प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w02 ८/१ पृ. २०-२२
  • योग व्यायाम मात्र हो वा अरू पनि केही?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • योग व्यायाम मात्र हो वा अरू पनि केही?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • योगको पृष्ठभूमि
  • योगले तपाईंलाई कता डोऱ्‍याउन सक्छ?
  • मसीहीहरूको लागि छनौटको विषय होइन
  • के तपाईंलाई सम्झना छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
w02 ८/१ पृ. २०-२२

योग व्यायाम मात्र हो वा अरू पनि केही?

सलक्क परेको जीउ अनि स्वस्थ शरीर आजका अधिकांश मानिसहरूको चाहना हो। यसकारण अचेल धेरै मानिसहरू व्यायामशाला र हेल्थ क्लब धाउन थालेका छन्‌। यसैकारण पाश्‍चात्य मुलुकका हजारौं मानिसहरू योगको पूर्वीय कलातिर आकर्षित भएका छन्‌।

तनाउ, उदासीनता र निराशा भोगिरहेका मानिसहरू पनि सान्त्वना र समाधानको लागि योग गर्नतिर लागेका छन्‌। विशेष गरी हिप्पी र फ्लावर चिल्ड्रेनहरूको दशक भनेर चिनिने सन्‌ १९६० को दशकदेखि पूर्वीय धर्महरू र तिनका आध्यात्मिक प्रचलनहरू पाश्‍चात्य मुलुकभरि फैलियो। योगसित सम्बन्धित मन्त्र जप्दै ध्यान गर्ने चलनलाई सिनेकलाकार तथा रक संगीतकारहरूले प्रख्यात बनाएका छन्‌। योगप्रति मानिसहरूको चासो बढ्‌दै गएको कुरालाई दृष्टिगत गर्दा हामी यस्ता प्रश्‍नहरू सोध्न सक्छौं: ‘के योग स्वस्थ शरीर, सलक्क परेको जीउ र केही हदसम्म मानसिक शान्ति प्रदान गर्ने व्यायाम मात्र हो त? के कुनै धार्मिक अर्थ नलाग्ने गरी योग गर्न सकिन्छ? के मसीहीहरूले योग गर्नु उचित हुन्छ?’

योगको पृष्ठभूमि

संस्कृत शब्द योगको अर्थ जोड, कुनै दुई वस्तु परस्परमा मिल्ने वा जोडिने काम हो। एक जना हिन्दूको लागि भने योग परमात्मा वा आत्मासँग मेल गराउने तरिका वा अनुशासन हो। यसलाई “शरीर, मन र आत्माका सबै शक्‍तिहरूलाई ईश्‍वरसँग एकाकार गराउने” भनी वर्णन गरिएको छ।

योगको इतिहास कति पुरानो छ? अहिलेको पाकिस्तानको सिन्धुघाटीमा फेला परेका कुँदिएका सामग्रीहरूमा योगका विभिन्‍न आसनमा बसेका मानिसहरूको चित्र देखिन्छ। पुरातत्त्वविद्‌हरूले सिन्धुघाटीको सभ्यता सा.यु.पू. तेस्रो र दोस्रो सहस्राब्दीबीचमा मेसोपोटामिया संस्कृतिको समयतिरको हुनुपर्छ भन्‍ने अनुमान लगाएका छन्‌। ती दुवै ठाउँका कलाकृतिहरूमा जनावरका सिङहरू लगाएको र चारैतिरबाट जनावरहरूले घेरेको ईश्‍वरजस्तो मानिसको चित्र छ र यसले “शक्‍तिशाली शिकारी” निम्रोदको सम्झना गराउँछ। (उत्पत्ति १०:८, ९) योगको आसनमा बसिरहेका चित्रहरू लिंगलाई पूजा गरिने पशुहरूको देवता र योगको देवता शिवका हुन्‌ भनी हिन्दूहरू दाबी गर्छन्‌। त्यसकारण हिन्दू वर्ल्ड भन्‍ने पुस्तकले योगलाई “थुप्रै पुरातन धारणा र अनुष्ठानहरू भएको, विशेष गरी आर्यपूर्वका तपस्वी प्रचलनहरूका नियम प्रणालीहरू” भन्छ।

सर्वप्रथम योग गर्ने तरिकाहरू मौखिक रूपमा एक पुस्ताबाट अर्को पुस्तामा सऱ्‍यो। पछि भारतीय मुनि पतञ्जलिले यसलाई योग सुत्र भन्‍ने नाउँ दिएर विस्तृत तवरमा लेखे र यो नै अहिलेसम्म योगको आधारभूत निर्देशनको रूपमा रहिरहेको छ। पतञ्जलीको भनाइअनुसार योग “मानव स्वभाव, शारीरिक तथा मानसिक अवस्थाजस्ता विभिन्‍न तत्त्वहरूलाई वशमा राखेर सिद्धि प्राप्त गर्ने व्यवस्थित प्रयत्न” हो। यसको सुरुआतदेखि अहिलेसम्म योग पूर्वीय धर्महरू र अचेल विशेष गरी हिन्दू, जैन र बौद्ध धर्मको अभिन्‍न भाग भएको छ। कोही-कोही योगीहरूको विश्‍वासअनुसार योगले तिनीहरूलाई सर्वव्यापी परमात्मासँग एकाकार गराएर मोक्ष प्राप्त गर्नतिर डोऱ्‍याउँछ।

त्यसकारण फेरि हामी यस्तो सोध्न सक्छौं: ‘के धर्मसँग नमुछिकन स्वस्थ शरीर र तनाउ मुक्‍त मन प्राप्त गर्न योगाभ्यास गर्न सकिन्छ?’ यसको पृष्ठभूमिलाई हेर्ने हो भने यसको जवाफ हो, सकिंदैन।

योगले तपाईंलाई कता डोऱ्‍याउन सक्छ?

योगको लक्ष्य मानिसलाई परमात्मासँग “जोडिएको” वा एकाकार भएको आध्यात्मिक अनुभूति गराउनु हो। तर यो आत्मा के हो?

हिन्दू वर्ल्ड पुस्तकमा यसका लेखक बेन्जामिन वल्कर योगबारे यसो भन्छन्‌: “यो पुरातन तान्त्रिक पद्धति हुन सक्छ र अझै पनि योगमा अलौकिक शक्‍तिमा विश्‍वास गर्ने र तन्त्रविद्याको आभास पाइन्छ।” हिन्दू दार्शनिकहरू योगको खास लक्ष्य अलौकिक शक्‍तिहरू प्राप्त गर्नु नभए तापनि योगाभ्यासद्वारा यस्तो शक्‍ति प्राप्त हुने दाबी गर्छन्‌। उदाहरणका लागि, इन्डियन फिलोसफी पुस्तकमा भारतका भूतपूर्व राष्ट्रपति डा. एस. राधाकृष्णन योगीबारे यसो भन्छन्‌: “विभिन्‍न आसनहरूद्वारा शरीरलाई नियन्त्रणमा ल्याएर एकदमै तातो वा चिसो पनि थाह नपाउने बनाइदिन्छ। . . . योगीमा दूरदृष्टि र दूरश्रुतिको क्षमता हुन्छ . . . सञ्चार साधनहरूको प्रयोग नगरी एकअर्कासित विचार आदानप्रदान गर्न सकिन्छ। . . . योगीले आफ्नो शरीरलाई अदृश्‍य बनाउन सक्छ।”

किलै-किलाको ओछ्यानमा सुतेको वा बलिरहेको कोइलामा हिंडेको योगी सम्झँदा कसैलाई पक्कै पनि कुनै छलछाम गरेर यसो गर्न सकेको हो जस्तो लाग्ला भने अरूलाई चाहिं यो देखेर हाँसो उठ्‌ला। तर यस्ता अनि एउटा खुट्टाले उभिएर घण्टौंसम्म सूर्यलाई हेरिरहनु र सास रोकेर लामो समयसम्म बालुवामा गाडिएर बस्नुजस्ता कामहरू भारतमा सामान्य कुराहरू हुन्‌। जून १९९५ मा टाइम्स अफ इन्डिया-ले एउटी साढेतीन वर्षकी केटीलाई लट्ठ बनाएर उसको पेटमाथिबाट ७५० किलोको गाडी गुडाइएको कुरा बतायो। जब तिनी जुरुक्क उठिन्‌, तिनलाई कतै पनि चोटपटक नलागेको देखेर भीड छक्क पऱ्‍यो। उक्‍त रिपोर्ट अझै यसो भन्छ: “केवल योगीक शक्‍तिको कारण यो सम्भव भएको थियो।”

निस्सन्देह, कुनै पनि साधारण मानिसले यस्ता कामहरू गर्न सक्दैन। त्यसकारण, एक जना मसीहीले यस्ता प्रश्‍नहरू सोध्नुपर्छ: यस्ता असाधारण कार्यहरूले कुन कुराको संकेत दिन्छ? के तिनीहरू “सारा पृथ्वीमा सर्वोच्च,” यहोवा परमेश्‍वरको तर्फबाट हुन्‌ वा अन्य कुनै स्रोतबाट? (भजन ८३:१८) यस सन्दर्भमा बाइबलले स्पष्टसँग बताएको छ। कनानीहरू बसोबास गरिरहेका तर इस्राएलीहरूलाई दिने प्रतिज्ञा गरिएको देशमा प्रवेश गर्नै लाग्दा यहोवाले मोशामार्फत तिनीहरूलाई यसो भन्‍नुभयो: “त्यहाँ बस्ने जातिहरूका घृणित रीति-रिवाजहरू नसिक्नू।” कस्ता “घृणित रीति-रिवाजहरू”? मोशाले “भावी बताउने, जोखाना हेर्ने, जादूगरी गर्ने” विरुद्ध चेताउनी दिए। (व्यवस्था १८:९, १०) यी कुराहरू परमेश्‍वरको नजरमा घृणित छन्‌ किनभने यी प्रेतहरू र पापी शरीरका कामहरू हुन्‌।—गलाती ५:१९-२१.

मसीहीहरूको लागि छनौटको विषय होइन

स्वास्थ्य प्रशिक्षकहरू माथि उल्लिखित भनाइहरूसँग असहमत भए तापनि योग शारीरिक व्यायाममा मात्र सीमित छैन। हिन्दू म्यानर्स्‌, कस्टम्स्‌ एण्ड सेरोमोनिज्‌ पुस्तकले गुरुको निगरानीमा योगाभ्यासको प्रशिक्षण लिइरहेका दुई जना प्रशिक्षार्थीहरूको अनुभवबारे बताउँछ। भनिन्छ, एक जनाले यसो भने: “मैले सकेसम्म लामो समयसम्म सास रोक्ने अलौकिक प्रयास गरें र मूर्च्छा पर्नै लागेपछि मात्र सास फेरें। . . . एक दिन ठीक मध्याह्नको समयमा मैले चहकिलो चन्द्रमा यता-उति हल्लिरहेको जस्तो देखें। अर्को पटक मैले मध्य दिनमा नै आफूलाई निस्पट्ट अँध्यारोले छोपेको जस्तो महसुस गरें। मैले यो कुरा आफ्नो गुरुलाई बताउँदा . . . उहाँ असाध्यै खुसी हुनुभयो। . . . अब चाँडै मैले मेरो तपस्याका फलस्वरूप अझ अचम्म लाग्दा नतिजाहरू अनुभव गर्न सक्नेछु भनी उहाँले मलाई आश्‍वस्त पार्नुभयो।” अर्का व्यक्‍ति यसो भन्छन्‌: “उहाँले मलाई हरेक दिन आँखा नझिम्क्याइकन वा नहल्लिकन आकाशमा एकोहोरो हेरिरहन लगाउनुहुन्थ्यो। . . . कहिलेकाहीं मलाई हावामा आगोको झिल्काहरू देखे जस्तो लाग्थ्यो; अरू समयमा भने म आगोका डल्लाहरू र अरू उल्का पिण्डहरू देखेको महसुस गर्थें। मेरो प्रयासको परिणाम देखेर मेरो गुरु धेरै खुसी हुनुभयो।”

यस्ता असाधारण दृश्‍यहरूलाई गुरुहरूले योगाभ्यासको साँचो लक्ष्यतर्फ लैजाने सकारात्मक नतिजाहरूको रूपमा हेर्थे। हो, योगको वास्तविक लक्ष्य भनेको मोक्ष अर्थात्‌ कथित परमात्मासँग एकाकार हुनु हो। यसलाई “दिमागको स्वचालित कल्पना शक्‍तिलाई (जानाजानी) रोक्नु” भनी वर्णन गरिएको छ। यो मसीहीहरूको सामु राखिएको लक्ष्यको ठीक विपरीत हो, तिनीहरूलाई यस्तो सल्लाह दिइएको छ: “तिमीहरूको यथोचित सेवाको रूपमा आफ्ना आफ्ना शरीरलाई, पवित्र र परमेश्‍वरलाई मनपर्ने, जिउँदो बलिदान गरी दिइहाल। औ यस संसारसित एकै चालका नहोओ, तर तिमीहरूको मनको परिवर्त्तनले तिमीहरू बदलियौ। औ परमेश्‍वरका असल, मनपर्ने र सिद्ध इच्छा के रहेछ भनी तिमीहरू जाँचेर पत्ता लगाओ।”—रोमी १२:१, २.

कस्तो प्रकारको शारीरिक व्यायाम गर्ने भन्‍ने कुरा व्यक्‍तिगत निर्णय हो। तथापि, मसीहीहरू शारीरिक प्रशिक्षण, खाने कुरा, पिउने कुरा, पहिरन, मनोरञ्जन वा अरू कुनै पनि कुराहरूद्वारा यहोवा परमेश्‍वरसँगको आफ्नो सम्बन्धलाई बिगार्न चाहँदैनन्‌। (१ कोरिन्थी १०:३१) आफ्नो स्वास्थ्यको खातिर मात्र व्यायाम गर्नेहरूको लागि प्रेतवाद तथा तन्त्रविद्याको खतरामा नफसी गर्न सकिने थुप्रै उपायहरू छन्‌। झूटा धर्मबाट सुरु भएका प्रचलन तथा विश्‍वासहरूबाट अलग रहेर हामी अनन्तकालसम्म शरीर र मनको सिद्ध स्वास्थ्यबाट आनन्द उठाउन सकिने धार्मिक नयाँ रीतिरिवाजमा परमेश्‍वरको आशिष्‌ पाउने बाटो हेर्न सक्छौं।—२ पत्रुस ३:१३; प्रकाश २१:३, ४.

[पृष्ठ २२-मा भएका चित्रहरू]

थुप्रैले प्रेतवादसँग सम्बन्ध नभएका स्वास्थ्यकर क्रियाकलापहरूको आनन्द उठाउँछन्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने