प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w15 ५/१५ पृ. ९-१३
  • सचेत रहनुहोस्‌! सैतानले तपाईंलाई निल्न खोज्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सचेत रहनुहोस्‌! सैतानले तपाईंलाई निल्न खोज्छ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • सैतान शक्‍तिशाली छ
  • सैतान हिंस्रक छ
  • सैतान छली छ
  • आफ्नो शत्रुलाई चिन्‍नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
  • दियाबल को हो?
    परमेश्‍वर हामीबाट के चाहनुहुन्छ?
  • परमेश्‍वरका शत्रुहरू को हुन्‌?
    तपाईं परमेश्‍वरको मित्र हुन सक्नुहुन्छ!
  • आत्मिक संसारका शासकहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
w15 ५/१५ पृ. ९-१३
एक जना प्रकाशक दुई जना मानिसलाई पर्चा देखाउँदै; तस्बिरको दायाँपट्टि गर्जिरहेको सिंहको चित्र

सचेत रहनुहोस्‌! सैतानले तपाईंलाई निल्न खोज्छ

“सचेत रहो, जागा बस। तिमीहरूको शत्रु दियाबल कसलाई निलूँ भनेर गर्जने सिंहझैं घुमेर हिंड्‌छ।”—१ पत्रु. ५:८.

सैतानको व्यक्‍तित्वका निम्न पक्षहरू त्यसको व्यवहारमा कसरी झल्किन्छ?

  • शक्‍तिशाली

  • हिंस्रक

  • छली

१. एउटा स्वर्गदूत कसरी सैतान बन्यो?

कुनै समय त्यो स्वर्गदूतले यहोवासित राम्रो सम्बन्ध गाँसेको थियो। तर मानिसहरूले त्यसको उपासना गरोस्‌ भनेर त्यसले लालसा गर्न थाल्यो। आफ्नो अनुचित चाहनालाई मनबाट हटाउनुको साटो त्यसलाई बढ्‌न दियो र त्यस्तो चाहना बढ्‌दै गएपछि पाप जन्मियो। (याकू. १:१४, १५) त्यो स्वर्गदूतलाई अहिले हामी सैतान भनेर चिन्छौं। त्यो “सत्यमा अडिग रहेन।” त्यसले यहोवाको विरोध गऱ्‍यो अनि “झूटको बुबा” बन्यो।—यूह. ८:४४.

२, ३. यहोवाको सबैभन्दा ठूलो शत्रुलाई दिइएको “सैतान,” “दियाबल,” “सर्प” र “अजिङ्‌गर” भन्‍ने उपनामहरूले त्यसबारे के-कस्ता कुरा प्रकट गर्छ?

२ यहोवाको विद्रोह गरेपछि सैतान उहाँको सबैभन्दा ठूलो शत्रु बन्यो। त्यो मानिसजातिको पनि शत्रु हो। सैतानलाई दिइएका उपनामहरूले त्यो कतिसम्म भ्रष्ट छ भन्‍ने कुरा स्पष्टै देखाउँछ। सैतानको अर्थ “विरोधी” हो। मतलब, त्यो दुष्ट प्राणीले यहोवाको शासनलाई समर्थन गर्दैन। बरु उहाँको शासनको विरोध गर्छ अनि आफ्नो भएभरको बल लगाएर त्यो शासन हत्याउन खोज्छ। वास्तवमा सैतान यहोवाको शासन अन्त भएको हेर्न चाहन्छ।

३ प्रकाश १२:९ मा सैतानलाई दियाबल भनिएको छ, जसको अर्थ “निन्दक” हो। त्यसलाई किन यो उपनाम दिइयो? किनभने त्यसले यहोवा झूट बोल्नुहुन्छ भनेर उहाँको बदनाम गर्न खोज्यो। त्यसलाई “पुरानो सर्प” पनि भनिन्छ। यो उपनामले त्यो दुःखलाग्दो दिनको सम्झना गराउँछ, जुन दिन सैतानले अदनको बगैंचामा सर्प चलाएर हव्वालाई बहकाएको थियो। त्यसलाई दिइएको “ठूलो अजिङ्‌गर” भन्‍ने उपनाम पनि सुहाउँदो छ। त्यो एउटा डरलाग्दो जनावरजस्तै हिंस्रक र क्रूर छ किनभने त्यसले यहोवाको उद्देश्‍य विफल पार्न अनि उहाँका जनहरूलाई नाश गर्न खतरनाक चाल चल्छ।

४. हामी यस लेखमा के छलफल गर्नेछौं?

४ सैतानले हाम्रो निष्ठा तोड्‌न हर प्रयास गर्छ। त्यसैले त बाइबलले हामीलाई यस्तो चेतावनी दिएको छ, “सचेत रहो, जागा बस। तिमीहरूको शत्रु दियाबल कसलाई निलूँ भनेर गर्जने सिंहझैं घुमेर हिंड्‌छ।” (१ पत्रु. ५:८) यहोवा र हाम्रो शत्रु सैतान खतरनाक भएकोले त्यसबाट जोगिन सजग रहनु महत्त्वपूर्ण छ। त्यसैले यस लेखमा सैतानको व्यक्‍तित्वका तीनवटा पक्षबारे छलफल गर्नेछौं।

सैतान शक्‍तिशाली छ

५, ६. (क) स्वर्गदूतहरू “शक्‍तिमान्‌” छन्‌ भन्‍ने कुरा बुझाउन उदाहरणहरू दिनुहोस्‌। (ख) कुन अर्थमा सैतानसित “मृत्युमा पुऱ्‍याउने क्षमता छ”?

५ स्वर्गदूतहरू अदृश्‍य प्राणी हुन्‌ अनि तिनीहरू “शक्‍तिमान्‌” छन्‌। (भज. १०३:२०) तिनीहरू मानिसभन्दा बुद्धिमान्‌ र बलिया छन्‌। वफादार स्वर्गदूतहरू आफ्नो शक्‍ति अरूको भलाइको लागि प्रयोग गर्छन्‌। उदाहरणको लागि, एकपटक एउटा स्वर्गदूतले १ लाख ८५ हजार अश्‍शूरी सेनालाई मारे। यस्तो काम एक जना मानिसले गर्न सक्ने त कुरै छोडौं, सिङ्‌गो फौजको लागि पनि यो असाध्यै गाह्रो काम हो। (२ राजा १९:३५) अर्को एकपटक पनि एउटा स्वर्गदूतले आफ्नो शक्‍ति र बुद्धि चलाएर येशूका प्रेषितहरूलाई जेलबाट छुटाए। ती स्वर्गदूतलाई त्यहाँको सुरक्षा व्यवस्थाले पनि रोक्न सकेन। तिनले जेलका ढोकाहरू खोले, प्रेषितहरूलाई बाहिर निकाले अनि फेरि ढोका लगाइदिए। तर ढोकामै उभिरहेका पहरेदारहरूले पत्तै पाएनन्‌।—प्रेषि. ५:१८-२३.

६ वफादार स्वर्गदूतहरू आफ्नो शक्‍ति अरूको भलाइको लागि प्रयोग गर्छन्‌ तर सैतानचाहिं आफ्नो शक्‍ति भ्रष्ट कामको लागि प्रयोग गर्छ। त्यो धेरै शक्‍तिशाली छ र त्यसले अरूमाथि सजिलै प्रभाव जमाउन सक्छ। बाइबलले त्यसलाई “संसारको शासक” अनि “यस युगको ईश्‍वर” भनेको छ। (यूह. १२:३१; २ कोरि. ४:४) यति मात्र होइन, सैतान अर्थात्‌ दियाबलसित “मृत्युमा पुऱ्‍याउने क्षमता छ।” (हिब्रू २:१४) यसको मतलब, त्यससित जसलाई पनि मार्ने शक्‍ति छ भन्‍ने चाहिं होइन। त्यसोभए कुन अर्थमा सैतानसित “मृत्युमा पुऱ्‍याउने क्षमता छ”? पहिलो, त्यसको हिंस्रक मनोभाव संसारमा जताततै फैलिएको छ। दोस्रो, हव्वाले सैतानको झूट पत्याएकीले अनि आदमले पनि जानाजानी यहोवाको आज्ञा तोडेकोले मानव परिवारमा पाप र मृत्यु सऱ्‍यो। (रोमी ५:१२) येशूले भन्‍नुभएझैं सैतान साँच्चै “हत्यारा” हो। (यूह. ८:४४) हो, हाम्रो शत्रु सैतान असाध्यै शक्‍तिशाली छ।

