प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w12 ११/१५ पृ. २१-२५
  • यहोवाले दिनुहुने क्षमाले तपाईंको लागि कस्तो अर्थ राख्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाले दिनुहुने क्षमाले तपाईंको लागि कस्तो अर्थ राख्छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • दाऊदका गम्भीर पापहरू
  • दाऊदले आफ्नो मनोवृत्ति बदले
  • दाऊदको प्रार्थना र परमेश्‍वरले दिनुभएको क्षमा
  • मनश्‍शेको गम्भीर पाप र तिनको पश्‍चात्ताप
  • के यहोवाले जुनसुकै अवस्थामा स्वतः क्षमा दिनुहुन्छ?
  • यहोवाले दिनुहुने क्षमाबाट लाभ उठाउनुहोस्‌
  • के तपाईं यहोवाले जस्तै क्षमा गर्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
  • यहोवाको दयाले हामीलाई निराशाबाट जोगाउँछ
    सन्‌ १९९३ को अंग्रेजी प्रहरीधरहरा-बाट अध्ययन लेखहरू
  • “क्षमा गर्न सधैँ तयार” परमेश्‍वर
    यहोवासित नजिक हुनुहोस्‌
  • “तिनले परमप्रभु आफ्ना परमेश्‍वरको निगाह खोजे”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
w12 ११/१५ पृ. २१-२५

यहोवाले दिनुहुने क्षमाले तपाईंको लागि कस्तो अर्थ राख्छ?

‘परमप्रभु नै टिठाउनमा भरिपूर्ण र दयालु, रिस गर्नमा ढीलो, दुष्टता, अपराध, र पाप क्षमा गर्नुहुने परमेश्‍वर हुनुहुन्छ।’—प्रस्थ. ३४:६, ७.

जवाफ खोज्नुहोस्‌

  • दाऊद र मनश्‍शेले पाप गर्दा यहोवाले कस्तो प्रतिक्रिया देखाउनुभयो र किन?

  • यहोवाले इस्राएल राष्ट्रलाई किन क्षमा दिनुभएन?

  • यहोवाले दिनुहुने क्षमा हामी कसरी पाउन सक्छौं?

१, २. (क) इस्राएल राष्ट्रका लागि यहोवा कस्तो किसिमको परमेश्‍वर हुनुभयो? (ख) यस लेखमा कुन प्रश्‍नबारे विचार गर्नेछौं?

नहेम्याहको समयमा, आफ्ना पुर्खाहरूले यहोवाको आज्ञा पालन गर्न बारम्बार “इन्कार गरे” भनी लेवीहरूको एउटा समूहले सार्वजनिक प्रार्थनामा स्वीकाऱ्‍यो। तैपनि यहोवाले आफूलाई ‘क्षमा गर्ने, अनुग्रही, धीरजी र दृढ प्रेमले पूर्ण परमेश्‍वर’ भनेर बारम्बार साबित गर्नुभयो। नहेम्याहको समयमा निर्वासनबाट फर्केकाहरूलाई यहोवाले असीम अनुग्रह देखाइरहनुभयो।—नहे. ९:१६, १७.

२ हामी प्रत्येकले आफैलाई यस्तो प्रश्‍न सोध्नुपर्छ, ‘यहोवाले दिनुहुने क्षमाले मेरो लागि कस्तो अर्थ राख्छ?’ यो महत्त्वपूर्ण प्रश्‍नको जवाफ पाउन यहोवाले दिनुहुने क्षमाबाट लाभ उठाएका दुई जना व्यक्‍तिलाई उहाँले कस्तो व्यवहार गर्नुभयो, बुझौं। तिनीहरू थिए, इस्राएलका राजा दाऊद र मनश्‍शे।

दाऊदका गम्भीर पापहरू

३-५. दाऊद कसरी गम्भीर पाप गर्न पुगे?

३ दाऊद परमेश्‍वरको भय राख्ने मानिस थिए। तैपनि तिनले गम्भीर पापहरू गरे। तिनले गरेका दुईवटा गम्भीर पाप उरियाह र बेतशेबा नामका विवाहित दम्पतीसँग सम्बन्धित थियो। ती पापमा मुछिएका सबैले दुःखदायी परिणाम भोग्नुपऱ्‍यो। तर यहोवाले दाऊदलाई जुन तरिकामा सच्याउनुभयो, त्यसले उहाँले दिनुहुने क्षमाबारे धेरै कुरा प्रकट गर्छ। त्यतिखेर के भयो, विचार गर्नुहोस्‌।

४ दाऊदले अम्मोनको राजधानी रब्बालाई घेरा हाल्न इस्राएली सेना पठाए। यो ठाउँ यरूशलेमबाट लगभग ८० किलोमिटर पूर्वमा, यर्दन नदीको पारिपट्टि पर्थ्यो। त्यसबेला दाऊदले यरूशलेमको आफ्नो महलको कौसीबाट बेतशेबा नामकी स्त्रीले नुहाइरहेकी देखे। उनका पति पनि ती सेनासितै गएका थिए। बेतशेबालाई हेरिरहेकोले दाऊदले आफूलाई थाम्नै सकेनन्‌। तिनले बेतशेबालाई आफ्नो महलमा ल्याउन लगाए र उनीसित अवैध यौनसम्बन्ध राखे।—२ शमू. ११:१-४.

५ दाऊदले बेतशेबा गर्भवती भएको कुरा थाह पाएपछि उरियाहले पत्नीसित यौनसम्बन्ध राखून्‌ भनेर तिनले उरियाहलाई यरूशलेममा फिर्ता बोलाए। तर दाऊदले जति नै प्रयास गरे पनि उरियाह आफ्नो घरभित्रसमेत पसेनन्‌। त्यसैले दाऊदले आफ्नो सेनापतिलाई एउटा गोप्य चिठी पठाए। उरियाहलाई “लडाइँ खूब मच्चिएको” ठाउँमा पठाएर सेनाचाहिं पछि हट्‌न तिनले त्यस चिठीमार्फत आदेश दिए। दाऊदको योजना सफल भयो। त्यस युद्धमा उरियाह मारिए। (२ शमू. ११:१२-१७) अवैध यौनसम्बन्ध राखेर राजा दाऊदले एउटा पाप त गरिसकेका थिए, निर्दोष व्यक्‍तिलाई मार्न लगाएर तिनले अर्को पाप पनि गरे।

दाऊदले आफ्नो मनोवृत्ति बदले

६. दाऊदले गम्भीर पाप गर्दा यहोवाले कस्तो प्रतिक्रिया देखाउनुभयो? यसले उहाँबारे के प्रकट गर्छ?

६ यहोवाले सबै कुरा देख्नुभयो। उहाँबाट केही कुरा लुक्न सक्दैन। (हितो. १५:३) पछि राजा दाऊदले बेतशेबासित विवाह गरे। तर “जे दाऊदले गरेका थिए त्यो परमप्रभुको दृष्टिमा खराब थियो।” (२ शमू. ११:२७) त्यसैले दाऊदले गम्भीर पाप गर्दा परमेश्‍वरले कस्तो प्रतिक्रिया देखाउनुभयो? उहाँले भविष्यवक्‍ता नातानलाई दाऊदकहाँ पठाउनुभयो। यहोवा क्षमाशील परमेश्‍वर हुनुहुन्छ। त्यसैले दाऊदलाई कृपा देखाउने आधार भेट्टाउन उहाँ इच्छुक भएको हुनुपर्छ। यो कुरा थाह पाउँदा के तपाईंको मन छोएन र? उहाँले दाऊदलाई आफ्नो पाप स्वीकार्न जबरजस्ती गर्नुभएन। बरु नातानलाई एउटा कथा भन्‍न लगाउनुभयो, जुन कथाले दाऊदको पापको गम्भीरतालाई छर्लङ्‌ग पाऱ्‍यो। (२ शमूएल १२:१-४ पढ्‌नुहोस्‌) यो तरिका दाऊदको साँचो मनसाय बुझ्न असाध्यै प्रभावकारी भयो!

७. नातानको कथा सुनेपछि दाऊदले कस्तो प्रतिक्रिया देखाए?

७ नातानको कथा सुनेपछि राजा दाऊदले अन्याय भएको बुझिहाले। त्यस कथाको धनी मानिससित दाऊद क्रुद्ध भए र नातानलाई यसो भने: “जीवित परमप्रभुको नाउँमा म भन्दछु कि यस्तो काम गर्ने मानिस मृत्युको योग्य छ!” तिनले यस्तो अन्याय भोग्ने मानिसले त्यसको क्षतिपूर्ति पाउनुपर्छ समेत भने। त्यसपछि नातानले यसो भने, “त्यो मानिस तपाईंनै हो!” यो सुनेर दाऊद छाँगाबाट खसेझैं भए। दाऊदको कामले गर्दा तिनको घरानाले “तरवारबाट” कहिल्यै विश्राम पाउनेथिएन र तिनको घरानामा दुःख आउनेथियो। अनि तिनको गल्तीको कारण तिनी सार्वजनिक रूपमै अपमानित हुनेथिए। दाऊदले आफ्नो गल्तीको गम्भीरता महसुस गरे र मनैदेखि यसरी स्वीकारे: “मैले परमप्रभुको विरुद्धमा पाप गरें।”—२ शमू. १२:५-१४.

दाऊदको प्रार्थना र परमेश्‍वरले दिनुभएको क्षमा

८, ९. भजन अध्याय ५१ का शब्दहरूले दाऊदको भित्री भावना कसरी प्रकट गर्छ? यसबाट यहोवाबारे के सिक्छौं?

८ पछि दाऊदले भजन अध्याय ५१ मा लिपिबद्ध गीत रचे। यी शब्दहरूले तिनको मनैदेखिको पछुतो प्रकट गर्छ। तिनले यहोवालाई मर्मस्पर्शी बिन्ती गरे। तिनले गल्ती स्वीकार्नुको अलावा आफ्ना पापहरूको लागि पश्‍चात्ताप पनि गरे। तिनको मुख्य चासो परमेश्‍वरसितको सम्बन्ध थियो। तिनले यसरी स्वीकारे: “तपाईंको विरुद्धमा, केवल तपाईंकै विरुद्धमा मैले पाप गरेको छु।” तिनले यहोवालाई यस्तो बिन्ती गरे: “हे परमेश्‍वर, ममा शुद्ध हृदय सृजनुहोस्‌। र मभित्र स्थिर आत्मा पुनर्जीवित पार्नुहोस्‌। . . . तपाईंको मुक्‍तिको उमङ्‌ग मलाई फेरि दिनुहोस्‌। र राजीखुशीको आत्माले मलाई सम्हाल्नुहोस्‌।” (भज. ५१:१-४, ७-१२) के तपाईं पनि आफूले गरेका गल्तीहरू यहोवालाई साँचो मनले र खुलस्त रूपमा बताउनुहुन्छ?

९ यहोवाले दाऊदलाई तिनले गरेका पापहरूको पीडादायी नतिजा भोग्नदेखि जोगाउनुभएन। ती पापहरूको असर तिनको जीवनभरि नै रहिरहनेथियो। तथापि, तिनले “चूर्ण र पूरा पश्‍चातापी हृदय” देखाएको कारण यहोवाले तिनलाई क्षमा दिनुभयो। (भजन ३२:५ पढ्‌नुहोस्‌; भज. ५१:१७) पाप गर्नुपछाडिको साँचो मनसाय सर्वशक्‍तिमान्‌ परमेश्‍वर बुझ्नुहुन्छ। मोशालाई दिइएको व्यवस्थाअनुसार अवैध यौनसम्बन्ध राख्नेहरूलाई मानव न्यायकर्ताहरूले मृत्युको दोषी ठहराउनुपर्थ्यो। तर दाऊद र बेतशेबाको मामिलालाई भने यहोवा आफैले सँभालेर कृपा देखाउनुभयो। (लेवी २०:१०) पछि तिनीहरूकै छोरा सुलेमानलाई इस्राएलका राजा बनाउनुभयो।—१ इति. २२:९, १०.

१०. (क) यहोवाले दाऊदलाई कुन आधारमा क्षमा दिनुभएको हुन सक्छ? (ख) यहोवाबाट क्षमा पाउन हामीले के गर्नुपर्छ?

१० दाऊदले शाऊललाई कृपा देखाएका थिए। त्यसकारण पनि यहोवाले तिनलाई क्षमा दिनुभएको हुन सक्छ। (१ शमू. २४:४-७) येशूले बताउनुभएझैं, हामी अरूलाई जस्तो व्यवहार गर्छौं, यहोवा हामीलाई त्यस्तै व्यवहार गर्नुहुन्छ। येशूले भन्‍नुभयो: “अरूको न्याय गर्न छोडिहाल ताकि तिमीहरूको पनि न्याय नगरियोस्‌। किनकि तिमीहरूले जसरी अरूको न्याय गर्छौ त्यसरी नै तिमीहरूको न्याय गरिनेछ अनि तिमीहरू जुन नापले नाप्छौ अरूले पनि तिमीहरूलाई त्यही नापले नाप्नेछन्‌।” (मत्ती ७:१, २) यहोवाले हाम्रा पापहरू क्षमा गर्नुहुन्छ भनेर थाह पाउनु कत्ति सान्त्वनादायी! अवैध यौनसम्बन्ध र हत्याजस्ता गम्भीर पापसमेत उहाँ क्षमा गर्नुहुन्छ! हामीमा अरूलाई क्षमा दिने मनोभाव छ, हामी उहाँसामु आफ्नो पाप स्वीकार्छौं र आफूले गरेको खराब कामप्रति आफ्नो मनोवृत्ति बदल्छौं भने हामीले पनि क्षमा पाउनेछौं। पाप गर्नेहरूले साँचो पश्‍चात्ताप गरे भने तिनीहरूले यहोवाबाट “स्फूर्ति” प्राप्त गर्नेछन्‌।—प्रेषित ३:१९ पढ्‌नुहोस्‌।

मनश्‍शेको गम्भीर पाप र तिनको पश्‍चात्ताप

११. मनश्‍शेले परमेश्‍वरको दृष्टिमा कस्ता खराब कामहरू गरे?

११ यहोवा क्षमा दिन कुन हदसम्म इच्छुक हुनुहुन्छ भनेर बुझ्न बाइबलमा पाइने अर्को विवरण विचार गरौं। दाऊदले शासन गर्न थालेको लगभग ३६० वर्षपछि मनश्‍शे यहूदाको राजा भए। आफ्नो ५५ वर्षे शासनकालमा तिनले थुप्रै खराब काम गरे। यहोवाले तिनका घिनलाग्दा कामहरूको निन्दा गर्नुभयो। तिनले गरेका केही खराब काम यस्ता थिए: तिनले बाल देवताका लागि वेदीहरू खडा गरे, “आकाशका सारा तारा-मण्डल”-लाई पुजे, आफ्ना छोराहरूलाई होम गरे अनि मन्त्रतन्त्र गरे। हो, “तिनले परमप्रभुको दृष्टिमा साह्रै खराबी गरे।”—२ इति. ३३:१-६.

१२. मनश्‍शे कसरी यहोवातिर फर्के?

१२ अन्ततः मनश्‍शेलाई पक्रियो र बेबिलोनको झ्यालखानामा हालियो। त्यहाँ तिनले मोशाले इस्राएलीहरूलाई भनेका यी शब्दहरू सम्झे होलान्‌: “पछिल्ला दिनहरूमा जब तिमीहरू संकष्टमा हुनेछौ र मैले भनेका सबै कुरा तिमीहरूमाथि बित्नेछन्‌, तब तिमीहरू परमप्रभु आफ्ना परमेश्‍वरतिर फर्कनेछौ, र उहाँको वचन पालन गर्नेछौ।” (व्यव. ४:३०) मनश्‍शे यहोवातिर फर्के। कसरी? तिनी ‘विनम्र भइरहे’ र तिनले परमेश्‍वरलाई ‘प्रार्थना गरिरहे।’ (पृष्ठ २१ मा देखाइएझैं) (२ इति. ३३:१२, १३) मनश्‍शेले प्रार्थनामा कुन-कुन शब्द प्रयोग गरे, त्यसबारे बाइबलले केही बताएको छैन। तर राजा दाऊदले भजन ५१ अध्यायमा चलाएको जस्तै शब्दहरू चलाए होलान्‌ भनी हामी अनुमान लगाउन सक्छौं। जेहोस्‌, मनश्‍शेले आफ्नो मन पूरै परिवर्तन गरे।

१३. यहोवाले मनश्‍शेलाई किन क्षमा दिनुभयो?

१३ मनश्‍शेले प्रार्थना गर्दा यहोवाले कस्तो प्रतिक्रिया देखाउनुभयो? “परमेश्‍वरले तिनको अर्जबिन्ती सुनेर तिनको प्रार्थना ग्रहण गर्नुभयो।” दाऊदले जस्तै मनश्‍शेले आफ्नो पापको गम्भीरता बुझे र साँचो पश्‍चात्ताप गरे। त्यसैकारण परमेश्‍वरले मनश्‍शेलाई माफी दिनुभयो र तिनलाई यरूशलेमको राजगद्दीमा पुनः बसाल्नुभयो। फलस्वरूप, मनश्‍शेले यहोवा नै साँचो परमेश्‍वर हुनुहुँदो रहेछ भन्‍ने थाह पाए। (२ इति. ३३:१३) साँचो पश्‍चात्ताप गर्नेहरूलाई हाम्रा कृपालु परमेश्‍वरले क्षमा दिनुहुन्छ भन्‍ने कुराको यो अर्को प्रमाण हो। कस्तो सान्त्वनादायी!

के यहोवाले जुनसुकै अवस्थामा स्वतः क्षमा दिनुहुन्छ?

१४. पाप गर्नेहरूलाई यहोवाले क्षमा दिने/नदिने कुरा केमा निर्भर हुन्छ?

१४ आज परमेश्‍वरका सेवकहरूमध्ये अधिकांशले दाऊद र मनश्‍शेले गरेको जस्तो गम्भीर पापको लागि क्षमा माग्नुपर्ने अवस्था सायद आउँदैन होला। तर यहोवाले ती दुई राजालाई क्षमा दिनुभएको तथ्यले गम्भीर पाप गर्नेहरूले साँचो पश्‍चात्ताप देखाएमा उहाँ तिनीहरूलाई क्षमा दिन इच्छुक हुनुहुन्छ भनेर देखाउँछ।

१५. यहोवाले स्वतः क्षमा दिनुहुन्‍न भनेर हामी कसरी थाह पाउँछौं?

१५ यसको मतलब यहोवाले सबै मानिसलाई उनीहरूले गरेको पापको लागि स्वतः क्षमा दिनुहुन्छ भन्‍ने होइन। यससन्दर्भमा इस्राएल र यहूदाका बरालिएका मानिसहरूले देखाएको मनोवृत्तिभन्दा दाऊद र मनश्‍शेले देखाएको मनोवृत्ति कसरी भिन्‍न थियो, विचार गरौं। परमेश्‍वरले नातानलाई दाऊदसित भेट गर्न पठाउनुभयो र तिनको मनोवृत्ति परिवर्तन गर्ने मौका दिनुभयो। दाऊदले कृतज्ञ हुँदै उक्‍त मदत स्वीकारे। घोर कठिनाइ सामना गर्दा मनश्‍शे साँचो पश्‍चात्ताप गर्न उत्प्रेरित भए। तर इस्राएल र यहूदाका बासिन्दाहरूले अक्सर पश्‍चात्ताप गरेनन्‌। त्यसैले यहोवाले तिनीहरूलाई क्षमा दिनुभएन। बरु, तिनीहरूको अनाज्ञाकारितालाई उहाँ कस्तो ठान्‍नुहुन्छ भनेर बताउन बारम्बार आफ्ना भविष्यवक्‍ताहरू पठाउनुभयो। (नहेम्याह ९:३० पढ्‌नुहोस्‌) बेबिलोनको निर्वासनमा परेकाहरू आफ्नो मातृभूमि फर्केपछि समेत यहोवाले पुजारी एज्रा र भविष्यवक्‍ता मलाकीजस्ता विश्‍वासयोग्य सन्देशवाहकहरू पठाइरहनुभयो। मानिसहरूले यहोवाको इच्छाअनुरूप काम गर्दा तिनीहरूले अपार आनन्द अनुभव गरे।—नहे. १२:४३-४७.

१६. (क) अपश्‍चात्तापी भएकोले सिङ्‌गो इस्राएल राष्ट्रले कस्तो परिणाम भोग्नुपऱ्‍यो? (ख) जन्मजात इस्राएलका एक-एक सदस्यले कस्तो मौका पाउन सक्छन्‌?

१६ इस्राएलीहरू जनावरको बलि चढाउँथे। तर येशू पृथ्वीमा आएर आफ्नो त्रुटिरहित शरीर फिरौतीको बलिदानको रूपमा चढाएपछि यहोवाले जनावरको बलिदान स्वीकार्नु भएन। (१ यूह. ४:९,१०) पृथ्वीमा छँदा येशूले आफ्नो बुबाको विचारधारा यसरी व्यक्‍त गर्नुभयो: “यरूशलेम, हे यरूशलेम, तँ जसले भविष्यवक्‍ताहरूलाई मारिस्‌ र आफूकहाँ पठाइएकाहरूलाई ढुङ्‌गाले हानिस्‌! कुखुरीले आफ्ना चल्लाहरूलाई पखेटामुनि बटुलेझैं मैले तेरा छोराछोरीहरूलाई कत्ति पटक बटुल्न चाहें! तर तिमीहरूले मानेनौ।” त्यसकारण येशूले यसो भन्‍नुभयो: “हेर, परमेश्‍वरले तिमीहरूको घरलाई त्याग्नुहुनेछ।” (मत्ती २३:३७, ३८) त्यसैले पापी र अपश्‍चात्तापी राष्ट्रको ठाउँ परमेश्‍वरको पवित्र शक्‍तिद्वारा अभिषिक्‍त इस्राएलले लियो। (मत्ती २१:४३; गला. ६:१६) तर जन्मजात इस्राएल राष्ट्रको एक-एक सदस्यबारे के भन्‍न सकिन्छ? परमेश्‍वरमा र येशू ख्रीष्टको बलिदानमा विश्‍वास राखेर तिनीहरूले यहोवाले दिनुहुने क्षमा र उहाँको कृपाबाट लाभ उठाउन सक्छन्‌। आफ्ना पापहरूको पश्‍चात्ताप नगरी मरेका तर पृथ्वीमा पुनर्जीवित भएकाहरूले पनि यो मौका पाउनेछन्‌।—यूह. ५:२८, २९; प्रेषि. २४:१५.

यहोवाले दिनुहुने क्षमाबाट लाभ उठाउनुहोस्‌

१७, १८. हामी कसरी यहोवाले दिनुहुने क्षमा पाउन सक्छौं?

१७ यहोवा क्षमा दिन इच्छुक हुनुहुन्छ। त्यसोभए हाम्रो प्रतिक्रिया कस्तो हुनुपर्छ? निश्‍चय पनि हामी दाऊद र मनश्‍शेजस्तै हुनुपर्छ। हामीले आफू पापी छौं भनेर स्वीकार्नुपर्छ, गल्तीहरूका लागि पश्‍चात्ताप गर्नुपर्छ, यहोवाले दिनुहुने क्षमाको लागि उत्कट बिन्ती गर्नुपर्छ र हामीमा शुद्ध हृदय सृजन उहाँसित अनुरोध गर्नुपर्छ। (भज. ५१:१०) गम्भीर पाप गरेका छौं भने एल्डरहरूसित मदत पनि माग्नुपर्छ। (याकू. ५:१४, १५) हाम्रो अवस्था जस्तोसुकै होस्‌, यहोवा “टिठाउनमा भरिपूर्ण र दयालु परमेश्‍वर, रीस गर्नमा ढीलो, र कृपा र सत्यतामा प्रशस्त हुनुहुन्छ, हजारौं हजारमाथि कृपा देखाउनुहुने, दुष्टता, अपराध, र पाप क्षमा गर्नुहुने” हुनुहुन्छ। यहोवाले आफूबारे मोशालाई बताउनुभएको उक्‍त कुरा मनमा राख्नु सान्त्वनादायी छ। अहिले पनि यहोवा परिवर्तन हुनुभएको छैन।—प्रस्थ. ३४:६, ७.

१८ यहोवाले पश्‍चात्तापी इस्राएलीहरूलाई पूर्णतया क्षमा दिने प्रतिज्ञा गर्नुभयो। तिनीहरूका पाप “गाढा राता रङ्‌गका” भए तापनि “ऊनजस्तै” बनाउनेछु भन्‍नुभयो। (यशैया १:१८ पढ्‌नुहोस्‌) त्यसोभए यहोवाले दिनुहुने क्षमाले हाम्रो लागि कस्तो अर्थ राख्छ? हाम्रा पाप र गल्तीबाट पूर्णतया माफी पाउन सक्छौं। तर यसको लागि हामीले कृतज्ञ र पश्‍चात्तापी मनोभाव देखाउनै पर्छ।

१९. अर्को लेखमा हामी कुन कुरा छलफल गर्नेछौं?

१९ यहोवा हामीलाई क्षमा दिनुहुन्छ। त्यसैले अरूसित व्यवहार गर्दा हामी कसरी उहाँको अनुकरण गर्न सक्छौं? कसै-कसैले गम्भीर पाप गर्छन्‌ तर साँचो पश्‍चात्ताप गर्छन्‌। यस्ता व्यक्‍तिहरूलाई हामी कसरी क्षमा दिन सक्छौं? अर्को लेखले हामीलाई आफ्नो मनोवृत्ति जाँच्न मदत गर्नेछ। यसरी हामी यहोवाजस्तै “भलो र क्षमा गर्ने” व्यक्‍ति हुन सक्नेछौं।—भज. ८६:५.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने