प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w00 १/१५ पृ. १४-१९
  • “धन-सम्पत्तिहरू[ले]” यहोवाको भवन परिपूर्ण भइरहेको छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “धन-सम्पत्तिहरू[ले]” यहोवाको भवन परिपूर्ण भइरहेको छ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • प्रथम शताब्दीमा भएको पूर्ति
  • आधुनिक समयका “धन-सम्पत्तिहरू”
  • “नडराऊ”
  • सबैले यहोवाको महिमा गरून्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • यहोवाको महान्‌ आध्यात्मिक मन्दिर
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • “सब जातिहरूका निम्ति प्रार्थनाको घर”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • “म तिमीहरूसँगै छु”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
w00 १/१५ पृ. १४-१९

“धन-सम्पत्तिहरू[ले]” यहोवाको भवन परिपूर्ण भइरहेको छ

“[म, यहोवा] सबै जातिहरूलाई हल्लाउनेछु, र सबै जाति जातिका धन-सम्पत्तिहरू आउनेछ, र म यस भवनलाई महिमाले परिपूर्ण पारिदिनेछु।”—हाग्गै २:७.

१. आपत्‌को बेलामा किन पहिला प्रियजनहरूको सम्झना आउँछ?

तपाईंले आफ्नो घर कस्ता बहुमूल्य सम्पत्तिहरूले भर्नुभएको छ? के तपाईंको घरमा सानदार फर्निचर, अत्याधुनिक कम्प्युटर, अनि नयाँ गाडी छ? तपाईंसित यी सब थोक भए तापनि तपाईंको घरको सबैभन्दा मूल्यवान्‌ चीज त मानिसहरू—हो, तपाईंको परिवार नै हो भनेर तपाईं मानिलिनुहुन्‍न र? कल्पना गर्नुहोस्‌, एक रात केही डढेको गन्धले तपाईंको निद्रा खुल्यो। तपाईंको घरमा त आगो लागेको रहेछ! तुरुन्तै बाहिर भाग्नु पऱ्‍यो! त्यतिखेर तपाईंलाई सबैभन्दा बढ्‌ता के कुराको चिन्ता लाग्छ? फर्निचरको? कम्प्युटरको? तपाईंको गाडीको? तपाईंलाई आफ्ना प्रियजनहरूको चिन्ता लाग्छ नि हैन र? हो, तपाईं पक्कै पनि त्यसै गर्नुहुन्छ किनकि चीजबीजहरूभन्दा मानिसहरू निकै बहुमूल्य छन्‌।

२. यहोवाको सृष्टि कत्तिको विशाल छ र यसको कुन पक्षसित येशू असाध्यै रमाउनुहुन्थ्यो?

२ अब यहोवा परमेश्‍वर र उहाँको पुत्र येशूलाई सम्झनुहोस्‌। यहोवा, “स्वर्ग, पृथ्वी, समुद्र र तिनमा भएका यावत्‌ थोक बनाउनु[हुने]” परमेश्‍वर हुनुहुन्छ। (प्रेरित ४:२४) अन्य सम्पूर्ण थोक उहाँले आफ्नो “कारीगर” पुत्र येशूद्वारा बनाउनुभएको थियो। (हितोपदेश ८:३०, ३१, नयाँ संशोधित संस्करण; यूहन्‍ना १:३; कलस्सी १:१५-१७) पक्कै पनि यहोवा अनि येशू आफ्नो सृष्टिको मोल गर्नुहुन्छ। (उत्पत्ति १:३१ तुलना गर्नुहोस्‌।) तर तपाईंको विचारमा उहाँहरूलाई सबैभन्दा प्रिय लाग्ने चीज के होला—चीजबीज वा मानिस? बुद्धिको मूर्त रूपमा येशू भन्‍नुहुन्छ: “मेरो आनन्द चाहिं मानव-जातिमा थियो” वा विलियम एफ बेकको अनुवादअनुसार येशू “मानवजातिसित रमाउनुहुन्थ्यो।”

३. यहोवाले हाग्गै मार्फत कुन भविष्यवाणी गर्नुभयो?

३ निस्सन्देह, यहोवा मानिसहरूलाई निकै बहुमूल्य ठान्‍नुहुन्छ। यसको एउटा संकेत उहाँले सा.यु.पू. ५२० मा आफ्ना अगमवक्‍ता हाग्गै मार्फत भन्‍नुभएका शब्दहरूमा पाइन्छ। यहोवाले यस्तो घोषणा गर्नुभयो: “सबै जातिहरूलाई हल्लाउनेछु र सबै जाति जातिका धन-सम्पत्तिहरू आउनेछ, र म यस भवनलाई महिमाले परिपूर्ण पारिदिनेछु . . .। यस भवनको पछिको महिमा अघिको भन्दा अझ बढ़ता हुनेछ।”—हाग्गै २:७, ९.

४, ५. (क) “धन-सम्पत्तिहरू[ले]” भौतिक सरसम्पत्तिलाई चित्रित गर्छ भन्‍नु किन तार्किक हुनसक्दैन? (ख) तपाईं “धन-सम्पत्तिहरू” भन्‍नाले के बुझ्नुहुन्छ र किन?

४ यहोवाको भवन परिपूर्ण पार्ने तथा अपूर्व महिमा ल्याउने “धन-सम्पत्तिहरू” के हुन्‌? रवाफिला फर्निचरहरू तथा शोभायमान सरसामानहरू? सुन, चाँदी तथा बहुमूल्य पत्थरहरू? त्यस्तो कदापि हुनसक्दैन। नबिर्सनुहोस्‌, लगभग पाँच शताब्दीअघि समुद्‌घाटन गरिएको पहिलेको मन्दिरको मोल खरबौं अमेरिकी डलर पर्थ्यो!a निर्वासनबाट फर्केका यहूदीहरूको सानो झुन्डले सुलेमानले निर्माण गरेको मन्दिरभन्दा पनि भव्य मन्दिर निर्माण गरेको यहोवाले पक्कै पनि आशा गर्नुहुने थिएन!

५ त्यसोभए, यहोवाको भवनलाई परिपूर्ण पार्ने “धन-सम्पत्तिहरू” के हुन्‌ त? स्पष्ट छ, ती मानिसहरू हुन्‌। आखिर, यहोवाको हृदय सुनचाँदीले भन्दाप्रेमद्वारा उत्प्रेरित भई उहाँको सेवा गर्ने मानिसहरूले प्रसन्‍न तुल्याउँछ। (हितोपदेश २७:११; १ कोरिन्थी १०:२६) हो, उहाँलाई ग्रहणयोग्य उपासना चढाउने जति सबै स्त्री, पुरुष तथा बालकहरूलाई यहोवा मूल्यवान्‌ ठान्‍नुहुन्छ। (यूहन्‍ना ४:२३, २४) यिनीहरू नै “धन-सम्पत्ति” हुन्‌ र यहोवाको निम्ति सुलेमानको मन्दिर सिंगारिएको सम्पूर्ण चीजबीजभन्दा यिनीहरू निकै बहुमूल्य थिए।

६. परमेश्‍वरको पुरातन मन्दिरले के उद्देश्‍य पूरा गऱ्‍यो?

६ भीषण सतावटको बावजूद सा.यु.पू. ५१५ मा मन्दिर निर्माण कार्य पूरा भयो। येशूको बलिदान नहोउञ्जेल जन्मजात यहूदी तथा यहूदी मत मान्‍ने अन्य जातिका मानिसहरू मिलेर बनेको थुप्रै “धन-सम्पत्तिहरू[का]” लागि यरूशलेमको मन्दिर शुद्ध उपासनाको केन्द्रबिन्दु रह्‍यो। तर यो मन्दिरले अत्यन्त महान्‌ चीजको प्रतिनिधित्व गरिरहेको थियो र त्यो अब हामी बुझ्नेछौं।

प्रथम शताब्दीमा भएको पूर्ति

७. (क) यरूशलेमस्थित परमेश्‍वरको पुरातन मन्दिरले कुन कुराको पूर्वचित्रण गऱ्‍यो? (ख) पश्‍चात्तापको दिनमा प्रधान पूजाहारीले गर्ने कार्यहरू वर्णन गर्नुहोस्‌।

७ यरूशलेमको मन्दिरले उपासनाको महान्‌ प्रबन्धलाई पूर्वचित्रण गरिरहेको थियो। त्यो हो, यहोवाले येशूलाई प्रधान पूजाहारी बनाउनुभएर सा.यु. २९ मा स्थापित गर्नुभएको परमेश्‍वरको आध्यात्मिक मन्दिर। (हिब्रू ५:४-१०; ९:११, १२) इस्राएलको प्रधान पूजाहारीको कर्तव्य अनि येशूका कार्यहरूबीचको समानता विचार गर्नुहोस्‌। वर्षेनी पश्‍चात्तापको दिन प्रधान पूजाहारी मन्दिरको चोकमा रहेको बेदीमा आउँथे र पूजाहारीहरूका पापहरूको निम्ति साँढे बलि चढाउँथे। त्यसपछि, साँढेको रगत लिएर तिनी चोक र पवित्र स्थान छुट्ट्याउने ढोकाहुँदै पवित्र र महा पवित्र स्थान छुट्ट्याउने पर्दा पार गर्दै मन्दिरभित्र छिर्थे। महा पवित्र स्थानभित्र पसिसकेपछि प्रधान पूजाहारीले करारको सन्दुकमा त्यो रगत खन्याउँथे। अनि, त्यसै गरी इस्राएलका १२ गैर-पूजाहारी कुलहरूका लागि तिनले एउटा बोका बलि चढाउँथे। (लेवी १६:५-१५) परमेश्‍वरको आध्यात्मिक मन्दिरसित यो विधिको के सम्बन्ध छ?

८. (क) सा.यु. २९ मा येशू कुन अर्थमा चढाइनुभयो? (ख) पृथ्वीमा आफ्नो सेवकाईको दौडान येशूले यहोवासित कस्तो विशेष सम्बन्धको आनन्द उठाउनुभयो?

८ यथार्थमा सा.यु. २९ मा येशूले बप्तिस्मा लिनुहुँदा र यहोवाको पवित्र आत्माद्वारा अभिषेक हुनुहुँदा उहाँलाई यहोवाको इच्छाको वेदीमा चढाइयो। (लूका ३:२१, २२) वास्तवमा, यो घटना येशूको साढे तीन वर्षे लामो बलिदानरूपी जीवनको सुरुआत थियो। (हिब्रू १०:५-१०) त्यस समयावधिमा येशूले परमेश्‍वरसित बाबुछोराबीच हुने आत्मिक सम्बन्धको आनन्द उठाउनुभयो। स्वर्गमा हुनुहुने आफ्नो पितासितको यस विशिष्ट सम्बन्धलाई अन्य कुनै पनि मानवले पूर्णतया बुझ्न सक्दैन। अनि तिनीहरूले त्यसरी बुझ्न नसक्नु, पवित्र स्थानको चोकमा हुनेहरूले पवित्र स्थानलाई नदेखोस्‌ भनेर टाँगिएको पर्दाले जस्तै तिनीहरूको समझको आँखालाई ठप्प बन्द गरिदिएसरह थियो।—प्रस्थान ४०:२८.

९. किन येशू मानव शरीर लिएर स्वर्ग पस्नसक्नु हुन्‍नथ्यो र यस परिस्थितिको समाधान कसरी गरियो?

९ परमेश्‍वरको आत्मा-अभिषिक्‍त छोरा हुनुभए तापनि मानव येशूले स्वर्गमा जीवन प्राप्त गर्नसक्नु हुने थिएन। किन? किनकि मासु र रगतको शरीर परमेश्‍वरको स्वर्गीय राज्यको हकदार हुनसक्दैन। (१ कोरिन्थी १५:४४, ५०) येशूको मानव शरीर एक अवरोध भएकोले यसलाई परमेश्‍वरको पुरातन मन्दिरको पवित्र र महा पवित्र स्थान छुट्ट्याउने पर्दाले चित्रण गर्नु सुहाउँदो थियो। (हिब्रू १०:२०) तर उहाँको मृत्यु भएको तीन दिनपछि येशूलाई परमेश्‍वरले आत्मिक रूपमा पुनरुत्थान गराउनुभयो। (१ पत्रुस ३:१८) त्यसपछि उहाँ परमेश्‍वरको आध्यात्मिक मन्दिरको महा पवित्र स्थान अर्थात्‌ स्वर्गमै प्रवेश हुनसक्नुभयो। हुन पनि त्यसै भयो। पावल लेख्छन्‌: “ख्रीष्ट ता, सकलीको नमूना गरी हातले बनाएको पवित्रस्थानभित्र होइन, तर अब हाम्रा निम्ति परमेश्‍वरको सामने प्रकट हुनालाई स्वयम्‌ स्वर्गमै प्रवेश हुनुभएको छ।”—हिब्रू ९:२४.

१०. स्वर्गमा फर्कनु भएपछि येशूले के गर्नुभयो?

१० येशूले छुटकाराको मोलस्वरूप यहोवालाई आफ्नो जीवनरक्‍त बलिदान चढाउनुभएर स्वर्गमा ‘रगत खन्याउनुभयो।’ यद्यपि, येशूले योभन्दा अझ धेरै काम गर्नुभयो। आफ्नो मृत्यु हुनुभन्दा केही समयअघि उहाँले आफ्ना अनुयायीहरूलाई यसो भन्‍नुभयो: “म तिमीहरूका निम्ति ठाउँ तयार पार्न जान्छु। औ यदि मैले गएर तिमीहरूका निम्ति ठाउँ तयार पारें भने म फेरि आउँछु, र तिमीहरूलाई मकहाँ लैजानेछु, र जहाँ म छु, त्यहाँ तिमीहरू पनि हुनेछौ।” (यूहन्‍ना १४:२, ३) यसरी महा पवित्र स्थान वा स्वर्गमा प्रवेश पाउनुभएपछि येशूले अरूको निम्ति पनि बाटो खोलिदिनुभयो। (हिब्रू ६:१९, २०) यी व्यक्‍तिविशेषहरू जसको संख्या १,४४,००० हुनेथियो, तिनीहरूले परमेश्‍वरको आध्यात्मिक मन्दिरको प्रबन्धमा उप-पूजाहारीको रूपमा काम गर्ने थिए। (प्रकाश ७:४; १४:१; २०:६) इस्राएलका प्रधान पूजाहारीले सबैभन्दा पहिले महा पवित्र स्थानमा पूजाहारीहरूको पापको पश्‍चात्तापस्वरूप साँढेको रगत लिएर पसेजस्तै येशूको बगाइएको रगतको मोल सबैभन्दा पहिले यी १,४४,००० उप-पूजाहारीहरूमाथि प्रयोग भयो।b

आधुनिक समयका “धन-सम्पत्तिहरू”

११. कसको निम्ति इस्राएलका प्रधान पूजाहारीले बोका चढाउँथ्यो र यसले के को पूर्वचित्रण गऱ्‍यो?

११ सन्‌ १९३५ सम्ममा यी अभिषिक्‍त जनहरू जम्मा गर्ने काम लगभग पूरा भयो जस्तो देखिन्छ।c तर यहोवाले आफ्नो भवनको महिमा गर्न छोड्‌नुभएको थिएन। अहँ, “धन-सम्पत्तिहरू” ओइरन त बाँकी नै थिए। इस्राएलमा प्रधान पूजाहारीले दुई थरी जनावर चढाउने गरेको कुरा सम्झनुहोस्‌ त। पूजाहारीहरूको पापहरूका लागि एउटा साँढे अनि गैर-पूजाहारी कुलको पापका लागि एउटा बोका। पूजाहारीहरूले स्वर्गीय राज्यमा येशूसित राज्य गर्ने अभिषिक्‍त जनहरूको प्रतिनिधित्व गर्छ भने गैर-पूजाहारी कुलले कसको प्रतिनिधित्व गर्छ? यसको जवाफ यूहन्‍ना १०:१६ मा लिपिबद्ध येशूका यी शब्दहरूमा पाइन्छन्‌: “मेरा अरू भेड़ा छन्‌, जो यस गोठका होइनन्‌, तिनीहरूलाई पनि मैले ल्याउनु परेको छ, र तिनीहरूले मेरो सोर सुन्‍नेछन्‌, औ तिनीहरू एकै बगाल र एकै गोठालाका हुनेछन्‌।” यसरी येशूले बगाउनुभएको रगतले दुई वर्गलाई फाइदा पुऱ्‍याउँछ—पहिलो येशूसित स्वर्गमा राज्य गर्ने आशा भएका मसीहीहरूलाई र दोस्रो यस पार्थिव प्रमोदवनमा अनन्त जीवन बिताउने प्रत्याशा हुनेहरूलाई। स्पष्टतया, हाग्गैको भविष्यवाणीमा चित्रित गरिएका “धन-सम्पत्तिहरू[ले]” यो दोस्रो समूहमा पर्नेहरूलाई चित्रण गर्छ।—मीका ४:१, २; १ यूहन्‍ना २:१, २.

१२. आज परमेश्‍वरको भवनमा थुप्रै “धन-सम्पत्तिहरू” कसरी ओइरिएका छन्‌?

१२ यहोवाको भवनमा अझै पनि यी “धन-सम्पत्तिहरू” ओइरिंदैछन्‌। हालैका वर्षहरूमा पूर्वी युरोप, अफ्रिकाका केही भागहरू र अन्य मुलुकहरूमा प्रतिबन्ध फुकुवा गरिएको छ। यसले गर्दा आजसम्म पुग्न नसकिएका यी स्थानहरूमा पनि परमेश्‍वरको स्थापित राज्यको सुसमाचार फस्टाउन थालेको छ। परमेश्‍वरको मन्दिरको प्रबन्धमा यी धन-सम्पत्तिहरू ओइरिंदा यिनीहरू येशूको आज्ञाअनुरूप अरूलाई पनि चेला बनाउने प्रयास गर्छन्‌। (मत्ती २८:१९, २०) यसो गर्दा तिनीहरू “धन-सम्पत्तिहरू” साबित हुनसक्ने जवान तथा वृद्ध थुप्रै व्यक्‍तिहरूलाई भेट्‌छन्‌ र यसले यहोवाको भवनको महिमा गर्नेछ। आउनुहोस्‌, यो कसरी भइरहेको छ केही उदाहरणहरू हेरौं।

१३. बोलिभियाकी सानी केटीले राज्यको सुसमाचार फैलाउने आफ्नो जोस कसरी प्रकट गरिन्‌?

१३ बोलिभियामा साक्षी आमाबाबुले हुर्काएकी एउटी पाँच वर्षीया केटीले आफ्नी शिक्षिकालाई क्षेत्रीय निरीक्षकको भ्रमण हुने बेलाका लागि स्कूलबाट बिदा मागिन्‌। किन? किनकि तिनी त्यस विशेष हप्तामा हुने सम्पूर्ण कार्यक्रममा भाग लिन चाहन्थिन्‌। यो थाह पाउँदा तिनका आमाबाबु छक्क त परे तर तिनको यस्तो राम्रो विचार देखेर दंग भए। यो सानी केटीले अहिले पाँचवटा बाइबल अध्ययन सञ्चालन गरिरहेकी छिन्‌ र यिनीहरूमध्ये कोही कोही मसीही सभाहरू धाउँछन्‌। तिनले आफ्नी शिक्षिकालाई पनि राज्यभवनमा ल्याएकी छिन्‌। आशा छ, समयमा तिनका बाइबल विद्यार्थीहरूले तिनीहरू पनि यहोवाको भवनमा महिमा गर्ने “धन-सम्पत्तिहरू” हुन्‌ भनेर देखाउनेछन्‌।

१४. कोरियामा चासो छैन जस्तो देखिएको व्यक्‍तिसित एउटी बहिनीले हार नमानी कुरा गर्ने प्रयास गर्दा परिणाम के भयो?

१४ कोरियामा एउटी मसीही बहिनी स्टेशनमा रेल पर्खिरहँदा हेडफोन लाएर गीत सुनिरहेको एक विद्यार्थीसित कुरा गर्न अघि बढिन्‌। तिनले सोधिन्‌, “के तपाईं कुनै धर्म मान्‍नुहुन्छ?” उक्‍त विद्यार्थीले जवाफ दिए, “मलाई धर्ममा रत्तीभर पनि चासो छैन।” त्यस बहिनी निरुत्साहित भइनन्‌। तिनले अझै भनिन्‌, “उमेर बढ्‌दै जाँदा मानिसको धर्मतिर झुकाव बढ्‌दै जानसक्छ। तर धर्मबारे कुनै ज्ञान छैन भने तिनले गलत धर्म छान्‍नसक्छन्‌।” त्यस विद्यार्थीको अनुहारको रंग फेरियो र चासो दिएर हाम्री बहिनीको कुरा सुन्‍न थाले। त्यसपछि हाम्री बहिनीले के तपाईंको चासो राख्नुहुने सृष्टिकर्ता हुनुहुन्छ? पुस्तक प्रस्तुत गरिन्‌ र यस पुस्तकले धर्म छान्‍नुपर्ने समय आउँदा निकै मदत गर्नेछ भनिन्‌। अनि उनले सहजै पुस्तक स्वीकारे। लगत्तै अर्को हप्ता उनले यहोवाका साक्षीहरूसित बाइबल अध्ययन सुरु गरे र अहिले उनी मण्डलीका सम्पूर्ण सभाहरूमा उपस्थित हुन्छन्‌।

१५. जापानकी एक किशोरीले कसरी बाइबल अध्ययनहरू थाल्न सकिन्‌ र तिनले आफ्नो प्रयासको इनाम कसरी पाइन्‌?

१५ जापानकी १२ वर्षीया मेगुमी आफ्नो स्कूललाई प्रचार गर्ने र सिकाउने उर्वरा भूमिको रूपमा लिन्छिन्‌। तिनी थुप्रै बाइबल अध्ययनहरू सुरु गर्नसमेत सफल भइसकेकी छिन्‌। तर मेगुमीले कसरी त्यसो गर्न सकिन्‌? तिनले खाजा खाने बेलामा बाइबल पढ्‌ने वा सभाहरूका लागि तयारी गर्ने हुँदा साथीहरू तिनलाई के गरिरहेकी भनेर अक्सर सोध्छन्‌। अनि कतिपयले चाहिं मेगुमीलाई स्कूलका केही खास अतिरिक्‍त क्रियाकलापमा किन भाग नलिएको भनेर पनि सोध्छन्‌। मेगुमी तिनीहरूको प्रश्‍नको जवाफ दिन्छिन्‌ र परमेश्‍वरको नाउँ छ भन्छिन्‌। यसो गर्दा तिनलाई प्रश्‍न गर्ने साथीहरूको अक्सर चासो जाग्छ। अनि त्यसपछि तिनी उनीहरूसित बाइबल अध्ययन गर्ने प्रस्ताव राख्छिन्‌। मेगुमीले अहिले २० वटा अध्ययन गरिरहेकी छिन्‌ जसमा १८ जना त तिनकै सहपाठीहरू हुन्‌।

१६. गिल्ला गर्नेहरूमध्ये केहीसित क्यामरूनका एक जना भाइले कसरी बाइबल अध्ययन सुरु गर्नसके?

१६ क्यामरूनमा निर्माण स्थलका आठ जना कामदारहरूले बटुवाहरूलाई बाइबल साहित्यहरू वितरण गरिरहेका हाम्रो भाइलाई बोलाए। त्यस भाइको गिल्ला गर्ने विचार गरेर उनीहरूले त्रिएक, नरकको आगो वा अमर आत्मामा किन विश्‍वास नगरेको भनेर सोधे। बाइबल प्रयोग गर्दै हाम्रो भाइले उनीहरूलाई जवाफ दिए। फलतः, तीन जना बाइबल अध्ययन गर्न राजी भए। तिनीहरूमध्ये दानिएल भन्‍ने एक जना सभाहरूमा उपस्थित हुन थाले भने प्रेतवादसित सम्बन्धित सम्पूर्ण चीजबीजहरूसमेत नाश गरे। (प्रकाश २१:८) वर्षदिन पनि नबित्दै उनले बप्तिस्मा लिए।

१७. एल साल्भाडोरका केही भाइहरूले सुरुमा राज्य सन्देश सुन्‍न नचाहने व्यक्‍तिसित कसरी कुशलतासाथ कुरा गर्नसके?

१७ एल साल्भाडोरमा एक जना मानिसले साक्षीहरू देख्नेबित्तिकै आफ्नो ढोकामा डरलाग्दो कुकुर बाँध्थ्यो। साक्षीहरू अन्यत्र लागिसकेपछि बल्ल कुकुरलाई घरभित्र लैजान्थ्यो। भाइहरूले त्यस मानिससित कहिल्यै कुरा गर्न पाएका थिएनन्‌। यसकारण, एक दिन तिनीहरूले अर्कै तरिका अपनाउने निर्णय गरे। त्यस मानिसले घरभित्रबाट पनि बाहिरको कुरा सुन्‍नसक्ने हुँदा तिनीहरूले कुकुरलाई प्रचार गर्ने निधो गरे। तिनीहरू त्यो घरमा गए अनि कुकुरलाई अभिवादन गरे र कुरा गर्न पाएकोमा खुसी व्यक्‍त गरे। तिनीहरूले पृथ्वी प्रमोदवनमा परिवर्तन हुने अनि त्यहाँ रिसराग केही पनि नहुने र पशुहरूसमेत शान्तिप्रिय हुने कुरा बताए। त्यसपछि, कुकुरसित बिदावारी गरी फर्कने तर्खर गरे। त्यतिखेर त्यस घरधनीले बाहिर आएर साक्षीहरूसित कहिल्यै कुरा गर्न अघि नसरेकोमा क्षमा माग्दा तिनीहरू छक्क परे। उनले पत्रिकाहरू लिए र केही समयमै उनीसित बाइबल अध्ययन पनि थालियो। अहिले त्यस मानिस हाम्रै मसीही भाइ भएका छन्‌! हो, “धन-सम्पत्तिहरू[मध्ये]” एक भएका छन्‌!

“नडराऊ”

१८. थुप्रै मसीहीहरूले कस्ता समस्याहरूको सामना गर्नुपरेको छ तैपनि आफ्ना उपासकहरूप्रति यहोवाको दृष्टिकोण कस्तो छ?

१८ के तपाईंले राज्यको प्रचार गर्ने र चेला बनाउने जस्ता महत्त्वपूर्ण कार्यहरूमा भाग लिइरहनुभएको छ? छ भने तपाईंले साँच्चै विशेषाधिकार पाउनुभएको छ। वास्तवमा यही कार्य मार्फत यहोवाको भवनमा “धन-सम्पत्तिहरू” ओइरिरहेका छन्‌। (यूहन्‍ना ६:४४) हो, कहिलेकाहीं तपाईंलाई थकाइ लाग्नसक्छ वा तपाईं निरुत्साहित हुन सक्नुहुन्छ। कहिलेकाहीं यहोवाका विश्‍वासी सेवकहरूमध्ये कसै कसैले समेत आफूलाई बेकम्मा महसुस गरेका छन्‌। तर हार नमान्‍नुहोस्‌! यहोवाले आफ्ना प्रत्येक उपासकहरूलाई धन-सम्पत्तिसमान ठान्‍नुभएको छ र उहाँ तपाईंको छुटकारामा गहिरो चासो राख्नुहुन्छ।—२ पत्रुस ३:९.

१९. हाग्गै मार्फत यहोवाले कसरी प्रोत्साहन दिनुभयो र यी शब्दहरू हाम्रोनिम्ति पनि सान्त्वनाको स्रोत कसरी हुनसक्छ?

१९ सतावटले होस्‌ वा अन्य प्रतिकूल परिस्थितिले गर्दा, निरुत्साहित हुँदा, यहोवाले यहूदीहरूलाई भन्‍नुभएका शब्दहरू हाम्रोनिम्ति पनि बलको स्रोत साबित हुनसक्छन्‌। हाग्गै २:४-६ मा हामी यसो लेखिएको पाउँछौं: “परमप्रभु भन्‍नुहुन्छ, ‘तैपनि अब हे यरूबाबेल, साहस गर, र हे यहोसादाकको छोरो यहोशू प्रधान पूजाहारी, साहस गर्‌।’ परमप्रभु भन्‍नुहुन्छ, ‘हे देशका सबै प्रजा हो, साहस गर, काम शुरू गर किनभने म तिमीहरूका साथमा छु भनी सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ। तिमीहरू मिश्र देशबाट निस्केर आउँदा मैले तिमीहरूसँग गरेको प्रतिज्ञा अनुसार मेरो आत्मा तिमीहरूमा रहेकै छ। तिमीहरू नडराऊ। सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ, ‘अब थोरै बेर बाँकी छ, र म फेरि आकाश, पृथ्वी, समुद्र र जमीन सबैलाई हल्लाउनेछु।’ ” यहाँ ध्यान दिनुहोस्‌, यहोवाले हामीलाई साहसी हुन आग्रह मात्र गरिरहनुभएको छैन तर बल प्राप्त गर्ने तरिकाहरू पनि दिनुभएको छ। कसरी? यी सान्त्वनादायी शब्दहरू विचार गर्नुहोस्‌: “म तिमीहरूका साथमा छु।” हामीले जस्तोसुकै बाधाहरू सामना गर्नुपरे तापनि यहोवा हामीसित हुनुहुन्छ भनेर थाह पाउँदा हाम्रो विश्‍वास कत्ति बलियो हुन्छ!—रोमी ८:३१.

२०. आज कुन तरिकामा पहिले कहिल्यै नभएको महिमाले परमेश्‍वरको भवन परिपूर्ण भइरहेको छ?

२० यहोवाले उहाँ आफ्ना जनहरूसित हुनुहुन्छ भनेर पक्कै पनि प्रमाणित गरिसक्नुभएको छ। वास्तवमा, उहाँले आफ्ना अगमवक्‍ता हाग्गै मार्फत बताउनुभएझैं भएको छ: “यस भवनको पछिको महिमा अघिको भन्दा अझ बढ़ता हुनेछ . . . अनि यस ठाउँमा म शान्ति ल्याउनेछु।” (हाग्गै २:९) हो, आज सबैभन्दा बढी महिमा त यहोवाको आध्यात्मिक भवनमा पाइन्छ। नहोस्‌ पनि किन, किनकि वर्षेनी सत्यका लाखौं उपासकहरू यहाँ ओइरिन्छन्‌। आध्यात्मिक तवरमा यिनीहरूको राम्रो पालनपोषण भइरहेको छ र यस्तो गोलमाल मच्चिरहेको संसारमा पनि यिनीहरूले यस्तो शान्तिको आनन्द उठाइरहेका छन्‌ जसलाई परमेश्‍वरको नयाँ संसारमा पाइने शान्तिले बाहेक अन्य केहीले उच्छिन्‍न सक्दैन।—यशैया ९:६, ७; लूका १२:४२.

२१. हामीले कस्तो दृढता व्यक्‍त गर्नुपर्छ?

२१ यहोवाले जाति जातिकाहरूलाई आरमागेडोनमा हल्लाउनुहुने समय आउँदैछ। (प्रकाश १६:१४, १६) त्यसकारण, बाँकी रहेको समय अझ थुप्रैको जीवन जोगाउने काममा प्रयोग गरौं। हामी साहसी हुनसकौं र यहोवामा पूर्ण भरोसा राख्नसकौं। अनि यहोवाले काम पूरा भयो नभन्‍नु भएसम्म “धन-सम्पत्तिहरू” भर्ने यो काम गर्दै उहाँको महान्‌ आध्यात्मिक मन्दिरमा सेवा गरिरहन दृढ होऔं।

[फुटनोटहरू]

a वर्तमान बजारअनुसार सुलेमानले निर्माण गरेको मन्दिरको निम्ति दिइएको कुल चन्दा झन्डै ४० अरब डलर हुन आउँछ। निर्माण कार्यमा प्रयोग नभएको चन्दा मन्दिरको सन्दुकमा राखिएको थियो।—१ राजा ७:५१.

b इस्राएलका प्रधान पूजाहारी पापी भएकोले पश्‍चात्ताप आवश्‍यकता थियो तर येशू निष्पाप हुनुभएकोले पश्‍चात्ताप गर्नुपर्ने आवश्‍यकता थिएन। तथापि, उहाँको   सँगी पूजाहारीहरू पापी मानिसजातिबाट किनिएका भएकाले पापी थिए।—प्रकाश ५:९, १०.

c प्रहरीधरहरा, फेब्रुअरी १५, १९९८, पृष्ठ १७ -२२ हेर्नुहोस्‌।

के तपाईंलाई सम्झना छ?

• यहोवा भौतिक कुराहरूभन्दा पनि केलाई बढी बहुमूल्य ठान्‍नुहुन्छ?

• येशूले बगाउनुभएको रगतले कुन दुई समूहका मानिसहरूलाई फाइदा पुऱ्‍याउँछ?

• यहोवाको भवन महिमाले परिपूर्ण पार्ने “धन-सम्पत्तिहरू” को हुन्‌?

• हाग्गैको भविष्यवाणी आज पूरा भइरहेको छ भन्‍ने हामीसित के प्रमाण छ?

[पृष्ठ १६-मा भएको डायग्राम]

के तपाईंलाई यहोवाको पुरातन मन्दिरको प्रतीकात्मक महत्त्व थाह छ?

महा पवित्र स्थान

पर्दा

पवित्र स्थान

दलान

वेदी

चोक

[पृष्ठ १७-मा भएको चित्र]

प्रधान पूजाहारीले पूजाहारीहरूको पापका लागि साँढे अनि इस्राएलका गैर-पूजाहारी कुलका लागि बोका चढाउँथे

[पृष्ठ १८-मा भएको चित्र]

विश्‍वव्यापी राज्य प्रचार कार्यले यहोवाको भवनमा थुप्रैलाई निम्त्याइरहेको छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने