प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w02 १२/१ पृ. २४-२८
  • मिसनरी कार्यको लागि खटाइएको देश नै हाम्रो घर भयो

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मिसनरी कार्यको लागि खटाइएको देश नै हाम्रो घर भयो
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • जेल सजाय र प्रतिबन्ध
  • जोसिलो सुसमाचारकसित विवाह
  • हामीलाई विदेशी भूमिमा खटाइयो
  • हाम्रो प्रार्थनाको जवाफ
  • हामीलाई खटाइएको देशमा हामी सन्तुष्ट छौं
  • हामी सधैं सबै कुरा सँगसँगै गर्थ्यौं
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • यहोवाको सेवामा मेरो आनन्दित जीवन
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
  • यहोवाले मलाई उहाँको इच्छाअनुसार गर्न सिकाउनुभयो
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
w02 १२/१ पृ. २४-२८

जीवनी

मिसनरी कार्यको लागि खटाइएको देश नै हाम्रो घर भयो

डिक वाल्ड्रनको वृत्तान्त आधारित

सेप्टेम्बर १९५३ शनिबार दिउँसोको कुरा थियो। हामीले भर्खरै दक्षिण-पश्‍चिमी अफ्रिकामा (हाल नामिबिया) पाइला टेकेका थियौं। यहाँ आइपुगेको एक हप्ता नबित्दै हामीले राजधानी, विन्डहुकमा एउटा जनसभा आयोजना गर्न लागेका थियौं। अष्ट्रेलियाबाट यस अफ्रिकी भूमिमा बसाइँ सर्न हामीलाई कुन कुराले उत्प्रेरित गऱ्‍यो? म, मेरी पत्नी र साथमा अरू तीन जना युवतीहरू परमेश्‍वरको राज्यको सुसमाचार सुनाउन मिसनरीको हैसियतमा यस देशमा आएका थियौं।—मत्ती २४:१४.

मेरो जीवनको सुरुवात पृथ्वीको पल्लो छेउ अष्ट्रेलियामा एउटा अविस्मरणीय वर्ष १९१४ मा भएको थियो। ठूलो आर्थिक मन्दी हुँदा म किशोरावस्थामा थिएँ र परिवारको पेट पाल्ने जिम्मेवारी केही हदसम्म मेरो काँधमा पनि थियो। काम हतपती पाइँदैनथ्यो। तर पेटपालाको लागि मैले जंगली खरायोहरू मार्ने जुक्‍ति निकालें र त्यतिबेला अष्ट्रेलियामा यस्ता जंगली खरायोहरूको कुनै कमी थिएन। यसरी सधैं खरायोको मासु जुटाएर भए पनि मैले परिवारको हात मुख जोर्नमा धेरथोर मदत पुऱ्‍याएँ।

सन्‌ १९३९ मा दोस्रो विश्‍वयुद्ध सुरु हुँदासम्म मैले मेलबोर्न शहरका ट्राम र बसहरूमा काम पाइसकेको थिएँ। यी बसहरूमा मजस्ता लगभग ७०० मानिसहरू पालै-पालो काम गर्थे र हरेक पल्ट काममा जाँदा मैले फरक-फरक ड्राइभर र खलासी भेट्‌थें। म अक्सर तिनीहरूलाई यस्तो प्रश्‍न सोध्थें, “तपाईं कुन धर्म मान्‍नुहुन्छ?” र तिनीहरूलाई आफ्नो विश्‍वासबारे बताउन लगाउँथें। तर मलाई एक जना यहोवाको साक्षीको जवाफ मात्र चित्तबुझ्दो लाग्यो। तिनले मलाई ईश्‍वरभीरु मानिसहरू सदा सर्वदा बास गर्ने पार्थिव प्रमोदवनको बाइबल आधारित सन्देश सुनाए।—भजन ३७:२९.

त्यसै ताका मेरी आमाको पनि यहोवाका साक्षीहरूसँग भेट भयो। अक्सर म रातीको ड्युटी सकाएर अबेर घर आउँदा खानाको साथमा कन्सोलेसन (हाल ब्यूँझनुहोस्‌! भनिन्छ) पत्रिकाको एक प्रति पनि राखिएको हुन्थ्यो। आफूले पढेको कुरा मलाई रोचक लाग्यो। यही नै साँचो धर्म हो भन्‍ने निष्कर्षमा पुग्न मलाई धेरै समय लागेन र म सक्रियतासाथ यसैमा लाग्न थालें र मे १९४० मा बप्तिस्मा पनि लिएँ।

मेलबोर्नमा एउटा अग्रगामी घर थियो जहाँ करिब २५ जना पूर्ण-समय सेवकहरू बस्थे। म पनि तिनीहरूसितै बस्न थालें। हरेक दिन म तिनीहरूले प्रचार कार्यमा बटुलेका उत्साहजनक अनुभवहरू सुन्थें र मभित्र पनि तिनीहरूजस्तै अग्रगामी बन्‍ने इच्छा पलायो। अन्ततः मैले अग्रगामी सेवाको लागि निवेदन दिएँ। मेरो निवेदन स्वीकृत गरियो र मलाई यहोवाका साक्षीहरूको अष्ट्रेलिया शाखा कार्यालयमा सेवा गर्न बोलाइयो। यसरी म बेथेल परिवारको एक सदस्य बनें।

जेल सजाय र प्रतिबन्ध

बेथेलमा मलाई दिइएको एउटा काम काठ चिर्ने मिल सञ्चालन गर्ने थियो। यस मिलमा हामी इन्धनको लागि कोइला बनाउन काठहरू चिर्ने गर्थ्यौं। यो इन्धन शाखा कार्यालयका गाडीहरू चलाउन प्रयोग गरिन्थ्यो किनभने त्यतिबेला युद्धले गर्दा पेट्रोलको अभाव थियो। हामी १२ जना काठ चिर्ने मिलमा काम गर्थ्यौं। हामी सबै जनालाई सैनिक सेवामा अनिवार्य भर्ती हुनै पर्ने बाध्यता थियो। बाइबल विश्‍वासअनुसार सैनिक सेवामा प्रवेश गर्न इन्कार गरेको हुँदा हामीलाई छ महिनाको जेल सजाय सुनाउन कुनै ढिलाइ गरिएन। (यशैया २:४) हामीलाई जेलकै एउटा श्रम शिविरमा पठाइयो। तिनीहरूले हामीलाई कुन काम दिए होलान्‌? अचम्मको कुरा त, हामीलाई काठ चिर्ने काम दिइयो, जुन काम गर्न हामी बेथेलमै खप्पीस भइसकेका थियौं!

हामीले निकै राम्ररी काठ चिर्ने काम गरेको हुनाले जेलको हाकिमले हामीलाई बाइबल र बाइबल साहित्यहरू नदिनु भन्‍ने कडा आदेश हुँदा हुँदै पनि ती सब दिए। यही बेला मैले मानवीय सम्बन्धबारे एउटा उपयोगी पाठ सिकें। बेथेलमा काम गर्दा एक जना भाइसित मेरो पटक्कै ठ्याक मिल्दैन्थ्यो। हामी दुईको व्यक्‍तित्व एकदमै फरक थियो। मलाई जेलको कोठामा कोसित राखियो होला त, के तपाईं सोच्न सक्नुहुन्छ? हो, त्यही भाइसित। अब भने हामीले एक अर्कालाई राम्ररी चिन्‍ने समय पायौं फलतः हामीले आत्मीय अनि स्थायी मित्रता विकास गऱ्‍यौं।

केही समयपछि अष्ट्रेलियामा यहोवाका साक्षीहरूको कार्यमाथि प्रतिबन्ध लगाइयो। सारा जायजेथाहरू जफत गरिए र बेथेलका भाइहरूले आर्थिक अभाव भोग्नुपऱ्‍यो। एक पटक एक जना बेथेलका भाइ मकहाँ आएर भने: “डिक, म शहरमा गएर साक्षीकार्यमा भाग लिन चाहन्छु तर मसँग जुत्ताको नाउँमा काम गर्ने बेला लगाउने एक जोर बुट मात्र छ।” मैले खुसीसाथ तिनलाई मेरो जुत्ता दिएँ र तिनी मेरो जुत्ता लगाएर शहरतिर लागे।

पछि तिनलाई प्रचार गरेको अभियोगमा पक्राउ गरिएको र जेल चलाउन गरिएको खबर आयो। यो खबर सुनेपछि तिनलाई ठट्टामै भए पनि यो सानो टिपोट नलेखी म बस्नै सकिनँ: “तिमीमाथि जे बित्यो त्यो सुनेर मलाई दुःख लाग्यो। तर खुसीको कुरा त्यतिबेला त्यो जुत्ता मेरो खुट्‌टामा थिएन।” तर केही समयपछि मेलै लिएको तटस्थ अडानको कारण मलाई पनि पक्राउ गरियो र दोस्रो पटक जेल चलान गरियो। जेलबाट छुटेपछि मलाई बेथेल परिवारको लागि खाना आपूर्ति गर्ने फार्ममा काम गर्न खटाइयो। त्यसपछि हामीले अदालतमा मुद्दा जित्यौं र यहोवाका साक्षीहरूको गतिविधिहरूमाथि लगाइएको प्रतिबन्ध फुक्का गरियो।

जोसिलो सुसमाचारकसित विवाह

फार्ममा काम गर्दा मैले विवाहबारे गम्भीरतापूर्वक सोच्न थालें र मलाई कराली क्लोगन नाउँ गरेकी एक जना जवान अग्रगामी बहिनी मन पर्न थाल्यो। करालीको परिवारमा बाइबल सन्देशप्रति चासो देखाउने पहिलो व्यक्‍ति उनकी हजुरआमा हुनुहुन्थ्यो। आफ्नो मृत्युशैयामा उहाँले करालीकी आमा भीरालाई यसो भन्‍नुभएको थियो: “तिम्रा छोराछोरीलाई परमेश्‍वरलाई प्रेम र सेवा गर्नको लागि हुर्काऊ र एक दिन हामी पार्थिव प्रमोदवनमा भेट्‌ने छौं।” पछि एक जना अग्रगामी मिलियन्स नाउ लिभिङ विल नेभर डाइ शीर्षकको प्रकाशन लिएर भीराको ढोकामा आउँदा यी शब्दहरू सत्य साबित भए। मानिसजातिले पार्थिव प्रमोदवनमा जीवनको आनन्द उठाओस्‌ भन्‍ने परमेश्‍वरको उद्देश्‍य छ भन्‍ने कुरामा भीरालाई त्यस पुस्तिकाले विश्‍वस्त गरायो। (प्रकाश २१:४) तिनले १९३० दशकको सुरुतिर बप्तिस्मा लिइन्‌ र आफ्नी आमाले प्रोत्साहन दिएझैं तीनवटी छोरीहरू लुसी, जीन र करालीको मनमा परमेश्‍वरप्रति प्रेम विकास गर्न मदत गरिन्‌। तर परिवारमा विरोध हुन सक्ने कुराबारे येशूले चेतावनी दिनुभएझैं करालीको बुबा आफ्नो परिवारको धार्मिक चासोलाई चर्को विरोध गर्थे।—मत्ती १०:३४-३६.

क्लोगन परिवारका सबै सदस्य संगीतमा पोख्त थिए र सबै बच्चाहरूलाई कुनै न कुनै बाजा बजाउन आउँथ्यो। कराली भोइलिन बजाउँथीन्‌ र १९३९ मा १५ वर्षको उमेरमै उनले संगीतमा डिप्लोमा हासिल गरिसकेकी थिइन्‌। दोस्रो विश्‍वयुद्धको सुरुवातले करालीलाई आफ्नो भविष्यप्रति गम्भीरतासाथ सोच्न बाध्य तुल्यायो। अब उनले आफ्नो जीवनमा कुन बाटो रोज्ने भनेर निर्णय गर्ने घडी आइसकेको थियो। एकातिर, संगीतलाई आफ्नो पेसा बनाउने सम्भाव्यता थियो। उनलाई मेलबोर्न वाद्यवादन मण्डलीमा भोइलिन बजाउन निमन्त्रणा पनि आइसकेको थियो। अर्कोतिर, राज्य सन्देश प्रचार गर्ने महान्‌ कार्यमा आफ्नो पूर्ण-समय लगाउने सम्भाव्यता थियो। गम्भीरतासाथ सोचिसकेपछि कराली र उनका दुई जना दिदीहरूले १९४० मा बप्तिस्मा लिए र पूर्ण-समय सुसमाचार प्रचार गर्ने कार्यमा प्रवेश गर्ने तयारी गरे।

करालीले पूर्ण-समय सेवकाई गर्नेबारे सोचिरहेको बेला अष्ट्रेलिया शाखाका एक जिम्मेवार भाइ लोइड ब्यारीसित तिनको भेट भयो, जसले पछि यहोवाका साक्षीहरूको परिचालक निकायका सदस्यको हैसियतमा सेवा गरे। तिनले भर्खरै मेलबोर्नमा भाषण दिएका थिए र जाने बेला तिनले करालीलाई यसो भने: “म बेथेल फर्कंदै छु। बेथेल परिवारमा सहभागी हुन तिमी पनि मसितै रेलमा जाने हो कि?” तिनको यस प्रस्तावलाई करालीले सहर्ष स्वीकारिन्‌।

युद्धका वर्षहरूमा अष्ट्रेलियामा प्रतिबन्ध हुँदा कराली र बेथेल परिवारका अन्य बहिनीहरूले अष्ट्रेलियाका भाइहरूसम्म बाइबल प्रकाशनहरू पुऱ्‍याउने काममा महत्त्वपूर्ण भूमिका निर्वाह गरे। तिनीहरूले अधिकांश छपाइको कार्य भाइ माल्कम भलको निरीक्षणमा गरे। त्यतिबेला द न्यु वर्ल्ड र चिल्ड्रेन नामक पुस्तकहरू छापिने र त्यसमा खोल राख्ने काम हुन्थ्यो र दुई वर्षभन्दा धेरै समयसम्म भएको प्रतिबन्धको दौडान प्रहरीधरहरा पत्रिकाको एउटा अंक पनि छुटेन।

प्रहरीहरूको आँखा छल्न १५ पटक छापाखानालाई सार्नुपऱ्‍यो। एक चोटिको कुरा हो, बाइबल साहित्यहरू भवनको जमिनमुनि रहेको कोठामा छापिन्थ्यो तर अरूलाई देखाउनको लागि भने अगाडि अन्य कुराहरू छापिन्थ्यो। कुनै खतरा आइपरेमा प्रतिक्षालयमा बस्ने बहिनीले एउटा बटन दबाउन सक्थिन्‌ र यसो गर्दा जमिनमुनिको कोठामा घण्टी बज्थ्यो र जाँच आउनु आगाडि नै बहिनीहरूले प्रकाशनहरू लुकाउन सक्थे।

एक पटक जाँच आउँदा प्रहरीधरहरा पत्रिकाको एक प्रति सबैले देख्ने गरी टेबलमा छुट्टिएको देख्दा केही बहिनीहरू साह्रै आत्तिए। प्रहरी भित्र आए र तिनले आफ्नो झोला ठीक त्यही प्रहरीधरहरा माथि राखे र खानतलासी सुरु गरे। केही नपाएपछि आफ्नो झोला उठाएर तिनी त्यहाँबाट हिंडे!

प्रतिबन्ध हटाइएपछि शाखा कार्यालयका जायजेथाहरू भाइहरूलाई फर्काइयो र थुप्रै भाइहरूलाई विशेष अग्रगामीको रूपमा क्षेत्रमा जाने अवसर दिइयो। त्यसैबेला कराली ग्लेन इन्स जान राजी भइन्‌। जनवरी १, १९४८ मा हाम्रो विवाहपछि म पनि उनीसितै त्यहाँ गएँ। हामीले यो कार्यभार छोड्‌दासम्ममा त्यहाँ एउटा उन्‍नतिशील मण्डली खडा भइसकेको थियो।

त्यसपछि हामीलाई रकह्‍यामटनमा खटाइयो तर त्यहाँ हामीले बस्ने ठाउँ नै भेट्टाउन सकेनौं। त्यसैले हामीले एक जना जिज्ञासु व्यक्‍तिको खेतमा रहेको एक टुक्रा खाली जमिनमा पाल टाँग्यौं। अर्को नौ महिनासम्मको लागि त्यो पाल नै हाम्रो घर हुनेथियो। हामी सायद लामो समयको लागि त्यही पालमा बस्थ्यौं होला, तर वर्षायाममा उष्ण कटिबन्धीय तुफानले पाललाई धुजा-धुजा पाऱ्‍यो र मुसलधारे पानीले यसलाई बगाएर लग्यो।a

हामीलाई विदेशी भूमिमा खटाइयो

रकह्‍यामटनमा हुँदा हामीले मिसनरी प्रशिक्षणको लागि वाचटावर बाइबल स्कूल अफ गिलियडको १९ औं कक्षामा उपस्थित हुने निमन्त्रणा पायौं। अनि यसरी १९५२ मा स्नातक गरेपछि हामीलाई त्यतिबेला दक्षिण-पश्‍चिमी अफ्रिका भनेर चिनिने देशमा पठाइयो।

मसीहीजगत्‌का पादरीहरूले हाम्रो मिसनरी कार्यप्रति आफ्नो दृष्टिकोण प्रकट गर्न कुनै ढिलाइ गरेनन्‌। तिनीहरूले लगातार छ हप्तासम्म हरेक आइतबार चर्चको मञ्चबाट आफ्नो मण्डलीलाई हामीबारे सावधान गराए। तिनीहरूले मानिसहरूलाई हामी आउँदा ढोका नखोल्न र हामीले अलमल्लमा पार्ने भएकोले हामीलाई बाइबलबाट पढ्‌न नदिन आज्ञा दिए। एउटा इलाकामा हामीले विभिन्‍न प्रकाशनहरू वितरण गऱ्‍यौं तर पादरीले घर-घरै हाम्रो पिछा गरे र हाम्रा प्रकाशनहरू उठाए। एक दिन त्यस पादरीको अध्ययन कोठामा छलफल हुँदा हामीले त्यहाँ हाम्रा पुस्तकहरूको थुप्रै संकलन देख्यौं।

स्थानीय अधिकारीहरूले पनि हाम्रो गतिविधिमा चासो देखाउन ढिलाइ गरेनन्‌। पादरीहरूको उक्साइले गर्दा नै स्थानीय अधिकारीहरूले कम्युनिष्टहरूसित हाम्रो साँठगाँठ हुन सक्ने शंका गरेको हो भन्‍ने कुरामा कुनै सन्देह छैन। त्यसैले चिनारीको लागि हाम्रो औंठाछाप लिइयो र हामीले प्रचार गरेका केही मानिसहरूलाई केरकार गरियो। यी सबै विरोधहरूको बावजुद पनि हाम्रा सभाहरूमा उपस्थिति बढ्‌दै गयो।

सुरुदेखि नै ओभाम्बो, हिरेरो र नामा जातका आदिवासीहरूलाई बाइबल सन्देश फैलाउने हामीले उत्कट इच्छा विकास गऱ्‍यौं। तर यसो गर्नु सजिलो थिएन। त्यतिबेला दक्षिण-पश्‍चिमी अफ्रिका, दक्षिण अफ्रिकाको रंगभेदनीति अपनाउने सरकारको क्षेत्राधिकार भित्र पर्थ्यो। हामी श्‍वेतहरूले सरकारको अनुमतिपत्रविना अश्‍वेत इलाकामा प्रचार गर्न पाउँदैनथ्यौं। त्यस क्षेत्र भित्र प्रवेश गर्ने अनुमतिको लागि हामीले धेरै पटक निवेदन दियौं तर अधिकारीहरूले हामीलाई अनुमति दिनै मानेनन्‌।

विदेशी कार्यभारमा बिताएको दुई वर्षपछि हामीले आशै नगरेको कुरा भयो। कराली गर्भवती भइन्‌। अक्टोबर १९५५ मा हाम्री छोरी शारलट जन्मिइन्‌। हामी मिसनरी सेवामै लागिरहन नसके तापनि मैले आंशिक जागिर खाएर केही समय अग्रगामीलाई निरन्तरता दिएँ।

हाम्रो प्रार्थनाको जवाफ

सन्‌ १९६० मा हामीले अर्को चुनौती सामना गऱ्‍यौं। करालीले एउटा पत्र प्राप्त गरिन्‌, पत्रमा करालीकी आमा सिकिस्त बिमारी परेको र यदि कराली घर नफर्केमा उनले आफ्नी आमालाई कहिल्यै देख्न नपाउने सम्भावनाबारे लेखिएको थियो। त्यसैले हामीले दक्षिण-पश्‍चिमी अफ्रिका छोडेर अष्ट्रेलिया फर्कने योजना बनायौं। त्यसपछि एउटा घटना घट्यो, जुन हप्ता हामीले दक्षिण-पश्‍चिमी अफ्रिका छोड्‌न लागेका थियौं त्यही हप्ता हामीले स्थानीय अधिकारीहरूबाट अश्‍वेतहरू बस्ने शहर कातुतुरामा प्रवेश गर्ने अनुमति पायौं। अब के गर्ने? सात-सात वर्ष संघर्ष गरेर पाएको प्रवेश अनुमति फिर्ता गर्ने? हामीले सुरु गरेर छोडेको कार्य अरूले पनि पूरा गर्न सक्छ भनेर तर्क गर्नु त सजिलो थियो। तर के यो यहोवाबाट प्राप्त वरदान अर्थात्‌ हाम्रो प्रार्थनाको जवाफ थिएन र?

मैले तुरुन्तै एउटा निर्णय गरें। म यो देश छोड्‌ने छैन किनकि यदि हामी सबै अष्ट्रेलियामा गयौं भने स्थायी बसोबासको लागि हाम्रो संघर्ष खेर जाने खतरा थियो। अर्को दिन मैले आफ्नो जहाजको बुकिङ रद्द गरें अनि कराली र शारलोटलाई मात्र लामो बिदामा अष्ट्रेलिया पठाइदिएँ।

तिनीहरू नहुँदा मैले अश्‍वेतहरू बस्ने इलाकामा साक्षी दिन थालें। त्यस इलाकाका मानिसहरूले तीव्र चासो देखाए। कराली र शारलोट फर्किंदा अश्‍वेतहरू बस्ने इलाकाका धेरै मानिसहरू हाम्रो सभाहरूमा आउँथे।

त्यसबेला मेरो एउटा पुरानो कार थियो जसद्वारा मैले जिज्ञासु व्यक्‍तिहरूलाई सभाहरूमा ल्याउन सक्थें। हरेक पटक सभा जाँदा म एक पटकमा आफ्नो गाडीमा आठ वा नौ जना मानिसहरूलाई राखेर लैजान्थें। यसरी प्रत्येक सभाको लागि म चार वा पाँच पटक ओहोरदोहोर गर्थें। जब कारबाट अन्तिम व्यक्‍ति निस्कन्थे, कराली यसो भनेर ठट्टा गर्ने गर्थिन्‌: “सीटमुनि अझै कति जना छ हँ?”

प्रचार कार्यलाई अझ प्रभावकारी बनाउन हामीलाई आदिवासीहरूकै मातृभाषामा साहित्यहरूको आवश्‍यकता थियो। मैले लाइफ इन अ न्यु वर्ल्ड नामक पर्चालाई हिरेरो, नामा, डोङ्‌गा र क्वानयामा गरी चारवटा स्थानीय भाषाहरूमा अनुवाद गर्न प्रबन्ध मिलाउने सुअवसर पाएँ। अनुवादकहरू हामीसित बाइबल अध्ययन गरिरहेका शिक्षित व्यक्‍तिहरू भए तापनि सही ढंगमा अनुवाद गरिएको छ कि छैन भनेर पक्का गर्न मैले तिनीहरूसँगै बसेर काम गर्नुपर्थ्यो। नामा भाषामा एकदमै सीमित शब्दहरू छन्‌। उदाहरणको लागि, म यो बुँदालाई बुझाउने कोसिस गर्दै थिएँ: “सुरुमा आदम एक जना सिद्ध पुरुष थिए।” अनुवादकले आफ्नो टाउको कन्याउँदै “सिद्ध”-को लागि नामा शब्द सम्झन नसकेको कुरा बताए। अन्ततः तिनले भने, “बल्ल मलाई आयो। सुरुमा आदम पाकेको आरुजस्तै थिए।”

हामीलाई खटाइएको देशमा हामी सन्तुष्ट छौं

हामीले यस देशमा पाइला टेकेको ४९ वर्ष बितिसकेको छ र हाल यस देशलाई नामिबिया भनिन्छ। अब अश्‍वेत समुदायमा प्रवेश गर्न अनुमति लिइरहनु आवश्‍यक छैन। हाल नामिबियामा रंगभेदनीति विरोधी संविधान भएको सरकारले शासन गरिरहेको छ। आज, विन्डहुकमा चारवटा ठूल-ठूला मण्डलीहरू आ-आफ्नै आरामदायी राज्यभवनहरूमा भेला हुन्छन्‌।

गिलियडमा सुनेका यी शब्दहरूबारे हामीले अक्सर सोच्ने गरेका छौं: “आफूलाई खटाइएको विदेशी भूमिलाई आफ्नै घर बनाउनू।” यहोवाले परिस्थितिहरूलाई बुद्धिमानी पूर्वक सम्हाल्नुभएको तरिकाबाट यो विदेशी भूमि हाम्रो घर बन्‍नुमा पनि यहोवाकै इच्छा थियो भन्‍ने कुरामा हामी विश्‍वस्त छौं। हामीले भाइहरूको विविध रोचक संस्कृतिहरूसँगै तिनीहरूलाई प्रेम गरेका छौं। हामी तिनीहरूको खुसीमा हाँसेका छौं अनि तिनीहरूको दुःखमा रोएका छौं। हामीले गाडीमा कोचेर सभाहरूमा लाने गरेका कोही-कोही नयाँ व्यक्‍तिहरू आज आफ्ना मण्डलीका खम्बा भएका छन्‌। हामीले १९५३ मा यस विशाल भूमिमा पाइला टेक्दा सुसमाचारका स्थानीय प्रचारकहरू दस जना पनि थिएनन्‌। अहिले त्यो सानो संख्या बढेर १,२०० भन्दा बढी पुगेको छ। यहोवाले प्रतिज्ञा गर्नुभएझैं हामीले ‘रोप्यौं र पानी हाल्यौं’ तर उहाँले चाहिं बढाउनुभयो।—१ कोरिन्थी ३:६.

पहिले अष्ट्रेलिया र अहिले नामिबियामा सेवामा बिताएका ती वर्षहरूलाई फर्केर हेर्दा कराली र मलाई गहिरो सन्तुष्टिको अनुभूति हुन्छ। यहोवाले हामीलाई अहिले र सधैंभरिको लागि उहाँको इच्छा गर्न बल दिइरहनुहुनेछ भनी हामी आशा एवम्‌ प्रार्थना गर्छौं।

[फुटनोट]

a द वाचटावर, डिसेम्बर १, १९५२, पृष्ठ ७०७-८ मा यस कठिन कार्यभारलाई वाल्ड्रन दम्पतीले सामना गरेको रोमाञ्चक विवरण दिइएको छ। तर त्यसमा नाम भने उल्लेख गरिएको छैन।

[पृष्ठ २६, २७-मा भएको चित्र]

हामीलाई खटाइएको अष्ट्रेलियाको रकह्‍याम्पटनमा बसाइँ सर्दै

[पृष्ठ २७-मा भएको चित्र]

गिलियड स्कूल जाँदा बाटोमा पर्ने बन्दरगाहमा

[पृष्ठ २८-मा भएको चित्र]

नामिबियामा साक्षी दिंदा हामीलाई ठूलो आनन्दको अनुभूति हुन्छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने