“सत्यको परमेश्वर र अनन्त जीवन” को हुनुहुन्छ?
हाम्रा प्रभु येशू ख्रीष्टको पिता यहोवा साँचो परमेश्वर हुनुहुन्छ। उहाँ सृष्टिकर्ता र उहाँलाई प्रेम गर्ने जतिलाई अनन्त जीवन दिनुहुने व्यक्ति हुनुहुन्छ। बाइबल पढ्ने तथा त्यसमा विश्वास गर्ने थुप्रै मानिसहरूले माथि शीर्षकले सोधेको प्रश्नको जवाफ त्यसरी नै दिनेछन्। हुन पनि हो, स्वयम् येशूले यसो भन्नुभएको थियो: “अनन्त जीवन यही [हो], कि तिनीहरूले तपाईं, एकमात्र सत्य परमेश्वरलाई, र जसलाई तपाईंले पठाउनुभयो, अर्थात् येशू ख्रीष्टलाई चिनून्।”—छड्के अक्षर हाम्रो, यूहन्ना १७:३.
यद्यपि, चर्च जाने थुप्रै मानिसहरू यस अभिव्यक्तिको अर्कै अर्थ लगाउने गर्छन्। शीर्षकका शब्दहरू १ यूहन्ना ५:२० बाट लिइएका हुन्, जसको एउटा अंशमा यसो भनिएको छ: “हामी उहाँमै छौं, जो सत्यको हुनुहुन्छ, अर्थात् उहाँको पुत्र येशू ख्रीष्टमा। सत्यको परमेश्वर र अनन्त जीवन उहाँनै हुनुहुन्छ।”
यस अनुवादले “सत्यको” येशू ख्रीष्ट हुनुहुन्छ भनी बताउँछ। त्यसैकारण त्रिएकको सिद्धान्तमा विश्वास गर्नेहरू येशू नै “सत्य परमेश्वर र अनन्त जीवन” हुनुहुन्छ भनी जिद्दी गर्छन्। तथापि, यस्तो भनाइ बाँकी शास्त्रपदहरूसित मेल खाँदैन। त्यसोभए, यस्तो धारणा विकास हुनुको कारण के हो त? युनानी व्याकरणको गलत अर्थमा उक्त अनुवाद आधारित भएको कारण यस्तो भएको हो। त्यसकारण त्रिएकमा विश्वास गर्नेहरू यसपछिको पदमा उल्लिखित “उहाँनै” भन्नाले येशू हुनुपर्छ भन्ने निष्कर्षमा पुग्छन्। तथापि, थुप्रै आधिकारिक शास्त्रविद्हरू त्रिएकको यस धारणासित सहमत छैनन्। क्याम्ब्रिज युनिभर्सिटीका शास्त्रविद् बी. एफ वेस्कटले दिएको विवरणअनुसार “सत्य परमेश्वर र अनन्त जीवन” भन्ने अभिव्यक्तिले येशूलाई नभई येशूको पितालाई बुझाउँछ भन्ने कुरा नै सबैभन्दा तर्कसंगत निष्कर्ष हो। स्पष्टतया, प्रेरित यूहन्नाको मनमा पनि त्यही कुरा थियो। जर्मन धर्मविद् अरिक हाउप्टले यस्तो लेखे: “ ‘उहाँनै’ भन्नाले येशू अथवा परमेश्वर कसलाई बुझाउँछ भन्ने कुरा पक्का गर्ने सन्दर्भमा पद २१ मा मूर्तिहरू विरुद्ध दिइएको चेतावनी मदतकारी छ। यस चेतावनीलाई विचार गर्दा, पछिल्लो पद ख्रीष्ट परमेश्वर हुनुहुन्छ भन्ने कुराको प्रमाण नभई साँचो परमेश्वरको पुष्टि हो भन्नु बढी तर्कसंगत देखिन्छ।”
रोमको पोन्टिफिकल बिब्लिकल इन्स्टिच्युटद्वारा प्रकाशित अ ग्रमाटिकल एनालाइसिस अफ द ग्रिक न्यु टेस्टामेन्ट-समेत यसो भन्छ: “[पदहरू] १८-२० को निचोडमा हामी “उहाँनै” भन्ने शब्दले निश्चित रूपमा वास्तविक र सत्य परमेश्वरलाई सङ्केत गरिरहेको छ, जो मूर्तिपूजाको (पद २१) ठीक विपरीत हुनुहुन्छ भन्न सक्छौं।”
यसको एउटा उदाहरण प्रेरित ४:१०, ११ मा पाउन सकिन्छ। लूका यसो भन्छन्: “तपाईंहरूले क्रूसमा [“शासनाको खम्बामा,” NW] चढाउनुभएका र परमेश्वरले मुर्दाबाट बिउँताउनुभएका, नासरतका येशू ख्रीष्टको नाउँमा, यो मानिस तपाईंहरूका सामने निको भएर उभिएको छ। उहाँ त्यही ढुङ्गो हुनुहुन्छ, जो तपाईं, डकर्मीहरूले बेकम्मा ठान्नुभएको थियो, र अहिले कुनाको शिर-ढुङ्गा हुनआएको छ।” (छड्के अक्षर हाम्रो।) पद १० मा उल्लिखित “उहाँ[ले]” निको भएका व्यक्तिलाई बुझाउँदैन भन्ने कुरा स्पष्ट छ। “उहाँ[ले]” निश्चय पनि नासरतका येशू ख्रीष्टलाई सङ्केत गर्छ, जो “कुनाको शिर-ढुङ्गा” हुनुहुन्छ जसमाथि मसीही मण्डली स्थापना भएको छ।—एफिसी २:२०; १ पत्रुस २:४-८.