७. दुष्ट स्वर्गदूतहरूले आफ्नो शक्‍ति कसरी देखाएका छन्‌?

७ सैतानको विरोध गर्दा हामी त्यसको विरुद्धमा मात्र नभई यहोवाको शासनलाई अस्वीकार गर्ने त्यसका समर्थकहरूको विरुद्धमा पनि खडा भइरहेका हुन्छौं। त्यसका समर्थकहरूमा यहोवाको विरोध गर्ने थुप्रै स्वर्गदूतहरू पनि पर्छन्‌ र बाइबलमा तिनीहरूलाई दुष्ट स्वर्गदूत भनिएको छ। (प्रका. १२:३, ४) ती दुष्ट स्वर्गदूतहरूले मानिसहरूलाई वशमा पारेर दुःख दिन बारम्बार आफ्नो शक्‍ति प्रयोग गरेका छन्‌। (मत्ती ८:२८-३२; मर्कू. ५:१-५) ती दुष्ट स्वर्गदूतहरूले वा तिनीहरूका “शासक” सैतानलाई कहिल्यै कमजोर नठानौं। (मत्ती ९:३४) यहोवाको मदतविना हामी सैतानलाई कहिल्यै जित्न सक्दैनौं।

सैतान हिंस्रक छ

८. (क) सैतान के गर्न चाहन्छ? (शीर्षकमाथिको चित्र हेर्नुहोस्‌) (ख) तपाईंको विचारमा संसारले सैतानको हिंस्रक स्वभाव कसरी झल्काइरहेको छ?

८ प्रेषित पत्रुसले सैतानलाई “गर्जने सिंह”-सित तुलना गरेका छन्‌। एउटा किताबअनुसार “गर्जनु” भनेर अनुवाद गरिएको युनानी शब्दले “हिंस्रक जनावर भोकले छटपटाएर कराउँदा निस्कने डरलाग्दो आवाज”-लाई बुझाउँछ। सैतानको हिंस्रक स्वभाव बुझाउन यो शब्द एकदम उपयुक्‍त छ। यो सारा संसार सैतानको हातमा छ तैपनि त्यो सन्तुष्ट भएको छैन। त्यसले आफ्नो भोक मेटाउन सिकार खोज्दै छ। (१ यूह. ५:१९) त्यसले यो संसारलाई त निलिसकेको छ। अब त्यसको मुख्य तारो भनेको पृथ्वीमा बाँकी रहेका अभिषिक्‍त जनहरू र तिनीहरूलाई समर्थन गर्ने “अरू भेडा” हुन्‌। (यूह. १०:१६; प्रका. १२:१७) यहोवाका जनहरूलाई सैतान खप्लक्कै निल्न चाहन्छ। त्यसले प्रथम शताब्दीदेखि अहिलेसम्म येशूका चेलाहरूविरुद्ध विभिन्‍न सतावट ल्याएको छ। यो कुरा विचार गर्दा त्यो कत्ति हिंस्रक छ भन्‍ने कुरा स्पष्ट हुन्छ।

९, १०. (क) इस्राएलीहरूको लागि यहोवाले राख्नुभएको उद्देश्‍य पूरा हुन नदिन सैतानले के गऱ्‍यो? (केही उदाहरण दिनुहोस्‌) (ख) सैतानले पुरातन इस्राएलीहरूलाई आफ्नो तारो बनाउनुको खास कारण के थियो? (ग) तपाईंको विचारमा आज परमेश्‍वरको कुनै सेवकले गम्भीर पाप गर्दा सैतानलाई कस्तो लाग्छ?

९ यहोवाको उद्देश्‍य विफल पार्न सैतानले गरेको प्रयासबाट पनि त्यो कठोर छ भन्‍ने कुरा स्पष्ट हुन्छ। भोकाएको सिंहले आफ्नो सिकारलाई कुनै दया-माया नदेखाई मार्छ अनि मारेपछि पनि त्यसलाई कुनै पछुतो लाग्दैन। त्यसैगरि सैतान पनि आफूले निल्न चाहेको व्यक्‍तिलाई कुनै दया-माया देखाउँदैन। उदाहरणको लागि, इस्राएलीहरू यौन अनैतिकता र लोभमा फस्दा सैतान लुकेर हेरिरहेको कल्पना गर्नुहोस्‌ त। अनैतिक सम्बन्ध राखेका जिम्री र लोभी गेहजीले नराम्रो नतिजा भोगे। यी विवरण पढ्‌दा त्यो गर्जने सिंह आफ्नो चालमा सफल भएर खुसी भएको के तपाईं ‘देख्न’ सक्नुहुन्छ?—गन्ती २५:६-८, १४, १५; २ राजा ५:२०-२७.

एक जना मानिस राती आफ्नो कम्प्युटरमा ख्रीष्टियनहरूलाई नसुहाउने तस्बिर हेर्दै; तिनको कोठामा ठूलो सिंह रमाउँदै गरेको देखिन्छ

यहोवाको सेवकले गम्भीर गल्ती गर्दा सैतान असाध्यै रमाउँछ (अनुच्छेद १० हेर्नुहोस्‌)

१० सैतानले पुरातन इस्राएलीहरूलाई आफ्नो तारो बनाउनुको खास कारण थियो। मसीहको जन्म त्यही राष्ट्रमा हुने थियो, जसले सैतानको ‘शिर कुच्याउने’ थिए अनि यहोवा मात्र शासन गर्न योग्य हुनुहुन्छ भनेर प्रमाणित गर्ने थिए। (उत्प. ३:१५) इस्राएलीहरू यहोवाप्रति वफादार भएको सैतान चाहँदैनथ्यो। त्यसैले इस्राएलीहरूलाई पापमा फसाउन त्यसले भएभरको कोसिस गऱ्‍यो। मोशा प्रतिज्ञा गरिएको देशसम्म इस्राएलीहरूलाई डोऱ्‍याउन अयोग्य हुँदा वा दाऊदले अनैतिक सम्बन्ध राख्दा सैतानलाई अलिकति पनि दुःख लागेन। अर्कोतर्फ, परमेश्‍वरको कुनै सेवकले गम्भीर पाप गरेर बिटुलो हुँदा त्यो असाध्यै खुसी हुन्छ। त्यसले आफ्नो सफलतालाई यहोवाको खिसी गर्ने मौकाको रूपमा लिन्छ।—हितो. २७:११.

११. सैतानले सारालाई किन आफ्नो तारो बनाएको हुन सक्छ?

११ सैतानले विशेषगरि मसीहको जन्म हुने घरानालाई घृणा गर्थ्यो। यहोवाले अब्राहामसित तिनीबाट “एउटा ठूलो जाति” खडा गर्ने प्रतिज्ञा गर्नुभएपछि के भयो, विचार गरौं। (उत्प. १२:१-३) अब्राहाम र सारा मिश्रमा छँदा फिरऊनले सारालाई आफ्नो घरमा ल्याउन लगाए र उनलाई आफ्नो श्रीमती बनाउन चाहे। तर यहोवाले यस काममा हस्तक्षेप गर्नुभयो र सारालाई ठूलो समस्यामा फस्नदेखि जोगाउनुभयो। (उत्पत्ति १२:१४-२० पढ्‌नुहोस्‌) इसहाक जन्मनुअघि गरारमा पनि त्यस्तै घटना घट्यो। (उत्प. २०:१-७) के ती अवरोधहरू सैतानले नै ल्याएको थियो? सुविधा-सम्पन्‍न ऊर छाडेर पालमा बसिरहेकी सारा फिरऊन र अबीमेलेकको भव्य दरबार देखेपछि बहकिनेछिन्‌ भनेर सैतानले सोचेको थियो कि? अथवा तिनले आफ्नो श्रीमान्‌ र यहोवालाई धोका दिएर कुनै एउटा राजासित विवाह गर्नेछिन्‌ भन्‍ने पो सैतानले सोचेको थियो कि? यसबारे बाइबलले केही पनि बताउँदैन। जेहोस्‌ प्रतिज्ञा गरिएको सन्तानको पुर्खा हुन सारा अयोग्य भएकी भए सैतान पक्कै खुसी हुनेथियो। ती असल स्त्रीको वैवाहिक सम्बन्ध बिग्रेको भए, तिनको नाममा कलङ्‌क लागेको भए र तिनले यहोवाको अनुमोदन गुमाएकी भए सैतानलाई अलिकति पनि दुःख लाग्ने थिएन। यी कुराहरूबाट सैतान साँच्चै कठोर छ भन्‍ने कुरा बुझ्न सक्छौं।

१२, १३. (क) सैतान कठोर छ भन्‍ने कुरा येशू जन्मनुभएको समयमा कसरी देखियो? (ख) तपाईंको विचारमा यहोवालाई प्रेम गर्ने र उहाँको सेवा गर्न प्रयास गर्ने केटाकेटी देख्दा सैतानलाई कस्तो लाग्छ?

१२ अब्राहामको समयभन्दा सयौं वर्षपछि येशू जन्मिनुभयो। सानो, मायालाग्दो अनि हिस्सी परेको येशू देखेर के सैतानको मनमा दया-माया जाग्यो होला र? अहँ, जागेन। किनकि यो नवजात शिशु नै पछि प्रतिज्ञा गरिएको मसीह हुनेछन्‌ भन्‍ने कुरा त्यसलाई थाह थियो। वास्तवमा येशू नै अब्राहामको सन्तानको पहिलो भाग हुनुहुन्थ्यो अनि उहाँले नै “दियाबलका कामहरू नष्ट” गर्नुहुने थियो। (१ यूह. ३:८) सानो बच्चाको पनि के ज्यान लिनु जस्तो सैतानलाई लाग्यो होला त? फिटिक्कै लागेन। सैतानलाई सही के हो र गलत के हो भन्‍ने कुराको वास्तै छैन। येशूलाई सानैमा मार्न त्यो अलिकता पनि हिचकिचाएन। त्यसले के गऱ्‍यो?

१३ “यहूदीहरूका राजा” जन्मनुभएको कुरा ज्योतिषीहरूबाट थाह पाएपछि राजा हेरोद व्याकुल भए अनि ती शिशुलाई मार्ने योजना बनाए। (मत्ती २:१-३, १३) ती शिशुलाई मार्ने उद्देश्‍यले तिनले बेतलेहेम र त्यस वरिपरिका दुई वर्ष र त्यसभन्दा मुनिका सबै बालकहरूलाई मार्ने आज्ञा दिए। (मत्ती २:१३-१८ पढ्‌नुहोस्‌) तर येशू हेरोदको षड्यन्त्रको सिकार हुनुभएन। यो विवरणबाट सैतानबारे कुन कुरा स्पष्ट हुन्छ? सैतानले मानिसहरूको जीवनको कुनै मोल गर्दैन। त्यसले बच्चाहरूलाई समेत कुनै दया-माया देखाउँदैन। त्यो साँच्चै नै “गर्जने सिंह” हो। त्यो असाध्यै कठोर र हिंस्रक छ भन्‍ने कुरा कहिल्यै नबिर्सौं।

सैतान छली छ

१४, १५. सैतानले ‘विश्‍वास नगर्ने मानिसहरूको दिमागलाई अन्धो तुल्याइदिएको छ,’ कसरी?

१४ सैतानले छल गरेर मात्र मानिसहरूलाई यहोवा परमेश्‍वरविरुद्ध खडा गर्न सक्छ। (१ यूह. ४:८) सैतानले छल गरेर मानिसहरूलाई “परमेश्‍वरको मार्गनिर्देशनको खाँचो” छैन भन्‍ने महसुस गराउन खोज्छ। (मत्ती ५:३) बाइबलले सैतानबारे यसो भन्छ, “विश्‍वास नगर्ने ती मानिसहरूमाथि परमेश्‍वरको प्रतिरूप, ख्रीष्टसित सम्बन्धित गौरवशाली सुसमाचारको ज्योति नचम्कोस्‌ भनेर यस युगको ईश्‍वरले तिनीहरूको दिमागलाई अन्धो तुल्याइदिएको छ।”—२ कोरि. ४:४.

१५ मानिसहरूलाई छल गर्न सैतानले चलाउने एउटा तरिका झूटो धर्म हो। यहोवा “डाह गर्ने” अर्थात्‌ उहाँको मात्र भक्‍ति गरेको चाहने परमेश्‍वर हुनुहुन्छ। (प्रस्थ. २०:५) तर मानिसहरूले उहाँलाई उपासना गर्नुको साटो आफ्ना पुर्खा, प्रकृति वा जीवजन्तुलाई उपासना गरिरहेका छन्‌। यो देख्दा सैतान असाध्यै रमाउँछ। कतिपय मानिसहरूलाई आफूले सही तरिकामा परमेश्‍वरको उपासना गरिरहेको छु जस्तो लाग्छ। तर वास्तवमा उनीहरू अन्धविश्‍वास र खोक्रो परम्पराको दास बनेका छन्‌। उनीहरू यशैयाको समयका मानिसहरूजस्तै दयनीय अवस्थामा छन्‌। यहोवाले तिनीहरूलाई यसो भन्‍नुभएको थियो, “जे खानेकुरो होइन त्यसको निम्ति किन पैसा खर्च गर्छौ? औ जे कुराले सन्तोष नै दिंदैन त्यसको निम्ति किन परिश्रम गर्छौ? ध्यान दिएर मेरो कुरा सुन, र जे कुरो असल छ त्यही तिमीहरू खाऊ, र स्वादिष्ठ थोकहरू खाएर तिमीहरू सन्तुष्ट होऊ।”—यशै. ५५:२.

१६, १७. (क) येशूले किन पत्रुसलाई “ए सैतान, यहाँबाट गइहाल!” भन्‍नुभयो? (ख) हामी सचेत नरहोस्‌ भनेर सैतानले कस्तो झूट फैलाएको छ?

१६ सैतानले यहोवाका जोसिला सेवकहरूलाई समेत बहकाउन सक्छ। उदाहरणको लागि, येशूले आफूलाई मारिने कुरा चेलाहरूलाई बताउनुहुँदा के भयो, सम्झनुहोस्‌। पत्रुसले येशूलाई अलि पर लगे अनि असलै मनसायले यसो भने, “प्रभु, आफ्नो विषयमा त्यस्तो अनिष्ट कुरा नगर्नुहोस्‌। [आफूमाथि दया गर्नुहोस्‌, फुटनोट] तपाईंलाई कुनै हालतमा यस्तो हुनेछैन।” येशूले पत्रुसलाई यसरी हप्काउनुभयो, “ए सैतान, यहाँबाट गइहाल!” (मत्ती १६:२२, २३) उहाँले किन पत्रुसलाई “सैतान” भन्‍नुभयो? किनभने येशूलाई त्यसपछि के-कस्ता घटनाहरू हुनेछन्‌ भन्‍ने कुरा थाह थियो। उहाँले फिरौतीको बलिदानस्वरूप आफ्नो ज्यान दिएर सैतानलाई झूटो प्रमाणित गर्ने बेला आइसकेको थियो। यो मानव इतिहासकै महत्त्वपूर्ण घडी भएकोले येशूको लागि यो ‘आफूमाथि दया गर्ने’ समय थिएन। येशू सचेत नहुनुभएको भए सैतानको इच्छा पूरा हुने थियो।

१७ हामी असाध्यै कठिन समयमा बाँचिरहेका छौं किनभने यस युगको अन्त हुनै लागेको छ। हामी सचेत नरहेको अनि संसारमै आफ्नो पहिचान बनाउन लागिपरेको सैतान चाहन्छ। सचेत रहेनौं भने हामी अन्तको दिनमा बाँचिरहेका छौं भन्‍ने कुरा बिर्सन सक्छौं। तर त्यसो हुन नदिनुहोस्‌, बरु ‘जागा रहनुहोस्‌।’ (मत्ती २४:४२) यस युगको अन्त आउन धेरै समय बाँकी छ वा अन्त आउँदै आउँदैन भन्‍ने झूट सैतानले फैलाएको छ। त्यसले फैलाएको झूट कहिल्यै नपत्याउनुहोस्‌।

१८, १९. (क) सैतानले अर्को कुन तरिकामा पनि हामीलाई बहकाउन खोज्छ? (ख) यहोवा हामीलाई सचेत र जागा रहन कसरी मदत गर्नुहुन्छ?

१८ सैतानले अर्को तरिकामा पनि हामीलाई बहकाउन खोज्छ। हामी परमेश्‍वरको माया पाउन योग्य छैनौं र उहाँले हाम्रो पाप क्षमा गर्नुहुन्‍न भन्‍ने झूट सैतानले फैलाएको छ। हामीले त्यस्तो कुरा पत्याएको सैतान चाहन्छ। वास्तवमा कोचाहिं यहोवाको माया पाउन योग्य छैन? सैतान। वास्तवमा कसको पाप परमेश्‍वरले क्षमा गर्नुहुन्‍न? सैतानकै। तर बाइबलले हामीलाई यस्तो आश्‍वासन दिन्छ, “तिमीहरूले परमेश्‍वरको नामको निम्ति देखाएको प्रेम अनि कामलाई बिर्सन उहाँ अन्यायी हुनुहुन्‍न।” (हिब्रू ६:१०) हामीले यहोवालाई खुसी बनाउन गरेको हरेक प्रयासको उहाँ कदर गर्नुहुन्छ अनि उहाँको सेवा गर्न हामीले गरेको परिश्रम व्यर्थ हुँदैन। (१ कोरिन्थी १५:५८ पढ्‌नुहोस्‌) त्यसैले सैतानले फैलाएको झूट कहिल्यै नपत्याऔं।

१९ यस लेखबाट सैतान शक्‍तिशाली, हिंस्रक र छली छ भन्‍ने कुरा हामीले बुझ्यौं। त्यसोभए हामी यस्तो खतरनाक शत्रुलाई कसरी जित्न सक्छौं? यहोवाले हामीलाई एक्लै छोड्‌नुभएको छैन। उहाँले आफ्नो वचनमार्फत सैतानले चलाउने विभिन्‍न दाउपेचहरू छर्लङ्‌गै पार्नुभएको छ र “त्यसका युक्‍तिहरूबारे हामी अनजान छैनौं।” (२ कोरि. २:११) सैतानले के-कस्ता दाउपेचहरू चलाउँछ भनेर राम्ररी बुझेका छौं भने हामी सचेत रहन र जागा बस्न सक्नेछौं। तर सैतानका युक्‍तिहरूबारे थाह पाएर मात्र पुग्दैन। बाइबल यसो भन्छ, “दियाबलको विरोध गर अनि ऊ तिमीहरूबाट भाग्नेछ।” (याकू. ४:७) हामीले सैतानसित लडाइँ गर्नुपर्ने तीनवटा क्षेत्र के-के हुन्‌ र हामी कसरी त्यसलाई जित्न सक्छौं, त्यसबारे अर्को लेखमा छलफल गर्नेछौं।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने