“शिष्ट रुपले र नियमपूर्वक” संगठित हुने
१ जिल्ला अधिवेशन सफल बनाउन धेरैको सामूहिक प्रयास चाहिन्छ। अधिवेशन प्रशासनले सभा गर्ने उपयुक्त स्थान र आवासको प्रबन्ध मिलाउँछ। व्यक्तिविशेष तथा परिवारले यात्रा र आवासको योजना बनाउँछन्। अनि मण्डलीहरूले अधिवेशन सञ्चालनका लागि आवश्यक धेरै विभागलाई मदत गर्न स्वयम्सेवकहरूको व्यवस्था मिलाउँछन्। यसो गर्नुको लक्ष्य “सबै काम शिष्ट रुपले र नियमपूर्वक गर्नू” हो।—१ कोरि. १४:४०.
२ अधिवेशनको व्यवस्थापनलाई सहयोग गर्दा महिनौं र कहिलेकाहीं वर्षौंको तयारीको आवश्यकता पर्छ भनी नबिर्सनुहोस्। सबै कुरा सुव्यवस्थित गर्न सयौं भाइहरूले धेरै समय खर्च गर्छन्। यसमा ठाउँ भाडामा लिने, आवश्यक सर-सामानहरू जुटाउने र विभिन्न कामको जिम्मा दिन भाइहरूलाई खटाउने जस्ता कार्यहरू समावेश छन्। यस्तो पूर्व तयारीले सबैमाथि आध्यात्मिक आशिष् बर्साउँछ। त्यसोभए, सहयोग पुऱ्याउन हामी के के गर्नसक्छौं?
३ आवासको प्रबन्धमा सहयोग पुऱ्याउनुहोस्: हामी सबैले अधिवेशनका प्रबन्धहरूलाई सहयोग गर्नु नितान्त आवश्यक छ। विशेष गरी आफ्नो आवासको बन्दोबस्त गर्दा यसो गर्नु झनै आवश्यक पर्छ। भनौं भने, प्रत्येक अधिवेशनको बेला सयौं कोठाहरू चाहिन्छ। हाम्रा अधिकांश भाइहरूसित सीमित पैसा हुन्छ र कम मूल्यका कोठाहरूमा बस्नुपर्ने हुन्छ। होटेलको भाडा कम गर्न सक्दो प्रयास गरिन्छ। हामीले अरूको आवश्यकताको ख्याल गर्नुपर्छ र ‘आफ्नै कुरामा मात्र होइन, तर अरूहरूका कुरामा पनि ध्यान दिनुपर्छ।’—फिलि. २:४.
४ आवासको प्रबन्ध गर्ने सन्दर्भमा अधिवेशनको निर्देशनलाई राम्ररी पालन गरेको खण्डमा सबैलाई धेरै फाइदा हुन्छ। यी निर्देशनहरूलाई बेवास्ता गर्दा धेरै अनावश्यक समस्याहरू आइपर्छन्। कसरी? यदि हामीले यसका सल्लाहहरू पालन गऱ्यौं भने कतिवटा कोठाहरू बुकिङ गर्नुपर्ने हो र कति जना अतिथिहरू आउँदैछन् भनेर होटेल व्यवस्थापनलाई थाह हुन्छ। यसो गर्दा तिनीहरूलाई योजना बनाउन र भविष्यमा होटेलको भाडा कम गर्न मदत मिल्छ। यदि हामीमध्ये धेरैले आफ्नो बुकिङ रद्द गऱ्यौं वा अन्य कुनै प्रबन्ध मिलायौं भने, यसले होटल व्यवस्थापनका साथै त्यस होटलमा बस्न चाहने अन्य भाइबहिनीहरूलाई समेत असुविधामा पार्छ। हामीले आफ्नो वचन पूरा गर्दैनौं भन्ने सोचाइ राख्दै भविष्यमा होटेल व्यवस्थापनले हाम्रो अधिवेशनको लागि थोरै मात्र कोठाहरू उपलब्ध गराउनसक्छ। त्यसैले, आफ्नो वचनमा अडिग रहनु कत्ति असल हुन्छ, आफ्नो वचनलाई “हो भने हो” गरौं!—मत्ती ५:३७.
५ यी असल परिणामहरूलाई ध्यान दिनुहोस्: एउटा अधिवेशनपश्चात्, शिविर व्यवस्थापकले यसो भने: “यहोवाका साक्षीहरू आफ्ना सबै काममा इमानदार भएको मैले देखेको छु। गत हप्ता मेरो शिविरमा ४० जना यहोवाका साक्षीहरू बसेका थिए, तिनीहरूबाट कुनै समस्या आएन। बरु, तिनीहरू मात्र त्यस्ता व्यक्तिहरू हुन्, जसले आफ्नो पालमा एक जना मात्र मानिस थपिएमा पनि हामीलाई तुरुन्तै थाह दिइहाल्छन्। जहाँसम्म मलाई लाग्छ, तिनीहरू सबैभन्दा असल ग्राहकहरू हुन्।” हामीलाई ठाउँ भाडामा दिने सबैले यस्तो असल प्रतिक्रिया देखाएमा कत्ति असल हुन्थ्यो! यसले कस्तो राम्रो साक्षी दिने थियो!
६ थुप्रै शाखा भएको एउटा होटेलका क्षेत्रीय प्रबन्धकले एक पटक यसो भने: “आफ्नो विश्वासलाई सामूहिक तवरमा प्रकट गर्ने यहोवाका साक्षीहरूको जस्तो समूह मैले कहिल्यै देखेको छैन। आशा छ, तपाईंहरू फेरि आउनुहुनेछ।” असल आचरणले हामीलाई मात्र होइन तर हाम्रो गतिविधिलाई नियालेर हेर्ने यस संसारका अरू धेरै मानिसलाई पनि स्फूर्ति दिन्छ भनी यस टिप्पणीले देखाउँछ।
७ हामीले सहयोग गर्नसक्ने केही आधारभू तरिकाहरू: कोठा बुकिङ गर्ने सन्दर्भमा अधिवेशनको प्रबन्धलाई सहयोग गर्न सकिने केही सरल उपायहरू यसप्रकार छन्। (१) आफूले प्रयोग गर्ने भन्दा बढी कोठा बुकिङ नगर्नुहोस्। (२) कोठा बुकिङको लागि आवश्यक धरौटी रकम पठाउनुहोस्। (३) अतिथिहरूलाई दिइने बिहानको नास्ताको दुरुपयोग नगर्नुहोस्। (४) होटल मालिकले होटेलका नीतिनियम हामीले पालन गरेको आशा गर्छ भन्ने कुरालाई नबिर्सनुहोस्।
८ यहोवाका सेवकहरूको हैसियतमा हामीले आफ्नो हरेक कामबाट उहाँको व्यक्तित्व झल्काउने मौका पाउँछौं। यसमा परमेश्वरको नाउँ विथोलित भएको अधिवेशनको लागि प्रबन्ध मिलाउनु र त्यहाँ उपस्थित हुनु पनि समावेश छ। नबिर्सौं, उहाँ “गोलमालका परमेश्वर होइन, तर शान्तिका परमेश्वर हुनुहुन्छ।” (१ कोरि. १४:३३) तसर्थ, “परमेश्वरको वचनका शिक्षकहरू” विषयक अधिवेशनमा उपस्थित हुने योजना बनाउँदा अन्य व्यक्तिहरूले हामीमा देखेका कुराहरू र हाम्रो आचरणबाट यहोवा कस्तो परमेश्वर हुनुहुन्छ भनी बुझ्न सकून्। निष्कपट हृदय भएका थुप्रै व्यक्तिहरूले यहोवाका एकताबद्ध जनहरू साँच्चै “शिष्ट रुपले र नियमपूर्वक” संगठित छन् भनेर देख्न सकून्।—भज. ६८:२६.