प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w02 ३/१५ पृ. ८-१३
  • के तपाईंलाई ख्रीष्टको नेतृत्व वास्तविक लाग्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईंलाई ख्रीष्टको नेतृत्व वास्तविक लाग्छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • युवाहरू हो—‘बुद्धिमा बढ्‌दै जाओ’
  • “एउटा अर्कोको अधीनमा बस”
  • ‘पहिले उहाँको राज्य खोजी गर’
  • असल नेतृत्व हामी कहाँ पाउन सक्छौं?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • सर्वोत्तम नेता ख्रीष्टलाई पछ्याउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • ख्रीष्टले आफ्नो मण्डलीको नेतृत्व लिनुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • परिवारलाई सुखी बनाउन के गर्नुपर्छ?
    बाइबलले वास्तवमा के सिकाउँछ?
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
w02 ३/१५ पृ. ८-१३

के तपाईंलाई ख्रीष्टको नेतृत्व वास्तविक लाग्छ?

“तिमीहरूलाई नेता कसैले नभनोस्‌, किनकि तिमीहरूका एक मात्र नेता ख्रीष्टनै हो।”—मत्ती २३:१०, NW.

१. साँचो मसीहीहरूको नेता केवल को हुनुहुन्छ?

नीसान ११, मंगलबारको दिन थियो। तीन दिनपछि येशू ख्रीष्टलाई मारिने थियो। उहाँ मन्दिरमा अन्तिम चोटि जाँदै हुनुहुन्थ्यो। त्यस दिन, येशूले त्यहाँ भेला भएका भीड र चेलाहरूलाई महत्त्वपूर्ण शिक्षा दिनुभयो। उहाँले यसो भन्‍नुभयो: “तिमीहरूलाई कसैले गुरु नभनोस्‌ किनकि तिमीहरूका गुरु एउटै छन्‌, र तिमीहरू चाहिं सबै दाज्यू-भाइ हौ। तिमीहरू पृथ्वीमा कसैलाई आफ्ना पिता नभन, किनकि तिमीहरूका पिता एउटै स्वर्गमा हुनुहुन्छ। तिमीहरूलाई मालिक [“नेता,” NW ] कसैले नभनोस्‌, किनकि तिमीहरूका एक मात्र मालिक [“नेता,” NW ] ख्रीष्टनै हो।” (मत्ती २३:८-१०) स्पष्टतः साँचो मसीहीहरूको नेता येशू ख्रीष्ट नै हुनुहुन्छ।

२, ३. यहोवाको आज्ञा पालन गर्दै उहाँले नियुक्‍त गर्नुभएको नेतालाई स्वीकार्दा हाम्रो जीवनमा कस्तो असर पर्छ?

२ येशूको नेतृत्वलाई स्वीकार्दा त्यसले हाम्रो जीवनमा थुप्रै सकारात्मक प्रभाव पर्छ! यस नेताको आगमनबारे भविष्यवाणी गर्दै यहोवा परमेश्‍वरले अगमवक्‍ता यशैयामार्फत्‌ यस्तो घोषणा गर्नुभयो: “हे सबै तिर्खाउने हो, पानीनेर आऊ। औ रूपियाँ नहुने पनि आऊ र किनेर खाऊ। आऊ, विनापैसा र विनादाम दाखमद्य र दूध किन। . . . ध्यान दिएर मेरो कुरा सुन, र जे कुरो असल छ त्यही तिमीहरू खाऊ, र स्वादिष्ट थोकहरू खाएर तिमीहरू सन्तुष्ट होऊ। . . . हेर, मैले त्यसलाई जातिहरूका बीचमा साक्षी, र जातिहरूमा एक नेता र सेनापति तुल्याएको छु।”—यशैया ५५:१-४.

३ हामीले यहोवाको आज्ञा पालन गर्दै उहाँले हामीलाई दिनुभएको नेता र सेनापतिलाई पछ्याउँदा हाम्रो व्यक्‍तिगत जीवनमा कस्तो असर पार्छ भनी बुझाउन यशैयाले पानी, दूध र दाखमद्यजस्ता सामान्य झोल पदार्थलाई उपमाको रूपमा चलाएका छन्‌। उखुम गर्मीको दिनमा चिसो पानी पिउँदाझैं यसबाट स्फूर्ति प्राप्त हुन्छ। सत्य र धार्मिकताप्रतिको हाम्रो तिर्खा मेट्‌छ। दूधले बच्चालाई बल दिनुका साथै हलक्क बढ्‌न मदत गरेझैं ‘आत्मिक दूधले’ हामीलाई सुदृढ बनाउँछ र परमेश्‍वरसँगको हाम्रो सम्बन्धमा आध्यात्मिक प्रगति गराउँछ। (१ पत्रुस २:१-३) अनि सुखद अवसरहरूमा दाखमद्यले झनै आनन्द बढाउँछ भन्‍ने कुरालाई कसले पो नकार्न सक्छ र? त्यस्तै गरी, साँचो परमेश्‍वरको उपासना गर्दै उहाँले नियुक्‍त गर्नुभएको नेताको पाइलामा हिंड्‌दा जीवनमा “औधी हर्षित” हुन सक्छौं। (व्यवस्था १६:१५) अतः चाहे हामी जवान हौं या वृद्ध, स्त्री हौं या पुरुष, सबैले येशूको नेतृत्व हामीलाई वास्तविक लाग्छ भनी प्रदर्शन गर्नु अत्यावश्‍यक छ। तथापि, आफ्नो दैनिक जीवनमा मसीहलाई नेता मान्छौं भनेर हामी कसरी देखाउन सक्छौं?

युवाहरू हो—‘बुद्धिमा बढ्‌दै जाओ’

४. (क) येशू १२ वर्षको हुनुहुँदा निस्तार चाड मनाउन यरूशलेम जानुहुँदा कस्तो घटना घट्यो? (ख) येशू केवल १२ वर्षको हुँदा कत्ति धेरै ज्ञान हासिल गर्नुभएको थियो?

४ हाम्रा नेताले केटाकेटीहरूको निम्ति बसाल्नुभएको उदाहरणलाई विचार गर्नुहोस्‌। येशूको बाल्यकालबारे त्यति धेरै जानकारी नभए तापनि एउटा घटनाले भने धेरै कुरा प्रकट गर्छ। येशू १२ वर्षको हुनुहुँदा उहाँ आफ्नो आमाबाबुसँग वर्षेनी मनाइने निस्तार चाडको लागि यरूशलेम जानुभएको थियो। यस अवसरमा उहाँ धर्मशास्त्रीय छलफलमा सामेल हुनुभयो र उहाँ त्यहीं छोडिनुभएको कुरा परिवारलाई होसै भएन। तीन दिनपछि उहाँका चिन्तित आमाबाबु, यसूफ र मरियमले येशूलाई मन्दिरमै “शिक्षकहरूका बीचमा बसेर सुन्दै र सोध्दै गरिरहनुभएको भेट्टाए।” यसबाहेक, “सुन्‍नेहरू सबै उहाँको समझ र जवाफहरूमा छक्क पर्दथिए।” विचार गर्नुहोस्‌, येशूले १२ वर्षको कलिलो उमेरमा आध्यात्मिक तवरमा विचारणीय प्रश्‍नहरू मात्र गर्नुभएन तर जानकारीमूलक उत्तरहरू पनि दिनुभयो! निस्सन्देह, आमाबाबुबाट पाएको प्रशिक्षणको कारण पनि उहाँले यसो गर्न सक्नुभयो।—लूका २:४१-५०.

५. पारिवारिक बाइबल अध्ययनप्रतिको आफ्नो दृष्टिकोण कस्तो छ भनेर जवानहरूले कसरी केलाउन सक्छन्‌?

५ सायद तपाईं जवान हुनुहुन्छ होला। तपाईंको आमाबाबु परमेश्‍वरका समर्पित सेवकहरू हुनुहुन्छ भने सम्भवतः तपाईंको परिवारमा नियमित बाइबल अध्ययन गर्ने तालिका छ होला। पारिवारिक अध्ययनप्रति तपाईं कस्तो दृष्टिकोण राख्नुहुन्छ? यस्ता केही प्रश्‍नहरूबारे सोच्नुभए कसो होला: ‘के मैले बाइबल अध्ययन गर्ने मेरो परिवारको प्रबन्धलाई तनमनले मदत गरिरहेको छु? अध्ययन तालिकामा गडबड नगर्न के म सहयोग गर्छु?’ (फिलिप्पी ३:१६) ‘के म अध्ययनमा सक्रियतासाथ भाग लिन्छु? उपयुक्‍त भएमा के म अध्ययन गरिरहेको विषयवस्तुसम्बन्धी प्रश्‍नहरू गर्नुका साथै यसको उपयोगबारे टिप्पणीहरू गर्ने गर्छु? आध्यात्मिक तवरमा उन्‍नति गर्दै जाँदा के मैले ‘पूरा बढेका मानिसहरूको निम्ति खँदिलो खानेकुराको’ निम्ति भोक जगाइरहेको छु?—हिब्रू ५:१३, १४.

६, ७. जवानहरूको लागि दिनहुँ बाइबल पढ्‌नु कत्तिको महत्त्वपूर्ण साबित हुन सक्छ?

६ दिनहुँ बाइबल पढाइको कार्यक्रम पनि अत्यन्तै महत्त्वपूर्ण छ। भजनरचयिताले यस्तो भजन गाए: “त्यो मानिस धन्य हो, जो दुष्टहरूको युक्‍तिमा चल्दैन . . . तर परमप्रभुको व्यवस्थामानै त्यो प्रसन्‍न रहन्छ, र दिनरात उहाँकै व्यवस्थामा त्यसले ध्यान दिन्छ।” (भजन १:१, २) मोशाका उत्तराधिकारी यहोशूले ‘व्यवस्थाको पुस्तक दिन-रात पढे।’ यसले तिनलाई बुद्धिमानीपूर्वक चल्न र ईश्‍वरप्रदत्त कार्यभार सफलतासाथ पूरा गर्न मदत गऱ्‍यो। (यहोशू १:८) हाम्रा नेता येशू ख्रीष्टले यसो भन्‍नुभयो: “यस्तो लेखिएको छ, ‘मानिस भोजनले मात्र होइन, तर परमेश्‍वरका मुखबाट निस्केको हरेक वचनले बाँच्तछ।’ ” (मत्ती ४:४) हामीलाई भौतिक खाना त दिनहुँ चाहिन्छ भने, आध्यात्मिक भोजन नियमित तवरमा लिनु झनै कत्ति आवश्‍यक होला!

७ आफ्नो आध्यात्मिक आवश्‍यकताबारे सजग हुँदै १३ वर्षीया निकोलले दिनहुँ बाइबल पढ्‌न थालिन्‌।a अहिले तिनी १६ वर्षकी भइन्‌ र तिनले सम्पूर्ण बाइबल एक चोटि पढी सकिन्‌ र फेरि पढ्‌न थालेर पनि आधा पुगिसक्यो। तिनको तरिका सरल छ। तिनी यसो भन्छिन्‌: “म दिनदिनै कम्तीमा पनि एउटा अध्याय पढ्‌ने लक्ष्य राख्छु।” दिनहुँ बाइबल पढाइले तिनलाई कसरी मदत गरेको छ? तिनी यस्तो उत्तर दिन्छिन्‌: “आज खराब प्रभावहरू छ्यासछ्यास्ती छन्‌। स्कूल र अन्य ठाउँमा दिनहुँ दबाउहरूको सामना गर्नुपर्छ र त्यसले मेरो विश्‍वासको चुनौती भइरहन्छ। दिनहुँ बाइबल पढेको कारण म तुरुन्तै बाइबलका आज्ञा तथा सिद्धान्तहरू सम्झन सक्छु र यसले मलाई त्यस्ता दबाउहरू सामना गर्ने बल दिन्छ। फलस्वरूप, म यहोवा र येशूसँग घनिष्ठ महसुस गर्छु।”

८. सभाघरमा येशूको के गर्ने बानी थियो र जवानहरूले कसरी उहाँको अनुकरण गर्न सक्छन्‌?

८ सभाघरमा धर्मशास्त्रको पढाइ हुँदा येशूको सुन्‍ने र छलफलमा भाग लिने बानी थियो। (लूका ४:१६; प्रेरित १५:२१) नियमित तवरमा बाइबल पढिने तथा अध्ययन गरिने मसीही सभाहरूमा उपस्थित भएर येशूको उदाहरण पछ्याउनु जवानहरूका लागि साह्रै बेस हो! त्यस्ता सभाहरूको निम्ति मूल्यांकन व्यक्‍त गर्दै १४ वर्षीय रिचर्ड यसो भन्छन्‌: “सभाहरू मेरोलागि असाध्यै महत्त्वपूर्ण छन्‌। त्यहाँ मलाई निरन्तर असल र खराब, नैतिक र अनैतिक, के कुरा ख्रीष्टअनुरूप छन्‌ र के छैनन्‌ भनी सम्झाइन्छ। त्यसैकारण तीता अनुभवहरू भोगिसकेपछि मात्र मैले ती कुराहरू थाह पाउनुपर्दैन।” हो, “परमप्रभुको साक्षीवचन पक्का छ, निर्बोधहरूलाई बुद्धिमान तुल्याउने।” (भजन १९:७) निकोल पनि हरेक हप्ता पाँचैवटा सभा धाउने प्रयास गर्छिन्‌। तिनी ती सभाहरूको लागि तयार गर्न दुईदेखि तीन घण्टा बिताउँछिन्‌।—एफिसी ५:१५, १६.

९. जवानहरू कसरी ‘बुद्धिमा बढ्‌दै जान’ सक्छन्‌?

९ ‘एकमात्र सत्य परमेश्‍वर र उहाँले पठाउनुभएको येशू ख्रीष्टलाई चिन्‍ने’ राम्रो समय युवावस्था हो। (यूहन्‍ना १७:३) सायद तपाईं कमिक पढेर, टेलिभिजन हेरेर, भिडियो गेम खेलेर वा इन्टरनेट हेरेर धेरै समय बर्बाद गर्ने जवानहरूलाई चिन्‍नुहुन्छ होला। हाम्रो नेताको निष्खोट उदाहरण अनुकरण गर्न सक्छौं भने किन तिनीहरूको देखासिकी गर्ने? सानो छँदै उहाँ यहोवाबारे सिक्न पाउँदा साह्रै रमाउनुहुन्थ्यो। नतिजा कस्तो भयो? आध्यात्मिक कुराप्रतिको प्रेमले गर्दा उहाँ “बुद्धि[मा] . . . बढ़दै जानुभयो।” (लूका २:५२) तपाईं पनि त्यसै गर्न सक्नुहुन्छ।

“एउटा अर्कोको अधीनमा बस”

१०. पारिवारिक जीवन शान्ति अनि आनन्दको स्रोत हुन कुन कुराले मदत गर्नेछ?

१० घर, शान्ति र आनन्दले भरिएको वा कलह र द्वेषले भरिएको ठाउँ हुन सक्छ। (हितोपदेश २१:१९; २६:२१) हामीले ख्रीष्टको नेतृत्वलाई स्वीकार्दा परिवारमा शान्ति अनि आनन्द छाउँछ। वास्तवमा, पारिवारिक सम्बन्धहरूको निम्ति येशूको उदाहरण एउटा उत्तम नमुना हो। धर्मशास्त्र यस प्रकार उल्लेख गर्छ: “ख्रीष्टको भयमा एउटा अर्कोको अधीनमा बस। ए पत्नी हो, प्रभुको अधीनमा रहेजस्तै आफ्ना आफ्ना पतिको अधीनमा बस। किनकि पत्नीका शिर पति हुन्‌, जस्तो ख्रीष्ट शरीरको मुक्‍तिदाता भई मण्डलीका शिर हुनुहुन्छ। . . . ए पति हो, आफ्ना पत्नीहरूलाई प्रेम गर, जसरी ख्रीष्टले पनि मण्डलीलाई प्रेम गर्नुभयो, र त्यसको निम्ति आफूलाई अर्पण गर्नुभयो।” (एफिसी ५:२१-२५) कलस्सीको मण्डलीलाई प्रेरित पावलले यस्तो लेखे: “ए बालक हो, सबै कुरामा आमाबाबुका आज्ञा पालन गर। किनकि यो प्रभुमा बढ़ता खुशी तुल्याउनेहुन्छ।”—कलस्सी ३:१८-२०.

११. पतिले ख्रीष्टको नेतृत्व तिनको लागि वास्तविक छ भनेर कसरी देखाउन सक्छन्‌?

११ यो सल्लाह पालन गर्नुको अर्थ पतिले परिवारमा नेतृत्व लिनुपर्छ, पत्नीले पतिलाई पूरा समर्थन गर्नुपर्छ अनि छोराछोरीले आमाबाबुको आज्ञा पालन गर्नुपर्छ। तर पतिले आफ्नो शिरत्व उचित ढंगमा प्रयोग गरेको खण्डमा मात्र आनन्द प्राप्त गर्न सकिन्छ। बुद्धिमान्‌ पतिले आफ्नो शिर र नेता, ख्रीष्ट येशूको अनुकरण गरेर शिरत्व कसरी अभ्यास गर्ने भनी सिक्नुपर्छ। (१ कोरिन्थी ११:३) पछि येशू ‘मण्डलीमा सबै कुराको शिर’ हुनुभए तापनि उहाँ “सेवा पाउनालाई होइन, तर सेवा गर्न” पृथ्वीमा आउनुभएको थियो। (एफिसी १:२२; मत्ती २०:२८) त्यसै गरी, मसीही पतिले स्वार्थको निम्ति होइन तर आफ्नो पत्नी र छोराछोरी अर्थात्‌ सम्पूर्ण परिवारको हेरचाह गर्न शिरत्वको प्रयोग गर्नेछन्‌। (१ कोरिन्थी १३:४, ५) तिनले आफ्नो शिर, येशू ख्रीष्टका असल गुणहरू अनुकरण गर्ने प्रयास गर्छन्‌। येशूजस्तै तिनी पनि विनयी र नम्र हृदयको हुन्छन्‌। (मत्ती ११:२८-३०) आफूले गल्ती गर्दा “मलाई माफ गरिदेऊ” वा “तिमीले भनेको ठीक हो” भन्‍न तिनलाई गाह्रो लाग्दैन। पतिको असल उदाहरणले गर्दा पत्नीलाई पनि तिनीबाट कामकुरा सिक्दै अनि सँगसँगै काम गरेर “सुहाउँदो सहयोगी” र “जीवन-साथी” हुन सजिलो हुन्छ।—उत्पत्ति २:२०; मलाकी २:१४.

१२. पत्नीलाई शिरत्वको सिद्धान्त पालन गर्न कुन कुराले मदत गर्छ?

१२ पत्नीचाहिं पतिको अधीनमा बस्नुपर्छ। तथापि, संसारको आत्माले असर गर्न थाल्यो भने तिनलाई शिरत्वको सिद्धान्तलाई हल्कासँग लिन अनि पतिको अधीनमा बस्ने विचार ठीक छैन जस्तो लाग्न धेरै बेर लाग्दैन। धर्मशास्त्रले मानिस प्रभुत्व जमाउने हुनुपर्छ भनेर बताउँदैन तर पत्नीहरू पतिको अधीनमा रहून्‌ भनेर चाहिं बताउँछ। (एफिसी ५:२४) बाइबलले पति वा पिताले परिवारको जिम्मेवारी लिनुपर्छ भनेर पनि बताउँछ र बाइबलका सिद्धान्तहरू लागू गर्दा परिवारमा शान्ति अनि सुव्यवस्था हुन्छ।—फिलिप्पी २:५.

१३. छोराछोरीको निम्ति येशूले अधीनमा बस्ने सन्दर्भमा कस्तो उदाहरण बसाल्नुभएको छ?

१३ छोराछोरीले आमाबाबुको आज्ञा पालन गर्नुपर्छ। यस सन्दर्भमा येशूले उत्कृष्ट उदाहरण बसाल्नुभयो। बाह्र वर्षको हुनुहुँदा येशू तीन दिन मन्दिरमा हराउनुभएपछि “उहाँ तिनीहरूसित ओर्लेर नासरतमा आउनुभयो, र तिनीहरूका अधीनमा बस्नुभयो।” (लूका २:५१) छोराछोरी आमाबाबुको अधीनमा बस्दा परिवारमा शान्ति र मेलमिलाप कायम हुन्छ। परिवारका सबै सदस्यहरू ख्रीष्टको अधीनमा बस्दा यस्तो परिवार सुखी हुन्छ।

१४, १५. घरमा कठिन परिस्थिति खडा हुँदा कुन कुराले मदत गर्नेछ? उदाहरण दिनुहोस्‌।

१४ घरमा जटिल परिस्थितिहरू खडा हुँदासमेत येशूको अनुकरण गर्दै उहाँको डोऱ्‍याइ स्वीकार्नु नै सफलताको कुञ्जी हो। उदाहरणका लागि, ३५ वर्षीय जेरीले एक किशोरीकी आमा भइसकेकी लानासँग विवाह गर्दा तिनीहरू दुवैले सोच्दै नसोचेको चुनौती सामना गर्नुपऱ्‍यो। जेरी यसो भन्छन्‌: “असल शिर हुनको निम्ति अरू सफल परिवारहरूले लागू गरेको बाइबल सिद्धान्तअनुसार गर्नुपर्छ भन्‍ने कुरा मलाई थाह थियो। तर मैले अझ बढी बुद्धि र विवेकसाथ ती लागू गर्नुपर्ने आवश्‍यकता महसुस गरें।” तिनकी सौतिनी छोरीलाई तिनी आमाछोरीबीच फाटो ल्याउने मान्छेजस्तो लागेको कारण तिनलाई पटक्कै मन पराउँदिन थिइन्‌। यस्तो सोचाइले सौतिनी छोरीको व्यवहारमा प्रभाव पारिरहेको छ भनी बुझ्न जेरीलाई विवेक चाहियो। तिनले के गरे? जेरी यस्तो जवाफ दिन्छन्‌: “लाना र मैले केही समयको लागि अनुशासन दिने कामचाहिं लानाले नै गर्ने र मैलेचाहिं छोरीसित राम्रो सम्बन्ध विकास गर्न कोसिस गर्ने कुरामा मात्र ध्यान दिने निर्णय गऱ्‍यौं। यस्तो तरिका अपनाउँदा समयमा नतिजा राम्रो भयो।”

१५ घरमा जटिल परिस्थितिहरू खडा हुँदा परिवारका सदस्यहरूले किन नमीठो वचन गर्छन्‌ र व्यवहार गर्छन्‌ भनेर पत्ता लगाउन विवेक चाहिन्छ। ईश्‍वरीय सिद्धान्त सही ढंगमा लागू गर्न बुद्धि पनि चाहिन्छ। उदाहरणका लागि, रगत बग्ने स्त्रीले आफूलाई छुनुको कारण येशूले राम्ररी बुझ्नुभयो र उहाँले तिनीसँग बुद्धिमानी ढंगमा अनुकम्पापूर्ण व्यवहार गर्नुभयो। (लेवी १५:२५-२७; मर्कूस ५:३०-३४) बुद्धि र विवेक हाम्रो नेताको विशेष चिनारी हो। (हितोपदेश ८:१२) उहाँको तौरतरिकाअनुसार हामी चल्यौं भने हामी आनन्दित हुन्छौं।

‘पहिले उहाँको राज्य खोजी गर’

१६. हाम्रो जीवनमा कुन कुराले प्राथमिकता पाउनुपर्छ र येशूले आफ्नो उदाहरणबाट यो कसरी देखाउनुभयो?

१६ आफ्नो नेतृत्व स्वीकार्ने मानिसहरूको जीवनमा कुन कुराले प्राथमिकता पाउनुपर्छ भन्‍ने कुरा येशूले स्पष्ट पार्नुभयो। उहाँले यसो भन्‍नुभयो: “पहिले उहाँको राज्य र उहाँको धार्मिकता खोजी गर।” (मत्ती ६:३३) अनि यो कसरी गर्न सकिन्छ भनेर उहाँले आफ्नै उदाहरणबाट देखाउनुभयो। बप्तिस्मापछि चालीस दिन लामो उपवास, मनन र प्रार्थनापछि उहाँले प्रलोभनको सामना गर्नुपऱ्‍यो। शैतान अर्थात्‌ दियाबलले “जगत्‌का सबै राज्य[माथि]” शासन गर्न दिने प्रस्ताव राख्यो। दियाबलको प्रस्ताव स्वीकारेको भए येशूले कस्तो किसिमको जीवनको आनन्द उठाउन सक्नुहुन्थ्यो, कल्पना गर्नुहोस्‌! तथापि, ख्रीष्ट आफ्नो पिताको इच्छाअनुसार गर्न कटिबद्ध हुनुहुन्थ्यो। शैतानको संसारमा त्यस्तो जीवन क्षणभरको लागि मात्र हुनेछ भनेर पनि उहाँलाई थाह थियो। उहाँले दियाबलको प्रस्तावलाई ठाडै अस्वीकार गर्दै यसो भन्‍नुभयो: “यस्तो लेखिएको छ, ‘तैंले परमप्रभु आफ्ना परमेश्‍वरलाई दण्डवत्‌ गर्नू औ उहाँको मात्र सेवा गर्नू।’ ” त्यसको लगत्तैपछि येशूले “प्रचार गर्दै भन्‍न लाग्नुभयो, ‘पश्‍चाताप गर। किनभने स्वर्गको राज्य नजीक आइपुगेको छ।’ ” (मत्ती ४:२, ८-१०, १७) ख्रीष्टले आफ्नो बाँकी पार्थिव जीवन परमेश्‍वरको पूर्ण-समय उद्‌घोषक भएर बिताउनुभयो।

१७. हाम्रो जीवनमा परमेश्‍वरको राज्यसम्बन्धी गतिविधिले प्राथमिकता पाएको छ भन्‍ने कुरा हामी कसरी देखाउन सक्छौं?

१७ हामीले हाम्रो नेताको अनुकरण गर्नुपर्छ र धेरै पैसा कमाउने जागिर अनि पेसालाई आफ्नो जीवनको मुख्य लक्ष्य बनाएर शैतानको संसारको प्रलोभनमा पर्नुहुँदैन। (मर्कूस १:१७-२१) सांसारिक कुराहरूको जन्जालमा फसेर परमेश्‍वरको राज्यसम्बन्धी गतिविधिलाई प्राथमिकता नदिनु कत्ति मूर्खतापूर्ण कुरा हुनेछ! येशूले हामीलाई परमेश्‍वरको राज्यको प्रचार गर्ने र चेला बनाउने काम सुम्पनुभएको छ। (मत्ती २४:१४; २८:१९, २०) हो, हाम्रो परिवार होला वा अन्य जिम्मेवारीहरू होलान्‌ तर साँझ तथा सप्ताहन्तमा प्रचार र चेला बनाउने मसीही जिम्मेवारी पूरा गर्न पाएकोमा के हामी खुसी छैनौं र? अनि सन्‌ २००१ सेवा वर्षको दौडान लगभग ७,८०,००० जना पूर्ण-समय सेवक वा अग्रगामीहरूको रूपमा सेवा गर्नु कस्तो प्रोत्साहनदायी कुरा हो!

१८. सेवकाईबाट हामी कसरी आनन्द प्राप्त गर्न सक्छौं?

१८ सुसमाचारको विवरणले येशूलाई आफ्नो कामबाट देखाउने तथा कोमल मनोभाव भएको व्यक्‍तिको रूपमा चित्रण गर्छ। आफू वरपरका मानिसहरूको आध्यात्मिक आवश्‍यकता देखेर उहाँ टिठाउनुभयो र राजीखुसीसाथ तिनीहरूलाई मदत गर्नुभयो। (मर्कूस ६:३१-३४) अरूप्रतिको प्रेमले उत्प्रेरित भएका छौं र अरूलाई मदत गर्ने साँचो इच्छा छ भने हाम्रो सेवकाई आनन्दमय हुन्छ। तर हामी त्यस्तो इच्छा कसरी विकास गर्न सक्छौं? जेसन नाउँ गरेका एक जना जवान यसो भन्छन्‌: “किशोर छँदा मलाई सेवकाई खासै मन पर्दैनथ्यो।” तिनले यस कार्यप्रति कसरी प्रेम जगाउन सके? जेसन यस्तो जवाफ दिन्छन्‌: “प्रत्येक शनिबार बिहान मेरो सम्पूर्ण परिवार क्षेत्र सेवकाईमा जाने गर्थ्यो। त्यो मेरोलागि राम्रो थियो किनभने म सेवकाईमा जति बढी गएँ त्यसका राम्रा परिणामहरू पनि देख्न सकें र अझ आनन्दित हुन सकें।” हामीले पनि नियमित तवरमा लगनशील भई सेवकाईमा भाग लिनुपर्छ।

१९. ख्रीष्टको नेतृत्वको सन्दर्भमा हामीले कस्तो संकल्प गर्नुपर्छ?

१९ येशूको नेतृत्व स्वीकार्नु साँच्चै स्फूर्तिदायी र इनामदायी छ। त्यसो गर्दा युवावस्था ज्ञान र बुद्धिमा बढ्‌दै जाने समय हुन्छ। पारिवारिक जीवन आनन्द र शान्तिको अनि सेवकाई आनन्द र सन्तुष्टि ल्याउने स्रोत हुनेछ। त्यसकारण आउनुहोस्‌, हामी सबै जना ख्रीष्टको नेतृत्व साँच्चै वास्तविक छ भनेर आफ्नो दैनिक जीवन तथा निर्णयहरूद्वारा देखाउने संकल्प गरौं। (कलस्सी ३:२३, २४) तथापि, येशू ख्रीष्टले अर्को पक्षमा पनि आफ्नो नेतृत्व प्रदान गर्नुभएको छ। त्यो हो, मसीही मण्डली। यस प्रबन्धबाट हामी कसरी लाभ उठाउन सक्छौं भन्‍ने विषयमा अर्को लेखले छलफल गर्नेछ।

[फुटनोट]

a केही नाउँहरू परिवर्तन गरिएका छन्‌।

के तपाईंले सम्झनुभएको छ?

• परमेश्‍वरद्वारा नियुक्‍त नेतृत्वलाई स्वीकार्दा कसरी फाइदा हुन्छ?

• युवाहरूले येशूको नेतृत्वलाई स्वीकार्न चाहेको कुरा कसरी देखाउन सक्छन्‌?

• ख्रीष्टको नेतृत्वलाई स्वीकार्दा पारिवारिक जीवनमा कस्तो असर पार्छ?

• हाम्रोलागि ख्रीष्टको नेतृत्व वास्तविक छ भनेर हामी कसरी आफ्नो सेवकाईबाट देखाउन सक्छौं?

[पृष्ठ ९-मा भएका चित्रहरू]

युवावस्था, परमेश्‍वर र हाम्रो नियुक्‍त नेताको ज्ञान हासिल गर्ने उपयुक्‍त समय हो

[पृष्ठ १०-मा भएको चित्र]

ख्रीष्टको नेतृत्वको अधीनमा बस्दा परिवारमा आनन्द छाउँछ

[पृष्ठ १२-मा भएका चित्रहरू]

येशूले परमेश्‍वरको राज्यलाई प्राथमिकता दिनुभयो। तपाईं नि?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने