प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp16 सङ्‌ख्या ४
  • म धेरै पटक चुकेपछि बल्ल सफल भएँ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • म धेरै पटक चुकेपछि बल्ल सफल भएँ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०१६
  • मिल्दोजुल्दो सामग्री
  • के अश्‍लील सामग्री हानिकारक छ?
    प्रहरीधरहरा: के अश्‍लील सामग्री हानिकारक छ?
  • अश्‍लील कुराले गर्ने हानि
    ब्यूँझनुहोस्‌!—२००३
  • तपाईँको जीवनसाथी अश्‍लील सामग्री हेर्ने कुलतमा फसेका छन्‌ भने के गर्न सक्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • अश्‍लील कुराहरू
    ब्यूँझनुहोस्‌!—२०१३
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०१६
wp16 सङ्‌ख्या ४
जोसेफ र कारोलिन मुट्‌के

बाइबलले जीवनलाई नयाँ मोड दिन्छ

म धेरै पटक चुकेपछि बल्ल सफल भएँ

जोसेफ मुट्‌केको वृत्तान्तमा आधारित

  • जन्म मिति: सन्‌ १९५३

  • जन्मस्थान: अस्ट्रेलिया

  • विगतमा: अश्‍लील सामग्रीको कुलतमा फसेको

जोसेफ मुट्‌के जवान छँदा

मेरो विगत:

मेरो बुबा सन्‌ १९४९ मा जर्मनीबाट अस्ट्रेलियामा बसाइँ सर्नुभएको थियो। उहाँ खानी र बिजुली उत्पादनसम्बन्धी कम्पनीहरूमा काम गर्नको लागि भिक्टोरियाको दुर्गम इलाकामा सर्नुभयो। त्यहाँ उहाँले विवाह गर्नुभयो र सन्‌ १९५३ मा मेरो जन्म भयो।

केही समयपछि आमाले यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्न थाल्नुभयो। त्यसैले म सानो छँदादेखि नै बाइबलको शिक्षा मेरो जीवनको अभिन्‍न भाग भइसकेको थियो। तर बुबालाई भने कुनै धर्म मन पर्दैनथ्यो। उहाँले हिंस्रक व्यवहार गर्नुहुने भएकोले आमा उहाँदेखि निकै डराउनुहुन्थ्यो। तर आमाले बुबालाई थाह नदिई बाइबल अध्ययन गरिरहनुभयो र आफूले सिकेको कुरा उहाँलाई धेरै मन पऱ्‍यो। बुबा घरमा नहुनुभएको बेला आमाले म र मेरी बहिनीलाई आफूले सिकेको कुरा बताउनुहुन्थ्यो। उहाँले हामीलाई भविष्यमा पृथ्वी प्रमोदवन बन्‍नेछ अनि बाइबलको स्तरअनुसार चल्दा हामी आनन्दित हुन सक्छौँ भनेर बताउनुभयो।—भजन ३७:१०, २९; यसैया ४८:१७.

म १८ वर्षको हुँदा बुबाको हिंस्रक व्यवहारले गर्दा घर छोड्‌न बाध्य भएँ। आमाले बाइबलबाट सिकाउनुभएका कुराहरूमा म विश्‍वास त गर्थेँ तर ती कुराहरूलाई त्यति महत्त्वपूर्ण भने ठान्दिनँथेँ। त्यसैले मैले ती कुराहरू आफ्नो जीवनमा लागू गरिनँ। मैले कोइला खानीमा इलेक्ट्रिसियनको काम गर्न थालेँ। मैले २० वर्षको उमेरमा विवाह गरेँ। त्यसको ३ वर्षपछि हाम्री जेठी छोरीको जन्म भयो। त्यतिबेला मैले जीवनमा कुन कुरालाई महत्त्व दिनुपर्छ भनेर सोच्न थालेँ। बाइबलले हाम्रो परिवारलाई सुखी बनाउन सक्छ जस्तो लाग्यो। त्यसैले मैले यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्न थालेँ। तर मेरी पत्नीले यहोवाका साक्षीहरूको निकै विरोध गरिन्‌। म सभामा गएकोले तिनले मलाई बाइबल अध्ययन र परिवारमध्ये एउटा छान्‍न भनिन्‌। लाचार महसुस गर्दै मैले यहोवाका साक्षीहरूसित अध्ययन गर्न छोडेँ। आफूले सिकिरहेको कुरा सही हो भनेर थाह भए तापनि त्यसअनुसार चलिरहन नसकेकोमा पछि पछुताउनुपऱ्‍यो।

एक दिनको कुरा हो, एक जना सहकर्मीले मलाई अश्‍लील सामग्री देखायो। मलाई त्यो रोचक पनि लाग्यो र घिनलाग्दो पनि। यसले गर्दा मैले निकै दोषी महसुस गरेँ। बाइबलबाट आफूले सिकेको कुरा सम्झँदा परमेश्‍वरले मलाई सजाय दिनुहुन्छ जस्तो लाग्यो। तर मैले कामुक तस्बिरहरू जति धेरै देखेँ, त्यति नै अश्‍लील सामग्री मन पर्न थाल्यो। केही समयपछि त मलाई त्यसको लत नै लाग्यो।

त्यसपछिको २० वर्षको दौडान म आमाले सिकाउनुभएका कुराहरूबाट झन्‌झनै तर्किँदै गएँ। मैले आफ्नो मनमा भरेको कुरा मेरो व्यवहारमा देखिन थाल्यो। म फोहोर बोली बोल्थेँ र अश्‍लील ठट्टाहरू गर्थेँ। यौनप्रतिको मेरो दृष्टिकोण भ्रष्ट भइसकेको थियो। आफ्नी पत्नी हुँदाहुँदै मैले अरू महिलाहरूसित यौनसम्बन्ध राखेँ। एक दिनको कुरा हो, मैले ऐनामा आफ्नै अनुहार हेर्दा आफैलाई घिन लाग्यो। मेरो आत्मसम्मान गुमिसकेको थियो।

पछि मेरो सम्बन्धविच्छेद भयो र मेरो जीवन तहसनहस भयो। त्यतिबेला मैले यहोवालाई मनैदेखि प्रार्थना गरेँ। मैले बाइबल अध्ययन छोडेको दुई दशक बितिसकेको थियो। तैपनि फेरि बाइबल अध्ययन गर्न थालेँ। त्यतिबेलासम्म मेरो बुबा बितिसक्नुभएको थियो अनि आमा बप्तिस्मा गरेर यहोवाको साक्षी भइसक्नुभएको थियो।

बाइबलले कसरी मेरो जीवनलाई नयाँ मोड दियो?

मेरो जीवनशैली र बाइबलको स्तरबीच ठूलो अन्तर थियो। तर यस पटक भने मैले बाइबलका प्रतिज्ञाहरूबाट नै मनोशान्ति पाउने सङ्‌कल्प गरेँ। मैले फोहोर बोली बोल्न छोडेँ र रिसलाई नियन्त्रण गर्न सिकेँ। साथै, मैले आफ्नो अनैतिक जीवनशैली त्यागेँ अनि जुवा खेल्न, धेरै रक्सी पिउन र आफू काम गर्ने ठाउँका सामानहरू चोरी गर्न छोडेँ।

मसित काम गर्नेहरूले म किन यत्तिका धेरै परिवर्तनहरू गर्न चाहन्छु भनेर बुझ्नै सकेनन्‌। तिनीहरूले मलाई पुरानै जीवनशैलीमा फर्काउन तीन वर्षसम्म प्रयास गरिरहे। म अलिकति चुकेँ भने पनि, जस्तै मैले रिसको झोकमा कुनै फोहोर बोली बोलेँ भने तिनीहरू खुसी हुँदै यसो भन्थे: “हाम्रो पुरानो साथी फर्क्यो।” त्यस्ता कुराहरू सुन्दा मलाई निकै नरमाइलो लाग्थ्यो। मलाई थुप्रै पटक आफू असफल भएँ जस्तो लाग्यो।

मैले काम गर्ने ठाउँमा अश्‍लील सामग्री व्याप्त थियो, चाहे त्यो इलेक्ट्रोनिक होस्‌ वा छापिएको। मेरा सहकर्मीहरू कम्प्युटरबाट अश्‍लील दृश्‍यहरू पठाउने गर्थे। म यो लत त्याग्न चाहन्थेँ तर तिनीहरू भने मलाई असफल पार्न लागिपरेका थिए। म मदत र प्रोत्साहन पाउन चाहन्थेँ। त्यसैले मैले आफ्नो बाइबल अध्ययन सञ्चालकसित यसबारे कुरा गरेँ। मैले आफ्नो मनका कुराहरू बताउँदा उहाँले धीरजी भई सुन्‍नुभयो। उहाँले मलाई मेरो बानी त्याग्न मदत दिने केही बाइबल पद देखाउनुभयो र यहोवालाई निरन्तर प्रार्थना गरेर मदत माग्न प्रोत्साहन दिनुभयो।—भजन ११९:३७.

एक दिन मैले सहकर्मीहरूलाई भेला गरेँ। तीमध्ये दुई जना पियक्कड थिए। मैले आफ्ना सहकर्मीहरूलाई ती दुई जनालाई रक्सी देओ भनेँ। तिनीहरूले यसो भन्दै विरोध गरेँ: “त्यसो गर्नु हुँदैन। तिनीहरूलाई रक्सीको लत लागेको छ।” मैले भने: “हो। त्यसैगरि मलाई पनि लत लागेको छ।” म अश्‍लील सामग्रीको लत त्याग्न कडा प्रयास गरिरहेको छु भनेर तिनीहरूले बुझे र त्यस दिनदेखि मलाई पुरानो जीवनशैलीमा फर्काउने प्रयास गर्न छोडे।

यहोवाको मदतले गर्दा मैले अश्‍लील सामग्रीको कुलत त्याग्न सकेँ। मैले सन्‌ १९९९ मा बप्तिस्मा गरेँ र यहोवाको साक्षी भएँ। मलाई सन्तुलित र आनन्दित जीवन बिताउन फेरि मौका दिनुभएकोमा म यहोवाप्रति कृतज्ञ छु।

मलाई लामो समयसम्म जुन-जुन कुरा एकदमै मन पर्थे, ती कुराहरूलाई यहोवा किन घृणा गर्नुहुन्छ भनेर बल्ल बुझेँ। एक जना मायालु बुबाको रूपमा उहाँ मलाई अश्‍लील सामग्रीले पुऱ्‍याउने हानिदेखि जोगाउन चाहनुहुन्थ्यो। हितोपदेश ३:५, ६ मा लेखिएको कुरा कत्ति सही छ! त्यहाँ यस्तो लेखिएको छ: “आफ्नो सारा हृदयले यहोवामा भरोसा राख, आफ्नै बुद्धिमा भर नपर। जुनसुकै काम गर्दा उहाँलाई सम्झ; उहाँले तिमीलाई सही बाटो देखाउनुहुनेछ।” बाइबलका स्तरहरूले सुरक्षा मात्र दिँदैनन्‌ बरु सफल हुन मदत पनि गर्छन्‌।—भजन १:१-३.

अहिले जोसेफ मुटके

मैले कसरी लाभ उठाएको छु?

विगतमा मलाई आफैदेखि घिन लाग्थ्यो। तर अहिले भने मैले आत्मसम्मान र मनोशान्ति पाएको छु। अहिले म स्वच्छ हुन सकेको छु अनि यहोवाबाट क्षमा र मदत पाएको छु। मैले सन्‌ २००० मा कारोलिनसित विवाह गरेँ, जो एक जना यहोवाको साक्षी हुन्‌। तिनी यहोवालाई मैलेजत्तिकै प्रेम गर्छिन्‌। स्वच्छ र मायालु ख्रिष्टियन भाइचारा छाएको विश्‍वव्यापी परिवारको भाग हुन पाउनु हामी दुवैको लागि एकदमै ठूलो सुअवसर हो।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने