“मानिसहरूले म को हुँ भनी भन्दछन्?”
क्रिसमसको समय फेरि आएको छ। विश्वभरका मानिसहरू यो जन्मोत्सव मनाउन चाहन्छन्। तर कसको जन्मोत्सव? परमेश्वरको पुत्रको वा प्रथम शताब्दीमा आफ्नो क्षेत्रमा प्रचलित धर्मलाई सुधार गर्न चाहने एक जना भक्त यहूदीको? के यो गरिबहरूको रक्षा गर्ने रोमी साम्राज्यको विद्रोहीको जन्मोत्सव हो, जसलाई साम्राज्यको लागि खतरा ठानेर मारियो वा आत्म-ज्ञान र बुद्धिको प्रभुत्वमाथि जोड दिने एक जना ऋषिको? अतः सबैले गर्दा ‘वास्तवमा येशू को हुनुहुन्थ्यो?’ भनी प्रश्न गर्ने तपाईंसित जायज कारण छ।
मानिसहरूले त्यस प्रश्नको कस्तो जवाफ दिन्छन् भनी जान्न येशू आफै पनि उत्सुक हुनुहुन्थ्यो। एकपल्ट उहाँले आफ्ना चेलाहरूलाई सोध्नुभयो, “मानिसहरूले म को हुँ भनी भन्दछन्?” (मर्कूस ८:२७) उहाँले त्यस्तो प्रश्न सोध्नुको कारण के थियो? किनभने थुप्रै मानिस उहाँको पछि लाग्न छाडिसकेका थिए। अरूचाहिं उहाँलाई राजा बनाउन लाख कोसिस गर्दा पनि उहाँले त्यसलाई अस्वीकार गर्नुभएको हुनाले अलमल्लमा पर्नुका साथै निराश देखिन्थे। त्यसबाहेक, उहाँका शत्रुहरूले चुनौती दिंदासमेत उहाँले आफू को हो भन्ने प्रमाणित गर्न स्वर्गबाट चिह्न दिनुभएन। उसोभए, उहाँका प्रेरितहरूले त्यस प्रश्नको जवाफ कसरी दिए? तिनीहरूले मानिसहरूबीच प्रचलित केही विचारधाराहरू यसरी उल्लेख गरे: “कसैले बप्तिस्मा दिने यूहन्ना, कसैले एलिया, र अरूहरूले यर्मिया कि
अगमवक्ताहरूमध्ये कुनै एक भनी भन्दछन्।” (मत्ती १६:१३, १४) तर प्यालेस्टाइनमा येशूलाई आलोचना गर्न जताततै प्रयोग गरिने उपनाउँहरू जस्तै, ईश्वर निन्दक, छली, झूटो अगमवक्ता, बौलाहा इत्यादिचाहिं तिनीहरूले उल्लेख गरेनन्।
येशूका विभिन्न पक्ष
आज येशूले त्यही प्रश्नलाई यसरी सोध्नुभयो भने नि: “शास्त्रज्ञहरू म को हुँ भन्छन्?” फेरि पनि जवाफ यस्तै हुन्थ्यो होला: उहाँबारे मानिसहरूको आ-आफ्नै धारणाहरू छन्। “येशू, विभिन्न मानिसहरूको विचारमा फरक-फरक छन्” भनी शिकागो विश्वविद्यालयका डेविड ट्रेसिले बताए। गत शताब्दीको दौडान शास्त्रज्ञहरूले येशू वास्तवमा को हुनुहुन्थ्यो भन्ने प्रश्नको जवाफ भेट्टाउन समाजशास्त्र, मानवशास्त्र तथा साहित्यका विभिन्न तरिकाहरू प्रयोग गरेर हेरेका छन्। तर त्यस्ता विधिहरू प्रयोग गरेर तिनीहरूले येशू वास्तवमा को हुनुहुन्छ भनी पत्ता लगाए त?
इतिहासका येशू, संसारको अन्तबारे घोषणा गर्दै पश्चात्ताप गर्न आग्रह गर्ने एक जना यहूदी अगमवक्ता हुन् भनेर केही शास्त्रज्ञहरू दाबी गर्छन्। तथापि, तिनीहरूले उहाँलाई परमेश्वरको पुत्र, मसीह र मुक्तिदाता चाहिं भनेनन्। थुप्रै शास्त्रज्ञ उहाँ पहिला स्वर्गमा हुनुहुन्थ्यो र पछि पुनरुत्थान हुनुभयो भन्ने बाइबलको विवरणमा शंका गर्छन्। अरू कति जनाको लागि चाहिं येशू एक जना सामान्य मानिस मात्र हुनुहुन्थ्यो, जसले आफ्नो उदाहरणीय जीवनशैली तथा शिक्षामार्फत थुप्रै धर्म सुरु गर्नुभयो जसलाई समष्टिगत रूपमा भन्नुपर्दा मसीहीधर्म भनिन्छ। अनि थियोलोजि टुडे-ले उल्लेख गरेअनुसार अरू मानिसहरूले भने येशूलाई “शंकालु, फिरन्ते साधु, विचित्रको रैती; समुदायको संगठनकर्ता, समाजका रीतिथितिहरूको आलोचना गर्ने हिप्पी वा प्यालेस्टाइनको पिछडिएका गाउँहरूमा बसोबास गर्ने रिसाहा, गरिब र सामाजिक विद्रोह गर्न मानिसहरूलाई उस्काउँदै हिंड्ने चतुर मानिस” ठान्छन्।
त्यसबाहेक अरू अनौठा धारणाहरू पनि छन्। कालो वर्णको येशूको चित्र ऱ्याप संगीत, शहरी कला र नाचमा समेत देखिन थालेको छ।a अरूले चाहिं येशू वास्तवमा आइमाई हुनुहुन्थ्यो भन्ने अनुमान लगाउँछन्। सन् १९९३ को ग्रीष्मऋतुमा क्यालिफोर्नियामा भएको अरेन्ज काउन्टी मेलामा घुम्न आउने यात्रुहरूले नाङ्गो “क्रिस्टी” अर्थात् क्रूसमा झुन्डिएको महिला ख्रीष्टको मूर्ति देखे। त्यसैताका न्यु योर्क शहरमा “क्रिस्टा” अर्थात् मृत्युदण्ड पाएकी महिला, “येशूको” प्रदर्शन गरियो। ती दुवै मूर्तिहरूले धेरै विवाद उत्पन्न गऱ्यो। अनि १९९९ को सुरुतिर पसलेहरूले “बालक येशू र उहाँको एन्जल नाउँको कुकुरबीचको प्रेमबारे” उल्लेख गरिएको पुस्तक बेच्न थाले। तिनीहरूको सम्बन्धलाई “आध्यात्मिक चक्र” भनी वर्णन गर्नुका साथै “त्यो केटा र कुकुर एक अर्काको लागि आफ्नो प्राण दिनसमेत तयार छन्” भनी वर्णन गरिएको छ।
येशू को हुनुहुन्थ्यो भनेर जान्नु के साँच्चै महत्त्वपूर्ण छ र?
येशू को हुनुहुन्थ्यो र को हुनुहुन्छ भन्ने कुरामा तपाईंले किन चासो लिनुपर्छ? एउटा कारण त, नेपोलियनको यस भनाइमा पाउँछौं, “आफ्नो दृश्य शारीरिक उपस्थितिविना नै येशू ख्रीष्टले आफ्ना प्रजाहरूलाई प्रभाव पार्नुभएको छ र तिनीहरूलाई आफ्नो अधीनमा राख्नुभएको छ।” येशूले आफ्नो जीवन्त शिक्षा तथा जीवनशैलीबाट लगभग दुई हजार वर्षदेखि अरबौं मानिसहरूको जीवनलाई प्रभाव पार्नुभएको छ। यस कुरालाई एक जना लेखकले उपयुक्त ढंगमा यसरी व्यक्त गरे: “आजसम्म हिंडेका जम्मै फौजहरू, आजसम्म बनिएका सबै जलसेनाहरू, आजसम्म बसेका संसद्का सबै बैठकहरू, आजसम्म सिंहासनमा बसेर राज्य गरेका राजाहरू सबै मिलेर पनि येशूले जति शक्तिशाली ढंगमा पृथ्वीका मानिसहरूमाथि प्रभाव पार्न सकेका छैनन्।”
यसबाहेक, येशू को हुनुहुन्थ्यो र को हुनुहुन्छ भन्ने कुरा तपाईंले थाह पाउनुपर्छ किनभने यससित तपाईंको भविष्यको प्रत्यक्ष सम्बन्ध छ। येशूले शासन गर्नुहुने परमेश्वरको स्वर्गीय राज्यको प्रजा हुने मौका तपाईंको सामु छ। येशूको निर्देशनमा हाम्रो संकटग्रस्त ग्रहलाई पहिलेकै अवस्थामा ल्याइनुका साथै यसका जैविक विविधता र पर्यावरणीय सन्तुलन पनि दुरुस्त पारिनेछ। येशूको राज्यले भोकाहरूलाई खुवाउनेछ, गरिबहरूको हेरचाह गर्नेछ, रोगीहरूलाई निको पार्नेछ र मरेकाहरूलाई पुनः जीवन दिनेछ भनी बाइबलका भविष्यवाणीहरूले आश्वासन दिन्छ।
सबैले चाहने त्यस्तो सरकारको नेतृत्व कसले लिनेछ भनेर जान्न तपाईं पक्कै उत्सुक हुनुहुन्छ होला। यसपछिको लेखले तपाईंलाई येशू वास्तवमा को हुनुहुन्छ भन्ने कुराको अन्तरदृष्टि पाउन मदत गर्नेछ।
[फुटनोट]
a येशूको शारीरिक रूपबारे जान्न ब्यूँझनुहोस्! डिसेम्बर ८, १९९८ को अंग्रेजी अंकमा “येशू कस्तो हुनुहुन्थ्यो?” भन्ने लेख हेर्नुहोस्।