पुनःभेटहरूमा चासो खेती गर्ने
१ सेवकाईलाई औचित्यकासाथ खेतीपातीसित तुलना गरिएको छ र पुनःभेट गर्ने कार्यलाई गोडगाड तथा सिंचनसित दाँजिएको छ। (मत्ती १३:२३; लूका १०:२; २ कोरि. ९:१०) “परमेश्वरका सहकर्मीहरू” को हैसियतमा भर्खरै टुसा अङ्कुराएका बीऊलाई परिपक्वतातर्फ बढ्न र फलदायी हुन मदत दिनु हाम्रो दायित्व हो। (१ कोरि. ३:६, ९) यो सम्पन्न गर्ने सर्वोत्तम तरिका कुन हो?
२ चासो देखाउने सबैकहाँ छिट्टै पुनःभेट गरिहाल्नुहोस्। घर-घरको रेकर्ड पुनरावलोकन गर्नुहोस् र कसलाई भेट्ने अनि के छलफल गर्ने, सो निश्चित गर्नुहोस्। साधारणतया तपाईंको प्रारम्भिक भेटमा जुन विषय छलफल गरिएको हुन्छ त्यसैमा छलफलको विषय निर्भर हुन्छ। प्रस्तुत गर्न सकिने अन्य शास्त्रीय विचारहरू मनमा राखेर लचकदार हुनुहोस्। हृदयसम्म पुग्न सक्ने बाइबलको शक्तिलाई मनमा राखेर जहिले पनि बाइबल प्रयोग गर्नु राम्रो हो।—हिब्रू ४:१२.
३ हाम्रा समस्याहरू नामक ठूलो पुस्तिका स्वीकार्ने व्यक्तिकहाँ प्रभावकारी पुनःभेट गर्ने तरिकाबारे हाम्रो राज्य सेवकाई अगस्त १९९२, पृष्ठ ४ हेर्नुहोस्।
“के परमेश्वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ?” नामक ठूलो पुस्तिका छाड्नुभएको थियो भने यसो भनेर सुरु गर्न सक्नुहुन्छ:
▪“परमेश्वरले पृथ्वीलाई नाश गर्नुहुनेछ भनी थुप्रै सोझा मानिसहरू विश्वास गर्छन् भने मानिस स्वयंले त्यसो गर्नेछ भन्ने अरू थुप्रैको डर छ। तपाईंलाई कस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्।] पृथ्वीलाई नाश गर्नुको सट्टा परमेश्वरले यहाँ विद्यमान अधार्मिकतालाई हटाउनुहुनेछ र पृथ्वीलाई शान्तिमय तथा सुरक्षित ठाउँ बनाउनुहुनेछ भनी बाइबलले हामीलाई बताउँछ।” पृष्ठ २२ मा ध्यान केन्द्रित गर्नुहोस् र त्यहाँ उद्धृत हितोपदेश २:२१, २२ पढ्नुहोस्। चासो देखाएमा गृह बाइबल अध्ययनको प्रबन्धबारे बताउनुहोस् अथवा सबैभन्दा ताजा पत्रिका दिनुहोस् अनि परमेश्वरले प्रतिज्ञा गर्नुभएको नयाँ संसारबारे अझ बढी छलफल गर्न पुनःभेटको समय मिलाउनुहोस्।
४ “हेर!” नामक ठूलो पुस्तिका छाड्नुभएको थियो भने तपाईं भन्न सक्नुहुन्छ:
▪“अगिल्लो भेटमा तपाईंलाई छाडेको पुस्तिकाको आवरण पृष्ठमा देखाएझैं पृथ्वीलाई प्रमोदवन बनाउने परमेश्वरको प्रतिज्ञाबारे हामीले बाइबलबाट पढेका थियौं। परमेश्वरको इच्छा के हो र त्यसले हामीलाई कसरी असर गर्छ भनी अझ बढी सिकेर हामीले यी आशिष्हरूको आनन्द उठाउन सक्छौं।” यूहन्ना १७:३ पढ्नुहोस् अनि पृष्ठ २७ मा अनुच्छेद ५२ र ५३ पल्टाउनुहोस्। परमेश्वरको वचनको सही ज्ञान लिनुपर्ने आवश्यकताबारे छोटकरीमा छलफल गर्नुहोस्।
५ चर्चको पृष्ठभूमि भएको व्यक्तिलाई “जीवनको उद्देश्य” नामक ठूलो पुस्तिका दिनुभएको थियो भने पुनः फर्किंदा यसो भन्नु उपयुक्त हुनसक्छ:
▪“सम्भवतः तपाईंले प्रभुको प्रार्थना धेरै पटक दोहोऱ्याइसक्नु भयो होला। परमेश्वरको राज्य आओस् भनी प्रार्थना गर्दा तपाईंको मनमा कस्तो विचार आउँछ?” घरधनीको प्रत्युत्तरअनुसार पृष्ठ २६ मा अनुच्छेद ८ र ९ देखाउनुहोस् अनि दानियल २:४४ पढ्नुहोस्। परमेश्वरको राज्य आउनुको अर्थ दुष्टता र दुःखको अन्त हुनेछ भनेर बुझाउँदै शायद तपाईंले वार्तालाप चालू राख्न सक्नुहुन्छ। हामी परमेश्वरको नजरमा धर्मी ठहरियौं भने यसै पृथ्वीको प्रमोदवनमा अनन्त जीवनको आनन्द उठाउन सकिन्छ भनेर स्पष्ट पार्नुहोस्।
६ साहित्य लिएको होस् वा नहोस्, सुन्न इच्छुक जोसुकै व्यक्तिकहाँ पुनःभेट गर्न सकिन्छ भनेर नबिर्सनुहोस्। पुनःभेटहरू गर्न प्रत्येक हप्ता केही समय छुट्याउने प्रयास गर्नुहोस्। तपाईंले भेट्टाउनुभएको चासो खेती गर्ने तपाईंको लगनशील प्रयासलाई यहोवाले आशिष् दिनुहुनेछ। त्यसले उहाँको प्रशंशा हुने फल फलाओस्।—यूह. १५:८.