यसै अनुरूप, १ यूहन्ना ५:२० मा यसो भनिएको छ: “हामी जान्दछौं, कि परमेश्वरको पुत्र आउनुभएको छ, र हामीलाई समझ दिनुभएको छ, कि जो सत्यको हुनुहुन्छ उहाँलाई हामी चिन्छौं, र हामी उहाँमै छौं, जो सत्यको हुनुहुन्छ, अर्थात् उहाँको पुत्र येशू ख्रीष्टमा। सत्यको परमेश्वर र अनन्त जीवन उहाँनै हुनुहुन्छ।”
“सत्यको परमेश्वर”
प्रेरित यूहन्नाले लेखेझैं “सत्यको परमेश्वर” येशू ख्रीष्टको पिता यहोवा हुनुहुन्छ। उहाँ मात्रै साँचो परमेश्वर तथा सृष्टिकर्ता हुनुहुन्छ। प्रेरित पावलले यस प्रकार मानिलिए: “हाम्रा निम्ति ता परमेश्वर एउटै हुनुहुन्छ, अर्थात् पिता, जसका सबै कुराहरू हुन्।” (१ कोरिन्थी ८:६; यशैया ४२:८) पहिलो यूहन्ना ५:२० मा सङ्केत गरिएझैं यहोवा “सत्यको परमेश्वर हुनुको अर्को कारण के हो भने, उहाँ सत्यको स्रोत हुनुहुन्छ। भजनहारले यहोवालाई “सत्य परमेश्वर” भने किनभने उहाँ आफूले गर्ने सम्पूर्ण कुरामा विश्वासयोग्य हुनुहुन्छ र झूट बोल्नुहुन्न। (भजन ३१:५; प्रस्थान ३४:६; तीतस १:२) स्वर्गमा बस्नुहुने पितालाई सङ्केत गर्दै पुत्रले यसो भन्नुभयो: “तपाईंको वचन सत्य हो।” अनि आफ्नै शिक्षाको विषयमा पनि येशूले यसो भन्नुभयो: “मेरो शिक्षा मेरै होइन, तर मलाई पठाउनेको हो।”—यूहन्ना ७:१६; १७:१७.
यहोवा “अनन्त जीवन” पनि हुनुहुन्छ। उहाँ जीवनको मूल हुनुहुन्छ र उहाँले यो जीवन अनुग्रहको वरदान स्वरूप ख्रीष्टमार्फत दिनुहुन्छ। (भजन ३६:९; रोमी ६:२३) उल्लेखनीय कुरा त के हो भने, परमेश्वर “उहाँलाई खोज्नेहरूलाई प्रतिफल दिनुहुने” व्यक्ति हुनुहुन्छ भनी प्रेरित पावलले बताए। (छड्के अक्षर हाम्रो, हिब्रू ११:६) मृत्युबाट ब्यूँताउनुभएर परमेश्वरले आफ्नो पुत्रलाई प्रतिफल दिनुभयो र सारा हृदयले उहाँको सेवा गर्ने जतिलाई पिताले अनन्त जीवनको इनाम दिनुहुनेछ।—प्रेरित २६:२३; २ कोरिन्थी १:९.
तसर्थ, हामी कस्तो निष्कर्षमा पुग्नुपर्छ? “सत्यको परमेश्वर र अनन्त जीवन” यहोवाबाहेक अरू कोही पनि हुनुहुन्न। आफूले सृष्टि गरेका कुराहरूबाट ऐकान्तिक भक्ति पाउन योग्य उहाँ मात्रै हुनुहुन्छ।—प्रकाश ४:११.