गर्ने निर्णय गऱ्यौं।” जापानमा सेवारत जेम्स लिन्टनले भनेअनुसार तिनलाई “आफू पुग्नुभन्दा अघि त्यहाँ मिसनरी सेवा गरिरहेका भाइहरूले” मदत गरे। मिसनरी सेवा, खुसीसाथ तथा पूर्ण रूपमा यहोवाको सेवा र उहाँको भेडाको रेखदेख गर्ने तरिका हो।
आध्यात्मिकतालाई नष्ट गर्ने विषबाट जोगिने
सन् १९४६ मा गिलियडको सातौं कक्षाबाट स्नातक प्राप्त तथा परिचालक निकायका सदस्य थिओडोर जारासले “आध्यात्मिक तवरमा जागा रहने चुनौती” विषयमा अन्तिम भाषण दिए। तिनले पृथ्वीका विभिन्न भागमा भइरहेको घोर अत्याचारबारे बताउँदै मानिसजातिले एकदमै दुःखकष्ट भोग्नु परिरहेको छ भनेर औंल्याए।
भाइ जारासले भजन ९१ लाई संकेत गर्दै लाखौंलाई आध्यात्मिक तवरमा बिरामी बनाएको र मारेको “रूढी” र “नाश[बारे]” बताए। दियाबल र त्यसको दुष्ट रीतिरिवाजले आध्यात्मिकता कमजोर बनाउन अनि नष्ट गर्न बुद्धिवाद तथा भौतिकवादमा आधारित रूढीरूपी अफवाह चलाएको छ। तर “परम प्रधानको गुप्त ठाउँमा बास” गर्ने कसैले पनि त्यस विषको सामना गर्नुपर्ने छैन भनी यहोवा हामीलाई आश्वासन दिनुहुन्छ।—भजन ९१:१-७.
भाइ जारासले भने, “विश्वासमा बलियो हुनु र सुरक्षित ठाउँमा रहिरहनु चुनौती हो। हामी ‘आत्मा नभएका’ गिल्ला गर्नेहरू जस्तो हुनसक्दैनौं। अहिलेको समस्या यही हो। संगठनमा भएका हामी सबैले यसको सामना गर्नैपर्छ। तपाईंले पनि आफ्नो मिसनरी सेवामा यसको सामना गर्नुपर्न सक्छ।” (यहूदा १८, १९) तर स्नातक मिसनरीहरूले आफ्नो असाइनमेन्टमा आध्यात्मिकता कायम राख्न सफल हुन सक्नेछन् भनी बताइयो। उदाहरणका लागि, रूस, एसिया र अफ्रिकी मुलुकहरूमा हाम्रा भाइहरूले प्रतिबन्ध, घोर विरोध, गिल्ला, नास्तिकवादी अफवाह तथा झूटा आरोपहरूको बावजूद पनि धैर्य धारण गरिरहेको सम्झन तिनीहरूलाई आग्रह गरियो। अनि थुप्रै परिस्थितिहरूमा जनजातीय झैझगडा र आधारभूत आवश्यकताको अभावले गर्दा हुने भौतिक क्षतिहरू पनि थपिन्छन्।
आध्यात्मिकता खस्क्यो भने “समस्याको कारण पत्ता लगाएर परमेश्वरको वचनमा दिइएका सल्लाहअनुसार त्यसलाई सुधार्नु आवश्यक हुन्छ।” बाइबलीय उदाहरणहरू सुनाइयो। यहोशूलाई दिन रात व्यवस्था गहिरिएर पढ्न प्रोत्साहन दिइएको थियो। (यहोशू १:८) योशियाहको समयमा व्यवस्थाको पुस्तक भेटिएपछि त्यसका निर्देशनहरू पालन गर्दा यहोवाले आशिष् दिनुभयो। (२ राजा २३:२, ३) तिमोथीलाई शैशवकालदेखि नै पवित्र लेखोटहरू सिकाइएको थियो। (२ तिमोथी ३:१४, १५) बिरियाबासीहरूले राम्ररी सुन्ने मात्र गर्दैनथे तर तिनीहरूले दिनहुँ धर्मशास्त्र पनि जाँचेकाले ‘उत्तम’ पनि भनियो। (प्रेरित १७:१०, ११) अनि परमेश्वरको वचन जान्ने र प्रयोग गर्ने सर्वोत्कृष्ट उदाहरण येशू ख्रीष्ट हुनुहुन्छ।—मत्ती ४:१-११.
अन्तमा भाइ जारासले भावी मिसनरीहरूलाई यस्तो न्यानो सल्लाह दिए: “अब तपाईंहरू मिसनरी सेवामा लाग्न तयार हुनुभएको छ। अनि तपाईंहरू विदेशमा अथवा साँच्चै भन्ने हो भने पृथ्वीका विभिन्न भागहरूमा जानुहुनेछ। आध्यात्मिक तवरमा जागा रहन चुनौतीको सामना गर्नुपऱ्यो भने हाम्रो संकल्प पूरा गर्न नदिने कुनै पनि कुराले आफूलाई अलमल्याउन दिनेछैनौं। तपाईंहरूले जोसका साथ प्रचार गर्नुहुनेछ, तपाईंको विश्वासको अनुकरण गर्न अरूलाई प्रेरित गर्नुहुनेछ अनि यहोवाले हामीलाई सजग पार्न दिनुभएको मदतजस्तै तपाईंले सिकाउने ती जनहरूलाई पनि मदत गरून् भनेर तपाईंहरूसँगसँगै हामी पनि प्रार्थना गर्नेछौं। तसर्थ, थुप्रै मानिसहरू पृथ्वीभरि व्याप्त आध्यात्मिक विपत्तिबाट जोगिनेछन्। यसरी यहोवाको इच्छा गर्न अझ थुप्रैले हामीलाई सहयोग गर्नेछन्। अनि त्यसको लागि यहोवाले तपाईंहरूलाई आशिष् दिऊन्।”
कार्यक्रमका अध्यक्षले विश्वका विभिन्न देशहरूबाट प्राप्त शुभकामना सन्देशहरू पढेर सुनाएपछि विद्यार्थीहरूलाई स्नातक उपाधि दिने समय आयो। त्यसपछि विद्यार्थीहरूले मूल्यांकन व्यक्त गरेको एउटा न्यानो पत्र पढेर सुनाइयो। तिनीहरूले पाएको विशेष तालिम र मिसनरीको हैसियतमा “पृथ्वीको अन्तसम्म” जाने आ-आफ्ना असाइनमेन्टहरूको लागि तिनीहरू यहोवा र उहाँको संगठनप्रति असाध्यै कृतज्ञ थिए!—प्रेरित १:८.
[पृष्ठ २९-मा भएको पेटी]
कक्षाको तथ्यांक
प्रतिनिधित्व गरिएका देशहरूको संख्या: ११
मिसनरी सेवामा खटाइएका देशहरूको संख्या: २४
विद्यार्थीहरूको संख्या: ४८
विवाहित दम्पतीहरूको संख्या: २४
औसत उमेर: ३४
सच्चाइमा बिताएको औसत वर्ष: १७
पूर्ण-समय सेवकाईमा बिताएको औसत वर्ष: १२
[पृष्ठ २६-मा भएको पेटी]
वाचटावर बाइबल स्कूल अफ गिलियडको १०७ औं स्नातक कक्षा
देहायबमोजिम सूचीमा दिइएको लहर तथा नाउँहरू क्रमशः अगाडिबाट पछाडि र बायाँबाट दायाँतर्फ हो।
१. पेराल्टा, सी.; हलनबेक, बी.; श, आर.; हसन, एन.; मार्टिन, डी.; हचिन्सन, ए. २. एड्वर्डस्, एल.; भीजर, टी.; सेरुटी, क्यू.; एन्टमिंगर, जी.; डालोईज, एल.; बाल्येरी, एल. ३. नाइट, पी.; क्राऊज, ए.; काजस्की, डी.; रोज, एम.; फ्रीडल, के.; न्येटो, आर. ४. रोज, आर.; ब्याकस, टी.; ट्याली, एस.; ओंबर, डी.; बन्हार्ट, ए.; पेराल्टा, एम. ५. डालोईज, ए.; ओंबर, डी.; डन, एच.; ग्याट्लिङ, जी.; श, जे.; सेरुटी, एम. ६. बाल्येरी, एस.; क्राऊज, जे.; हलनबेक, टी.; मार्टिन, एम.; बन्हार्ट, जे.; हचिन्सन, एम. ७. ब्याकस, ए.; डन, ओ.; ग्याट्लिङ, टी.; भीजर, बी.; नाइट, पी.; हसन, ओ. ८. न्येटो, सी.; ट्याली, एम.; फ्रीडल, डी.; काजस्की, ए.; एड्वर्डस्, जे.; एन्टमिंगर, एम.