प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w09 ७/१ पृ. १८-२०
  • के तपाईं प्रेमको “उत्तम मार्ग” पछ्याउनुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईं प्रेमको “उत्तम मार्ग” पछ्याउनुहुन्छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • प्रेमलाई बुझाउने चार शब्द
  • परिवारमा प्रेम
  • रोमान्टिक प्रेम र बाइबल सिद्धान्तहरू
  • साथीहरूबीचको प्रेम
  • प्रेमको एउटा अनुपम बन्धन!
  • “यिनमा सर्वोत्तम चाहिं प्रेम हो”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • “पहिला उहाँले हामीलाई प्रेम गर्नुभयो”
    यहोवासित नजिक हुनुहोस्‌
  • प्रेम (अगापे) के होइन र के हो
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
  • सबैभन्दा उत्कृष्ट किसिमको प्रेम
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
w09 ७/१ पृ. १८-२०

के तपाईं प्रेमको “उत्तम मार्ग” पछ्याउनुहुन्छ?

“परमेश्‍वर प्रेम हुनुहुन्छ।” प्रेरित यूहन्‍नाका यी शब्दहरूले परमेश्‍वरको सबैभन्दा मुख्य गुणलाई चिनाउँछ। (१ यूह. ४:८) मानिसजातिप्रति परमेश्‍वरले देखाउनुभएको प्रेमले गर्दा नै हामी उहाँको नजिक हुन र उहाँसित व्यक्‍तिगत सम्बन्ध गाँस्न सम्भव भएको छ। अरू कुन तरिकामा परमेश्‍वरको प्रेमले हामीलाई असर गर्छ? भनिन्छ: “जुन कुरालाई हामी प्रेम गर्छौं त्यसले हामीलाई आकार दिन्छ र त्यसकै पछि लाग्छौं।” तर जसलाई प्रेम गर्छौं र जसले हामीलाई प्रेम गर्छ त्यसले पनि हामीलाई असर गर्छ। परमेश्‍वरकै स्वरूपमा सृष्टि भएकोले हामीसित उहाँको प्रेम झल्काउने क्षमता छ। (उत्प. १:२७) त्यसैले प्रेरित यूहन्‍नाले हामी परमेश्‍वरलाई प्रेम गर्छौं “किनभने पहिले उहाँले हामीलाई प्रेम गर्नुभयो” भनी लेखे।—१ यूह. ४:१९.

प्रेमलाई बुझाउने चार शब्द

प्रेरित पावलले प्रेमलाई “उत्तम मार्ग” भने। (१ कोरि. १२:३१) तिनले प्रेमलाई किन यस तरिकामा वर्णन गरेका? कस्तो प्रकारको प्रेमलाई तिनले संकेत गरिरहेका थिए? त्यो पत्ता लगाउन आउनुहोस्‌ “प्रेम” शब्दलाई अझै नजिकबाट केलाऔं।

प्राचीन समयका युनानीहरूले प्रेमलाई वर्णन गर्न चार आधारभूत शब्दहरू: स्टोर्जे, इरोस, फिलिया र अगापे-लाई विभिन्‍न रूपमा चलाउँथे। यीमध्ये अगापे चाहिं परमेश्‍वर जो “प्रेम हुनुहुन्छ” उहाँबारे वर्णन गर्न चलाइन्थ्यो।a यो प्रेमबारे प्रोफेसर विलियम बार्कले आफ्नो पुस्तक न्यु टेस्टामेन्ट वर्डस्‌-मा यसो भन्छन्‌: “अगापेको सम्बन्ध दिमागसित छ: यो हाम्रो मनमा चालै नपाईकन आउने भावना मात्र होइन; यो त्यस्तो सिद्धान्त हो जुन थाह पाएरै हामी जिउँछौं। अगापेको सम्बन्ध मुख्यतः इच्छासँग छ।” यो प्रसंगमा भन्‍नुपर्दा, अगापे भनेको यस्तो प्रेम हो जुन सिद्धान्तद्वारा निर्देशित वा डोरिएको हुन्छ तर यसमा प्रायः गहिरो भावना पनि मुछिएको हुन्छ। सिद्धान्तहरू सही र गलत हुन्छन्‌। त्यसैले ख्रीष्टियानहरू परमेश्‍वर स्वयम्‌ले बाइबलमा दिनुभएको सही सिद्धान्तहरूद्वारा डोरिएको हुनुपर्छ। बाइबलमा प्रयोग गरिएको अगापे-लाई प्रेमका अन्य रूपसित दाँजेर हेर्दा हामीले कस्तो प्रकारको प्रेम देखाउनुपर्छ, अझ राम्ररी बुझ्न सक्छौं।

परिवारमा प्रेम

न्यानो अनि घनिष्ठ परिवारको भाग हुन पाउनु कत्ति आनन्दको कुरा हो! परिवारको सदस्यहरूबीच हुने स्वाभाविक प्रेमलाई बुझाउन अक्सर युनानी शब्द स्टोर्जे चलाइन्थ्यो। ख्रीष्टियानहरू आफ्नो परिवारका सदस्यहरूलाई प्रेम देखाउने प्रयास गर्छन्‌। आखिरी दिनमा थुप्रै मानिसहरू “स्वाभाविक प्रेमरहितका” हुनेछन्‌ भनी पावलले भविष्यवाणी गरेका थिए।b—२ तिमो. ३:१, ३.

दुःखको कुरा, आजको संसारमा परिवारमा हुनुपर्ने स्वभाविक प्रेम कम हुँदै गइरहेको छ। किन थुप्रै गर्भवती महिलाले गर्भपतन गर्छन्‌? थुप्रै परिवारले आफ्ना उमेर ढल्केका आमाबाबुको किन ख्याल राख्दैनन्‌? किन सम्बन्ध विच्छेद गर्नेहरूको संख्या चुलिंदैछ? साँच्चै यसको जवाफ हो, स्वाभाविक प्रेमको कमी।

यसबाहेक, बाइबलले “मानिसको हृदय सबै कुराभन्दा छली हुन्छ” भनी सिकाउँछ। (यर्मि. १७:९) परिवारलाई देखाउने प्रेममा हाम्रो हृदय र भावनाहरू मुछिएको हुन्छ। तर चाखलाग्दो कुरा पावलले पतिले पत्नीलाई देखाउने प्रेमको वर्णन गर्दा अगापे शब्द चलाए। पतिले पत्नीलाई देखाउने प्रेमलाई तिनले ख्रीष्टले मण्डलीलाई देखाउने प्रेमसित तुलना गरे। (एफि. ५:२८, २९) यो प्रेम पारिवारिक प्रबन्धका सुरुआतकर्ता यहोवाले दिनुभएको सिद्धान्तहरूमा आधारित छ।

परिवारप्रतिको साँचो प्रेमले हामीलाई उमेर ढल्केका आमाबाबुको ख्याल राख्न उत्प्रेरणा दिन्छ वा आफ्नो सन्तानप्रतिको दायित्व पूरा गर्न उत्प्रेरित गर्छ। यसले आमाबाबुलाई आवश्‍यक परेको बेला आफ्नो छोराछोरीलाई मायालु अनुशासन दिन पनि घचघच्याउँछ। अनि भावनामा बहेर बच्चालाई जे मन लाग्यो त्यही गर्न दिनदेखि पनि आमाबाबुलाई रोक्छ, जसले प्रायः बच्चाहरूलाई टाउकोमा टेक्ने स्वभावको बनाउँछ।—एफि. ६:१-४.

रोमान्टिक प्रेम र बाइबल सिद्धान्तहरू

वैवाहिक बन्धनमा बाँधिएका पुरुष र स्त्रीबीच हुने शारीरिक सम्बन्ध साँच्चै नै परमेश्‍वरले दिनुभएको एउटा वरदान हो। (हितो. ५:१५-१७) तर रोमान्टिक प्रेमलाई बुझाउने शब्द इरोस बाइबल लेख्न प्रेरणा पाएका पुरुषहरूले प्रयोग गरेनन्‌। किन? केही वर्षअघि प्रहरीधरहरा पत्रिकाले यस्तो टिप्पणी गरेको थियो: “आज पूरै संसारले प्राचीन युनानीहरूको गल्तीलाई दोहोऱ्‍याइरहेको जस्तो देखिन्छ। तिनीहरूले इरोसलाई देवताको रूपमा पूजे, ढोगे र बलिहरू चढाए। . . . तर यौन प्रेमप्रतिको त्यस्तो उपासनाले केवल अनैतिक आचरण, पतित जीवन र विनाशलाई निम्त्याएको छ भनी इतिहासले देखाउँछ। त्यसैले होला बाइबल लेखकहरूले यो शब्द प्रयोग गरेनन्‌।” शारीरिक आकर्षणकै भरमा सम्बन्ध गाँस्नदेखि जोगिन रोमान्टिक भावनाहरूलाई बाइबल सिद्धान्तहरूद्वारा नियन्त्रणमा वा सन्तुलनमा राख्नै पर्छ। त्यसैले आफैलाई सोध्नुहोस्‌, ‘के मेरो जोडीप्रतिका रोमान्टिक भावनाहरू साँचो प्रेमसित सन्तुलनमा छ?’

यौन चाहना अक्सर एकदमै प्रबल हुने “बैंस”-मा बाइबल सिद्धान्तअनुरूप चल्ने जवानहरू नैतिक तवरमा शुद्ध रहनेछन्‌। (१ कोरि. ७:३६; कल. ३:५) हामी विवाहलाई यहोवाले दिनुभएको पवित्र वरदान ठान्छौं। येशूले विवाहित जोडीहरूबारे यसो भन्‍नुभयो: “जसलाई परमेश्‍वरले एक साथ जोड्‌नुभएको छ, त्यसलाई मानिसले नछुट्याओस्‌।” (मत्ती १९:६) पारस्परिक आकर्षण रहुञ्जेल मात्र सँगै बस्नुको साटो हामी विवाहलाई गम्भीर वाचाको रूपमा लिन्छौं। वैवाहिक जीवनमा समस्याहरू आइपर्दा हामी सजिलै फुत्किन खोज्दैनौं। बरु पारिवारिक जीवनलाई आनन्दमय बनाउन ईश्‍वरीय गुणहरू देखाउने निष्कपट प्रयास गर्छौं। यस्तो प्रयासले चिरस्थायी आनन्द ल्याउनेछ।—एफि. ५:३३; हिब्रू १३:४.

साथीहरूबीचको प्रेम

साथीबिनाको जीवन कत्ति बन्जर हुन्थ्यो होला! बाइबलको एउटा हितोपदेश भन्छ: “मित्र चाहिं ता दाजुभाइभन्दा पनि नजिकको हुन्छ।” (हितो. १८:२४) यहोवा हाम्रो साँचो मित्रहरू भएको चाहनुहुन्छ। दाऊद र जोनाथनबीचको गहिरो मित्रता चिरपरिचित छ। (१ शमू. १८:१, NRV ) अनि येशूले प्रेरित यूहन्‍नालाई “माया” गर्नुहुन्थ्यो भनी बाइबल बताउँछ। (यूह. २०:२) “माया” अर्थात्‌ मित्रतालाई बुझाउने युनानी शब्द फिलिया हो। मण्डलीमा घनिष्ठ मित्र हुनु कुनै नराम्रो कुरा होइन। तर २ पत्रुस १:७ मा “भ्रातृस्नेहमा” प्रेम (अगापे) थप्न हामीलाई प्रोत्साहन दिइएको छ। (“भ्रातृस्नेह” युनानी शब्द फिलाडेल्फिया-को अनुवाद हो। फिलाडेल्फिया दुई शब्द “मित्र”-लाई बुझाउने फिलोस र “भाइ”-लाई बुझाउने अडेलपोस मिलेर बनेको हो।) चिरस्थायी मित्रताको आनन्द उठाउने हो भने यो सल्लाह पालन गर्नु आवश्‍यक छ। हामीले आफैलाई यस्तो प्रश्‍न सोध्नु बेस हुन्छ, ‘के मेरा मित्रताका भावनाहरू बाइबल सिद्धान्तहरूसित सन्तुलनमा छन्‌?’

परमेश्‍वरको वचनले हामीलाई साथीहरूसित पक्षपाती व्यवहार गर्नबाट जोगाउँछ। हामी दुई थरी व्यवहार गर्दैनौं: साथीहरूसित तुलनात्मक रूपमा उदार हुने अनि साथी नभएकाहरूसित कठोर हुने। साथै साथी बनाउन हामी चिप्लो कुरा पनि गर्दैनौं। सबैभन्दा महत्त्वपूर्ण कुरा, बाइबल सिद्धान्तहरू पालन गर्दा यसले हामीलाई साथीहरू छान्‍नको लागि आवश्‍यक बुद्धि दिन्छ र ‘भला चालचलनलाई बिगार्ने खराब संगतबाट’ अलग रहन मदत गर्छ।—१ कोरि. १५:३३.

प्रेमको एउटा अनुपम बन्धन!

ख्रीष्टियानहरूलाई एकताबद्ध बनाउने प्रेमको बन्धन साँच्चै अनुपम छ! प्रेरित पावलले लेखे: “प्रेम निष्कपटको होस्‌। . . . भातृप्रेममा एक दोस्रोतर्फ मायालु होओ।” (रोमी १२:९, १०) साँच्चै, ख्रीष्टियानहरू ‘निष्कपट प्रेम (अगापे)’-को आनन्द उठाउँछन्‌। यो प्रेम मनमा उर्लेर आउने भावनाहरू मात्र त होइन। बरु यो बाइबल सिद्धान्तहरूमा आधारित हुन्छ। तर पावलले “भ्रातृप्रेम” (फिलाडेल्फिया) देखाउनु र “मायालु” (फिलोस र स्टोर्जे मिलेको बनेको शब्द फिलोस्टोर्गोस्‌) हुनुबारे पनि कुरा गरे। एक शास्त्रविद्‌अनुसार “भ्रातृप्रेम” भनेको “स्नेह, दया, सहानुभूति देखाउनु अनि मदत दिनु हो।” यसलाई अगापे-सित मिलाउँदा यहोवाका उपासकहरूको संगतिमा सुनमा सुगन्ध थपिन्छ। (१ थिस्स. ४:९, १०) मायालु भनेर अनुवाद गरिएको अर्को अभिव्यक्‍ति (फिलास्टोर्गोस्‌) मौलिक युनानी बाइबलमा एक चोटि मात्र प्रयोग गरिएको छ। अनि यो अभिव्यक्‍तिले परिवारमा हुने जस्तो नजिकको न्यानो आत्मीयतालाई बोध गर्छ।

पारिवारप्रतिको प्रेम र साँचो मित्रहरूप्रतिको स्नेहले साँचो ख्रीष्टियानहरूलाई एकतामा बाँध्छ। यी सबै सम्बन्धहरू बाइबल सिद्धान्तहरूमा आधारित प्रेमद्वारा डोरिएको हुन्छ। ख्रीष्टियान मण्डली कुनै एउटा सामाजिक क्लब वा संस्था होइन तर यहोवा परमेश्‍वरको उपासना गर्न एकतामा बाँधिएको घनिष्ठ परिवार हो। हामी एकअर्कालाई भाइ अनि बहिनी भनेर बोलाउँछौं किनभने एउटै परिवारको ठान्छौं। तिनीहरू हाम्रो आध्यात्मिक परिवारका भाग हुन्‌, हामी तिनीहरूलाई साथीको रूपमा प्रेम गर्छौं अनि सधैं बाइबल सिद्धान्त अनुरूप व्यवहार गर्छौं। साँचो ख्रीष्टियान मण्डलीलाई एकताबद्ध बनाउने र चिनाउने यो प्रेमको बन्धनमा हामी सबैको निरन्तर योगदान रहिरहोस्‌।—यूह. १३:३५. (w09 7/15)

[फुटनोट]

a अगापे प्रेमलाई नकारात्मक अर्थमा पनि चलाइएको छ।—यूह. ३:१९; १२:४३; २ तिमो. ४:१०; १ यूह. २:१५-१७.

b “स्वाभाविक प्रेमरहितका” भन्‍ने अभिव्यक्‍ति युनानी शब्द अस्टोर्गोइ-को अनुवाद हो। अस्टोर्गोइ भन्‍ने शब्दको मूल स्टोर्जे नै हो। तर यसमा नकारात्मक अर्थ लाग्ने उपसर्ग चलाइएको छ जसले “रहितका” भन्‍ने अर्थ दिन्छ।

[पृष्ठ १८-मा भएको ठूलो अक्षरको क्याप्सन]

हामीलाई एकताबद्ध बनाउने प्रेमको बन्धनमा तपाईं कसरी योगदान पुऱ्‍याउनुहुन्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने